“हेलो आमा, आज त खीर खाने दिन । खीर पाक्यो कि पकाउने सुरसार हुँदै छ ?” रमाले आमालाई फोन गरेर सोधी ।
“आज नपकाउने नानी । साउनभित्र जहिले खाए नि भइहाल्छ नि । ” आमाले भनिन् । “तर आमा बुबालाई तातो खीर कति मीठो लाग्थ्यो । भाइबहिनीहरु खीर भनेपछि मरिजान्छन् । पकाएको भए हुन्थ्यो नि । दुध डेरी पनि नजिकै छ । अहिले दूध ल्याएर पकाए भइहाल्छ नि ।” रमाले आमालाई करबद्ध गर्न खोजी ।”
होइन नानी , अर्कै कुनै दिन खाउँला ।” आमाले कुरालाई टार्न खोजिन् । केही समयको भलाकुसारीपछि आमाले भनिन् , ” नानी अहिले राखिदिन्छु है ।”
“आमा , किन ढाँट्नुहुन्छ दिदीलाई । पैसा नभएर नखाएको भनेको भए कसको के जान्थ्यो र ?” “बिहे गरेर गएकी छोरीलाई दु: ख देखाएर दु: खी बनाउनु हुन्न क्या नानी ।”
फोन राख्छु भनेर फोन काट्न बिर्सिएकी आमाको मोबाइलबाट आमा र बहिनीका कुरा सुनेर रमाले तरक्क आँसु काटी ।
बूढानीलकण्ठ १, काठमाडौँ

