- मन्दिरा चापागाईं
अचानक भास्कर गाउँ आएको देखेर दङ्ग भए भगिरथ बाजे । टुकुटुकु हिड्ने थिईस् शहर जाँदा । नातीको टाउको सुम्सुम्याउँदै भने बाजेले ।
अर्गानिक खानपिनको स्वादमा पल्किदै गयो ऊ । उकालोओरालो गर्दा गर्दै प्याट्ट लागेको पेट र भद्दा शरीर साईजमा आयो । धान गहुँबाली देखेपछि चामल र पीठोका कच्चापदार्थ चिन्यो उसले ।
“चिउराको बोट खै त ?”भन्दा पेट मिचिमिची हाँसेका थिए उसका साथीसङ्गी ।
चराको चिरबिर हावाको शीतलता झरीको झंकार र लहलह बाली देख्दा कोठाभित्र गुम्सिएको मन प्रफूल्लित भयो । ताजा सागसब्जी फलफूल सहयोगी र मिजासिला मानिसहरू देखेर छक्क पर्यो भनें बाँझा जमिन रित्ता घरहरू देख्दा दुखि पनि ।
“यहि माटोको तागत पिएका बलिस्ठ पाखुरी बिश्व बजारमा बिक्री भए । पैसा नै सबथोक हो भनेर बल बैंस विवेक बिदेशी भूमीमा खर्चिए युवाहरूले । हाम्रा कर्मशील पाखुराहरुले बिदेशी मरुभूमिलाई उद्धान बनाए हाम्रा उद्घान मरुभूमि बन्दैछन् । मलिला जमिनमा बिद्युतका पोल कालोपत्रे सडक फले। रेडियोले वैदेशिक रोजगारीको सुबर्ण अवशर ….आकर्षक घडेरी बिक्रीमा बजायो । खेतबारी बाझैं राखि झोलामा खानेकुरा बोकि ल्याउँने संस्कृति भित्रियो । अहिले गाउँघरमा अन्न भन्दा पनि खेतीयोग्य जमिन कोतेरेर विकास फलेको छ ।”बाजे भन्दै गए । उसले चाख मानेर सुनिरह्यो ।
माटोमै छ जीवनको सार्थकता ।” जब आफ्नै भूमिमा पसिना पोखिन्छ त्यो पसिना माटोको गन्धमा मिसिएर सुगन्धित हुन्छ । पाखुरीहरु कुटोकोदालो सहित खेतबारीमा पौठेजोरी खेल्छन् बालीहरु लहलहाउछन् ।”यी जमीनले अन्न नदिए प्रयोगशालाबाट निकाल्न सकिन्न । कि डाउनलोड गर्दा हुन्छ ? ” भास्कर मुसुस्क हाँस्यो । खाद्यान्न आयात गर्नु नपरे मात्र पनि हाम्रो स्वभिमान उँचो हुनेथियो ।
यतिकैमा जिल्ला कृषि बिकास कार्यालयका कर्मचारीले भगिरथ बाजेलाई निमन्त्रणा पत्र थमाएर गए । गाउँ समूदायमा कृषि सम्बन्धी जनचेतना जगाएको र बृद्धावस्थामा नमूना कृषक बनेर योगदान दिएको सम्मानमा बाजेलाई नगद पुरस्कार दोसल्ला प्रमाणपत्र सहित सम्मानित गरियो ।
सबै नियालीरहेको भास्करले “आजसम्म मलाई कसैले कृषक हुनु किन भनेनन् बा ? किन डाक्टर पाईलट र ईन्जिनियर हुनु भने ? किताबमा पनि डाक्टर इन्जिनियर पाईलटका सुकिला मुकिला फोटा र किसानका झुत्रेझाम्म्रे फोटा मात्रै राखिन्छ । हजुरले जस्तै पुरस्कार पाएको फोटो किन नराखिएको बा किन ?” भन्दै सोध्यो ।
सभापोखरी -१, संखुवासभा
मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालले आयाेजना गरेकाे प्रथम राष्ट्रिय बालसाहित्य उत्सवमा ८ जना स्रष्टा सम्मानित भएका छन् । नवसर्जक साहित्य चौतारीले शनिबार हेटौंडामा आयोजना गरेको बालसाहित्य उत्सवको अवसरमा ८ जना स्रष्टालाई सम्मान गरिएको हो ।
१५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ बाट प्रमोद प्रधान सम्मानित भएका छन् । यस्तै प्रदेश–१ नवसर्जक सम्मान–२०७९ बाट अन्वेषा चापागाई, मधेस प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अभिजित राम, बागमती प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुज्ञा नेपाल सम्मानित भएका छन् ।
यसैगरी गण्डकी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुराग सापकोटा, लुम्बनी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट पवन अधिकारी, कर्णाली प्रदेश नवसर्जक सम्मान–२०७९ बाट नवीन पाण्डे, सुुदुरपश्चिम प्रदेश नवसर्जक सम्मान–२०७९ बाट ऋष्टिना करिया प्रधान थारुलाई सम्मान गरिएको छ । जनही ७ हजार ७ सय ७७ रुपैयाँ राशीसहित उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाइँको सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमूख प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । रमेशमोहन अधिकारी, विष्णुप्रसाद न्यौपाने, डिबी बर्तौला, पत्रकार सुरेश श्रेष्ठ, अर्चना दाहाल जयन्ती आचार्य, ओमकुमारी बन्जारा रानाभाट, रुबिना शर्मा, प्रभा पौडेल, पुस्कल नेपाल, सञ्जय साह, जागेश्वर नेपाल, अजमत अली अन्सारीको निर्णयबाट उक्त सम्मानबाट स्रष्टाहरुलाई सम्मान गरेका हुन् ।
नवसर्जक साहित्य चौतारी स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा गत पुसमा आयोजना गर्ने योजना बनाइएको कार्यक्रम कोभिडको दोस्रो लहरसँगै स्थगित गरिएको थियो । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट मुख्य प्रायोजक रहेको कार्यक्रममा प्याब्सन मकवानपुर र हेटौँडा नगर समितिकाे सहकार्य रहेकाे छ ।
ज्योति घिमिरे
१.
कस्तो हुन्छ भविश्य समयले बताउँछ
आनिबानी सबै आचरणले जताउँछ
जिन्दगी सधैं एकनास हुन्न रहेछ हजुर,
कहिले पानीले त घामले पो सताउँछ ।
२.
मनमा छन् अनगिन्ती पिरको के कुरा
बेदनाले जकडिने जन्जिरको के कुरा
जलाउँछन् आफ्नैले चित्तामा एकदिन्,
तेरो मेरो भन्ने नश्वर शरिरको के कुरा ।
३.
दिनरात लोभमोहमा परिरहेछौँ
आशाहरु मनमा सदा भरिरहेछौँ
यो संसार रङ्गमन्च रहेछ हजुर,
आ-आफ्नो अभिनय गरिरहेछौँ।
४.
नयनबाट साउने भेल झार्नु परेको हो
उसैलाइ जिताउन आज हार्नु परेको हो
थाहै नदिइ बैगुनी मुटुभित्र पस्न थालेपछि,
काँडे तारले मनको बाटो बार्नु परेको हो।
गोदार धनुषा
श्रीबहादुर केसी शैलुङ्गे
हामी हिड्ने दाेबाटाेहरुमा
हामीले चालेका खुट्किलाे हरुमा
छर्लङ्गै देखिरहेछन्
तानाशाहका पैतालाका डाेबहरु
अनि उडिरहेछन तिनैले टेकेका
पाइतालाकाे डाेबबाट बुङबुङ्ती धुलाे
त्यहीँ निस्सासिदाे धुलाेमा
खाेज्दैछाै छिचाेल्न हामी
बढ्न खाेज्दैछाै अघि
जीवनमार्ग अनि जीवनका
स- साना गाेरेटाहरु
अन्याैलमै रुमल्लिरहेछाै यत्रतत्र
कठिन अति कठिन..
हिलाम्मे त्याे बाटाे पार गर्न
समयले नेटाे काट्दा सम्म
घाम अाेरालाे लागि अस्ताउने बेलासम्म
पुग्न सकेका छैनाै गन्तव्यमा
हामिले फेर्ने स्वासमा पनि
अवाक लाग्दाे छ
तिनै तानाशाहले फेरेकाे दुषित हावा
आइरहेछ हवा्रहर्ति
अङ्ग अङ्ग हुँदै
हाम्राे शरिरभित्र प्रवेश गरिरहेछ
अपत्यारिलो गरि
नमिठाे खार अाइरहेछ
विशक्त शरीर लिएर हामी
खाेजिरहेछाै धर्तीभरि
थाहा छैन किन हाेला?
तानशाह अझैसम्म
सलाेट खादैन सगरमाथाकाे
कुम्भकर्ण र धाैलागिरी देखि लिएर
थुप्रै थुप्रै चुरे पहाड र नागवेलि डाँडाहरु
हाम्रै अघि आइ छेक्दैछन हाम्राे मार्ग
अल्मल्याउन बुनिरहेछन तानावानाहरु ।
भक्तपुर
प्रीति आत्रेय ज्ञवाली
१.
पार्टीभन्दा ठुलो व्यक्ति चाहा भयो
स्वतन्त्रमा उठेको मेयर आहा भयो
बल्ल बुझ्दै जनता खास कुरा के हो,
छैनन् जनता भेडा भन्ने थाहा भयो ।
२.
भोटले राम्रो चुन्यो कि नराम्रो त्यो त नतिजाले बताउनेछ
स्वस्तिकले शुभ लाभ भने नभनेको परिणामले जनाउनेछ
सही व्यक्तिको चुनाव भए देशको मुहार होला चिटिक्क,
के भनौँ अब यही नै आश नेपाल मेरो खुशीले रमाउनेछ ।
३.
अनुकूल हेरेर मात्र सम्बन्ध गाँसिन्छ अचेल
प्रतिकूल देखिन गए सम्बन्ध टाढिन्छ अचेल
अचम्म लाग्छ यो नापतौलको व्यवहार देख्दा,
राम्रै व्यवहारले पनि व्यक्ति च्याँठिन्छ अचेल।
४.
भन्छन् जीवन सुन्दर छ जिउन पो जान्नुपर्छ
हरेश-पीर-बाधाहरूलाई पिउन पो जान्नुपर्छ
पर्छ बेला बेलामा धुन-टक्टक्याउन-सुकाउन,
फाट्दा-उध्रिँदा जोड्न-सिउन पो जान्नुपर्छ ।
बुटवल हाल कम्बोडिया