मकवानपुर । मुक्तककार रेणुका चौलागाईँको मुक्तक संग्रह ‘जीवनजस्तो जीवन’ विमोचन भएको छ । शनिबार काठमाडौंमा नेपाल मुक्तक प्रतिठानको आयोजनामा भएकाे कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल, मुक्तक प्रतिष्ठानका अध्यक्ष कामकाजी कोणे, कवि गीतकार तथा मुक्तककार प्रतिष्ठानका रमेश पौडेल, प्रा. समालाेचक ज्ञानु अधिकारी, मुक्तकार मीना चौलागाई, यादव चौलागाई, शिक्षक चुहाप्रसाद चौलागाई तथा कृतिकारका माता-पिता लगायतले ‘जीवनजस्तो जीवन’ विमोचन गरेका हुन् ।
विमाेचन कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. बरालले जीवनजस्तो जीवन मुक्तक संग्रहले नेपाली नारी मनका यावत विषयलाई सशक्त ढंगले उठाएको बताए । कृतिकाे भूमिका लेख्नुहुने बरिष्ठ मुक्तककार रुद्र ज्ञवालीले कृतिकारको मुक्तक शिल्पको चर्चा गर्दै उनीमा प्रचुर संभावना रहेको बताए ।
प्रा. समालोचक डा. अधिकारीले जीवनजस्तो जीवनमा नारी मनका कुण्ठा मात्र हैन, हुँकार समेत रहेको दाबी गरिन् ।कृतिकारका शिक्षक तथा अतिथि चुडा प्रसाद चाैलागाईंले आफ्नाे शिष्यले मुक्तक कृति लिएर आएकोमा हर्षित हुँदै यस्तै प्रतिभाशाली विद्यार्थी आफ्नो जीवनको कमाई भएको बताए । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष रामकाजी कोनेले अहिले नेपाली साहित्यमा मुक्तकको बहार आएको बताउँदै कृतिकारकारलाई शुभकामना दिएका थिए ।
प्रतिष्ठानका महासचिव रमेश पौडेलले समकालिन नेपाली साहित्यमा नारी हस्ताक्षरको विश्वव्यापी रूपमै दर्विलो उपस्थिति रहेको बताए जिकिर गरे । प्रष्ठिानका सदस्य तथा मुक्तककार यादव भट्टराईले कृति मुक्तकको रचना विधान मुताविक शैली शिल्पले सिंगारिएको बताए । काभ्रेली साहित्यकार तथा मुक्तककार मीना चौलागाईँले जीवनजस्तो जीवनकी सर्जकको चिनारी दिँदै मुक्तकका विषयले हरेक विषयलाई समेटेको जानकारी दिइन् ।
कृतिकार रेणुका चौलागाईँले मुक्तक प्रतिष्ठानको ब्यानरमा माता पिताको उपस्थितिमा कृति विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् । कृतिकारकी सुपुत्रीद्वय सुजिता र अनुषा चौलागाईँले आमालाई बधाई दिँदै कृति आगमनले पूरै परिवार नै गौरवान्वित भएको बताएका थिए ।
मुक्तक, कविता, गजल, कोपिला, हाईकु जस्ता साहित्य विधामा कलम चलाउने रेणुकाकाे ‘जीवनजस्तो जीवन’ पहिलाे कृति हाे । स्थायी ठेगाना काभ्रे रही हाल काठमाडाैमा बसाेबास गर्दै आएकी मुक्तककार सानै देखि साहित्यमा कलम चलाउँदै आएकाे भए पनि पछिल्लाे समय करिब ३ बर्षबाट निरन्तर साहित्य रचना गर्दै आएकाे बताउँछिन । रेणुकाका जीवनसाथी यादवप्रसाद चौलागाई प्रकाशक रहेको उक्त कृतिमा २ सय ८२ वटा मुक्तक समावेश रहेका छन् ।
विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट संगीतकार दीपक जङ्गम सम्मानित
Tags: No Comments
मकवानपुर । संगीतकार तथा प्राध्यापक दीपक जङ्गम १ लाख नगद सहित हेटाैंडामा सम्मानित भएका छन् । शनिबार भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट जङ्गमलाई सम्मानित गरेकाे हाे ।
भीम विरागको १० औं स्मृती दिवसमा शनिबार हेटौंडामा प्रतिष्ठानले आयाेजना गरेकाे सम्मान तथा सांगीतिक कार्यक्रमका बीच प्रमुख अतिथि साहित्यकार तथा प्राध्यापक एलवी क्षत्रीले उक्त पुरस्कार जंगमलाई प्रदान गरेका हुन् । २०६४ सालमा स्थापना भई प्रतिष्ठानको व्यवस्थापनमा उक्त सम्मान हरेक वर्ष प्रदान गर्दै आइरहेको छ ।
विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारकाे १३ ओं सस्करणबाट यस बर्ष जंगमलाई सम्मानित गरिएकाे हाे । २०६४ सालमा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरि सुरु गरिएको पुरस्कार गतवर्ष नेपाली भाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो । फागुन १५ गते आईतबार भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान मकवानपुरले जंगमलाई उक्त सम्मानबाट सम्मानित गर्ने निर्णय गरेकाे थियाे ।
२०१० सालमा भक्तपुरमा जन्मिनु भएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् । हेटौंडाका व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा १ लाख राशीकाे विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् ।

यसैगरी यस वर्षकाे भीम विराग युवा सगीत पुरस्कारबाट युवा गायक शिव परियार सम्मानित भएका छन् । २५ हजार राशीकाे उक्त सम्मानबाट परियारलाई प्रमुख अतिथि क्षेत्री सम्मानित गरेकाे हुन् । हेटाैडाका समाजसेवी निरा गाेर्खालीकाे व्यव्थापनमा उक्त पुरस्कार प्रदान गरिएकाे भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुर अध्यक्ष ह्याग्रिव आचार्यले बताए । गत वर्ष उक्त पुरस्कार पाेखराकाे महिलाहरुले मात्र संचालन गरेकाे हार्माेनिक सांगीतिक समूहलाई प्रदान गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
उक्त पुरस्कार सँगसँगै अन्य १० वटा पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिदै आएकाे प्रतिष्ठानका अध्यक्ष आचार्यले जानकारी दिए । वर्षमा २ पटक कार्यक्रम आयाेजना गरी प्रतिष्ठानले व्यवस्थापन गरेकाे पुरस्कार प्रदान गर्दै आएकाे बताइएकाे छ । २०५९ असारमा तरगं सांगीतिक परिषद् मकवानपुरले भीम विरागकाे नाममा सांगीतिक साझँ कार्यक्रम आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रमबाट संकलन भएकाे रकमकाे सदुपयाेग गर्नकाे लागि भीम विरागकै अनुराेधमा २०५९ भदाैमा प्रतिष्ठान स्थापना गरिएकाे अध्यक्ष आचार्यले बताए ।
पुरस्कार सम्मान कार्यक्रम पश्चात पुरस्कृत व्यक्तीद्वय जंगम र परियारले आआफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । प्रतिष्ठानका अध्यक्ष आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा प्राध्यापक क्षेत्रीको प्रमुख अतिथ्यतामा भएकाे सम्मान तथा सांगीतिक कार्यक्रममा भीम विराग तथा प्रतिष्ठानका बारेमा गायिका सुशीला मानन्धर पाण्डे परिचय गराएकी थिइन् ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार तुल्सी थापा, मुक्तिगोविन्द वैद्य, गायिका मानन्धर, कोषाध्यक्ष निरा शर्मा, पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठ तथा निरा गाेर्खाली लगायत विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्ति तथा साहित्य र संगीत प्रेमीहरुकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । बकैया गाउँपालिकाकाे हात्तीसुडेमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएकाे छ । पुस्तकालय अभियान समूह मकवानपुरको समन्वयमा बकैया ३, हात्तीसुँडेमा हात्तीसुँडे सार्वजनिक पुस्तकालय स्थापना गरिने भएको हाे ।
बकैया कला–साहित्य महोत्सव–२०७८ उद्घाटन समारोहमा पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि शुक्रबार ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ । पुस्तकालय अभियान समूहका सदस्य प्रताप विष्टले बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र ३ नम्बर वडा अध्यक्ष दिलबहादुर भोम्जनलाई पुस्तक हस्तान्तरण गरेका छन् । पुस्तक ग्रहण पछी वडा अध्यक्ष भोम्जनले वडा कार्यालयमै अथवा उपयुक्त स्थानमा पुस्तकालय स्थापना गरिने बताए ।
कार्यक्रममा पुस्तकालय अभियान समूहको विषयमा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले जानकारी गराएका थिए । पुस्तकालय स्थापनाका लागि झरना साहित्यिक परिवारले पनि आवश्यक सहजीकरण गर्ने भएकाे छ । महोत्सवकै अवसरमा पुस्तकालय स्थापनाका लागि पहल गरेको साहित्यिक परिवारले पुस्तक संकलनको कार्य समेत गरेको छ । पुस्तकालय अभियान समूह र गाउँपालिकासँग समेत समन्वय गरी पालिकाका सवै वडामा पुस्तकालय स्थापना गर्ने लक्ष्य लिइएको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
पुस्तकालय अभियान समूहले यस अघी १३ वटा पुस्तकालय स्थापना गरिसकेको श्रेष्ठले बताए । यसअघि बकैया गाउँपालिकाको ४ र ७ नम्बर वडामा पनि अभियान समूहले पुस्तकालय स्थापना गरिसकेको छ । हात्तीसुँडे सार्वजनिक पुस्तकालयका लागि पुस्तक खरिद गर्न हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले आर्थिक सहयोग गरेको हो ।
गीताश्री शर्मा
सुनेँ मैले
हो तिमी ठूलो मान्छे भयौ अरे !
ज्ञानी र मान्ने बन्यौ अरे
सबैको हाई हाईमा
अनि सबैको नजरमा
तिमी छायौ अरे !
तर म पनि
मेरो समाजमा
कसैको नजरमा कम छुइनँ
फरक यति छ ,
तिम्रो र मेरो तालिममा
तिमीलाई सिकाउने त्यहाँ
तिम्रा गुरुहरू थिए
अनि मलाई सिकाउने
म सँग मेरो परिस्थिति !
मेरो परिस्थितिमै
मेरो भाग्य थियो
तर त्यही भाग्यभित्र
कताकता अपूर्णता
बाबाको अभाव थियो
मलाई जिउन कहिले
बाबाको अभावले
त कहिले शोकले पनि
अनि!
कहिले भोकले सिकायो
कहिले आमाको एक्लोपनले
कहिले आफन्तको दवावले ।
हो मलाई पनि
न सिकाउनेको कमि थियो ,
पाइलैपिच्छे लागेका मेरा ठेसहरू थिए
मेरो आँखा अघि सधैँ सधैँ
आमाका फुलेका केशहरू थिए
आफन्तहरूको साथ थियो
रिस र आह्रिस पनि
बराबर हाथ पनि थियो
जिन्दगीका उकाली ओरालीमा कतै
कसैको आशीर्वाद थियो
मान्यजनको साथ थियो
मिठो बोलि थियो ,
अभाव भित्र अलि अलि
कसैको रसिलो स्वभाव थियो ।
हो त्यही स्वभावले
पटक पटक लडेर पनि
उठ्न सिकायो
तर कसैका खस्रा स्वभाव
कसैका झिना मसिना
कसैको न्यानो पन थियो
त्यही न्यानोपनभित्र
कसैको छुट्टै प्रभाव थियो
स्वभाव र प्रभावभित्र अझै
मिठो अनि रसिलो
या भनौं
मेरो जिन्दगीमा
उनको प्रवेशले
उज्यालो प्रभाव छि-यो
जिउँदै थिएँ
हिँड्दै थियौ
सिक्दै थिएँ
उनको साथमा
हातमा हात समाई
किन कि मलाई पनि
तिमी जस्तै बन्नु थियो
र त मैले मेरो गुरुको रूपमा
मैले मेरै उनीलाई मानेँ
अनि फेरि हिँड्दै गर्दा
अलि अलि पाइला सर्दा
मेरा छोरी भनौँ कि
या साथी भनौँ
मेरा देवीहरूलाई
गुरुको रूपमा समाएँ
हो हिँड्न सिकाएँ
हाँस्न न बाँच्न सिकाएँ
मखुन्डोधारी समाजमा
मान्छे चिन्न
आफ्नोत्वको नाटक गरि
नजिकीन खोज्ने
तर यथार्थमा भन्नुपर्दा
स्वार्थीपन लिएर
आउँने र छाउँने
आफन्तहरूलाई
औंलामा गन्न मलाई
यी नै छोरीहरूले सिकाए ।
अब के भनौं म तिमीलाई
बस यति भन्छु
सुन न
मलाई जीउन
नकारात्मक नजरलाई पिउन
सकारात्मक पाटो सिउन
नकाब उतारी
म जस्ती छु त्यस्तै जिउन
मलाई मेरै गुरु
मेरा उनी अनि
प्राण प्यारा
मेरा छोरीहरूको
प्रभावले सिकायो ।
गान्तोक, सिक्किम
मकवानपुर । मकवानपुरका गजलकार विश्वनाथ सञ्जेलको ‘फर्कियो किनारबाट’ गजल संग्रह विमाेचन भएकाे छ । बकैया साहित्य-कला महोत्सव २०७८ काे अवसरमा फागुन २७ गते शुक्रबार सञ्जेलको गजल संग्रह विमोचन गरिएकाे हाे ।
संजेलकाे तेस्रो कृतिको रुपमा विमोचन भएकाे ‘फर्कियो किनारबाट’ गजल संग्रहमा ७५ वटा गजल रहेका छन् । यस अघी संजेलको पलपलको मूल्य (गजल संग्रह) २०६८ पहिलो कृति र क्षितिज-यात्रा (मुक्तक संग्रह) २०७५ दोस्रो कृति प्रकाशित भइ सकेका छन्।
संजेल सुनगाभा साहित्य सम्मान-२०६९, गजल मञ्च मकवानपुर कदरपत्र-२०६२, सजेल बन्धु समाज, सर्जक सम्मान-२०७० र झरना रजत सम्मान-२०७४ बाट सम्मानित भएका छन्। भरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष तथा सञ्जेल बन्धु समाजको केन्द्रीय सदस्य लगायत विभिन्न साहित्यिक एवम् सामाजिक संघ, संस्थामा आबद्ध रहेका सजेल भरना साहित्यिक पत्रिकाका सम्पादक हुन ।
गजलकार संजेल २०४३ साल असारमा पोखरामा जन्मिएका हुन् । नेपाली विषयमा स्नात्तकोत्तर तह अध्ययन गरेका बकैया-४, छतिवनका स्थायी बासिन्दा सञ्जेल रौतहट जिल्लाको गरुडा नगरपालिका-३ स्थित सरस्वती माविमा मावि तहमा नेपाली शिक्षकको रुपमा कार्यरत छन् । साहित्यकार सञ्जेल कविता, गजल, मुक्तक,समिक्षा तथा समालोचना लेखनमा कलम चलाउँछन् ।