मकवानपुर । बागमती प्रदेश सरकारले एक सय दिनकाे उपलब्धी सार्वजनिक गरेको छ । बुधबार मुख्यमन्त्री बहादुर सिंह लामा सहित प्रदेश सरकारका मन्त्रीहरु र सचिवहरु सहितले पत्रकार सम्मेलन मार्फत एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको हो ।
मुख्यमन्त्री लामाले सरकारकाे नेतृत्व लिएकाे प्रदेश सरकारकाे एक सय दिनको अवधि गरेकाे केही कामलाई नै उपलब्धी भन्दै सार्वजनिक गरेकाे हाे । सय दिनमा देखिनेगरी उपलब्धी मुलक कामहरु भएको छैन । आफ्नो नेतृत्वमा सरकारको गठन भएदेखि हालसम्मको कार्य तथा निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले यसअवधिमा आफूले सरकारको जग बसाल्ने काम गरेको दाबी गरेका छन् । तर प्रदेश सरकारले नियमित कामलाई उपलब्धीका रुपमा सार्वजनिक गरेकाे पाइएकाे छ ।
‘कुनै पनि सरकार गठन भएको सय दिनमै उथलपुथल हुने गरी काम गर्न सक्दैन मुख्यमन्त्री लामाले भने ‘विपद्को समयमा सरकारले धेरै काम गरेको छ ।’ प्रदेश सरकारले गत असोज महिनामा आएको बाढी पहिरोका कारण भएको क्षति न्यूनिकरणमा काम गरेपनि अन्य कार्य भने नियमित प्रकृतिका नियुक्ती लगायतका कामलाई उपलब्धीका रुपमा सार्वजनिक गरेको हाे । मुख्यमन्त्री लामाले अघिल्लो सरकारले ल्याएको बजेटका कारण आफ्नो भिजनअनुसार काम गर्न नसकिएको बताए ।
‘बजेट एउटा सरकारले ल्यायो । अहिले कार्यान्वयन हामीले गर्नुपर्ने अवस्था छ । त्यसकारण जनभावनाअनुसार काम गर्न नसकिएको हो,’ उनले भने । मुख्यमन्त्री लामो प्रदेश सरकार नीतिगत सुधारको काम गरिरहेको दाबी गरे । उनले सय दिनको अवधिमा सुशासन र विकासका लागि आधारहरु तयार गर्ने काम भएको बताए । ‘कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या भएको छ’ उनले भने । विपत् व्यवस्थापनमा प्रदेश सरकारले काम गर्न चाहेरपनि ऐन कानूनका कारण समस्या रहेको उनले बताए । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यविधि निर्माणलगायतका कार्यहरु गरिएको उनले जानकारी दिए ।
सय दिनकाे अवधिमा प्रदेश सरकारलाई संस्थागत रुपमा सुदृढ गर्न तीन वटा ऐन जारी भएको, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, भौतिक पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाइएको लगायतका प्रगति सार्वजनिक गरिएको छ । प्रदेश सरकारको सय दिनको मुख्य मुख्य उपलब्धिमा नीतिगत तथा कानुनी सुधार, संवैधानिक नियुक्ति तथा अन्य पदपूर्ति गरिएको, रुग्ण आयोजनाहरुको पहिचान गरिएको, खानेपानी कार्यालय स्थापना, विद्युतीय चालक अनुमतिपत्र प्रणाली विकास गरी सञ्चालनको अन्तिम चरणमा पुगेको, कार्यविधिहरु स्वीकृत गरिएकोलगायतका छन् ।

