सेमन्ता दाहाल
१.
खबर के छ तिम्रो भनी बुझिरहे सधैं
तिम्रै आदेश पालन गर्न कुदिरहे सधैं
पीडा दिएउ सधैं तड्पाई राखेउ मलाई
मैले भने देउता सम्झी पुजिरहे सधैं ।
२.
जिन्दगी कहिल्यै नचल्ने रहेछ कसैको आशमा
प्रगति र उन्नति पनि नभई नहुने रहेछ खासमा
आफू त कर्म र भाग्यकै दौडमा अल्झिरहे सधैं
पैसा र पद भए मात्र इज्जत रहेछ समाजमा ।
३.
जमिन छैन सडकमा अन्न फलेन
माइती जाऊ भने पनि गाडी चलेन
बन्द थपिँदै जाने भयो सधैंभरि
मेरो घरको आज बाट चुल्हो बलेन ।
४.
थाहै नदिई कस्तो खेल खेल्यौं प्रकृति
ध्वस्तै पारेऊ भए भरको सबै सम्पत्ति
जोगाई राखेको मठ मन्दिर पनि राखेनौ
सबै लुटी लग्यौ नेपालीको संस्कृति ।
५.
गरिबीको चित्कार यहाँ कसले सुन्ने
धन हुनेले सेवा गरे हुन्छ यहाँ पुन्ये
काम दाम केही छैन भयो सबै ठप्प
लाग्न थाल्यो भोकले मरिन्छ की भन्ने ।
चितवन । चितवनका पत्रकार वसन्त पराजुलीद्वारा लिखित कथा सङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण बजारमा लइएको छ ।
२०७६ सालको फागुनमा प्रकाशन गरिएको कुमाता कथा संग्रह प्रकाशन भएको डेड वर्षमा तेस्रो संस्करण प्रकाशन गरिएको हो । २०७७ असारमा कुमाताको दोस्रो संस्करण प्रकाशन भएको थियो।
भुँडिपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमता कथा सङ्ग्रहको तेस्रो संस्करणमा कभर परिवर्तन गर्नुका साथै कुमाता माथि विज्ञ समिक्षकहरुले गरेका समिक्षाका साराशंलाई पनि समेटिएको कथाकार पराजुलीले जानकारी दिए ।
सामाजिक विषयवस्तुमा आधारित कथाहरु समेटिएको कुमातामा गरिबी, बैदेशिक रोजगारी , प्रेम, विश्वास, यौन, धोका,जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका कारण पाठकहरुले कृतिलाइ मन पराएकाले छोटो समयमै तेस्रो संस्करण प्रकाशनमा पुगेको लेखक पराजुलीले बताए ।
अर्पण योन्जन ‘पारिजात’
प्यारो राजा
बिहानिको मधुर उज्यालोमा
मर्स्यङ्गदिको कलकल बहाब संगै
गैरी खेतको हरिया आलि
छङ्गछङ्ग गरेर झर्दै गरेको समहाका
सेता निला पानीको प्रवाहसंगै
तिमीसंग मेरो पहिलो भेट भएको थियो
र, तिमीलाइ जिस्काउदै भनेको थिए
आज कसै संग भेट हुन पनि
ब्याकरणहरु मिल्नु नपर्ने रहेछ !
कर्तव्य र जिम्मेवारीको
आकास जस्तो भारी पिठ्युँमा कसेर
सायद त्यो दिन म पर्देशिदै थिए
अनेकौ रहर र बाध्याताहरु बोकेर
भोलि उदाउने बिहानीसंगै
मेरो सुखको बिहानी उदाउने आसमा
जीवन भन्दा पनि लामा दुख बिर्सिएर
गोरखपुरको रेलको अन्तिम डिब्बामा बसेर
यात्रा नापिरहेका थियौ दुबै
छक छक छक छक छक
रेलको अट्टहास लाग्दो
बिरक्तिलो आवाज संगै
नभनेरै हृदयले सुनेका
शुरु गरेका थियौँ एउटा प्रेम कहानी
गोरखपुरबाट छुटेको रेलको डिब्बा
कटिहार र गंगा जमुना ब्रंहापुत्र हुँदै
लिकहरुको लम्बाई नापेर
बम्बै रवना भएको
रेलको झ्यालमा बसेर
तिनै झ्यालको सिसामा अनुहार देखाउदै
तिमिले भनेको थियौ,
महाराज !
हेरत, कति हसिलोछ तिम्रो अनुहार
मैले तिम्रो आखालाई जवाफ दिएको थिए
सायद !
तिम्रो आखाको रानी भित्र
पहिलोपटक प्रेमको स्पर्श गरेको थिए !
समिरको चिसो झोकाले हिर्काएर
तिम्रो केशरासी हरुले
मेरो अनुहारमा काउकुती लगाउन आइपुग्थे
म मदहोसी पिए झै भुतुक्क हुन्थे
तिमी लजाएर झनै पानीपानी हुन्थ्यौ
मानौ भर्खरै लालुपाते फक्रीएकोछ,
र, तिम्रो कोमल चेहेरामा बैँस फुलेको देख्थे
मानौ माथी आकाशमा पुर्णिामा को दिन
जुन बैशालु भएर लजाएको छ,
एउटा कथा बोकेर एक तमासले
सापना खोज्दै क्षितिज नियालेर
तिम्रो गालामा टप्लक्क मेरो आँसु झर्दा
पुलुक्क मलाइ नियालेर चस्मा झिक्दै
मलाइ आफ्नो अंगालोमा कसेर
सुटुक्क भनेको थियौ
‘पारिजात’, परदेश नजाउन है रु
तर मलाइ हतार थियो जिन्दगी संग
मलाइ हतार थियो धेरै पैसा कमाउनु सँग
तैपनि हतार छ भन्नै सकिन तिमी संग
किनकी !
हतार छ मलाइ भन्नू,
तिमि सँग टाढिनु जतिकै थियो
तिमी संग टाढिनु भनेको
म आफ्नै शरीर संग श्वास छुटाउनु जस्तै थियो
र, चुपचाप हिडिरहे तिमीसंगै
पुर्ब बाट पश्चिम दौडिरहेको घाम जस्तै
दिन महिना बर्ष बितेछ आज त्यो पल
जतिबेला तिमिले पर्देश नजाउ भन्दै
अंगालोमा बेरेर मेरो आँसु पुछेको थियौ
तर, आज बिहानै खबर सुने
तिमिले सिउदोको सिन्दुर भुल्यौरे
ममताको छाती भुल्यौरे
म संगैको त्यो जिन्दगी को यात्रा भुल्यौरे
र, मन चिसो भो
मन र तन तताउने भनेका यादहरुका टुक्रा रहेछन
तिमी संगको यादहरुमै आँखा ओसिलो पारे
धुजाधुजा भएको सपनाहरु
सम्झनामा तिमी संगको पहिलो यात्रा
मैले आज बाट बिट मारे
अनि सोचे–
जिन्दगी को जोडघटाउमा
मान्छेले पनि क्रय बिक्रय हुनुपर्ने रहेछ
भोगाइका क्याल्कुलेटर हरु पनि रोकिनुपर्ने रहेछ
र आज त्यो गोरखपुरको रेल रोकिए पनि
तिमी संगको याद हरु रोकिने छैनन निस्ठुरी
अनि मन गाठो पारेर दरो बाँधे
यदि कुनै गजलको रदिफ र काफिया जस्तो
कुनै कथाको अनुच्छेद जस्तो
कुनै कविताको हरफ जस्तो
कुनै गितको अन्तरा जस्तो
कुनै संगितको सरगम जस्तो
नमिलेका अलिअली काटेर मिलाए जस्तै
नमिल्ने रहेछ मान्छेको जिन्दगी
जस्तो चाहयो अक्षर हरु फेर्न सकियोस
शब्द र भाव हरु बदल्न सकियोस
नमिलेका हर्स्व दीर्घ बनाउन सकियोस
तिमीले अन्तिम पटक लेखेको पत्र हरु
आज पनि पल्टाउदै पड्दैछु
तिमिले लेखेका छौ
मर्स्याङ्दी पहिले झै संग्लो बग्दैन
गैरिखेतको समहा हरु पहिले झै झर्दैनन
तिमिले टालेर गएको खेतको आलि हरु
फुटेर झर्न मात्रै बाकी छ,
तिमी र मैले बगाएको त्यो कागजको डुङ्गा
कहाँ बिलायो अब कहिले भेटिने छैन
त्यसैले महाराज !
मनको मर्स्याङ्दिमा बाढी आएपछि
यस्पाली तन्को मझेरिमा धान रोपिएन
हामी संगैको तस्बिर धुमिल भैसक्यो
आदि, इत्यादी
हो रहेछ, प्यारो राजा
आज तिम्रो पत्रको भावहरु बल्ल बुझ्दैछु
न रहयो बाचा कसम
न रहयो त्यो खेत
त्यो नदि नाला
र रहेन अब मसंग केही
यादहरुसंगै
यो पत्र लेख्ने मान्छे पनि
२०७८ श्रावण ७
‘मुर्ति पार्क जसले मन तान्छ’ (फाेटाे फिचर सहित)
Tags: No Comments
मकवानपुर (हर्नामाडी) । कला अर्थात् अन्तरमनको प्रष्फुटन । कला अर्थात विगतको स्मरण र आगतको प्रक्षपण गराउने अन्तर “वस्तु” । एउटा कलाकारको अन्तरमनले कोरेका सांकेतिक कलाको अर्थ दर्शकहरुले कसरी बुझ्छन् । अवश्य पनि आ–आफ्नो बुझाइको गहिराईमा भर पर्छ यसको अर्थ । कलाको मूल्य या त कुनै नयाँ कुरा सिक्दा थाहा हुन्छ या त बिर्सिएको याद पुनः फर्काउन खोज्दा । कलाको साधना चाहेर पनि सबैले सहजै गर्न सक्ने पाटो हैन । यसको लागि अद्वितीय सामथ्र्य निरन्तरको लगाव र अविचलित धैर्यता अपरिहार्य छ ।
तयारी कलाको प्रभाव हाम्रो आँखाबाट प्रवेश गरी मन मस्तिष्कमा गहिरो प्रभाव छाड्ने हुन्छन् । कलाले सिङ्गो जीवन बोलेको हुन्छ । सिङ्गो संसारको भाव बोकेको हुन्छ । चित्रकला, मूर्तिकला, वास्तु, गायन, नृत्य, हाँस्य, वाचन, वाक् वा भाषण, अभिनय, शिक्षण वा प्रशिक्षण, जादुगरीजस्ता विविध कलाका रुप हुन्छन् । कलामा अनुकरण सपाट मात्र भयो भने त्यसले कलात्मकताले अझै भव्यता पाउँछ । भव्य तर अनुकरण भनेको कुनै पनि वस्तुको चित्रण गर्दा त्यसका सुन्दर पक्षको मात्रै होइन, कुरूप पक्ष वा कमी–कमजोरीहरूको पनि ढाकछोप गरेर सौन्दर्यमूलक ढङ्गले चित्रण गर्नु हो । पाश्चात्य जगतका महान् दार्शनिक अरिस्टोटलले भनेको छन् “कला प्रकृतिको अनुकृति हो ।”

कलाको एउटा पाटोको कुरा गरौः मुर्तिकला । नेपालमा मूर्तिकलाको विकास मल्लकालमा उत्कर्षमा पुगेको इतिहासमा ब्याख्या गरिएको छ । त्रिबिक्रम मल्लले बनाएको मानदेब कालिन वामन मुर्ति नै नेपालको प्रामाणिक सबभन्दा पुरानो मुर्ति मानिन्छ ।
झण्डै ४० लाख खर्चेर ललितकला अनुसन्धान स्थलको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको मूर्तिपार्क हेटौंडा उपमहानरपालिकाको वडा–१८ मा अवस्थित छ । नेपालमै पहिलो पटक मकवानपुर जिल्लाको हर्नामाडी गुम्बा डाँडामा अन्तराष्ट्रिय मूर्तिकला महोत्सव आयोजना गरी कोरीएका २३ वटा मुर्तिहरु खुला चौरमा राखिएका छन् ।
हेटौंडा उपमहानगरपालिका मुख्य बजारबाट १८ किलोमिटर पूर्वमा पर्ने हर्नामाडीको साविक गुम्बा डाँडा सल्लाघारी सामुदायिक वनमा मुर्ति पार्क निर्माण गरिएको थियो । अन्तराष्ट्रिय मुर्तिकला महोत्सव चलिरहँदा देश विदेशमा चर्चा पाएको यो स्थल अहिले गुमनाम जस्तै बन्दै आएको छ । मूर्तिहरुको व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार विकास गर्न नसकिएपछि महोत्सवताका चर्चित यो स्थलको चर्चा विस्तारै हराउँदै गएको हो । नेपाल सहित विभिन्न ६ राष्ट्रका २३ जना कलाकारहरुले ढुङ्गामा कुदेको २३ वटा मूर्ति छन् । प्रकृतिका अनेक रुपहरुलाई मुर्तिकाहरुले ढुङ्गा कुदेर जिवन्त बनाएका छन् । जहाँ पुग्दा प्राकृतिक रुपमा शरिरले त शितलता आभाष गर्दछ नै, मन र अन्तष्करणमा पनि उत्सुकता जन्माउँछ ढुङ्गामा कोरिएका मुर्तिहरुले ।

यस्ता छन् मुर्तिहरुः
मुर्तिपार्कमा २३ प्रकारका मुर्तिहरु छन् । जसमा प्रकृतिका अनेकन रुपहरु र मानवीय शक्ति देखाउने जमर्को गरीएको छ । इटालीका मुर्तिकार बेटीनो फ्रान्सीनीले विश्वको पहिलो आमाको परिकल्पना गरी ढुङ्गाको मुर्ति बनाएका छन् । जसलाई मुर्तिपार्कको मध्यभागमा राखिएको छ । यसैगरी दक्षिण कोरियाका मुर्तिकार शीम जूम् शूले औद्योगिक वातावरणको परिकल्पना गरि एउटै ढुङ्गामा कलाको प्रस्तुति गरेका छन् । जापानका मुर्तिकार सूगीमोतो जुन यूचीरोले प्रकृतिमा पुष्ट छिप्पिएको भटमासको कोसा बनाएका छन् ।

यसैगरी मकवानपुरका स्थानीय कलाकारहरु लक्ष्मण भुजेलले उत्सुकताको मुर्ति र अर्का स्थानीय कलाकार ओमभक्त भण्डारीले भगवान गणेश एवम् कछुवाको स्वरुपको मुर्ति बनाएका छन् । यसैगरी रुपन्देही जिल्लाका बुद्ध थारुले ढुङ्गाको आकारलाई कुदेर “बुद्धको अर्थ आकार एवम् अष्टमंगल” बनाएका छन् । काठमाडौका पूर्णकाजी शाक्यले तयार पारेको “शान्तिभूमी नेपाल”, मकवानपुरको बाबुलाल वाइबाले “हामी सबै मिलेर बसौ” भन्ने साँकेतिक मुर्ति तयार गरेका छन् ।
नेपालकै अग्लो बुद्ध प्रतिमा अर्को आकर्षणको केन्द्र
पार्कको उत्तर तर्फ निर्माण गरिएको बुद्धको प्रतिमा अर्को आकषर्णको केन्द्र विन्दु बनेको छ । करिब १ करोडको लागतमा २५ फिट अग्लो ढुंगाको मुर्ति निर्माण कार्य सकिएको छ । कोरोना सन्त्रासका कारण औपचारीक रुपमा मूर्ति उद्घाटन भने गरिएको छैन । ललितपुरको बालकुमारीमा मूर्तिकार अमर शाक्यले ढुंगाको मूर्ति कुँदेका थिए । महामारीको कारण अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण संयोजन समिति संयोजक कमलचन्द्र सुमनले बताए ।
करिब २ करोड बढी जुटाएर बुद्धमुर्ति बनाइएकाे हाे । बागमती प्रदेश सरकारले मूर्ति प्रतिस्थापन गर्ने स्थान निर्माण र मूर्ति रहने स्थानसम्म पुग्ने सिँढी निर्माणका लागि ३५ लाख रुपियाँ उपलब्ध गराएको थियो । १८ नम्बर वडाले भने ५ लाख रुपियाँ उपलब्ध गराएको थियो । २०७६ को बुद्ध पूर्णिमाका दिन शिलान्यास गरिएको मूर्ति निर्माण तथा स्थापना र उक्त स्थानमा पार्कलगायत संरचना निर्माणका लागि करिब ३ करोड खर्च गरिएको थियो ।

बुद्धमूर्ति निर्माण संयोजन समिति संयोजक सुमनका अनुसार मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न स्तुपा, ९० किलोको घण्टी, भवनहरु, पानीट्यांकी, मनोरञ्जन पार्क, कम्पाउण्डवाल र अन्य संरचना बन्ने क्रम जारी छ । नेपालमा पहिलो पटक ९० किलोको घण्टी यहाँ राख्न लागेको बताए । ठुलो घण्टी विश्वमा ६० स्थानमा छ हेटौंडामा भने ६१ औं स्थान हुनेछ उनले भने ।

रमणीय वातावरण
यातायातको सहज पहुँच, सल्ला, साल र स्थानीय प्रजातिका बोट विरुवाहरुले हरियारी सामुदायिक वनको काखमा अवस्थित यो पार्क मनोरम छ । धरान चतरा हेटाैडा मार्गकाे हर्नामाडी सडकखण्ड अन्तरगत मुख्य हाइवेबाट झण्डै १ किमी दक्षिण तर्फ , स्थानीय बस्तिभन्दा पनि केही पर रहेको शान्तमय रमणीय वातावरणमा पुगेपछि अन्य साहित्यिक लगायतका रचना गर्नको लागि समेत उपयुक्त वातावरण बन्न सक्दछ । पिकनिक खानको लागि, चिलचित्र तथा भिडियो सुटिङ्गको पनि यो क्षेत्र महत्वपूर्ण रहेको छ । “पार्क धेरै दृष्टिकोण उपयुक्त छ, अझै केही व्यवस्थापान गर्न सकेमा चर्चित स्थल बन्ने थियो” पार्कमा भेटिएका मकवानपुरका पत्रकार दीपकसिंह रुम्बाले बताए ।

अझै अधुरो छ पार्क
करिब सवा ४ हेक्टर क्षेत्रफलमा फैलिएको गुम्बाडाँडाको अवस्था उक्त महोत्सवताका चर्चा भएपनि पछिल्लो समय अधुरा संरचनाहरु निर्माणमा ध्यान पुगेको छैन । पछिल्लो समय कोरोना महामारीको कारण पर्यटनहरुको आवागमन पनि घटेको छ । “महामारीको कारण पर्यटनको आवागमन घटेको छ, केही संरचना चालु आर्थिक वर्षमा बनाइने तयारी भएको छ” पार्कको सहयोगी जमुना कोइरालले भनिन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पर्यापर्यटकीय पार्क गुम्बाडाँडा र समसामयीक नेपाली मूर्तिकार समूह (आरम्भ) को संयुक्त आयोजनामा २०६९ मंसिर ११ गतेदेखि २३ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय मूतिर्कला कार्यशाला–२०६९ भएको थियो ।

मकवानपुर जिल्लाका तत्कालिन स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टको संयोजकत्वमा कार्यशाला मूल आयोजक समिति गठन गरिएको थियो । सडक सुविधा नभएको उक्त गूम्बा डाँडामा मूर्तिपार्क बनाउनका लागि २ वटा ग्राभेल सडक निर्माण गरिएको थियो । “विकास होला भनेर आफ्नो नम्बरी बारी नै काटेर बाटो दिएको तर अहिले न विकासको कुनै रुप देख्न पाइयो न आफ्नो जग्गाबाट आम्दानी लिन पाइयो” स्थानीयले गुनासो गरे । मुर्ति पार्कमा पुग्ने कच्चिबाटोहरु पक्की बनाइएका छन्, पार्क प्रवेश गर्ने मुल गेट निर्माण गरिएको छ । तर मुर्ति राखिएको स्थलहरु आकर्षक बनाउनतर्फ भने लगानी गरिएको देखिदैन ।

खुल्ला चौरमा रहेको ढुङ्गाका मुर्तिहरु घाम पानीको कारण डिसकलर भएका छन् । मुर्ति वरपरको ग्राउण्डको व्यवस्थापन गर्न सकिएको छैन । “मुर्ति नियालेर फर्के जुत्ता हिलाम्य र कपडाभरी काँडा नै काँडा भयो” पार्क घुमेर फर्केकी हेटौंडा–५ की स्वरुपा गुरागाईले भनिन् “पिउने पानीको व्यवस्था पनि रहेनछ ।”
पार्कको नियमित रेखदेखको लागि समिति निर्माण गरिएको छ । विश्राम स्थल, पानीको फहरा, पुष्प बगैचा लगायतको निर्माणको काम सकिएको छ । “यसवर्ष बाल उद्यान बनाउने योजनामा छौ” पार्कका अध्यक्ष हर्क रम्तेलले भने । पार्कको व्यवस्थापनको लागि धेरै योजनाहरु भएपनि आर्थिक अभावको कारण योजना अनुसारको काम गर्न समस्या भएको अध्यक्ष रम्तेलले बताए । अबकाे केही समयमा नै धेरै कुराको ब्यबस्थापन गर्ने रम्तेलले जनाकारी दिए ।
अबकाे याेजना
पार्कलाइ अझै व्यवस्थित गर्न यस वर्ष पेन्टिङहरु फ्रेमिङ्ग गर्ने काम, चिल्ड्रेन पार्क बनाउने कार्य, मुर्तिहरु अझै ब्यबस्थापन गर्ने काम गरिने अध्यक्ष रम्तेलले बताए । यसैगरी आगामी भदौ १ गतेबाट पार्क प्रवेशमा प्रतीब्यक्ति १० रूपिया शुल्क लगाउने तयरी भएकाे उनले बताए । प्रवेश शुल्क हेटौंडा-१८ भित्र बसोबास गर्ने लाई भने लाग्ने छैन ।



१.
कोहि धन कोहि रुप भएर धाकको खेल खेलिरहेछ
अर्को प्रेम घरीघरी खतरनाकको खेल खेलिरहेछ
तपाईंले त ठट्टा मात्रै गर्नुभएको रहेछ केहि छैन
म संङ यहाँ जिन्दगी स्वयं मजाकको खेल खेलिरहेछ।
२.
प्रेमी बनेर तिमी जहर पिलाउन आएका रहेछौ
यो समयसङै हातहरु मिलाउन आएका रहेछौ
प्यासमा आँसु भोकमा याद उपहार सुन्दर दियौ
बर्षौ अघिका ती यादहरु दिलाउन आएका रहेछौ।
३.
बच्चै छ सम्झिन्छिन मायाको डोरो सम्झिन्छिन
भोक,प्यास बिर्सिएर एकोहोरो सम्झिन्छिन
उता उसलाई प्रेमिका सम्झदैमा ठिक छ
रोगी आमा उहीँ पर्देशको छोरो सम्झिन्छिन।
४.
दुख र पिरहरुका अनगिन्ती भारी छन मेरा
कुरा काट्ने दुश्मनहरु वारि पारी छन मेरा
कसरी झुठ बोलौ जीवनमा तिमी मात्र छौ भनी
तिमी बाहेक पनि अनेकौं जिम्मेवारी छन मेरा।
५.
जिन्दगीलाई फुलबुट्टाले भरौला, सपना मात्र भयो
हजारौं सपनाहरु पूरा गरौंला, सपना मात्र भयो
तिमी चुक्यौ या त म चुके सम्बन्ध जोगाइराख्न सकिन
सङै बाचौला अनि सङै मरौला सपना मात्र भयो।