मकवानपुर । मुक्तककार रेणुका चौलागाईँको मुक्तक संग्रह ‘जीवनजस्तो जीवन’ विमोचन भएको छ । शनिबार काठमाडौंमा नेपाल मुक्तक प्रतिठानको आयोजनामा भएकाे कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल, मुक्तक प्रतिष्ठानका अध्यक्ष कामकाजी कोणे, कवि गीतकार तथा मुक्तककार प्रतिष्ठानका रमेश पौडेल, प्रा. समालाेचक ज्ञानु अधिकारी, मुक्तकार मीना चौलागाई, यादव चौलागाई, शिक्षक चुहाप्रसाद चौलागाई तथा कृतिकारका माता-पिता लगायतले ‘जीवनजस्तो जीवन’ विमोचन गरेका हुन् ।
विमाेचन कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. बरालले जीवनजस्तो जीवन मुक्तक संग्रहले नेपाली नारी मनका यावत विषयलाई सशक्त ढंगले उठाएको बताए । कृतिकाे भूमिका लेख्नुहुने बरिष्ठ मुक्तककार रुद्र ज्ञवालीले कृतिकारको मुक्तक शिल्पको चर्चा गर्दै उनीमा प्रचुर संभावना रहेको बताए ।
प्रा. समालोचक डा. अधिकारीले जीवनजस्तो जीवनमा नारी मनका कुण्ठा मात्र हैन, हुँकार समेत रहेको दाबी गरिन् ।कृतिकारका शिक्षक तथा अतिथि चुडा प्रसाद चाैलागाईंले आफ्नाे शिष्यले मुक्तक कृति लिएर आएकोमा हर्षित हुँदै यस्तै प्रतिभाशाली विद्यार्थी आफ्नो जीवनको कमाई भएको बताए । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष रामकाजी कोनेले अहिले नेपाली साहित्यमा मुक्तकको बहार आएको बताउँदै कृतिकारकारलाई शुभकामना दिएका थिए ।
प्रतिष्ठानका महासचिव रमेश पौडेलले समकालिन नेपाली साहित्यमा नारी हस्ताक्षरको विश्वव्यापी रूपमै दर्विलो उपस्थिति रहेको बताए जिकिर गरे । प्रष्ठिानका सदस्य तथा मुक्तककार यादव भट्टराईले कृति मुक्तकको रचना विधान मुताविक शैली शिल्पले सिंगारिएको बताए । काभ्रेली साहित्यकार तथा मुक्तककार मीना चौलागाईँले जीवनजस्तो जीवनकी सर्जकको चिनारी दिँदै मुक्तकका विषयले हरेक विषयलाई समेटेको जानकारी दिइन् ।
कृतिकार रेणुका चौलागाईँले मुक्तक प्रतिष्ठानको ब्यानरमा माता पिताको उपस्थितिमा कृति विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् । कृतिकारकी सुपुत्रीद्वय सुजिता र अनुषा चौलागाईँले आमालाई बधाई दिँदै कृति आगमनले पूरै परिवार नै गौरवान्वित भएको बताएका थिए ।
मुक्तक, कविता, गजल, कोपिला, हाईकु जस्ता साहित्य विधामा कलम चलाउने रेणुकाकाे ‘जीवनजस्तो जीवन’ पहिलाे कृति हाे । स्थायी ठेगाना काभ्रे रही हाल काठमाडाैमा बसाेबास गर्दै आएकी मुक्तककार सानै देखि साहित्यमा कलम चलाउँदै आएकाे भए पनि पछिल्लाे समय करिब ३ बर्षबाट निरन्तर साहित्य रचना गर्दै आएकाे बताउँछिन । रेणुकाका जीवनसाथी यादवप्रसाद चौलागाई प्रकाशक रहेको उक्त कृतिमा २ सय ८२ वटा मुक्तक समावेश रहेका छन् ।

