मकवानपुर । बकैया गाउँपालिकाकाे हात्तीसुडेमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएकाे छ । पुस्तकालय अभियान समूह मकवानपुरको समन्वयमा बकैया ३, हात्तीसुँडेमा हात्तीसुँडे सार्वजनिक पुस्तकालय स्थापना गरिने भएको हाे ।
बकैया कला–साहित्य महोत्सव–२०७८ उद्घाटन समारोहमा पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि शुक्रबार ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ । पुस्तकालय अभियान समूहका सदस्य प्रताप विष्टले बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र ३ नम्बर वडा अध्यक्ष दिलबहादुर भोम्जनलाई पुस्तक हस्तान्तरण गरेका छन् । पुस्तक ग्रहण पछी वडा अध्यक्ष भोम्जनले वडा कार्यालयमै अथवा उपयुक्त स्थानमा पुस्तकालय स्थापना गरिने बताए ।
कार्यक्रममा पुस्तकालय अभियान समूहको विषयमा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले जानकारी गराएका थिए । पुस्तकालय स्थापनाका लागि झरना साहित्यिक परिवारले पनि आवश्यक सहजीकरण गर्ने भएकाे छ । महोत्सवकै अवसरमा पुस्तकालय स्थापनाका लागि पहल गरेको साहित्यिक परिवारले पुस्तक संकलनको कार्य समेत गरेको छ । पुस्तकालय अभियान समूह र गाउँपालिकासँग समेत समन्वय गरी पालिकाका सवै वडामा पुस्तकालय स्थापना गर्ने लक्ष्य लिइएको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
पुस्तकालय अभियान समूहले यस अघी १३ वटा पुस्तकालय स्थापना गरिसकेको श्रेष्ठले बताए । यसअघि बकैया गाउँपालिकाको ४ र ७ नम्बर वडामा पनि अभियान समूहले पुस्तकालय स्थापना गरिसकेको छ । हात्तीसुँडे सार्वजनिक पुस्तकालयका लागि पुस्तक खरिद गर्न हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले आर्थिक सहयोग गरेको हो ।

