मकवानपुर । चलचित्र प्रकाशको टोली हेटौंडा आइपुगेको छ । आगामी भदौ १० गतेबाट प्रर्दशनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रकाश’को टोली प्रचारप्रसारको लागि हेटौंडामा आएको हो ।
चलचित्र प्रचारप्रसारमा देशका विभिन्न शहरमा दौडाहामा व्यस्त रहेको टोली आइतबार हेटौंडा आइपुगको हो । हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै चलचित्रका लेखक विकास सुवेदीले चलचित्र प्रकाशको कथा बस्तु र चलचित्रको बारेमा जानकारी गराएका थिए । करिब २ करोड ५० लाख रुपैयाँ खर्चेर चलचित्र निर्माण गरिएको सुवेदीले बताए ।
चलचित्र प्रसाद, पर्व, क्लासिकमा सहायक निर्देशन गरिसकेका सुवेदी प्रकाशका लेखक समेत हुन । सुवेदीले चलचित्र जुम्लाको परिबेश अनुशारको कथामा निर्माण भएकोले आफुले जुम्लाको महिलाको कथा बुझ्न लामो समय जुम्लामा बसेर कथा लेखन कार्य गरेको बताए ।
चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी नायिका दिया मास्केले समाजमा पहिचान खोजी गर्ने क्रममा एकल महिलाले गर्नुपर्ने संघर्षको विषयमा उठान गरिएको बताइन् । उनले आफु नायक प्रदीप खड्काको आमाको भूमिकामा रहेको बताउदै जुम्लाका महिलाहरुले भोग्नुपरेको कथावस्तुलाई चलचित्रमा उठान गरिएको बताइन् ।
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा दिया मास्के, प्रदीप खड्का, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन ।
In: मुख्य खबर, राष्ट्रिय, साहित्य/ कला
Tags: No Comments

