मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरद्वारा विभिन्न स्रष्टा तथा व्यक्तित्व सम्मानित हुने भएका छन् । सोमबार हेटौंडामा बसेको समाजको कार्यसमिति बैठकले ७ वटा बिधामा ९ जनालाई एकै मञ्चमा सम्मानित गर्ने निर्णय गरेकाे सचिव किशन पौडेलले जानकारी दिए ।
समाजले नित्यानगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार,२०८० द्वारा गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित हुने भएका छन् । २० हजार रुपैयाँ राशिको उक्त पुरस्कार समाजसेवी मुक्ति गोविन्द वैद्यले आफ्ना स्वर्गीय पिता सङ्गीतकार नित्य गोविन्द वैद्यको नाममा स्थापना गरेका हुन् । यस्तै श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार,२०८० अनुवादक/ साहित्यकार डा.विष्णु भण्डारी (आसाम, भारत ) लाई प्रदान गरिने भएको छ । समाजसेवी/शिक्षासेवी आशिष श्रेष्ठले पिता श्याम श्रेष्ठको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशि पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार,२०८० असल पाख्रिन, बेबी खातुन, परीक्षा खतिवडालाई प्रदान गरिने भएको छ । समाजसेवी अर्चना शर्मा रिजालले शेखर शर्मा रिजालको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशि जनही १५/१५ हजार रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष मकवानपुर जिल्लामा सामुदायिक विद्यालयतर्फ प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रालाई प्रदान गरिन्छ ।
यस्तै साहित्यकार नरेन्द्र राज पौडेल (काठमाडौं) लाई ईश्वरी स्मृति मातृभूमि सम्मान, २०८० प्रदान गरिने भएकाे छ । उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ भने मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालले आफ्ना पिताको स्मृतिमा स्थापना गरेकाे हुन् । यो सम्मान विविध क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई २०७० सालदेखि प्रदान गर्न थालिएको छ । १० हजार रुपैयाँ राशिकाे हातेमालो-मातृभूमि युवा सृजनशील सम्मान, २०८० मकवानपुरे साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएकाे छ । समाजले २०६५ सालमा आफ्नै नाममा स्थापना गरेको यो सम्मान २०७२ सालदेखि मकवानपुरकै ‘हातेमालो बचत तथा ऋण सहकारी संस्था’ ले प्रायोजन गर्दै आएको छ ।
यसैगरी मकवानपुरका गृष्मा गहत राज मङ्गलादेवी स्मृति मातृभूमि बाल पुरस्कार, २०८० बाट सम्मानित हुने भएकी छिन् । शिक्षासेवी देव प्रसाद श्रेष्ठले आमा मङ्गलादेवी श्रेष्ठको स्मृतिमा २०७७ सालमा स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि ७ हजार ५०० रहेकाे छ । प्रतिभाशाली बालबालिकाहरूलाई यो पुरस्कार प्रदान गरिदै आइएकाे सचिव पौडेलले जानकारी दिए । शारदा उप्रेती स्मृति मातृभूमि सम्मान, २०८० कलाकार ज्ञान रत्न लामालाई प्रदान गरिने भएकाे छ । अधिवक्त चूडाराज उप्रेतीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैया रहेकाे छ । पौडेलका अनुसार यो पुरस्कार २०८० सालमा स्थापना गरिएकाे तथा पहिलाे पटक प्रदान गर्न लागिएकाे हाे ।
समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षतामा भएकाे बैठकले पुरस्कार छनौट समितिको सिफारिस बमोजिमकाे उल्लेखित पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे । २४ फागुन २०८१ मा हेटौंडाको रोयल पार्टी प्यालेसमा संस्थाको वार्षिक साधारण सभाकाे अवसरमा सम्मान समर्पण कार्यक्रम गर्दै शिर्षकगत पुरस्कार प्रदान गरिने बताइएकाे छ ।
समाजले गत असोजमा ३ विधामा पुरस्कार प्रदान गरिसकेकाे छ । महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरेकाे थियाे । ५१ हजार रुपैंया राशिकाे उक्त पुरस्कार मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा २०५९ सालबाट प्रदान गर्दै आएकाे छ । त्यस्तै, समाजसेवी ईश्वर मैनालीले बुबाको स्मृतिमा स्थापित १० हजार राशिकाे केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० पत्रकार माधवप्रसाद न्यौपानेलाई प्रदान गरेकाे थियाे । मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मालाई सम्मानित गरिएकाे थियाे ।
मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। समाजले विभिन्न क्षेत्रमा योजदान पुर्याउने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्दै आएकाे छ ।
मकवानपुर । साहित्यकार श्रीराम पाण्डेको कथा सङ्ग्रह ‘दुर्घटित जन्म’को हेटौँडामा विमोचन तथा विमर्श गरिएको छ ।
शनिबार हेटौंडास्थित किताबघरमा कृति विमोचन तथा विमर्श गरिएको हो । पाँच दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील पाण्डेको ‘दुर्घटित जन्म’ पुस्तकका रुपमा चौथो तथा आख्यानका रुपमा पहिलो कृति हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दनाले कृतिभित्रका कथाहरू रचनाकालका दृष्टिले पुराना भएपनि पछिल्लो समयका पाठकलाई कथाले आकर्षित गर्ने क्षमता राख्ने बताइन् । सङ्ग्रहभित्रका ३६ वटा कथाहरूमध्ये कतिपयमा विषयवस्तुको पुनरावृत्ति भए पनि त्यसले पाठकमा सकारात्मक प्रभाव छाड्ने उनले बताइन् ।
यसैगरी कवि साम्ब ढकालले कविता, निबन्ध तथा आख्यानमा उत्तिकै सशक्त ढङ्गले कलम चलाउने पाण्डेका कृति प्रकाशनको हिसाबले भने पछि परेकोमा दुःख व्यक्त गरे । पछिल्लो समय कृतिका रुपमा पाण्डेका रचनाहरू बाहिर आउनुलाई नेपाली साहित्यमा ‘असल धातुको उत्खनन्’ भएको आफूले महसुस गरेको ढकालले बताए ।
सर्जक सन्जाल मकवानपुर संयोजक तथा समीक्षक निमेष निखिलले तीसको दशकदेखि नै कथा लेखनमा सक्रिय पाण्डेको कथा लेखनको शैली उत्कृष्ट रहेको बताए । साहित्यकार रमेशमोहन अधिकारीले पनि नेपाली साहित्यका स्थापित कथाकारहरू जत्तिकै सशक्त लेखन भैकन पनि पछि परिरहेको अवस्थामा पाण्डेका अन्य कृतिहरू पनि प्रकाशित हुँदै जाने विश्वास व्यक्त गरे ।
मकवानपुर । गजल मञ्च मकवानपुरले दुर्गा लामिछाने ‘नमुना’लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानद्वारा सम्मानित गरेको छ ।
मञ्चकाे २२१ औं नियमित गजलयात्रा अन्तरगत शनिबार भएकाे कार्यक्रममा गजल मञ्चकी संस्थापक उपाध्यक्ष लामिछानेलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । गजल क्षेत्रको संस्थागत विकास गर्दै उन्नयन र प्रवर्धनमा भूमिका खेलेको भन्दै शिक्षासेवी एवम् साहित्यसेवी भोला शिवाकोटीले स्थापना गरेको श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान लामिछानेलाई प्रदान गरिएको हो ।
मञ्चका अध्यक्ष केशव समर्पण, साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, पुरस्कार संस्थापक शिवाकोटीले लामिछानेलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । मञ्चले गतवर्षदेखि उक्त सम्मान प्रदान गर्न सुरु गरेको हो । गत वर्ष गजलकार अनिश न्यौपाने ‘भावना’लाई उक्त सम्मान प्रदान गरिएको थियो ।
यस्तै नियमित गजल यात्राकै क्रममा शनिबार नै आयोजना गरिएकाे माध्यमिक तहस्तरीय गजल प्रतियोगितामा निकेश रुम्बा सर्वोत्कृष्ट घोषित भएका छन् । हेटौंडा–१४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रुम्बा सर्वोत्कृष्ट हुदै मनमाया स्मृति गजल पुरस्कारबाट पुरस्कृत भएका छन् । नगद ५ हजार पाँच सय ५५ रुपैयाँ नगद राशीको उक्त पुरस्कार गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरिएकाे हाे ।
२०७० सालदेखि हरेक वर्ष माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट घोषित हुनेलाई उक्त पुरस्कार प्रदान गर्दै आएकाे मञ्च अध्यक्ष केशव समर्पणले जानकारी दिए । प्रतियोगितामा मकवानपुरका विभिन्न विद्यालयका १४ जना विद्यार्थीले भाग लिएका थिए । १४ मध्येबाट उत्कृष्ट ७ गजल छनौट गरी कार्यक्रममा वाचन गरिएकाे थियो । उक्त प्रतियाेगितामा गजलकार सानु खनाल र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
मञ्चका अध्यक्ष समर्पणको अध्यक्षतामा तथा अग्रज कवि, गीतकार, गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यतामा भएकाे २२१ औँ नियमित गजल यात्रामा देवराज तिवारी, विश्वनाथ सञ्जेल, धर्मराज स्याङ्तान, भवानी तिमल्सिना, सञ्जीत श्रेष्ठलगायतले गजल वाचन गरेका थिए ।
मकवानपुर । दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा आयोजना गरिएकाे हेटौंडा आइडल गायन प्रतियाेगिताकाे लागि ३५ जना सहभागी भएका छन् ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजना भएकाे हेटौंडा आइडलमा सहभागी ३५ जना प्रतिस्पर्धीले शनिबार अडिसनमा प्रस्तुति देखाए । सहभागी ३५ जना मध्ये १५ जना अडिसनमा बाट स्टेज प्रस्तुतिकाे लागि छनौट भएकाे प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले जानकारी दिए । ६ फागुनदेखि १८ फागुनसम्म हेटौंडा १० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा उनीहरुले स्टेजमा प्रतिभा देखाउने छन् ।
प्रतियोगिता संयोजक श्रेष्ठले हेटौंडा आइडलको ग्राण्ड फिनाली फागुन १८ गते हुने बताए । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले हेटौंडा आईडलकाे उपाधी विजेताले ५१ हजार, फष्ट रनरअपले २५ हजार, सेकेण्ड रनरअपले १५ हजार रुपैंया प्राप्त गर्नेछन् । यस्तै २ जना रनरअपलाई जनही ५/५ हजार रुपैंया सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
मकवानपुरका गायक कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का रहेकाे हेटौंडा आइडलको निर्णायक समूहले आइडल टप १५ मा छनौट भएकाहरुमा अमित वर्तौला, विरसाना सिंघान, दिलप लामा, मेधना लामा, शुक्र महर्जन, सरोज स्याङबो, शुभम केसी सुगम, आरपी सापकोटा, प्रकाश वाइवा, रमेश घतानी, दिपा स्याङतान, भुवन घलान, अनिस वस्नेत, शान्तीमाया स्याङ्तान, शिवजी बुढाथोकी रहेकाे छन् ।
व्यापार महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री हुनेछन् । यस्तै बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय/स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्सव, मनोरञ्जनात्मक बाल उद्यान, नविनतम उपकरणहरुको प्रदर्शनी, नयाँ/नौलो प्रबिधिको प्रदर्शनी हुने आयोजकले जनाएकाे छ ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।
मकवानपुर । प्रमोदहरि गुरागाईंकाे शब्द रचना रहेकाे मन त्यतै कतै भुलेछु सार्वजनिक भएको छ । प्रणय दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गीतलाई विश्वप्रकाश शर्माले संगीत भरेका छन् भने गायक प्रमोद खरेलले स्वर दिएका छन् ।
मन त्यतै कतै भुलेछु प्रीय…काे गीत तथा म्युजिक भिडियो विश्वप्रकाश शर्माकाे अफिसियल युवट्युव च्यानलबाट बिहीबार बेलुका ६ बजे सार्वजनिक भएकाे हाे । प्रेमिल गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ट र प्रियना आचार्य फिचर्ड रहेका छन् । मनाेहर सुनामकाे एरेन्जर तथा भाेला पौडेलकाे मिक्सिङ तथा माष्टरिङ्ग गितकाे म्युजिक भिडियाेलाई निकेश खड्काले निर्देशन गरेका छन् । क्यामेरा उत्सव दाहाल र सम्पादन विकाश धमला रहेकाे गित विशुद्ध प्रेम भावमा रहेकाे छ ।
साहित्यिक हृदय हरेक व्यक्तिमा हुने बताउँदै गुरागाई भन्छन् अक्षरलाई भावनाकाे रसायनद्वारा जाेडेर गीत लेख्ने काेशिस गरेकाे हुँ । गुरागाईं पेशाले प्राध्यापन गर्छन भने राजनीतिकर्मीकाे रुपमा समेत चिनिन्छन् । यसैगरी शर्मा नेपाली काँग्रेसका महामन्त्री छन् । खरेल नेपाली गीत संगीतमा गायकका रुपमा चर्चित छन् ।