१ .
जन्मे पछि मर्नु पर्छ प्रकृतिको नियम यस्तै छ
फुले पछि झर्नु पर्छ प्रकृतिको नियम यस्तै छ
हो यस्लाई न रोक्न सकिन्छ न छेक्न सकिन्छ
माथी बसाई सर्नु पर्छ प्रकृतिको नियम यस्तै छ।
२.
तिमीलाई रगतले पत्र लेखेको थिए
धेरै..सपना तिमीसंग देखेको थिए
बिच बाटोमा नै मलाई छोडेर गयौं
तिम्रा दु:ख पीडा सबै छेकेको थिए।
३.
उ सराब नछुने मान्छे पिउने भएको छ
तिम्रै कारणले आज मुटु सिउने भएको छ
माया गर्छु भनी उस्लाई धोका दिएर गयौ
तिमी बिना एक्लै अब जिउने भएको छ ।
४.
मन परेको फूललाई तिमीले झारेर गयौ
माया गर्छु भनी तिमीले माया मारेर गयौ
थाहा भयो तिमी त सारै निष्ठुरी मान्छे रै छौ
आज मेरो माया अन्तै तिमीले सारेर गयौ ।
तुल्सिपुर -११, उरहरी दाङ्ग
- आर.सी रिजाल, व्याङ्ग्यकार
देशभक्त शर्माको निधनपछि उनको छोरा पितृभक्त शर्माले कसरी पिताको १३ दिने कर्म गर्छ्न् भन्ने बिषयमा घाटबाटै खुलदुली सुरु भयो। कारण अरुलाई आशौच बार्नुपर्दा उनी -” हाम्रो पुरातन संस्कारमा समयानुकूल परिवर्तन गर्नु पर्ने ” कुराको पक्षमा वकालत गर्थे।
घाटबाट फर्केपछि आफन्त र छरछिमेकीबिच उनले पिताको काजकिरिया पाँच दिनमा टुग्याउने कुरा सुनाए । धेरैले परम्परा नतोड्नुस् भनेर सम्झाए । एकदुई जना नजिकैका नातेदारले त त्यस्तो कर्म गरेमा हामी तिम्रो आगनमा पाइलो टेक्दैनौसमेत भने।
शर्माले -“हेर्नुस् जन्म र मृत्युु प्रकृतिको नियम हो भने संस्कार,परम्परा मानव निर्मित हुन् ।मानवले बनाएका परम्परामा मानवलेनै सुधार गर्न सक्छ।”भने।उनको विचारको सधैं समर्थन गर्ने हुकुमबहादुरले -“हामीले बाबुबाजेले सुनाएको कुरामा पनि ख्याल राख्नु पर्छ। यो संस्कार सुरुमा १३ बर्ष,१३ महिना,६ महिना,४५ दिन हुँदै जुध्दशमशेरको पालाबाट १३ दिनमा झारेको भनी सुन्दै आएका हौं । त्यसैले दिन घटाएर सुधारको बाट अपनाउन समसामयिक ठहर्छ” भने ।
शर्माको काकाले-“सुनेको थियो रे ! जस्ता कुराको पछि नलागौँ। हाम्रो खलकबाट यस्तो उट्पट्याङ कार्यको थालनी गर्ने पक्षमा म समर्थन जनाउदिन ” भने।
शर्माले -“पण्डित माधवराज जोशी ,सहिद शुक्रराज सास्त्रीसहितको आर्य समाजले वैधिक विधि अनुसार ३ दिनमा शुध्दि गर्ने अभियान चलाएका थिए । केही बर्ष अगाडि प्रज्ञाप्रतिष्ठानको संस्कृत समितिले वैदिक बिधिका आधारमा तिनदिने मृत्युसंस्कारलाई उपयुक्त हुने सुझाव दिएको थियो ।त्यस्तै पण्डित रुद्रप्रसाद आचार्य र पारशमणी पोखरेलले पास्कर गृहसुत्रको आधारमा पाँचदिने अन्त्यपद्द्ती अनुसार पहिलो ३ दिनमा १० पिण्ड ,चौथो दिनमा ११ दिनको काम र पाँचौ दिनमा १२ र १३ दिनमा गर्ने कार्य सम्पन्न गर्न सकिन्छ भन्नुभएको छ।” भने।
काका चाहिँले -” दुईचार हावादारीका लठुवाका उदाहरण दिएर समाज भाँडने कुरा अगाडि सारेर आशोच छोट्याउने कुरा नगर”भनी हकारे। ” सुन्नुस् काका – एकदुई बर्षभित्रको कुरा गर्छु।डाक्टर उपेन्द्र देवकोटाको ७ दिनमा आशोच कर्म गरियो। हास्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्नी यसोदा सुवेदीको पाँच दिनमा कार्य सिध्याए । यस्तो बाटो पछ्याउने धेरै छ्न् । त्यसैले कुरा काट्ने काटी रहन्छन् । उहि कुकुर घुक्दै गर्छ,हात्ती अगाडि बढ्दै जान्छ भनेझैँ। म त पाँचौं दिनमा कर्म टुङ्याउछु।”
” मलाई कुकुर भनिस् “भन्दै काका रिसाएर हिँडेपछि त्यहा उपस्थित प्रायः बुढापाकाहरु लाखापाखा लागे । युवाहरुले – “शर्मा दाइ तपाईंले सुधारसहितको राम्रो संस्कारको कुरा उठाउन भयो। दुईचार अक्षर पढेका हामी शिक्षित भनाउदाले नै हो संस्कारमा सुधार गर्दै लाने हो।हामीहरु तपाईंको साथमा छौँ ” भन्दै शर्माको हौसला बढाए।
हेटाैडा, मकवानपुर
जबजब झरी पर्न थाल्दछ,
तिम्रो याद विछट्टै आउँछ
कसैगरी रोक्न सक्दिन तिम्रो यादलाई,
न रोक्न सक्छु पानीका यि निरन्तर झरीरहेका थोपाहरु
बरु, आत्मा ग्लानिले म आफैं पानी पानी हुन्छ ।
यस्तो लाग्छ…
रातभर पानीले लफ्रक्क भिजेको
त्यो आँगनको लेउमा
तिमी विहानै पानीको गाग्रीसँगै लड्यौ कि ?
आफैंभन्दा भयङ्कर ठुला घाँस, सोतर र दाउराको बारी बोकेर
कसरी उक्लियौ होला तिमी,
झिसमिसे मै त्यो चिप्लो कान्लाहरुबाट ।
हिजो पसिनाले छपक्क भएका तिम्रो चोली र फरीयाहरु
आज झरीमा रुझेर अमिला भएका होलान्,
झरीमा घाँस, सोतर र पँधेरी भ्याएर,
चिसो चुल्होमा बडो मुस्किलले आगो फू…फू… गर्दै
तातो पानी तताएर एक गिसाल सुरूप्प पिएर,
फेरी उसैगरी दिनभर रुझ्नको लागी
पर्म तिर्न उकाली चढ्यौ काकीको खेततिर,
साँझ, थकित र रुझेको ज्यान लतार्दै लतार्दै
हतारीदै गोठमा हाजिर भयौ, ति चौपायका स्याहारको लागी,
रुझिरहेकै शरिरले चौपायको लागि न्यानाेपन भरेर,
फेरी त्यै चिप्लो पंधेरी, फेरी त्यै चिसो चुल्होमा
खुइया खुइया…., ठुइया ठुइया…. ।
रोगि शरिर लखतरान भएर आधा रातमा
ओछ्यानमा पुग्दा छाना चुहिएर लफ्रक्क भिजेकोे
त्यो ओछ्यानले कसरी साथ देला
थाकानले ढल्नै लागेको तिम्रो त्यो बुढो शरिरलाई ?
रुझेकै शरिर,
रुझेकै बिछ्यौना,
सायद रुझेकै तिम्रो मन,
रुझेरै बिहानीको छिसमिसे पर्खदो होला ।
वर्षातमा न छाना फेरेर ओत बन्न सके तिम्रो लागि
न नाना फेरेर न्यानोपन दिनसके
न उकालीमा तिमीलाई आड दिन सके, न ओरालीमा
न पधेंरामा साथ भए, न अधेरी रातहरुमा,
तिम्रा अभाव र दुःखलाई नदेखेझै गरिहरने
मसँग तिमीले कहिल्यै भनेनौः “छोरी म अभावमा छु ।”
रचनाकालः२०७८ जेठ १३ गते, हेटाैंडा–५ सिंचाइटाेल
बन्द काेठा भित्रबाट
सबैलाई लेखेकाेछु
बिपनीमा नभेटेनि
सपनिमा देखेकाेछु
बन्दिभई बसेकाे छु
निसास्सिंदै हावाबिना
काेराेनाकाे कहरमा
भाेलि देख्ने दावाबिना
आसागराैं भेटहाेला
प्राणवायु पाएँ भने
काेराेनकाे कालबाट
उम्किएर आएँ भने
मरेकाे त छैन
अझै हिम्मत र आस पनि
तर पनि लाग्दाेरैछ
कताकता त्रास पनि
घरभित्रै बसाैं सबै
काम धेरै भएपनि
बाच्नेले त हाेसगराैं
मर्ने मरी गएपनि
कहीं कतै कसैलाई
लाग्नहुन्न ब्याधीहरु
सुरक्षित भईबसाैं
हटिजान्छ आँधिहरु।।
रचनाकाल २०७८/२/७
हर्नामाडी मकवानपुर हाल काठमाडाै
मकवानपुर । ज्योति माध्यमिक विद्यालय हर्नामाडीमा साहित्यिक प्रशिक्षण कार्यक्रम भएकाे छ । विद्यालयको आयोजनामा बुधबार अनलाइन साहित्यिक प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हाे ।
काव्य विधा अन्तर्गतका कविता, गजल र मुक्तक केन्द्रित साहित्यिक प्रशिक्षण भएकाे हाे । साहित्यिक प्रशिक्षणकाे सहजीकरण मकवानपुका कवि सुवास खनालले गरेका थिए । ९० जना सहभागीता रहेको उक्त कार्यक्रममा विद्यालयका शिक्षक , अभिभावक तथा विद्यार्थीहरू उपस्थित रहेका थिए ।
नियमित शिक्षण बाहेक विद्यालयले हरेक हप्ता सिकाइ सहजीकरणअन्तर्गतको १ र अतिरीक्त क्रियाकलाप अन्तर्गतको १ गरी २ वटा कार्यक्रम सञ्चालन गर्दै आएकाेमा साहित्यिक सिकाइ सहजीकरण कार्यक्रमकाे खनालले काव्य विधा अन्तर्गतकाे साहित्यिक विधागत प्रशिक्षणको सहजीकरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले गरेका थिए। अध्यक्ष रम्तेलले ज्योति माध्यमिक विद्यालय सिर्जनात्मक गतिविधि सञ्चालनका निम्ति सधैँ तत्पर रहेको बताए । सहायक प्रधानाध्यापक चौलागाईँले विद्यालयले परीक्षाफल पनि अनलाइन माध्यमबाट प्रकाशन गर्न सफल भएको र नयाँ शैक्षिक वर्षका कक्षाहरू पनि अनलाइन माध्यमबाटै सञ्चालनमा आइसकेको जानकारी गराएका थिए ।

कार्यक्रममा अङ्ग्रेजी विभागीय प्रमुख उमेश पराजुली र शिक्षक सुलोचना घलानले मन्तव्य राख्नुभएको थियो । साथै विद्यालयकी छात्रा दृष्टि धिमालले अङ्ग्रेजी भाषाको कविता वाचन गरेकी थिइन् । कार्यक्रममा शिक्षकहरू अनु रोक्का ,अश्विनी अर्याल, जीवन गुरुङ , युवराज लोप्चन , सपना माल्बुले लगायतको सहभागिता रहेको थियो ।