जगन्नाथ सुवेदी
तिमीलाई जन्माउँदा
रगत बगाएकी थिइन् तिम्री आमाले
तिमीलाई विदाइ गर्दा
आँसु बागाएकी छिन् तिम्री आमाले
आमाहरु चुपचाप बगाइरहन्छन्
रगत, आँसु र ममताहरु
आमाहरु पग्लिरहन्छन्
तर
देखिन्न् हृदयमा दन्कने रापहरु
सगरमाथा भेट्न सोलुखुम्बु जानु पर्दैन
आफ्नै आमालाइ फर्की हेर
धैर्यताको सर्वोच्च उचाइ उनको
नाप्न सकिन्न कोशिष नै नगर
तिमिले त सम्झिदिएपनि पुग्छ आमालाई
उनी मुस्कुराएरै बाँचिरहन्छिन्
तिमीले त बिर्षेपनि उस्तै उनीलाई
झारेर आँसु
आशिष तिमीलाई दिइरहन्छिन्
मुक्त हुन्छन् आमाका आशिष
मैलाउँ मै खाउँको दुर्गन्धबाट
युक्त हुन्छन् आमाका आशिष
चरित्र निर्माणको सुगन्धबाट
आमाले त गर्नसम्म गरिन्
र
अझै पनि गर्छिन्
आइपरे तिम्रा निम्ती
हाँस्दै हाँस्दै प्राण दिन्छिन्
तिमी सँगको बिछोडमा
रुदै रुदै प्राण त्याग्छिन्
तिमिले भनें गर्छौ त के ?
अल्लारे नै छौ
संघर्षको मैदानमा पसिना बगाउनेछौ
दाम कमाउनेछौ नाम कमाउनेछौ
सन्सारको फन्का घरि घरि लगाउनेछौ
तिमी गर, गर्नसम्म गर
समय अमुल्य छ उमेरमै गर
पसिना झारेर दाम र नाम कमाउ
समृद्ध जीवनको उचाइ भर
तिमी पन्छी बनेर सात डाँडा पार गर
तर
फर्कि आउने गुड नभुल
उचाइ भर्न सम्म भर
तर
आफ्नो धरातल नभुल
गुँडको रक्षा गर्नु तिम्रो दायित्व
त्यहाँ चारित्रिक भ्रुणको निर्माण गर्नु
तिम्रो कर्तब्य
आमाको दुध जस्तै
आफ्नो धरातलको षड्रस पिएर
यति सम्म बनेको तिमी
त्यो धरातल उर्वर बनाउने
तिम्रै अव जिम्मेवारी
जब लागि पर्नेछौ पूरा गर्न
दाइत्व कर्तब्य र जिम्मेवारी निम्ती
तिम्राे नसाका रगत
बन्नु पर्नेछ अझै तातो
देखिनु पर्नेछ अझै रातो
अनि
फक्रने छन् आमाका आशिषहरु
बन पाखाका लाली गुराँस सरि
तराइमा धानका बाला खेतभरी झुलेसरी
आमा उनी शिक्षक त यसै थिइन्
सिद्ध गुरु पनि बन्नेछिन्
जसले दिइन तिमीलाई
जीबिकाको निम्ती मात्र नभइ
जीवनको निम्ति योग्य शिक्षा
दिनु रहेछ तिम्री आमाले
अझै अग्नि परीक्षा
तिमि जन्मिदा स्पर्षित
यो धर्तीको माटो
टीका थाप्न तिम्रो निधार
लालायित हुन्छन यदि भने
यहीँ कुवाका पानी पिउन
तिमीभित्र तिर्खा लाग्छ यदि भने
आमा तिम्री गोदावरी फुल झैँ
फुलेसी कहिले नओइलाउने
आमा तिम्री सारङ्गी धून झैँ
लेक र बेंसीमा जीवनी गाउने
तर कतै
धागो छिनेको चङ्गा तिमी बन्न पुगे
पराइ दुनियाँमा मात्र दङ्ग तिमी बन्न पुगे
गुमनाम त तिमी हुने छउ
तर
बदनाम हुनेछन्
आमाका पर्वरिस र सपनाहरु
अपमानमा पर्नेछन्
तिम्रा निम्ति
छाती चर्की बगेका दशधारा दुधहरु
आमा सङ्ग बसेर बिचार निर्माण गर
शिक्षालाइ चेतनाले दिक्षामा रुपान्तरण गर
आमा र देश उस्तै उस्तै होइनन्
एकै हुन
आमालाइ सोधेर काम गर देश खुसी हुन्छ
देशलाइ सोचेर काम गर आमा खुसी हुन्छिन् ।
हेटौडा
मकवानपुर । चलचित्र प्रकाशको टोली हेटौंडा आइपुगेको छ । आगामी भदौ १० गतेबाट प्रर्दशनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रकाश’को टोली प्रचारप्रसारको लागि हेटौंडामा आएको हो ।
चलचित्र प्रचारप्रसारमा देशका विभिन्न शहरमा दौडाहामा व्यस्त रहेको टोली आइतबार हेटौंडा आइपुगको हो । हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै चलचित्रका लेखक विकास सुवेदीले चलचित्र प्रकाशको कथा बस्तु र चलचित्रको बारेमा जानकारी गराएका थिए । करिब २ करोड ५० लाख रुपैयाँ खर्चेर चलचित्र निर्माण गरिएको सुवेदीले बताए ।
चलचित्र प्रसाद, पर्व, क्लासिकमा सहायक निर्देशन गरिसकेका सुवेदी प्रकाशका लेखक समेत हुन । सुवेदीले चलचित्र जुम्लाको परिबेश अनुशारको कथामा निर्माण भएकोले आफुले जुम्लाको महिलाको कथा बुझ्न लामो समय जुम्लामा बसेर कथा लेखन कार्य गरेको बताए ।
चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी नायिका दिया मास्केले समाजमा पहिचान खोजी गर्ने क्रममा एकल महिलाले गर्नुपर्ने संघर्षको विषयमा उठान गरिएको बताइन् । उनले आफु नायक प्रदीप खड्काको आमाको भूमिकामा रहेको बताउदै जुम्लाका महिलाहरुले भोग्नुपरेको कथावस्तुलाई चलचित्रमा उठान गरिएको बताइन् ।
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा दिया मास्के, प्रदीप खड्का, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले आज श्रावण २७ गते शुक्रबार गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गर्दैछ ।
आज रक्षा बन्धन जनै पूर्णिमा सहित गाइजात्रा समेत एकै दिन परेकाेले कार्यक्रममा हास्यव्यङ्ग्य कविता, गजल, मुक्तक, निबन्ध, कथा लगायतकाे प्रस्तुती रहने सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछानेले बताए । साथमा प्यारोडी गायन र कार्टुन कला प्रदर्शनी समेत गरिने उनले जानकारी दिए ।
हास्यव्यङ्ग्य कार्यक्रममा पहिलो पोस्टका कार्टुनिस्ट रविन्द्र मानन्धर, थाहा सञ्चारका कार्टुनिस्ट अनुप गुरुङ, मकवानपुरका पहिलो कार्टुनिस्ट ऋषि केबी तथा ऋत्वीक केबीका कार्टुन चित्रहरु प्रदर्शनीमा राखिनेछन् ।
यस पटकको गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम हेटौंडा पार्टी प्यालेसमा आयोजना हुनेछ । कार्यक्रममा सिस्नुपानी मकवानपुरका सदस्य,अन्य संघ संस्थामा आबद्ध भएका व्यक्ति, साहित्यकार तथा हास्यव्यङ्ग्यलाई माया गर्ने अन्य व्यक्तिहरुको समेत उपस्थिति रहने आयाेजकले बताएकाे छ ।
आर्थिक व्यवस्थापन गरेर हास्यव्यङ्ग्य साहित्य कार्यशाला, विद्यालयस्तरीय तथा खुला प्रतियोगिता, हास्यव्यङ्ग्य चित्र (कार्टुन) तथा फेस क्यारिकेचर चित्रकला कार्यशाला संचालन गर्ने योजना संस्थाकाे रहेकाे सदस्य संप्रस पौडेलले जानकारी दिए ।
सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष रामकुमार लामिछाने, उपाध्यक्ष मीनप्रसाद लामिछाने, सचिव गोविन्द पौडेल, कोषाध्यक्ष शुभद्रा हुमागाईं, सदस्यहरु सानुभाई विश्वकर्मा, चिरञ्जीवि लामिछाने र संप्रस पौडेल सहितकाे कार्य समिति रहेकाे छ ।
रञ्जु अधिकारी
१.
जीवन एउटा झरेको पात भएपछि
मुटुमा चोटै चोटको, खात भएपछि
खै के पो आश राखौ र अब कसैबाट
आफ्नै मान्छेबाट विश्वासघात भएपछि ।
२.
तिमी गीत गाउनु म ताली बजाउँला
छेउमा बसि मुस्कुराउँदै केही लजाउँला
राम्री देखि अरुलाई नराख्नु है त्यो मनमा
मेरो मन मन्दिरमा तिमिलाइ सजाउँला ।
३.
घरी यता उती, हराउनु हुन्न प्यारा
श्रीमतीलाई कराउनु हुन्न प्यारा
माया त लाग्ला अरू कसैको पनि
अरूलाई मन पराउनु हुन्न प्यारा ।
झापा