प्रीति आत्रेय ज्ञवाली
१.
पार्टीभन्दा ठुलो व्यक्ति चाहा भयो
स्वतन्त्रमा उठेको मेयर आहा भयो
बल्ल बुझ्दै जनता खास कुरा के हो,
छैनन् जनता भेडा भन्ने थाहा भयो ।
२.
भोटले राम्रो चुन्यो कि नराम्रो त्यो त नतिजाले बताउनेछ
स्वस्तिकले शुभ लाभ भने नभनेको परिणामले जनाउनेछ
सही व्यक्तिको चुनाव भए देशको मुहार होला चिटिक्क,
के भनौँ अब यही नै आश नेपाल मेरो खुशीले रमाउनेछ ।
३.
अनुकूल हेरेर मात्र सम्बन्ध गाँसिन्छ अचेल
प्रतिकूल देखिन गए सम्बन्ध टाढिन्छ अचेल
अचम्म लाग्छ यो नापतौलको व्यवहार देख्दा,
राम्रै व्यवहारले पनि व्यक्ति च्याँठिन्छ अचेल।
४.
भन्छन् जीवन सुन्दर छ जिउन पो जान्नुपर्छ
हरेश-पीर-बाधाहरूलाई पिउन पो जान्नुपर्छ
पर्छ बेला बेलामा धुन-टक्टक्याउन-सुकाउन,
फाट्दा-उध्रिँदा जोड्न-सिउन पो जान्नुपर्छ ।
बुटवल हाल कम्बोडिया

