मकवानपुर । मकवानपुरकाे हेटौंडामा श्रवण मुकारुङका एकल कविता वाचनसहित सांगीतिक साँझ कार्यक्रम हुने भएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा मुकारुङकाे कविता वाचनसहित सांगीतिक साँझ हुने भएकाे छ ।
साहित्य संगम मकवानपुरको अक्षयकोष सहयोगार्थ आगामी मंसीर ७ गते कवि मुकारुङका एकल कविता एवम् सांगीतिक साँझ हुने भएको हो । यसअघि भदौ १ गते कार्यक्रम हुनेगरी मिति तय भएकाेमा मुकारुङको स्वास्थ्य अवस्थाका कारण स्थगित गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । सांगीतिक साँझ कार्यक्रममा श्यामकुमार बानियाँ, अन्जन दहाल, सुनिता बुर्लाकोटी, रमेश गहतराज, लालकाजी परियार र बाल प्रतिभा प्रसिद्धि लामिछाने प्रस्तुती रहने उनले बताए ।
कविता वाचन तथा सांगीतिक साँझ हेटौंडा उपमहानगरपालिका ४ स्थित हेटौंडा पार्टी प्यालेसमा हुने संगम सचिव मनोज पोखरेलले बताए । पोखरेलका अनुसार कार्यक्रममा सहभागिताकाे लागि प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । संगमकाे अक्षयकोषको लागि टिकटकाे व्यवस्था गरिएकाे उनले बताए ।
नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकारकाे छवी बनाएका मुकारुङको देश खोज्दै जाँदा र जीवनको लय कवितासङ्ग्रह, फूलको आवाज, बिसे नगर्चीको बयानलगायतका कविता भीसीडी, हिउँको दरबार गीतसङ्ग्रह, यलम्बर नाटक लगायत प्रकाशित छन् । यसैगरी उनकाे हजुर हजुर ए हजुर, सुनकोशीको सुनको पानी, तिमी तारे भिर, बाटो हेरे हुन्छ आमा, माथी माथी सैलुङगेमा गीतहरु प्रकाशित रहेका छन् ।
मुकारुङ सर्वश्रेष्ठ गीतकार, राष्ट्रिय कविता महोत्सवमा प्रथम, युवा स्रष्टा सम्मान, रवीन्द्र गीत सम्मान, मोहन रेग्मी स्मृति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, समय सम्मान, लोकेन्द्र साहित्य पुरस्कार, जीवन स्मृति पुरस्कार, शुभप्रभात काव्य सम्मान, स्रष्टा सम्मान, विशिष्ट सम्मान लगायतका पुरस्कारबाट सम्मानित भएका छन् ।
मुकारुङको पछिल्लो समयमा राई माइलाले गाउँ छाड्यो रे (गाउँ आएकाे बाटो चलचित्रमा समावेश) बोलको गीत लोकप्रीय छ ।

