मकवानपुर (हर्नामाडी) । कला अर्थात् अन्तरमनको प्रष्फुटन । कला अर्थात विगतको स्मरण र आगतको प्रक्षपण गराउने अन्तर “वस्तु” । एउटा कलाकारको अन्तरमनले कोरेका सांकेतिक कलाको अर्थ दर्शकहरुले कसरी बुझ्छन् । अवश्य पनि आ–आफ्नो बुझाइको गहिराईमा भर पर्छ यसको अर्थ । कलाको मूल्य या त कुनै नयाँ कुरा सिक्दा थाहा हुन्छ या त बिर्सिएको याद पुनः फर्काउन खोज्दा । कलाको साधना चाहेर पनि सबैले सहजै गर्न सक्ने पाटो हैन । यसको लागि अद्वितीय सामथ्र्य निरन्तरको लगाव र अविचलित धैर्यता अपरिहार्य छ ।
तयारी कलाको प्रभाव हाम्रो आँखाबाट प्रवेश गरी मन मस्तिष्कमा गहिरो प्रभाव छाड्ने हुन्छन् । कलाले सिङ्गो जीवन बोलेको हुन्छ । सिङ्गो संसारको भाव बोकेको हुन्छ । चित्रकला, मूर्तिकला, वास्तु, गायन, नृत्य, हाँस्य, वाचन, वाक् वा भाषण, अभिनय, शिक्षण वा प्रशिक्षण, जादुगरीजस्ता विविध कलाका रुप हुन्छन् । कलामा अनुकरण सपाट मात्र भयो भने त्यसले कलात्मकताले अझै भव्यता पाउँछ । भव्य तर अनुकरण भनेको कुनै पनि वस्तुको चित्रण गर्दा त्यसका सुन्दर पक्षको मात्रै होइन, कुरूप पक्ष वा कमी–कमजोरीहरूको पनि ढाकछोप गरेर सौन्दर्यमूलक ढङ्गले चित्रण गर्नु हो । पाश्चात्य जगतका महान् दार्शनिक अरिस्टोटलले भनेको छन् “कला प्रकृतिको अनुकृति हो ।”

कलाको एउटा पाटोको कुरा गरौः मुर्तिकला । नेपालमा मूर्तिकलाको विकास मल्लकालमा उत्कर्षमा पुगेको इतिहासमा ब्याख्या गरिएको छ । त्रिबिक्रम मल्लले बनाएको मानदेब कालिन वामन मुर्ति नै नेपालको प्रामाणिक सबभन्दा पुरानो मुर्ति मानिन्छ ।
झण्डै ४० लाख खर्चेर ललितकला अनुसन्धान स्थलको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको मूर्तिपार्क हेटौंडा उपमहानरपालिकाको वडा–१८ मा अवस्थित छ । नेपालमै पहिलो पटक मकवानपुर जिल्लाको हर्नामाडी गुम्बा डाँडामा अन्तराष्ट्रिय मूर्तिकला महोत्सव आयोजना गरी कोरीएका २३ वटा मुर्तिहरु खुला चौरमा राखिएका छन् ।
हेटौंडा उपमहानगरपालिका मुख्य बजारबाट १८ किलोमिटर पूर्वमा पर्ने हर्नामाडीको साविक गुम्बा डाँडा सल्लाघारी सामुदायिक वनमा मुर्ति पार्क निर्माण गरिएको थियो । अन्तराष्ट्रिय मुर्तिकला महोत्सव चलिरहँदा देश विदेशमा चर्चा पाएको यो स्थल अहिले गुमनाम जस्तै बन्दै आएको छ । मूर्तिहरुको व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार विकास गर्न नसकिएपछि महोत्सवताका चर्चित यो स्थलको चर्चा विस्तारै हराउँदै गएको हो । नेपाल सहित विभिन्न ६ राष्ट्रका २३ जना कलाकारहरुले ढुङ्गामा कुदेको २३ वटा मूर्ति छन् । प्रकृतिका अनेक रुपहरुलाई मुर्तिकाहरुले ढुङ्गा कुदेर जिवन्त बनाएका छन् । जहाँ पुग्दा प्राकृतिक रुपमा शरिरले त शितलता आभाष गर्दछ नै, मन र अन्तष्करणमा पनि उत्सुकता जन्माउँछ ढुङ्गामा कोरिएका मुर्तिहरुले ।

यस्ता छन् मुर्तिहरुः
मुर्तिपार्कमा २३ प्रकारका मुर्तिहरु छन् । जसमा प्रकृतिका अनेकन रुपहरु र मानवीय शक्ति देखाउने जमर्को गरीएको छ । इटालीका मुर्तिकार बेटीनो फ्रान्सीनीले विश्वको पहिलो आमाको परिकल्पना गरी ढुङ्गाको मुर्ति बनाएका छन् । जसलाई मुर्तिपार्कको मध्यभागमा राखिएको छ । यसैगरी दक्षिण कोरियाका मुर्तिकार शीम जूम् शूले औद्योगिक वातावरणको परिकल्पना गरि एउटै ढुङ्गामा कलाको प्रस्तुति गरेका छन् । जापानका मुर्तिकार सूगीमोतो जुन यूचीरोले प्रकृतिमा पुष्ट छिप्पिएको भटमासको कोसा बनाएका छन् ।

यसैगरी मकवानपुरका स्थानीय कलाकारहरु लक्ष्मण भुजेलले उत्सुकताको मुर्ति र अर्का स्थानीय कलाकार ओमभक्त भण्डारीले भगवान गणेश एवम् कछुवाको स्वरुपको मुर्ति बनाएका छन् । यसैगरी रुपन्देही जिल्लाका बुद्ध थारुले ढुङ्गाको आकारलाई कुदेर “बुद्धको अर्थ आकार एवम् अष्टमंगल” बनाएका छन् । काठमाडौका पूर्णकाजी शाक्यले तयार पारेको “शान्तिभूमी नेपाल”, मकवानपुरको बाबुलाल वाइबाले “हामी सबै मिलेर बसौ” भन्ने साँकेतिक मुर्ति तयार गरेका छन् ।
नेपालकै अग्लो बुद्ध प्रतिमा अर्को आकर्षणको केन्द्र
पार्कको उत्तर तर्फ निर्माण गरिएको बुद्धको प्रतिमा अर्को आकषर्णको केन्द्र विन्दु बनेको छ । करिब १ करोडको लागतमा २५ फिट अग्लो ढुंगाको मुर्ति निर्माण कार्य सकिएको छ । कोरोना सन्त्रासका कारण औपचारीक रुपमा मूर्ति उद्घाटन भने गरिएको छैन । ललितपुरको बालकुमारीमा मूर्तिकार अमर शाक्यले ढुंगाको मूर्ति कुँदेका थिए । महामारीको कारण अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण संयोजन समिति संयोजक कमलचन्द्र सुमनले बताए ।
करिब २ करोड बढी जुटाएर बुद्धमुर्ति बनाइएकाे हाे । बागमती प्रदेश सरकारले मूर्ति प्रतिस्थापन गर्ने स्थान निर्माण र मूर्ति रहने स्थानसम्म पुग्ने सिँढी निर्माणका लागि ३५ लाख रुपियाँ उपलब्ध गराएको थियो । १८ नम्बर वडाले भने ५ लाख रुपियाँ उपलब्ध गराएको थियो । २०७६ को बुद्ध पूर्णिमाका दिन शिलान्यास गरिएको मूर्ति निर्माण तथा स्थापना र उक्त स्थानमा पार्कलगायत संरचना निर्माणका लागि करिब ३ करोड खर्च गरिएको थियो ।

बुद्धमूर्ति निर्माण संयोजन समिति संयोजक सुमनका अनुसार मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न स्तुपा, ९० किलोको घण्टी, भवनहरु, पानीट्यांकी, मनोरञ्जन पार्क, कम्पाउण्डवाल र अन्य संरचना बन्ने क्रम जारी छ । नेपालमा पहिलो पटक ९० किलोको घण्टी यहाँ राख्न लागेको बताए । ठुलो घण्टी विश्वमा ६० स्थानमा छ हेटौंडामा भने ६१ औं स्थान हुनेछ उनले भने ।

रमणीय वातावरण
यातायातको सहज पहुँच, सल्ला, साल र स्थानीय प्रजातिका बोट विरुवाहरुले हरियारी सामुदायिक वनको काखमा अवस्थित यो पार्क मनोरम छ । धरान चतरा हेटाैडा मार्गकाे हर्नामाडी सडकखण्ड अन्तरगत मुख्य हाइवेबाट झण्डै १ किमी दक्षिण तर्फ , स्थानीय बस्तिभन्दा पनि केही पर रहेको शान्तमय रमणीय वातावरणमा पुगेपछि अन्य साहित्यिक लगायतका रचना गर्नको लागि समेत उपयुक्त वातावरण बन्न सक्दछ । पिकनिक खानको लागि, चिलचित्र तथा भिडियो सुटिङ्गको पनि यो क्षेत्र महत्वपूर्ण रहेको छ । “पार्क धेरै दृष्टिकोण उपयुक्त छ, अझै केही व्यवस्थापान गर्न सकेमा चर्चित स्थल बन्ने थियो” पार्कमा भेटिएका मकवानपुरका पत्रकार दीपकसिंह रुम्बाले बताए ।

अझै अधुरो छ पार्क
करिब सवा ४ हेक्टर क्षेत्रफलमा फैलिएको गुम्बाडाँडाको अवस्था उक्त महोत्सवताका चर्चा भएपनि पछिल्लो समय अधुरा संरचनाहरु निर्माणमा ध्यान पुगेको छैन । पछिल्लो समय कोरोना महामारीको कारण पर्यटनहरुको आवागमन पनि घटेको छ । “महामारीको कारण पर्यटनको आवागमन घटेको छ, केही संरचना चालु आर्थिक वर्षमा बनाइने तयारी भएको छ” पार्कको सहयोगी जमुना कोइरालले भनिन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पर्यापर्यटकीय पार्क गुम्बाडाँडा र समसामयीक नेपाली मूर्तिकार समूह (आरम्भ) को संयुक्त आयोजनामा २०६९ मंसिर ११ गतेदेखि २३ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय मूतिर्कला कार्यशाला–२०६९ भएको थियो ।

मकवानपुर जिल्लाका तत्कालिन स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टको संयोजकत्वमा कार्यशाला मूल आयोजक समिति गठन गरिएको थियो । सडक सुविधा नभएको उक्त गूम्बा डाँडामा मूर्तिपार्क बनाउनका लागि २ वटा ग्राभेल सडक निर्माण गरिएको थियो । “विकास होला भनेर आफ्नो नम्बरी बारी नै काटेर बाटो दिएको तर अहिले न विकासको कुनै रुप देख्न पाइयो न आफ्नो जग्गाबाट आम्दानी लिन पाइयो” स्थानीयले गुनासो गरे । मुर्ति पार्कमा पुग्ने कच्चिबाटोहरु पक्की बनाइएका छन्, पार्क प्रवेश गर्ने मुल गेट निर्माण गरिएको छ । तर मुर्ति राखिएको स्थलहरु आकर्षक बनाउनतर्फ भने लगानी गरिएको देखिदैन ।

खुल्ला चौरमा रहेको ढुङ्गाका मुर्तिहरु घाम पानीको कारण डिसकलर भएका छन् । मुर्ति वरपरको ग्राउण्डको व्यवस्थापन गर्न सकिएको छैन । “मुर्ति नियालेर फर्के जुत्ता हिलाम्य र कपडाभरी काँडा नै काँडा भयो” पार्क घुमेर फर्केकी हेटौंडा–५ की स्वरुपा गुरागाईले भनिन् “पिउने पानीको व्यवस्था पनि रहेनछ ।”
पार्कको नियमित रेखदेखको लागि समिति निर्माण गरिएको छ । विश्राम स्थल, पानीको फहरा, पुष्प बगैचा लगायतको निर्माणको काम सकिएको छ । “यसवर्ष बाल उद्यान बनाउने योजनामा छौ” पार्कका अध्यक्ष हर्क रम्तेलले भने । पार्कको व्यवस्थापनको लागि धेरै योजनाहरु भएपनि आर्थिक अभावको कारण योजना अनुसारको काम गर्न समस्या भएको अध्यक्ष रम्तेलले बताए । अबकाे केही समयमा नै धेरै कुराको ब्यबस्थापन गर्ने रम्तेलले जनाकारी दिए ।
अबकाे याेजना
पार्कलाइ अझै व्यवस्थित गर्न यस वर्ष पेन्टिङहरु फ्रेमिङ्ग गर्ने काम, चिल्ड्रेन पार्क बनाउने कार्य, मुर्तिहरु अझै ब्यबस्थापन गर्ने काम गरिने अध्यक्ष रम्तेलले बताए । यसैगरी आगामी भदौ १ गतेबाट पार्क प्रवेशमा प्रतीब्यक्ति १० रूपिया शुल्क लगाउने तयरी भएकाे उनले बताए । प्रवेश शुल्क हेटौंडा-१८ भित्र बसोबास गर्ने लाई भने लाग्ने छैन ।




