सावित्री अधिकारी
१.
कालो बादल हटेर आकाश खुलेपछि
खेतमा झपक्कै धानका बाला झुलेपछि
साच्चै दशैं आएको जस्तै लाग्छ मलाई
बगैंचामा ढकमक्क सयपत्री फुलेपछि ।।
२.
दशैं त आयो प्यारा तर तिमी आएनौ
सुकेको ओठको मुस्कान फिर्ता ल्याएनौ
कति बस्छौ तड्पिदै परदेशी भूमिमा
महान् चाडमा पनि घर आउन पाएनौ।
३.
बालापनमा नयाँ नाना लगाउँदै सज्जिएको याद आयो
सररर चचहुइ गर्दै पिङमा मच्चिएको याद आयो
दशैंको रौनकसँगै उमंग भरिएर अाउँथ्याे मनमा
साथीसंगी अापसमा हात समाई ठट्टिएकाे याद आयाे।
४.
सबैको मनमा उमंग छाअाेस् ,दुर्गामाताले रक्षा गरुन्
घरघरमा खुशीयाली भरियाेस्, दु:ख कष्ट सारा हरुन्
पिङमा मच्चिएसरि प्रगति हाेस्, लागोस आशिष ठुलाको
देखासिकी र खाेक्राे आडम्बरले, मर्कामा काेही नपरुन्।।
सुकेधार, काठमाडौं

भवानी तिमल्सिना न्यौपाने
१.
गरेर पुजा अर्चना नवरात्रको नौ दिन वडादशैंमा
हटुन् क्लेश सारा आउन् मनमा विचार नवीन वडादशैंमा
सबैलाई दशै दशै बनोस् दसा नबनोस् छावोस् हर्ष उमंग
नबनोस् कोहि कसैको पनि मुहार मलिन वडादशैंमा ।
२.
बोकेर कमेरो दलेपछि घरमा रङ्ग दशै आए झै हुन्थ्यो
लागाउँदा नयाँ नाना परिन्थ्यो दङ्ग दशै आएझैँ हुन्थ्यो
ठुला देखि साना सम्म आशिर्वाद र जमरा लिइ
टीका थाप्दा हजुरबुबासँग दशै आए झै हुन्थ्यो ।
हेटौँडा- ५ मकवानपुर

मिना पौडेल
पैसा हुनेले नै मीठो खान्छ राम्रो लाउँछ दसैं आउँदा
रमाइलो गर्छ जुवा तास खेल्न धाउँछ दसैं आउँदा
पैसा र आफन्त नहुनेलाई चाड पर्व नआएकै जाती
हेर्नुहोस् दुखीलाई भने दुःख नै आउँछ दसैं आउँदा।।
निकासी, बाक्सा, असम भारत

रस्मी भट्ट
दशैं कसैलाई खुशी ,कसैलाई दशा नबनोस्
कसैलाई चोट र ऑशु ,कसैलाई मजा नबनोस्
चाड पर्व आफ्नो सामर्थ्य अनुसार मनाउनुपर्छ
मनाउने निहुॅमा ,आडम्वरी र भद्धा नबनोस् ।
गाेरखा हाल अमेरिका

वृन्दा ढुंगाना
वर्ष दिनमा एकचोटी जमिन छोड्नु रे भन्छन्
परम्परा मान्दै पिङ सङ्ग नाता जोड्नु रे भन्छन्
केटाकेटीहरु जस्तै रमाइलो गर्ने रहर जागेर आउँदा
दु:ख पीडा बिर्सिँदै पर्वमा मन मोड्नु रे भन्छन्।
काठमाडाैं

मात्रिका घिमिरे
१.
चाडबाडमा हौसिएर कोही पनि, ह्वात्तै जाग्नु हुदैन
अरुको देखासिकीमा धेरै , फूर्किएर लाग्नु हुदैन
ढोल बजाई आउँछ दशैं,ऋण बोकाई जान्छ भन्छन्
घिउ खानलाई कसैसँग, ऋण पनि धेरै माग्नु हुदैन ।
२.
छोराछोरी विदेशमा छन्, आमा बुवा रुँदै गर्छन्
कहिले आउलान् भन्दै बाटो, हेर्दै प्यासी हुँदै गर्छन्
धेरै दशैं आउछन् जान्छन्, परदेशीको पत्तो हुन्न
कति बर्ष पर्खी बस्दै, आँशुले मुख धुँदै गर्छन् ।
काठमाडाैं

रुकु धिताल न्यौपाने
नआउन् फर्किएर ती बिताएका तिता कहरहरु यही कामना
हाँसो खुसीले जगमगाउन अबका पहरहरु यही कामना
नवदुर्गाको कृपादृष्टिले रोग शोक , पीडा मुक्तहोस् घरघरमा
बडादशैंको शुभकामना भन्दै मुस्काउन् रहरहरु यही कामना ।
काठमाडाैं

झरना पराजुली
हल्का मनलाई गह्रुङ्गो बनाउन दसैँ आउँछ
बिर्सिककेको पीडा सम्झाउन दसैँ आउँछ
अरुबेला त सधैँभरि खुसी थिएँ तर यहाँ
जुन सालपनि मलाई रुवाउन दसैँ आउँछ ।
लमजुङ

पुष्पा नेपाल सुवेदी
हरेकसाल जस्तै दसैँ आउँछ जान्छ बिरानो मुलुकमा
गाउँघर सम्झेर मुटु कुटुकुटु खान्छ बिरानो मुलुकमा
टीका,जमरा र आशिर्वाद बुबाआमासँगै गाउँमा रह्यो
बेच्दाबेच्दै जवानी कतिबेला कालले लान्छ बिरानो मुलुकमा ।
ईलाम

राम श्रेष्ठ ‘प्यासी’
दशैं आयो भन्छन् है भान्छामा राशन छैन
दशमीमा टीका लाउन नि राम्रो आशन छैन
यो मेरो दोष हो वा मेरो भाग्यको दोष भनुँ
खासमा त गरिबको भलाई हुने शासन छैन ।
भानु-३, दोरदोर तनहूँ

सुन्दरी घिमिरे खतिवडा
दसैँ आयो शरद ऋतुसँगै,दुर्गा भवानीको पूजा गरौँ सबैले
फूलपातीको बडाईँ गर्दै फूल, अक्षता, जमरा भरौँ सबैले
लिङ्गे पिङ,रोटे पिङमा बालबच्चा रमाउन् खेलेर हाँसेर
सुख शान्ति छाअोस् सबै घर घरमा भन्ने भावना छरौँ सबैले।
खाँदबारी, संखुवासभा

भवानी तिमल्सिना न्याैपाने
पखालेर मनको मैलो नासी आवोस वडादशैँ
रिस, राग ,द्वेष फाँडी मासी आवोस वडादशैँ
सँगालेर मुटु भरी आफन्तको माया सद्भाव
सबै सँग चोखो माया गाँसी आवोस वडादशैँ ।
हेटाैडा मकवानपुर
- रञ्जुश्री पराजुली
दसैं प्रत्येक बर्ष आउने भए पनि प्रत्येक पल्ट उत्साह,उमङ्ग, जोश ,जाँगर बटुलेर आउँछ। नयाँलुगा लाउने, मीठो खाने, मान्यजनहरुसङ्ग दुर्गामाताको प्रसाद स्वरुप रातो दहीचामलको टीका निधारमा र पहेँलो जौको जमरा सिरमा लगाउँदा सबैको मन प्रश्न्न हुन्छ । टोल छिमेकमा मालसिरीको धुन गुन्जिन थाल्छ। बघैचामा पहेँला सयपत्री फुल फुल्ने तरखरमा देखिन्छन् ।
उमाका तीन छोरीहरु लगातार जन्मिए । जेठी एघार, माहिली आठ र कान्छी दुई । बुहारीले यसरी लघातार छोरी जन्माएको सासुलाई र उन्कै बुढालाई पनि मन परेको थिएन । छोरा नजन्मनुको दोष कस्को थियो त्यो उनीहरुले जाँचबुझ गरेका थिएनन् । सासुआमाले जान्ने मान्छे देखाउँदा अझ दुईटा छोरी जन्मे पछि मात्र छोराको योग परेको छ भनेकोले वंश अगाडि नबढ्ने भयो भनेर उनीहरु चिन्तित थिए ।
हजुर आमा “तिमीहरु लगात्रा तीनजना किन जन्मिएका ? छोरीको जात काम छैन । बिहे गरेर पराई घर जाने जात । तिमीहरुको बिहेमा पनि दाइजो सहित खर्च धेरै लाग्छ । छोराको बिहेमा त दुलही पट्टीबाट दाइजो आदि प्रशस्त आउँछ” भनेर नातिनीहरुलाई सुनाई राख्दथीन् । सानी छोरी त त्यो बुझथिन तर जेठी र माइलीलाई भने उनी देखि रिस उठ्दथ्यो । सकेसम्म उनको अगाडि नै पर्दैन थिए ।
त्यस्तै पल्लाघर्की हजुराअमा पनि थिइन् । उनी “कति छोरी जन्मिएका ।अब भाइ बोलाओ” भन्दै थिइन् । उनीहरु तिनलाई देख्दा टाढैबाट बाटो छलेर हिडथे । दसैंको जमरा राख्ने दिनको अघिल्लो दिन बिहानै उनी हाम्री हजुराआमासङ्ग” भोलिदेखि नौ दिन सम्म कन्यापुजा गर्नुपर्छ । महालक्षी, महाकाली, महासरस्वती जस्ता तपाईका तीन नातिनीलाई सधै बिहान आठ बजे मेरो घरमा पठाई दिनुस् है । म तिनको पुजा गर्छु ।” जेठी नातिनी रियाले त्यो सबै सुनी रहेकी थिई। उस्लाई झन्क्क रिस उठ्यो अनि ” छोरी जन्माउँन हुन्न भन्दै हामी तीनजना दिदीबहिनीलाई छिछी दुर्दुर गर्ने तपाईलाई अहिले हाम्रो कसरी आवश्यकता पर्यो ? छोरी जातिको अपमान गर्ने तपाईको घरमा अवदेखि कुनै छोरीले दुर्गा बनेर पनि पाइला हाल्ने छैनन् ” भनी ।
टेक्सस अमेरिका
- रुक्मिणी शर्मा
आमा सबै साथीहरूले दशैंको लुगा ल्याए । हामी कैले लुगा किन्न जाने ? मलाईपनि यसपालि लेहेङ्गा किनि दिनु ल….! तल्लोघरे कमलीका बुवाले विदेश बाट धेरै पैसा कमाएर ल्याउँनु भयो रे अनि उसले टलक टलक टल्किने लेहेङ्गा किनिछे। मेरा बुवा कैले आउनु हुन्छ विदेशबाट ? मैले त बुवालाई देखेकै छैन । फोनपनि गर्नु हुन्न .. बुवा हामीसँग रिसाउनु भाको छ कि क्याहो आमा…? भन्दै प्रश्न गर्छे मिनु ।
बिचरा मिनुको शिशुसुलभ मन उसलाई के थाहाँ ? उ एउटी अनाथ हो भनेर । धन्न उसको भाग्य राम्रो रै’छ। सुन्तलीले भेटिछे नभैत कुनै जंगली जनोवारको आहार हुन्थ्यी । त्यो दिनलाई सुन्तली कसरी बिर्सिन सक्छे …? छोराछोरी जन्मिएनन् र घरपरिवारद्वारा लखेटिएर ठाउँ न ठहर हुदै केही काम पाईन्छकि भन्दै चियाबारी तिर जान लाग्दा, कसैले ऐयासिमा भौतारिएर आफ्नो पाप ढाक्दै भलाद्मी हुनलाई फ्याकेको नानी भेटेर उसको घर बनिएको… ।
मिनुका हर इच्छाहरू पूर्ण गर्न मन लाग्छ सुन्तलीलाई तर के गरोस ..? दरिद्रताले ग्रस्त पारेको जिन्दगी । तैपनि छोरीलाई भन्छे ‘म’ “कामबाट फर्किएर आउछु अनि बजार जाउला ल…. तिमी ठिक्क परेर बस्नु हैं ।” उ काममा नगएर सोझै पार्वतिदिदीको घर जान्छे र भन्छे “दिदी दशैंमा तपाईंको घरमा काम गरिदिन्छु । मेरी छोरी एसपाली लेहेङ्गा लाउछेरे । मलाई अलिकति पैसा दिनुन… त्येसलाई खुशी पार्न मन लाग्छ मलाई। तपाईलाई त थाहै छ तेस्को जीवन कहानी ।
शिशुसुलभ ईच्छा आमाको अगाडि व्यक्त गरि म हुन्न भन्न नसकेर तपाई भांठाै आए । तर “उसको जीवनको कहानी अतितमै रहोस् हैं दिदी तपाईलाई बिन्ती छ मेरो।” सुन्तलीको उदारता देखेर पार्वती दिदी पनि छक्क पर्नु भयो। दिदी सोच्न थाल्नुभयो । आफ्नै ठेगाना छैन अर्काको चिंता गर्ने मानिस संसारमा कम्तिनै पाइन्छन । मेरो एत्रो ठूलो संसार छोराछोरी , धनसम्पत्ति अभाव भन्ने केही छैन । रैपनि एस्तो भावना मेरो मनमा आएको छैन्।
सुन्तलीको सामुन्ने म त एउटा ढुङ्गाको चैटो सरिपो रैछु। यो संसारमा मेरोत केहि अस्तित्वै रैनछ भन्ठानेर दिदीले भन्नु भयो , तिमीहरु आमा छोरीलाई दशैंको लुगा ,सबै खर्च म दिन्छु भोलि देखि मेरै घरमा आएर बस्नु। मिनु दशैं पछि त्यो शहरको विद्यालयमा पढ़़न जान्छे ।
उदालगुड़ी, असम भारत