- अविरल यात्री
गोरखापत्र दैनिकका संवाददाताको पहिचान बनाएका वसन्त पराजुली पछिल्लो समय लेखकको रुपमा पहिचान बनाउन कसरत गरिरहेका छन् । उनै वसन्त पराजुलीको पछिल्लो उपन्यास `बखान´ पढेपछि केहि पाठकीय प्रतिक्रिया लेख्न मन लाग्यो ।
पराजुलीको उपन्यास बखानमा सहकारीका संस्थापक भनेर चिनिएका ‘बखानसिंह गुरुङ’ लाई मुख्य पात्रको रुपमा उभ्याइएको छ । जसको मनोवैज्ञानिक चित्रण अत्यन्त गहिरो र संवेदनशील छ । उनले आफ्नो व्यक्तिगत चाहना र सामाजिक जिम्मेवारीबीचको द्वन्द्वलाई सम्हाल्न खोजेको देखिन्छ । उनको चेतना निरन्तर सत्ता, स्वतन्त्रता र न्यायका विषयमा उठ्ने प्रश्नहरूले छर्लङ्ग पारेको छ । बखानसिंहको मनमा अव्यक्त पीडाको साथमा गज्जबको आशा र साहस पनि लेखकले देखाउन खोजेका छन्, जसले पाठकलाई उनको भावनात्मक अनुभवमा गहिरोसँग भिज्न बाध्य पार्छ । उनका मनका द्वन्द्वहरू पीडादायी तर पवित्र छन्, जसले पात्रलाई हरेक व्यक्तित्वका रूपमा मात्रै होइन, एक युगका प्रतिनिधि पात्रको मूर्त रूपमा प्रस्तुत गरेका छन् ।
राजा महेन्द्रको छवि भने पात्रको भन्दा पनि प्रतीकात्मक स्तरमा टेकाइएको छ । उनको रहस्यमय मृत्यु र शासनकालले उपन्यासमा एउटा ठूलो तनाव र प्रभाव पैदा गरेको छ । उनी एक शक्ति, नियन्त्रण र अनिश्चितताका प्रतीक हुन्, जसले नेपाली समाजमा सत्ता र व्यक्ति बीचको सम्बन्धका पीडादायी पक्षलाई उजागर गरेको छ । उनका निर्णय र घटनाले केवल राजनीतिक मात्र नभई व्यक्तिगत र भावनात्मक तहमा पनि मानिसहरूमा गहिरो छाप छोड्न सफल भएको छ ।
बखानसिंहलाई नेपाली युवाहरूको आकांक्षा र विद्रोहको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । उनको संघर्ष, उदासी र अन्तर्निहित आशाले एउटा परिवर्तनशील जनमानसको स्वर प्रतिनिधित्व गरेको छ । राजा महेन्द्रको रहस्यमय मृत्यु भने शासन, इतिहास र जिम्मेवारीको गर्भित पक्ष हो, जसलाई उपन्यासले अचेतन तवरले प्रकट गरेको छ । उपन्यासमा बखानको समर्पण व्यक्तिगत मात्रै होइन, समग्र समाजको जागरण र परिवर्तनको प्रतीक हो ।
ग्रामीण परिवेश थारु जाति बाहुल्यता, परम्परा र बदलिँदो सामाजिक संरचनाहरू पनि एउटा ठूलो प्रतीकात्मक आयाममा छन । ती परिदृश्यहरूले उपन्यासलाई केवल कथा नभई सांस्कृतिक दस्तावेज बनाएको छ, जहाँ पुराना र नयाँबीचको टकराव स्पष्ट रुपमा झल्किएको छ ।
लेखकले सरल, स्पष्ट र प्रभावशाली भाषा प्रयोग गरेका छन् । भाषा न अलंकारमय छ, न त असहज । भाषाकै कारण कथा सलल बगेको छ । यसको सहजता र प्रवाहले पात्रहरूको मनोभाव र घटनाक्रमलाई स्वभाविक रूपमा अनुवाद गरेको छ । उपन्यासका वाक्यहरूमा सजीव संवाद छन् जसले मनोवैज्ञानिक पक्षको समेत सूक्ष्मता पाउन सकिन्छ ।
संरचनात्मक रूपमा, बखानले कालक्रमलाई सरल तर संवेदनशील तरिकाले प्रस्तुत गरेको छ । घटनाहरू क्रमबद्ध हुनुका साथै पात्रहरूको आन्तरिक र भावनात्मक विकासलाई प्राथमिकता दिइएको छ । उपन्यासको लयमा आत्मीयता छ, जसले पाठकलाई कथाभित्र गहिरोसँग प्रवेश गराउन मद्दत गर्दछ ।
उपन्यासका समग्र शक्तिशाली पक्षहरूका बाबजुद, केही कमजोरीहरू पनि प्रष्ट देखिएका छन् । उपन्यास पढ्दै जाँदा कथाको प्रवाहमा केही अंशहरू धेरै लम्ब्याउन खोजेको र दोहोरिएको महसुस हुन्छ । जसले पाठकलाई अलि झिँजो लाग्छ नै । पात्रहरूका मनोवैज्ञानिक पक्षमा गहिरो पहुँच दिने प्रयास गर्दा कतिपय ठाउँमा संवाद र वर्णनहरू अत्यधिक विस्तृत भई कथा सान्दर्भिकताबाट अलि टाढा परेको महसुस हुन्छ । यस्तो अवस्थामा कहानीको गतिशीलता र पठनको रस एकाएक कम भएको आभाष हुन्छ । यसका साथै राजा महेन्द्रको रहस्यमय मृत्युलाई लिएर उपन्यासमा राखिएको अर्थपूर्ण रहस्य केही असंगठित र अस्पष्ट प्रस्तुत भएकोले पाठकमा पूर्ण सन्तुष्टि नपुगेको भान हुन्छ नै ।
बखान उपन्यास केवल एउटा कथा होइन, भावनात्मक, ऐतिहासिक र सांस्कृतिक रूपमा नेपाली समाजका पीडाहरू र आशाहरूको गम्भीर प्रशोधन हो । पात्रहरूको मनोवैज्ञानिक गहिराई, जीवन्त प्रतीकात्मकता र प्रभावकारी शैलीले यसलाई साहित्यिक र मानवतावादी दृष्टिले विशिष्ट बनाएको छ । एउटा पाठकको रूपमा, यो उपन्यासले हामीलाई इतिहासमाथि प्रश्न गर्न, वर्तमान जीवन र समाजको पुनरावलोकन गर्न र आफैंलाई पुनः चिनारी बनाउन प्रेरित गर्न सफल छ । समग्रमा बखान उपन्यास चितवनको यौटा ऐतिहासिक दस्तावेज हो भन्दा अतिशयोक्ति हुँदैन । शिखा बुक्सले प्रकाशन गरेको बखान उपन्यासको आयतन २५२ पृष्ठमा फैलिएको छ र यसको मूल्य ५९५ रुपैयाँ राखिएको छ । कायाकैरनबाट
चितवन । द्वारिका नेपाल स्मृति गजल पुरस्कार- २०८२ द्वारा युवा गजलकार राजु आचार्य दीप सम्मानित भएका छन् ।
गजल मञ्च चितवनले शनिबार भरतपुरमा मोती जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई २५ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ साहित्यका केशबराज आमोदी लगायतले आचार्यलाई पुरस्कार प्रदान गरेका थिए ।
गजल मञ्च चितवनका पूर्व अध्यक्ष स्व. द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो । विशेषगरी गजल विधामा निरन्तर साधनारत चितवन तथा आसपासका युवा स्रष्टालाई यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आइरहेको मञ्च अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए ।
२०७९ सालबाट प्रदान गर्न थालिएको उक्त पुरस्कार पहिलोपटक गजलकार मुक्त उदासलाई प्रदान गरिएको थियो । यसैगरी २०८० सालमा गजलकार कमल अर्याल र २०८१ सालमा गजलकार विनोद अनुजलाई प्रदान गरिएको थियो । पुरस्कारका संरक्षक भरतपुरकी डिला खरेल हुन् । हाल उनी अस्ट्रेलियामा रहदै आएका छन् ।
गजल साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आएका साहित्यकार आचार्य ‘दीप’ हाल माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्यापन गर्छन् । प्रलेस, माडी साहित्य परिवार लगायतका संस्थाहरूमा सम्लग्न उनले रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन समेत गर्ने गरेका थिए ।
मकवानपुर । मकवानपुरमा क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारको अध्यक्षमा गायत्री रुपाखेती चयन भएकी छिन् ।
जिल्लाको बकैया गाउँपालिका-४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबार भएको झरनाको पाँचौं अधिवेशनले रुपाखेतीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । रूपाखेती यसअघि कार्यसमितिमा उपाध्यक्ष थिइन् ।
अधिवेशनले आगामी तीन वर्षको लागि चयन भएको कार्यसमितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुयाँल तथा सहसचिवमा अमृता लामिछाने रहेका छन् । त्यसैगरी सदस्यहरूमा हरिप्रसाद घिमिरे, मन्जु दाहाल, विजय दोङ, स्वस्तिका दाहाल र शिव प्रसाद बोलखे चयन भएका छन् ।
तीन दशकभन्दा बढी समयदेखि मकवानपुरमा सक्रिय साहित्यिक संस्थाको गतिविधिलाई अनलाइनमा स्थान दिएकोमा साहित्य पोस्ट अनलाइनलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा बकैया-४ कि वडाध्यक्ष लक्ष्मी जिम्बा, कार्यपालिका सदस्य लक्ष्मी माझी, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्षहरू उद्धव सापकोटा तथा दीपक गौतम, संरक्षकहरू जनार्दन खनाल तथा परशुराम गौतमको आतिथ्यता रहेको थियो ।
यसैगरी पुरस्कार संस्थापक चन्द्रकुमार राई, पूर्व सल्लाहकार भरत सापकोटा, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम बिक, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका महासचिव सुवास खनाल, आजीवन सदस्यहरू हयग्रीव आचार्य, बलराम घिमिरे, ओमभक्त भण्डारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो।
भोगाई जिन्दगीको
देखाई आखाँको
दुखाई मनको
त्यसैले त
कहिलेकाँही आँफैसँग
अन्तरवार्ता लिन मनलाग्छ
प्रश्नहरु धेरै छन
उत्तर केबल एक
– मौनता
-केबल मौन ।
दोषी को ? म आफैं ?
जो एक सुरको मायाको लागि लड्छु
जो टाढा जान खोज्छ पल पल
त्यै फुल झै साँचेको छु
माया कतै मुर्छाउँछ कि भनेर ।
हराउन त यहाँ सबै हराए,
कोही भिडमा हराए,
कोही एकान्तमा हराए,
कोही कसैको माया हराए,
तर म भने सधैं
तिम्रै न्यानो मायामा हराएँ
मायाको संसार सजाउनमै हराएँ
सायद गल्ति पो गरे कि
ठुलै भुल पो गरे कि ?
नत्र,
आवश्यकताले जोडिएका सम्बन्धहरु निकै स्वार्थी हुन लागे,
भावनाले जोडिएका नाताहरु सधैं अटुट हुनु पर्ने,
कहानी बन्नु पर्ने साँचो मायाको,
सायद यहि रहेछ वास्तविक जिन्दगिको भोगाई
सोचिरहेछ यो पागल मन ।
ठेगाना : भिमदत्त नगरपालिका – ६ कञ्चनपुर,
हाल हेटौंडा मकवानपुर ।
१
अलिअलि प्यारको, अभाव मिठो जिन्दगीमा
अलिअलि प्यारको, दबाब मिठो जिन्दगीमा ।
जतिजति बग्दै गयो उतिउति रुच्दै रोज्दै
अलिअलि प्यारको, बहाब मिठो जिन्दगीमा ।
२
मनसँग मन टाढिएपछि, तनको के अर्थ भो,
आफ्नाले नै छाडेपछि, दुश्मनको के अर्थ भो ?
उकाली र ओरालीमा साथ छैन भने जसको,
देखावटी त्यो आफ्नोपनको के अर्थ भो ?
३
तिमी आयौ र त, आहा यो मन भरङ्ग छ,
संसार मेरै हातमा भए झै, यो मन दङ्ग छ ।
बिच बाटोमै साथ छोड्ने, यो दुनियाँमा,
कसिलो साथ पांए, र त यो मन चङ्ग छ ।