सरस्वती ‘सरु’
खोली कै डुङ्गा मुर्ति भयो सिर झुक्ने बनायो ।
फुल चढाए पाति चढाए पानी सुक्ने बनायो ।
मायागर्दा सिन्दुर सकिदा हात काटेर चढाए,
त्यसैले चोक चोकमा जीन्दगी भुक्ने बनायो ।
सबथोक बिर्सिएर उसैलाई सम्झिन्छु हरपल,
अचानाको पिर खुकुरीले जस्तै दुख्ने बनायो ।
देव माने आधा खाए, आधा उसैलाई चढाए,
उसैले गन्तब्य नभेट्दै जीन्दगी चुक्ने बनायो ।
सारा भावना भत्काए मनलाई मन्दिर बनाए,
परिणाम यस्तो भयो दुलाभित्र लुक्ने बनायो ।
पतिदेव पुज्थे उसैको पाउमा यो सिर चढाए,
त्यो बेलुन् जस्तै जीवन सुक्दै फुक्ने बनायो ।
डुङ्गाको मन पग्लिदैन भन्थे साच्चिकै रहेछ,
ब्यर्थ भयो हेर हरेक बारम्बार थुक्ने बनायो ।
बुटवल
- संप्रस पाैडेल
हल्लाखोर संवाददाता ।
नेपालमा एमसिसीको घिन्ताङघिसी निकै घम्साघसीमा पुगेको छ । यही बेला विज्ञान र गणितका अनेक सूत्र प्रयोग गरी हाम्रा संवाददाताले विशेष सूत्रबाट थुप्रै रहस्यहरू पत्ता लगाएका छन् । जसका लागि युट्युबे ज्योतिष र टिकटके स्टन्डबाज व्यूरोहरूले अहोरात्र समय दिनुपरेको थियो ।
स्वघोषित विद्वान राजनेता, सर्वोच्च नेता, आन्दोलन अधिकार समितिका महानायकहरू श्री घुएँत्रो आहाल, ढुंगामुढा लेपाल, लाठी लेउवा आदिका प्रवक्ता, वक्ताले खोक्ता, ठोक्ता प्राप्त शङकाका आधारमा प्राप्त प्रारम्भिक केही तथ्यहरू यस प्रकार रहेका छन्:
- नेपालमा जाइकाले बनाएको स्कुलका बिल्डिङमा चाँडै नै जापान सरकारले जापानी सेना राख्दैछ ।
- डानिडाको सहयोग पाएको स्कूलमा डेनमार्कले यथाशीघ्र स्थानीय सरकार गठन गर्दैछ ।
- निकट भविष्यमा शैक्षिक गतिविधीमा गरेक सहयोग अझै बढाउँदै युएसएआइडीले रोक लगाएर वडा कार्यालय गठन गर्नेछ ।
- समाचार व्यूरोको न्यूरो सर्जनअनुसार उनीहरू नेपाल बसेर हामीलाई अमेरिका, डेनमार्क, बेलायत खेद्नेछन् ।
- अन्तराष्ट्रियस्तरमा हाम्रो आन्दोलन पुग्नेछ । युएनका महासचिव हामीमाझ अन्दोलन फिर्ताको माग गर्नेछन् । हामी पश्चिमका बिर्ता पूर्वतिर फिर्ता गर्दै किर्था झैँ झ्याउँझ्याउँ कराउनछौँ ।
- हामी हाम्रो सार्वभौमसत्ताको नारा न्यूयोर्कको माइतीघर, लण्डनको ससुरालीघर र कोपनहेगनको मीतबाको घरअघि पुगेर निर्णायक नारा लगाउँनेछौँ ।
- त्यतिखेर अमेरिकी सेना नेपालमा बुट बजार्दै अमेरिकामा हामीलाई स्यालुट गर्नेछ ।
- जापानी सेना हाम्रो कुटाकुट र लुटालुटको फुटाफुट देखेर लज्जित हुनेछ । त्यतिञ्ज्याल हाम्रा सहीदको तस्वीर टोक्योका बिजुलीका पोलमा सुसज्जित हुनेछ ।
- दिनभर नारामा, घरका काम झारामा । फलाना ठाउँमा घाम लागिसक्दा नि यो पारामा भन्दै खाटमै आएर बाले दुई लात्ती दिएपछी आफ्नो खास धरातलमा बल्ड्याङ खाई यो समाचारका सम्पादक दुबई, मलेसियामा कामदार चाहियो, विज्ञापन पढ्न पत्रिका किन्न जानेछ । जदौ ।
लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध छन् ।
रेणुका चौलागाईं
१.
पात जस्तो नभएर जरा जस्तो हुनुपर्छ जीवन
सपना आकाश छुने धरा जस्तो हुनुपर्छ जीवन
निरस उराठ मरूभूमि झैं बन्नु नपरोस् कहिल्यै
देख्दै हराभरा झुलेको गरा जस्तो हुनुपर्छ जीवन ।
२.
गुणान भाग र जोड घटाउ गर्दागर्दै जान्छ
घुँडा टेक्छ जिन्दगीले बामे सर्दासर्दै जान्छ
के गर्नु सुनौलो बिहानीको सपनामात्र देखेर
आश्रित जिन्दगी अरूकै भर पर्दापर्दै जान्छ ।
३.
कहिले शिखर त कहिले खोलिको बगरमा हुन्छु म
जिन्गीको दौडानमा जहिलेआफ्नै गाउँ शहरमा हुन्छु म
गाउँ बेसी लहरा पहरा छहरासँगै मितेरी लगाउँदैमा मस्त
प्रकृतिसँग रमाउँनेगर्छु सँधै अनगिन्ति रहरमा हुन्छु म ।
४.
अनुहार हेरेर मात्र व्यवहार पढ्न सक्ने भए
धुरी चढ्दैमा मान्छे अघि बढ्न सक्ने भए
पर्दैनथ्यो आवश्यकता ज्ञान बुद्धी विवेकको
हतियार समाउँदैमा युद्ध लड्न सक्ने भए ।
काठमाडौं
मकवानपुर । मकवानपुरकाे हेटाैडामा साहित्य महाेत्सव हुने भएकाे हाे । मकवानपुरमा साहित्यमा क्रियाशील महिला साहित्यकारहरुकाे संस्था आँचल साहित्य कला पुञ्जकाे आयाेजनामा साहित्य महाेत्सव हुने भएकाे छ ।
हेटाैडा उपमहानगरपालिकाकाे प्रायाेजन रहेकाे साहित्य महाेत्सव यही फागुन २० गते दिनकाे १२:१५ बजे उद्घान हुने आँचल साहित्य कला पुञ्ज मकवानपुरकी सचिव भावना सापकाेटाले बताइन् । २ दिनसम्म आयाेजना हुने साहित्य महाेत्सव हेटाैडाकाे राेयल पार्टी प्यालेसमा हुने छ ।
साहित्य महाेत्सवमा साहित्य विधाका बहस, कार्यपत्र प्रस्तुती तथा गजल, मुक्तक र कविता वाचन हुने छ । यसका साथै पुस्तक प्रदर्शनी, सांगीतिक कार्यक्रम र कला प्रदर्शनी समेत आयाेजना हुने अध्यक्ष अनिता न्याैपानेले जनाकारी दिइन् ।

मैले सधैं भन्ने गरेकोे छु- म त्यस्तो ठूलो साहित्यकार अर्थात समिक्षक हाेइन। सबै साहित्यलाई माया गर्ने र हास्यव्यङ्ग्यमा असाध्यै रमाउने व्यक्ति हुँ।
२०७८ कार्तिक १८ गते लक्ष्मी पुजाकाे दिन बेलुका थाहा एफएमद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे जन्मजयन्तीकाे अवसरमा आयाेजित रचना बाचन कार्यक्रममा कार्यक्रम सञ्चालक रामअविकासले सञ्जय साह ‘मित्र’द्वारा लिखित हास्यव्यङ्गय निबन्ध सङ्ग्रह “व्यङ्ग्यम्” प्राप्त भएको जानकारी गराउनु भएअनुसार कवि छवि अनित्यबाट उक्त निवन्ध सङ्ग्रह लिएर सरसर्ती पढेँ । मेरो मथिङ्गलमा धेरै कुरा गढेका हुँदा साे सङ्ग्रहका सम्बन्धमा आफूलाई लागेका र मनमा जागेका प्रसङ्गहरू काेट्याउने प्रयास गरेको छु ।
“मित्र” उपनामबाट चर्चित सञ्जय साह गेडहीगुठी, गरूडा नगर पालिका २, राैतहटमा बसाेबास गर्दै आउनु भएको छ। साहका प्रस्तुत हास्यव्यङ्ग्य सङ्ग्रहमा- “अझै स्मार्ट बन्नु भएन ?, अवैध कुखुराको चल्ला, असली बाजेको खाेजी, आइसीयूमा माेबाइल, आफैँलाई निवेदन, एउटा नाेटकाे आत्मवृतान्त, ओम नम: मूर्खाय, कामसूत्र, खुला दिसामुक्त क्षेत्र, दुई मुखे म, नाकार्षण, नागरिकता, पराग, परिधानकाे भद्रआन्दोलन, पागलकाे पनि पापी पेट हुन्छ, बतन्जली बाताेद्दाेग, भाषा सिक्ने रहर,मच्छर दिवस, माइ बेस्ट फादर, रिले अनसनकाे आनन्द, राेजगारी, वरिस्ट सुँगुरकाे सहर भ्रमण, विवाह बिदा र हनिमुन प्याकेज, विशिष्ट मान्छेकाे पाठयाेजना, सबैभन्दा खत्तम म, स्टाइलिस भए र हप्तामा एकदिन मात्र समेत गरी २७ वटा निबन्धहरू समावेश गरिएका छन्। प्रत्येक निबन्धलाई फुकाउन रहर नलागेको हाेइन तर अलि लामो हुने भएको हुँदा थाेरै मात्र फुकाउने ठहर गरेको हुँ ।
हास्यब्यङ्गय लेखनी एक चुनाैतीपूर्ण शैली हाे, सिधा नभै घुमाएर विकृतिमाथि भैली खल्नु पर्ने हुन्छ । अर्थात समाजमा सदियाैदेखि दराेसंग जराे गाडेकाे विसङ्गति वा कुरूपतालाई खराे पाराले आरा लगाएर रेट्न ब्यङ्गय लेखनीकाे मूल औजारकाे रूपमा रहेको हास्यरसकाे पाइन लगाउन र पाठकहरूकाे मन भित्रैदेखि जगाउन सक्नुपर्ने हुन्छ। यस सम्बन्धमा सञ्जय साह “मित्र” अत्यन्त पाराङ्गत पारामा देखापर्नु भएको छ ।
पुस्तककाे शीर्षक “व्यङ्ग्यम्” ले नै प्रस्तुत संगालाे व्यङ्ग्य नै व्यङ्ग्यकाे अंगालो बाेकेर विकृतिको भंगालो छुटाउने खालको रहेको भन्ने छर्लङ्ग हुन्छ। पढ्दा पनि त्यस्तै अनूभुति हुनेछ । प्रस्तुत सङ्ग्रहमा समाहित “ओम नम: मूर्खाय” निबन्ध मार्फत समय र व्यवस्था जतिसुकै परिवर्तन हुँदै गएको अवस्था भए पनि हामीहरू अझै पनि अन्धविश्वास र पछ्यौटेपनमा अल्झिरहेका छौ । तिनै खाेक्रा आडम्बरी कुसंस्कारलाई काखी च्याप्दै उनै धामी झाँक्रीका जन्तर र मन्तर जपिरहेका छौ भन्दै पुरातनवादी साेचले ग्रसित हाम्रा मथिङ्गल माथि मज्जाले व्यङ्ग्य बजार्दै भन्नु हुन्छ :
झाँक्रीको प्रख्याती उनको गाउँको सीमालाई नाघेर मेरो गाउँसम्म पुगेको थियो । हेर्दै घिनलाग्दाे,गन्हाउने जिउ, जिङरिङ कपाल र फाेहाेरी बानी उनका विशेषता छन् । नजिकै आएर कुरा गर्दा उनको गन्हाउने सास र जिउकाे बासले बान्ता नआउनेलाई महान मान्नु पर्दछ। पढेलेखेका भनाउदाहरूलाई त उनी आफूसित पाँच मिनेट उभिएर गफ गर्न चुनौती दिन्थे । उनको नजरमा ठूलो र राम्रो जति मान्छे सबै उनीसित थर्कमान हुन्थे ।
मलाई तत्काल आइसियुमा भर्ना गर्ने आदेश आयो । आइसीयुमा पस्नासाथ खुर्सानीकाे धुलाेको धुँवाले स्वागत गरियो ।म त बेहाेस हुँलाजस्तै भएँ । झाँक्रीले बाेक्सी लागेको लक्षण देखिहाले । झाँक्रीले कालाे-लामो लटठी के उठाएको थियो,मैले त कट्टुमै सु सु गरिहालेँ । त्यसपछिको हनुमान झापड खाएको सम्झनामात्रै छ।
विषय वा प्रसङ्गले अर्को अर्थ लाग्नु हुँदैन।यहाँ कामसूत्रकाे अर्थ- कामकाे सूत्र गरिएको छ। गणित र विज्ञानले अनेक सूत्र आफ्नाे पेटमा पालेको हुन्छ । कुनै एक विषयकाे कुनै एउटा पाठकाे कुनै एक अङ्गलाई पनि विस्तारमा नियाल्ने हाे भने कैयौं विद्वानका अनेकन सूत्रहरू जडवस्तुजस्तो अरूले हल्लाउनै नसक्ने गरी राखिएका हुन्छन् । साधारण मनुवालाई पुङ न पुच्छरको जस्तो लाग्ने ती सूत्रहरू अलिअलि पढेकालाई पनि बाँदरको पुच्छर लौरो न हतियारजस्ता लाग्न सक्छन् ।
ठूला भनाउँदा मानिसहरूकाे झन् कामगर्ने सूत्र अचम्मकाे हुन्छ । दश बजे कुनै कार्यक्रममा आउनु पर्ने अतिथिगण चार बजे बल्लतल्ल आइपुग्छन् । कुनै कार्यक्रम एघार बजे सुरू हुने भनेर पाेस्टर पम्पेलमा समय ताेकिन्छ तर बाह्र/ एक बजेतिर कार्यक्रम सुरू हुन्छ । ताेकिएकाे समयमा कुनै काम हुँदैन । ताेकिएकाे समयमा कुनै काम नहुनु र अरूले जे गरे त्यसैकाे नक्कल गर्नु हाम्रो संस्कार एवम् संस्कृति बन्दै गएको वर्तमान यथार्थतालाई ” कामसूत्र ” नामक निबन्ध मार्फत तिखो ब्यङ्गय गर्नु भएको छ ।
त्यसैगरी स्थानहेर्दै, कुराफेर्दै कुर्लिने र उर्लिने दुई जिब्रे चरित्रले ग्रसित मानिसहरूकाे बाहुल्यताको कारण समाजमा झुट, लुट र गुटकाे खेती मौलाइरहेको, नैतिकता इमानदारिता हराउँदै गइरहेको यथार्थलाई “दुईमुखे म ” निबन्ध मार्फत व्यङ्ग्य गर्दै व्यङ्ग्यकार भन्नु हुन्छ :-
“सबैभन्दा मुख्य कुराे त कैलेकाईँ एकैछिनमा के, फेरि एकैछिनमा के बाेल्नु पर्ने हुन्छ । एकैपटक दुई विपरीत विचारका कुरा गर्न एउटा मुख हुनेलाई कति गाह्राे पर्दछ भन्ने कुरा बुझेको छु । अब दुई मुख भएपछि त्यस्तो अप्ठ्यारो नै टर्ने भाे । दुई मुखले सबै दु:ख चपाएर सुखै सुख ल्याउने पक्का हाे । मलाई के पनि लाग्यो भने सबै मानिसको म जस्तै दुई मुख हुने हाे भने चाँडै याे समाज समृद्ध बन्ने थियो ।
पहिला त मलाई विश्वास भएन कि म दुईमुखे भइहाले ।मलाई के संझना भयो भने एकमुखे हुँदा पनि त मलाई एकमुखे नै छु भन्नेमा विश्वास हुँदैनथ्यो। मौकाहेरि बाेल्ने बानी मेरो नानीदेखिकै हाे।एउटालाई के भन्यो र अर्कोलाई के भन्यो । दुवैमा उत्तर र दक्षिणजस्तै तालमेल हुँदाको जस्तो हुन्थ्यो मेरो बाेलीकाे । आखिर एउटै मुख हुँदा पनि दुईथरी बाेल्ने म अब दुईमुख नै पाएपछि मलाई मेरो दुई मुखप्रति कसरी विश्वास होओस भन्दै ” दुईमुखे म” निबन्ध मार्फत चाेटिलाे ब्यङ्गय गर्नु भएको छ ।
यसैगरी गाडी हडताल,स्कुल हडताल, बजार हडताल भनेको राेक्नु हो, बन्द गर्नु हो भने रिले अनसन वा भोक हडताल भनेको भोक बन्द गर्नु हो । तर रिले अनसन बस्नेले भाेक लाग्दा होटलको भोजन हेरेर र्याल चुहाउँदै घुटुघुटु थुक निलिरहनु नपर्ने । भोक लाग्नुपूर्व नै होटलमा गएर दन्काउन अथवा घरबाटै टन्न खाएर आएर भोक नलागेसम्म अनसनमा बस्न मिल्ने । अझ भोको बसेको जस्तो अभिनय गर्नेलाई त विदेशी फ्रुटस जुसकाे पनि व्यवस्था हुने। पत्रकारहरू समेत सधैं अन्तर्वार्ता लिन आइरहने । पत्रिकामा समाचार छापिएर भाइरल हुँदै ह्वात्तै राजनीतिकाे उपल्लो तहमा बढुवा हुने काइदाकाे यस्तो अनसनप्रति श्रीमतीसंगकाे सामान्य झगडाकाे कारण घर छोडेर हिडेकाे छाेराे खोज्दै जाँदा अनसनमा भिडेकाे तथ्यलाई कथ्य बनाएर “रिले अनसनको आनन्द ” भन्ने निबन्ध मार्फत मित्रले यसरी ब्यङ्गय गर्नु भएको छ ।
“बरू छाेराे भेटाएपछि फकाउने पाे कसरी हाेला भन्ने साैच्दै अगाडि बढिरहेको थिएँ,अचानक मेरो दृष्टि सडक छेउको फुटपाथमाथि पर्यो जहाँ केही मानिसहरू आसन जमाएर आराम फर्माइरहेका थिए । मेरो आँखाले मसित नै जोक गरेको हो कि भनेर झोक पनि चल्यो । अनेक पेन्ट भएको टेन्ट हालेर मोटो सिरानीमा हाम फालेर आराम फर्माइरहेका भुस्तिघ्रेहरूको बीचमा उही कुलङ्गार पनि थियो । कुलङ्गारै भए नि रगत न हो मेरो,नचिन्ने कुरै थिएन । नजिकै पुगेर केही बाेल्नु अगावै उसले आएर ढोगिदियो ।
उसले कहिल्यै यस्तो गरेको मलाई सम्झना छैन । ढोग्ने षड्यन्त्र गरेर मलाई ठाेक्ने हो कि भन्ने डरले मन थर्र गर्यो र तीन रेक्टरकाे भूकम्प गएजस्तो अनुभूति भयो । हैन,८/१० दिनदेखि भोकभोकै बसेर मर्नै आँटिस् होला, अब छोरोको अन्तिम दर्शन भए नि गर्न जानुपरो भन्ठानेको त भब्य पालभित्र पान चपाएर के गरेको यस्तो ? दस दिनमै उसको रङ्, रूप र फेरिएको जिउडाल देखेर भनेँ। तँ यहाँ भोकभोकै छ्स् भन्ने सुनेदेखि चिन्ताले गाँस टिप्न छाडेको तीन दिन भइसक्यो।
हातको इसाराले उसले मेरो मुख थुन्याे । ऊ बोल्न खोज्दा जिब्रो पानको थुकमै लडिबुडी खेल्थ्याे । उसले काेसिस गरेर पनि भन्न नसकेको देखी एउटा कुर्तावाल नेता भुँडी ढल्काउँदै नजिक आएर साउती गरेजस्तो विस्तारै भन्यो- सुन्नुस् न बा, भोकभोकै बस्या होइन। आन्दोलन गर्या हाे के? अनसन बस्या ।रिले अनसनकाे दर्शन बल्लतल्ल मेरो बुद्धिहीन गिदीमा घुसिरहेकाे महसुस भइरहेको थियोे । मैले सकारात्मक टाउको हल्लाइरहेको थिएँ।
ऊ भन्दै थियो- घरबाट यहाँ आएकाे यति कम दिनमै कत्रो ठूलाे नेता भइसकेँ ।पहिलेको लिखुरे छाेराे हाेइन अब त म तपाईंको, जिल्लाकाे जिम्मेवार नेता भइसकेको छु । दुई चार दिन अरू याे अनसन बसेर म घर फर्किहाल्छु नि ।एक दिन रिले अनसन बसेकाे ५/६ सय रूपैयाँ भत्ता दिने भएको छ के । त्यसाे हाे भने – ” फर्किँदा बुहारीकाे लागि राम्रो साडी ल्याऊ है ” भन्दै म त्यहाँबाट बिदा भएँ ।
समग्रमा भन्नु पर्दा ” व्यङ्ग्यम् ” निबन्ध सङ्ग्रहभित्र समाबेश भएका सबै निबन्धहरू भरपुर हास्य र व्यङ्ग्यले भरिएका, राजनीतिक,सामाजिक,वैयक्तिक एवम् विविध क्षेत्रमा देखिएका विकृति र विसङ्गतिमाथि प्रहार गरिएका, चाेटिला, पाेटिला, सग्ला, अग्ला, रसिला र कसिला छन् ।
हास्यव्यङ्ग्यकार साहका- पचासी डेङ, राैतहट परिचय, बज्जिका भाषा सम्बन्धी विभिन्न लेख निबन्ध सङ्ग्रह, बज्जिका किताब कक्षा १ र २ काे पाठ्यपुस्तक, छठ, पवनी: उद्भव र विस्तार,नेपाली हाइकू सङ्ग्रह, कविता, कथा, लघुकथा,व्यङ्ग्य,मुक्तक, समीक्षा, समालोचना, खाेज-अनुसन्धानमूलक हजारौं रचनाहरू नेपाली, हिन्दी तथा बज्जिका भाषाका विभिन्न पत्रपत्रिका,अनलाइनमा प्रकाशित भइसकेका छन्। धेरै सम्मान एवम् पुरस्कारबाट व्यङ्ग्यकार सम्मानित समेत भइसक्नु भएको छ ।
त्यति मात्र कहाँ हाे र ! नेपाली साहित्यकाे उत्थानका लागि उहाँले प्रस्तुत व्यङ्ग्य सङ्ग्रहकाे बिक्रीबाट प्राप्त सम्पूर्ण रकम (प्रकाशन खर्च पनि नघटाई) पुरस्कारको लागि अक्षय कोशमा जम्मा गरिने र उक्त काेशबाट प्राप्त ब्याजबाट साहित्य,कला तथा सिर्जना विधामा पुरस्कार गरिने जानकारीसमेत पुस्तककाे कभरपृष्ठमा उल्लेख गर्नु भएको छ । साहको याे महानताप्रति हार्दिक नमन ।
यसरी प्रस्तुत ” व्यङ्ग्यम्” सङ्ग्रहमा समाहित रहेका ” दुई मुखे म,” रिले अनसनको आनन्द” जस्ता हास्य र व्यङ्ग्यकाे सुन्दर सन्तुलन रहेका निबन्धहरूले सञ्जय साहको हास्यव्यङ्ग्य लेखनीलाई सशक्तरूप प्रकट गरेका छन् । उहाँको साहित्यिक यात्रा निरन्तर अगाडि बढ्दै, सफलताको शिखरतिर चढ्दै र आम पाठकको हृदयमा गढ्दै जाउन हार्दिक शुभकामना व्यक्त गर्दछु ।