मकवानपुर । नेवार समुदायको साझा संस्था नेवा देय् दबुको बागमती प्रदेश अध्यक्षमा विष्णुगोपाल महर्जन निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न प्रथम अधिवेशनबाट मकवानपुरका महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
यसैगरी दबुको वरिष्ठ उपाध्यक्ष चन्द्रलाल मानन्धर (रामेछाप), उपाध्यक्ष उपेन्द्र प्रधान (दाेलखा) र सुशीला श्रेष्ठ (सिन्धुली), प्रमुख सचिव बद्रिमान श्रेष्ठ (चितवन), सचिव दिलकुमारी श्रेष्ठ (चितवन) र गणेश कुमार श्रेष्ठ ( मकवानपुर), कोषाध्यक्ष विजयराज बज्राचार्य (मकवानपुर) चयन भएका छन् ।
यस्तै सदस्य बाबुराज श्रेष्ठ, सुशीला श्रेष्ठ, सिर्जना श्रेष्ठ (दोलखा), हर्षबहादुर श्रेष्ठ र कालिदास श्रेष्ठ (सिन्धुली), विष्णुनारायण श्रेष्ठ, बाबुकृष्ण श्रेष्ठ, भरतकुमार श्रेष्ठ र सन्जु श्रेष्ठ (धादिङ) सर्वसम्मत चयन भएका छन् । यसैगरी तिलमाया श्रेष्ठ, दल बहादुर श्रेष्ठ (रामेछाप), निराजन गोपाली (मकवानपुर), राजेन्द्र महाजु (काभ्रे), सरिता श्रेष्ठ, गोविन्दकृष्ण श्रेष्ठ (चितवन), ज्ञानेन्द्र श्रेष्ठ, शुक्रकुमार श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र दिलिप कुमार श्रेष्ठ (सिन्धुपाल्चोक) प्रदेश समितिको सदस्य चयन भएका छन् ।
शनिबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन गर्दै श्रेष्ठले भाषाकाे संरक्षण र प्रयोग गर्न समुदाय सचेत हुनुपर्ने बताए । संयुक्त राष्ट्रसंघको सदस्यता लिने क्रममा नेपालले मौलिक भाषाको रुपमा नेवारी भाषा र मौलिक लिपीको रुपमा रञ्जना लिपीलाई स्वीकार गरिसकेकोले नेवारी भाषा र लिपीको संरक्षण गर्नु अझ महत्वपूर्ण भएको उनले बताए ।

नेवा देय दवु बागमती प्रदेश समितिका अध्यक्ष उमेश स्थापितको अध्यक्षतामा भएकाे अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाका प्रतिनिधिको सहभागिता रहेकाे थियाे । अधिवेशनको अवसर मै शनिबार बिहान नेवारी बाजा, लाखे नाचसहित प्रभातफेरी गरिएको थियो । हेटौंडा–२ स्थित मन्त्र रेष्टुरेन्टबाट निस्किएको प्रभातफेरी संगमचोक, हरिकुञ्जरोड, कान्तिराजपथ, पारिजातपथ, स्कूलरोड, टिसिएनरोड, बसपार्क, राप्तीरोड, बुद्धचोक, मेनरोड, पिपलबोट चोकहुँदै पुनः अधिवेशन आयोजनास्थल मन्त्र रेष्टुरेन्टमा पुगेर समापन गरिएको थियो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतकाे उपस्थिति रहेको थियो ।

