मकवानपुर । प्रथम प्रदेश खेलकुद प्रतियोगिताको हेटाैंडामा उद्घाटन गरिएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रथम खेलकुद प्रतियोगिताको शनिबार हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा एक समारोहबीच उद्घाटन गरेका हुन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना हुने प्रथम खेलकुद प्रतियोगिताको मुख्यमन्त्री पाण्डेलेओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । शनिवार उद्घाटन गरिए पनि प्रतियाेगिता अन्तरगतका खेलहरु फागुन २९ गते आइतबारबाट सुरु हुने भएकाे छ । उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रम भव्य प्रस्तुत तथा प्रदर्शनी गरिएकाे थियो ।
कार्यक्रममा पिप्ले क्याम्पा रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिता मकवानपुरसहित चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक गरी ५ जिल्लामा विभिन्न खेलको आयाेजना हुनेछ । मकवानपुरकाे हेटाैडामा फागुन २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल सुरु हुने छन् । प्रतियाेगिता अन्तरगत सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्सका खेल हुने छ । त्यस्तै, काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने बताइएकाे छ ।
८ करोड ४ लाख खर्च हुने अनुमान गरिएकाे प्रतियाेगितामा बिभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउने छन् । १ हजार २ सय पुरुष खेलाडी र ९ सय महिलाले खेलाडीले प्रतियाेगितामा भाग लिने आयाेजकले जानकारी दिएकाे छ । खेलको समापन कार्यक्रम चैत्र १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

