
चुनावको परिणाम नआउँदासम्म देश चुनावमय नै रहनेछ । मत माग्ने र मागिदिनेहरूले बाजा, गाजासहित मतदाताका घरघरमा गएर काममा सघाएको र कतिपय निर्वाचन क्षेत्रमा उम्मेदवारले भोजभतेर गरेको पनि देखियो । निर्वाचन जित्न उम्मेदवारहरूले पैसाको खोलो बगाएको पनि सुनियो ।
चुनावको परिणाम आउँदै गर्दा मंसिर ९ देखि २४ गतेसम्म नेपालमा विविध कार्यक्रम गरी लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान चलाइनेछ । यसपालिको नारा ‘सभ्य समाजको पहिचान लैंगिक हिंसाविरुद्ध अभिायन’ तय गरिएको छ । पछिल्लो समय लौंगिक हिंसाविरुद्धका अभियान नेपालमा व्यापक बनिरहेको छ । तर, राजनीतिक दल तथा चुनावमा भने यो मुद्दा विरलै उठ्ने गरेको छ ।
समाजमा लैंगिक हिंसाका घटना बढिरहेका छन् । केही दिनअगि मेरो छिमेकी दिदीको कुरा सुनेर छाँगाबाट खसेझैं भएको थियो । उनका चार छोराछोरी छन् । श्रीमान् सरकारी जागिरे हुन् । छोराछोरी दिनभरि विद्यालयमा हुन्छन्, श्रीमान् अफिसमा । सरकारी जागिरे भएकाले उनका श्रीमान्लाई समुदायमा सबैले चिन्छन् । उनी पनि सबैसँग बोल्ने, मिजासिलो स्वभावकी छन् । दिउँसो पसल गछिन् । बेलुकी सबै घर फर्कन्छन् । छोराछोरी गृहकार्य गर्न बस्छन् । उनी भान्छामा व्यस्त हुन्छिन् । श्रीमान् भने रक्सी पिउन थाल्छन् । त्यसपछि अन्टसन्ट बोल्छन् । घरमा होहल्ला हुन्छ । छोराछोरी डराएर एकातिर भाग्छन् । ठूला भइसकेका छोराछोरीका अगाडि उनलाई श्रीमान्ले लछारपछार गर्दा रहेछन् । र, यो एक दिनको मात्र कहानी होइन । बिहे गरे देखिकै नियमित भोगाइ हो । उनले सुनाइन् ‘धेरै पटक बिष खाएर मरूँ भन्ने पनि सोचे । तर हुर्किसकेका छोरीहरू र सानो छोराको मायाले मर्न सकिएन ।’ यो कुरा सुनेर निकै दुःख लाग्यो । उनका श्रीमान् रक्सीको लत छुट्याउन चिकित्सककामा जानुपर्छ भन्दा पनि कहिल्यै मान्दा रहेनछन् ।
त्यसै गरी काठमाडौंको बौद्ध नजिकै विगत दुई वर्षदेखि दुई महिला कहिले खुला आकाश त कहिले बन्दै गरेको घरको भुइँमा सुतिरहेका भेटिन्छन् । जाडो, गर्मी केही नभनी । सँगैका पुरुष जतिखेर पनि रक्सीको नशामा भेटिन्छन् । पछि थाहा भयो तिनका श्रीमान् र छोरा, दिनभरि काम गर्दा रहेछन् र राति रक्सी खाँदा रहेछन् । त्यसैले कोठा लिएर बस्न सक्ने स्थिति कहिल्यै बनेन । यस्तो कुराले राजनीतिक दल तथा नेताहरूलाई कहिल्यै छोएन । देशमा गणतन्त्र आएको धेरै समय भइसकेको छ । तैपनि महिलालाई पुरुषको शोषणबाट मुक्ति मिलेको छैन ।
नेपालभरि रक्सी खाएर श्रीमतीमाथि हिंसा गर्ने पुरुष कति छन् भन्ने निकै अप्ठ्यारो छ । तर, यो समस्या ग्रामीण क्षेत्रमा झन् बढी छ । रक्सी खाएपछि श्रीमती, आमाबुवा, छोराछोरीलाई कुट्ने, घरायसी काममा ध्यान नदिने पुरुष धेरै छन् । सानैमा शिक्षाको कमी र नराम्रो संगतका कारण उनीहरू कुलतमा फस्ने गर्छन् । बुहारी भित्र्याउनुपर्ने आमाबुबाको दबाबका कारण उनीहरूको विवाह पनि सानै उमेरमा हुने गर्छ । काम पनि गर्दैनन्, रक्सीमै रमाउँछन् । केही समयअघि दैलेखकी सुकी बडुवालले चार छोराछारीसहित कर्णालीमा हाम फालिन् । बेरोजगार श्रीमान्ले सधैं रक्सी पिउने, जसका कारण हातमुख जोड्न पनि नसकिने, त्यसमाथि सधैंको कुटपिटले उनलाई असह्य पीडा भएको थियो । गरिबी र घरेलु हिंसाका कारण निकै कष्टकर जीवन बिताइरहेका महिला धेरै छन् ।
विशेष गरी सुदूरपश्चिम तथा कर्णाली भेगमा मौसमी रोजगारीका लागि भारतीय सेनामा काम गर्न जानेहरू उतै रक्सीको लतमा फस्ने गरेका छन् । यता पहाडका भीरपाखामा हाड घोटेर श्रीमती काम गरिरहेकी हुन्छन् । श्रीमान् फर्कंदा खाली हात आउँछन् । त्यसमाथि रक्सीको कुलत भएपछि घरकै सम्पत्ति पनि तिनले सकाउँछन् । महिला हिंसा झन्झन् बढिरहेको छ । यस्तो दुःखलाई मत माग्न आउने उम्मेदवारहरूले कहिल्यै देखेनन् । सबैजसो चुनावमा युवाहरूलाई गाउँघरमै रोजगारी दिलाउँछौं भन्ने नारा लगाएर सोझासाझा मतदातालाई फसाउन माहिर छन् नेताहरू ।
एक अध्ययन अनुसार कर्णालीमा मात्र पछिल्लो पाँच वर्षमा ३७९ महिलाले आत्महत्या गरेका थिए, जसको अन्तर्यमा श्रीमान्को हिंसा नै हुने गर्छ । यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भए पनि कहीँकतैबाट पनि यसलाई रोक्ने प्रयास भएको छैन । चुनावका बेला मीठामीठा आश्वासन दिएर अमूल्य मत माग्नेहरूले महिला हिंसाका विषयमा केही बोल्दैनन् । स्थानीय जनप्रतिनिधिलाई आफ्ना क्षेत्रका नागरिकले भोगिरहेका हरेक पीडाबारे राम्ररी थाहा हुन्छ, हुनुपर्छ पनि । तर, तिनले त्यसको रोकथामका लागि खासै काम गरेका छैनन् ।
कोरोना महामारीको पहिलो लहरको बेलाको लकडाउनमा सल्यानमा मात्र ७२ महिलाले आत्महत्या प्रयास गर्दा ३२ जनाको ज्यानै गएको त्यहाँका प्रहरी प्रमुखले जनाएका थिए । केही महिलाले गरिबीका कारण आत्महत्या गरे पनि धेरैले भने श्रीमान्को यातना सहन नसकेर गलत बाटो रोज्ने गरेका छन् ।
उमेर नपुग्दै बिहे हुने अनि सन्तान जन्माउन बाध्य हुने महिलाको संख्या पनि उत्तिकै छ । घाँस काट्न जाँदा भीरबाट खसेर मृत्यु हुने महिलाहरूको संख्या पनि उत्तिकै छ । अपांगता हुनेहरूको संख्या पनि धेरै छ । महिलाले समाजमा अनेक किसिमका विभेद सहेर बाँच्नुपर्छ । के लैंगिक हिंसाविरुद्धका अभियानले यो विषयलाई समेटला ? चुनावअघि उम्मेदवारहरूले बिर्सिएको यो मुद्दा के विजय भएर आएपछि, तिनले सम्झेलान् ? इकान्तिपुरबाट
- सुशीला शर्मा
अक्टोबर १८ लाई दास प्रथाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । व्यक्तिगत सम्पत्ति राख्ने चलन सुरु भएपछि, बीसौं शताब्दीको अन्त्यसम्म दास प्रथा विश्वमा कायम थियो । सामान्य भाषामा भन्दा मान्छेले मान्छेलाई सताउने, दबाउने र यातना दिने व्यवस्था हो यो । उचित पारिश्रमिकबेगर कठिनभन्दा कठिन काम गराएर एक मान्छेले अर्को मान्छेलाई दास बनाई स्वामित्व लिने अभ्यास वा प्रणाली अझै नेपाली समाजमा कुनै न कुनै रूपमा विद्यमान छ ।
युनान र दास प्रथा : ग्रीसका चर्चित कवि होमरले इसापूर्व ८०० तिर ओडिसी तथा इलियड महाकाव्यमा दासताको अस्तित्व तथा त्यसबाट उत्पन्न नैतिक पतनबारे उल्लेख गरेका छन् । त्यसबेला युनानी उपनिवेशको स्थापनाका कारण दासको माग वृद्धि भयो । युद्धबन्दी र ऋण चुक्ता गर्न असमर्थ ऋणीहरूलाई दास बनाइन्थे । एथेन्स, साइप्रस तथा सेमोसका दास बजारमा एसियाली, अफ्रिकी र युरोपेली भूभागका दासहरूको खरिद–बिक्री हुने गर्थ्यो । घरेलु, कृषि तथा उद्योगका काममा दास राखिन्थ्यो । दासलाई मालिकको निजी सम्पत्ति मानिन्थ्यो र सम्पत्तिकै रूपमा किनबेच गरिन्थ्यो । त्यतिबेला एथेन्समा दासको संख्या स्वतन्त्र नागरिकको भन्दा बढी थियो भन्ने अुनमान गरिन्छ । दास तथा नागरिक हुनुको फरकको आधार प्रजाति नभई सामाजिक स्थिति थियो । प्रसिद्ध ग्रीक दार्शनिक अरस्तुका अनुसार दासता मालिक र दास दुवैका लागि हितकर हुन्छ । अर्का दार्शनिक प्लेटोले भने दासताको विरोध गरे, यसलाई अनैतिक माने ।
रोम : रोमको उत्थानसँगै दास व्यवस्था पनि व्यवस्थित हुँदै गयो । उपनिवेश फैलाइरहेका विजेताले आफ्नो सेवाका लागि पराजितको उपयोग गर्नु युद्धको स्वाभाविक परिणति रहँदै आएको छ । रोमन साम्राज्यको उदय र फैलावट सैन्य बलबाट भएको थियो । त्यसकारण पनि रोममा दास प्रथाको प्रचलन अत्यधिक भयो । रोमन गणराज्यको उत्तरार्द्धमा (इसापूर्ण दोस्रो र तेस्रो शताब्दी) अधिकांश स्वस्थ नागरिकलाई युद्धमा होमिनुपर्यो । यस्तोमा जमिन मालिकहरूले युद्धबन्दीलाई कृषिका लागि दासका रूपमा खरिद गर्न सुरु गरे । त्यसबेला एक दिनमा १० हजार दासको किनबेच हुनु सामान्य थियो । एक दास मालिकको स्वामित्वमा चार हजारसम्म दास हुन्थे र यसरी कुनै स्थानमा त दासकै बहुमत हुन्थ्यो । रोमन नागरिकको मनोरञ्जनका लागि दास योद्धालाई बिनाकवच सशस्त्र युद्ध पनि गर्नुपर्थ्यो ।
जब रोमन साम्राज्यमा बहुसंख्यक दासमाथि भएको अत्याचारले पराकाष्ठा नाघ्यो तब इटाली तथा सिसलीको ग्रामीण क्षेत्रमा दास विद्रोहको सिलसिला सुरु भयो । विद्रोही दास सेनाको आकार निरन्तर बढ्दै गयो र एक समय दक्षिण इटाली दासकै हातमा गएको थियो । रोमन साम्राज्यको अन्तिम चरणमा जब साम्राज्य प्रसार रोकियो तब नयाँ दास प्राप्त हुन बन्द भयो । परिणामस्वरूप रोमन दासको स्थिति पनि सुध्रिन थाल्यो । दासताको ठाउँमा अर्धदासता बढ्न थाल्यो ।
दासतालाई निर्ममताको शिखरमा पुर्याउने रोमन साम्राज्यको विघटनपछि युरोपमा दास प्रथाको कठोरतामा केही कमी आयो । युरोपका देशमा अधिकांश दास ‘स्लाव’ क्षेत्रबाट प्राप्त हुन्थ्यो । दासलाई अंग्रेजीमा बुझाउने ‘स्लेव’ शब्द यसैबाट बनेको हो । युरोपमा दसौं तथा चैधौं शताब्दीबीच दास प्रथा सामान्य रूपमा चल्यो । चौधौं शताब्दी आसपास पूर्वी युरोप तथा पश्चिमी एसियामा हुने आक्रमणबाट पश्चिमी युरोपमा पुनः युद्धबन्दी प्राप्त हुन लागे । मध्ययुगको अन्तिम चरणमा राष्ट्रवाद तथा धार्मिक कट्टरताको सम्मिश्रणसहितको विचारधाराको विकासका कारण युद्धबन्दीप्रति झन् असहिष्णु व्यवहार गर्न थालियो । गैरइसाई बन्दीहरूलाई शत्रु घोषित गरेर दासका रूपमा यिनको बिक्री गर्ने आदेश धर्म गुरुहरूले नै दिन्थे ।
अश्वेत दासता : औद्योगिक युग सुरु हुने समयतिर जब अफ्रिकी दासहरू बोकिएका जहाज नयाँनयाँ ठाउँमा पुग्न थाले तब दासताको इतिहासमा पनि नयाँ मोड आयो । मूल निवासी दासका तुलनामा नयाँ अश्वेत दासहरू आज्ञाकारी तथा कठोर श्रमिक थिए । अतः अश्वेत दासको माग बढ्न थाल्यो । उखु, कपासको खेतमा दासहरूको प्रयोग पहिलेभन्दा बढी हुन थाल्यो । अश्वेत दासको आयात यति बढ्यो कि पश्चिमी द्वीप समूहमा उनीहरूको बहुमत भयो । निजी कम्पनीमार्फत नै उनीहरूको किनबेच हुन थाल्यो । अठारौं शताब्दीको प्रारम्भसम्म अश्वेत दास व्यापार चरम उत्कर्षमा पुग्यो । यसैको व्यापार चलाएर नै बेलायत समृद्ध बनिरहेको थियो ।
अश्वेतलाई बस्तुको बदला प्राप्त गरेर जहाजमा जनावरजस्तै कोचेर एट्लान्टिक महासागर पार गरेर अमेरिका लैजाने गरिन्थ्यो । त्यहाँ उनीहरूलाई बेचेर चिनी, कपास, चामल तथा सुन लादिएको जहाज युरोप फर्कन्थ्यो । वास्तवमा इंग्ल्यान्ड, अमेरिका तथा युरोपीय पुँजीवादको एक प्रमुख आधार दास व्यापार थियो । दासहरूले युरोपीयन मालिकको भाषा र धर्म पनि ग्रहण गर्नुपर्थ्यो । उनीहरूले आफ्नो संस्कृतिलाई जीवित राख्न सक्ने कुनै गुन्जायस थिएन । मालिक श्वेतहरू अश्वेत स्त्रीसँग यौन सम्बन्ध बनाउँथे भने अश्वेतलाई श्वेत स्त्री हेर्नेसम्म पनि छुट थिएन । श्वेत मालिकहरूको यौन सम्बन्धबाट जन्मेका सन्तानहरू पनि दासकै स्तरमा रहन्थे ।
दास झुन्डका श्वेत निरीक्षकले अश्वेतहरूलाई खेतमा या कारखानामा काम गराउँदा पनि सिक्रीले बाँधिन्थ्यो । उत्तरी अमेरिका, विशेष गरी संयुक्त राज्य अमेरिकाको इतिहासमा अश्वेत दासताको आजसम्म विशेष महत्त्व रहेको छ । दास प्रथाकै कारण तमाखु, कपास खेतीआदिमा आश्चर्यजनक प्रगति भयो साथै भूमिबाट अप्रत्याशित खनिज सम्पत्ति निकालियो । दास व्यवस्थाले नै संयुक्त राज्य अमेरिकाको औद्योगिक प्रगति अघि बढेको हो र अहिले विश्वको अगुवा बन्नमा यसको भूमिका छ । राजनीतिक इतिहासमा पनि महत्त्वपूर्ण प्रभाव पारेको छ, यसै मुद्दालाई लिएर भीषण गृहयुद्ध भएको थियो ।
दास प्रथाको उन्मूलन : पश्चिममा दास प्रथा उन्मूलनका लागि अठारौं शताब्दीमा वातावरण बन्न लागेको थियो । अमेरिकी स्वतन्त्रता युद्धको एक प्रमुख नारा मानिसको स्वतन्त्रता थियो । सन् १८०४ सम्म दासताविरोधी वातावरण बनाउन मानवीय मूल अधिकारमा विश्वास राख्ने फ्रान्सेली राज्यक्रान्तिको अधिक महत्त्व छ । उक्त क्रान्तिबाट प्रेरित भएर सन् १८२१ मा युरोपभरि नै विद्रोह हुन थाल्यो । अमेरिकी महाद्वीपका सबै देशमा दासताविरोधी आन्दोलन प्रबल हुन थाल्यो । सन् १७९४ को सम्मेलनले फ्रान्सको उपनिवेशका सबै दासको मुक्तिको कानुन पारित गर्यो । यो कानुन छोटो अवधिसम्म लागू भयो । दस वर्षपछि नेपोलियनले पुनः दास प्रथा सुरु गरे । फ्रान्समा सन् १८४८ मा पूर्ण रूपले दास प्रथा अन्त भयो ।
संयुक्त राज्य अमेरिकाको उदारवादी उत्तर राज्यमा दासताको विरोध जति बढ्दै गयो उति नै दक्षिणका दास राज्यमा दासहरूप्रति कठोर व्यवहार बढ्दै जान लागेको थियो । यो द्वन्द्व यति बढ्यो कि उत्तरी र दक्षिणी राज्यबीच गृहयुद्ध छेडियो । यस युद्धमा अब्राहम लिंकनको नेतृत्वमा दासविरोधी एकतावादी उत्तरी राज्यको विजय भयो । सन् १८८८ मा संयुक्त राज्यमा दासतामा बनेको पोर्चुगाली ब्राजिल साम्राज्यको पतन भयो । बिस्तारैबिस्तारै अमेरिकी महाद्वीपका सबै देशमा दासताको उन्मूलन हुन थाल्यो । सन् १८९० मा ब्रसेल्सका १८ देशको सम्मेलनले अश्वेत दासको समुद्री व्यापारलाई अवैधानिक घोषणा गरिदियो । सन् १९१९ को सेन्ट जर्मेन तथा सन् १९२६ को लिग अफ नेसन्सको आयोजनामा गरिएको सम्मेलनले हर प्रकारको दासता तथा दास व्यापारको सम्पूर्ण उन्मूलन सम्बन्धी प्रस्तावमा पनि सबै प्रमुख देशले हस्ताक्षर गरे । बीसौं शताब्दीमा प्रायः सबै राष्ट्रले दास प्रथालाई अमानवीय तथा अनैतिक मानेर यसको उन्मूलनका लागि कदम चाले ।
अन्ततः एउटा मान्छेले अर्को मान्छेलाई अमानवीय यातना दिने प्रथा ढले पनि अझै यसका नयाँनयाँ स्वरूप समाजमा भेटिन्छन् । नेपालमा कमलरी प्रथा, हलिया प्रथा, बाल श्रमिक, मानव बेचबिखन, जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाइने लगायत आजपर्यन्त चलिरहेका छन् । भलै संविधानमा दास प्रथा जनिने कार्यहरूलाई वर्जित गरिएको होस् या उन्मूलनका कानुन नै पारित गरिएको किन नहोस् । कृषि, सामन्तवादी, उपनिवेषवादी युग हुँदै पुँजीवादी युगको चरम अवस्थामा पनि गरिब र पछौटे समाजबाट परिवर्तित स्वरूपको दास प्रथामार्फत श्रम बजार भरिएका छन् । ईकान्तिपुरबाट
मकवानपुर । त्यो बेला, तत्कालिन आमभञ्ज्याङ गाविस ३ को नामुना सामुदायिक वनको धेरै माथि पुगेपछि बाबियो भेटिन्थ्यो । त्यो पनि सहजै हैन, भीर र पहरामा मात्रै । सजिला ठाउँको त अरुले काटेर लगिरहेका हुन्थे । हामी त्यै भीर र पहरामा पुगेर बाबियो संकलन गर्दथ्यौ । घाँसको भारीसँगै दैनिक एक वा दुई साना साना मुठ्ठा बाबियो ल्याउँथ्यौ, छानामा सुकाउन राख्दथ्यौ । यो काम सुरु हुन्थ्यो सोह्र श्राद्ध लाग्नु अगावैबाट ।
बाबियो कै खोजिमा धेरै टाढाटाढा पुग्थ्यौ जंगलमा । घाँस काट्दा भेटिएको त्यान्द्रा त्यान्द्रा बाबियो साथीहरु मिलेर जम्मा गर्दथ्यौ । झण्डै १५ मुठाजति बाबियो चाहिन्थ्यो एउटा मज्जाको लठ्ठा बाट्ने बाबियो पुर्याउन ।
सोह्रा श्राद्ध लाग्नु अगावैबाट सुरु गरिएको बाबियो संकलन काम लगभग सोह्र श्राद्ध सकिनै लाग्दा पुरा हुन्थ्यो । नियमित काम सकेर गाइवस्तु चराउन चौरमा लैजान्थ्यौ, त्यै चौरमा लिङे पिङको लागि लठ्ठा बाट्न हामी भेला हुन्थ्यौ । हामी पनि के भन्नु एक, दुई जना पाका बाले लठ्ठा मिलाउनु हुन्थ्यो । सिपालु अरु ३ जना लठ्ठा बाट्नको लागि एक एक वटा भाग लिएर घुम्न सुरु गर्दथे । हामी लठ्ठाको लागि पय थप्नको लागि बाबियो लिएर उभिन्थ्यौ । अन्य केही बाबियो समेट्न त केही लठ्ठा मिलाउन लागि पर्नुहुन्थ्यो ।
केहीले सबैको वस्तुभाउ बालिमा जानबाट रोक्थे, अझ भनौ सबैको बस्तु हेरालुको जिम्मेवारीमा हुन्थे । हामी गोठाहरु मात्रै हैन, पिङको लठ्ठा बाट्ने भनेपछि हेर्नेहरुको पनि भीड नै लाग्थ्यो । बाबियोको लठ्ठा बाटेर भ्याएपछि सुरु हुन्थ्यो लिङ्गो गाड्नको लागि बाँसको खोजि ।
हामी आपसमा ४/५ रुपियाँ उठाउँथ्यौ र बाँस किन्थ्यौ । लिङ्गे पिङको लागि लिङ्गो गाड्न धेरै गाह्रो काम । यसको लागि बलिया ठुला ब्यक्तिनै खोज्नु पर्ने । पिङ हाल्न सुरु भएपछि गाउँभरीको भीड लाग्दथ्यो मैदानमा ।
“तँ र म दोहोरो खेल्ने है ।”
“मलाई त मच्चाउन आउन्न ।”
“मलाई त कहाली लाग्छ, बसेर मात्रै खेल्छु ।”
“फलानोले त पिङै फर्काएका है पोहोर साल ।”
“यस्तो भयो भने पिङ लिङ्गा जान्छ, यसो गरौ ।” भीडमा यस्ता यस्तै कुरा सुनिन्थे ।
कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरु जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरुमा फुल्न थालेका सयपत्री र मखमली फूहरुले झन् घरको शोभामा चमक थप्दथ्यो । काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरु र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझै देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
सानासाना भाइ बहिनीहरु झन् धेरै चहलपहल हुन्थ्यो । कस कसले नयाँ लुगा पाए, कस कसले बाँकी उनीहरु बिचमा रमाइलो कुरा हुन्थे । यो भीड देखेपछि अब साँच्चै दशै आयो भन्ने लाग्दथ्यो ।
पिङ तयार हुन्थ्यो । खेल्नको लागि पालो लगाइन्थ्यो । हाम्रो नयाँ रुटिङ बन्थ्यो घरधन्दा सक्यो कि चौरतिर पिङ खेल्न दौडिन्थ्यौ ।
अर्को दिन माटो खन्न जान्थ्यौ । कमेरो माटो रातो माटो । कमेरो माटो खन्न धेरै गाह्रो हुन्थ्यो । पानी चुहिरहेको ओडारबाट माटो लिकाल्नु पर्दथ्यो, दिदी, आमा, काकी र भाउजुहरु पालैपालो माटो खन्न ओडारमा पस्नुहुन्थ्यो, उहाँहरुले खनेर बाहिर फालेको माटो हामी जम्मा गरेर बारोमा उठाउँथ्यौ । माटो खन्दा खन्दै भोक लाग्थ्यो, भाउजु, काकीहरु कमेरो माटोको साना साना ठल्ला चक्लेट जस्तै बनाएर मिठो मानेर खानु हुन्थ्यो । हामी त्यै जंगलमा अम्बा खोज्न जान्थ्यौ, कट्टा अम्बा भेटिए बटुलेर ल्याउँथ्यौ । खान्थ्यौ ।
भोली पल्ट पुराना गाग्राहरु, अल्मुलियमका बाटाहरुमा बिहानै माटो भिजाउन हालिथ्यो र दाउरा घाँस खेप्न जान्थ्यौ । एकखेप घाँस दाउरा गरेर फर्केर खाना खाएपछि घर पोत्न थाल्दथ्यौ । कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरु जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरुमा फुल्न थालेका सयपत्री र मखमली फूहरुले झन् घरको शोभामा चमक थप्दथ्यो ।
काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरु र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझै देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
अर्को दिन लुगा धुने काम हुन्थो । डोकोभरी ओड्ने ओछ्याउनेको खोल र तन्नाहरु बोकेर हामी आमाको पछिपछि लागेर खोलामा पुग्थ्यौ । खोला छेउमै आगो बालेर भैसीलाई कुँडो पकाउने बडेमाको डेक्चिमा आमाले खरानी पानी भकभक उमाल्नु हुन्थ्यो । ओड्ने ओछ्याउनेको खोलहरु त्यै खरानी पानीमा पकाउनु हुन्थ्यो । लुगा पानीमा गुजगुज गरी पाक्दथ्यो । आमाले एउटा एउटा गरेर बाँसको लौरोले च्यापेर झिक्नुहुन्थ्यो र सिलित्त मिलेको चाक्लो ढुङ्गामा राखेर मुङ्ग्रोले ड्यामड्याम पिट्नु हुन्थ्यो । त्यसपछि हामीलाई दिनुहुन्थ्यो त्यो लुगा । हामी खोलाको कञ्चन पानीमा पखाल्थ्यौ । मगमग बास्न आउँथ्यो कपडा ।
धोएको खोल र तन्नाहरु बगरै भरी सुकाउँथ्यौ । बगर क्या राम्रो देखिन्थ्यो रङ्गीचङ्की ।
धोएको लुगा सुकुञ्जेल नुहाइधुवाई भ्याइन्थ्यो, नजिकैको चौरमा हिजो अस्ति हालेको पिङ खेलिथ्यो र सुकेका लुगा बटुलेर अबेर दिनमा घर फर्कन्थ्यौ ।
भोलीपल्ट च्युरा कुटिन्थ्यो, मगमग बास्ना आउने तातो तातो चिउरा पाएपछि हामीलाई केही चाहिन्नथ्यो । तोरी पिस्न बुबा जानुहुन्थ्यो, सँगै दशैंको लागि लुगा भित्रन्थे घरमा । माछा मासु खानेहरुको घरैमा खसी बोकाको जोहो हुन्थ्यो, नखानेहरुको पनि आफ्नो तरीकाको दशैं जोहो भैसक्थ्यो ।
अष्ठमीदेखि घाँस, दाउरा, सोतर खेप्न जंगल जान पार्दैनथ्यो । घरछेउकै पाखाको घाँस दशैंको लागि जोगाएर राखिन्थ्यो, एक घण्टामै घाँस सोतरको जोहो हुन्थ्यो । अनि मिल्दथ्यो फुर्सद आमा, काकी, भाउजुहरुलाई । अनि हामीलाई पनि । हामी पिङमा झुम्मिन्थ्यौ, हामी पौडीमा रमाउँथ्यौ, हामी आँगनमै ओखरको दाउ बनाएर उफ्रदै खेल्थ्यौ, अनि लाग्थ्यो दशैं । दशैंको टिकाको दिन घरघरमा टिका लगाइन्थ्यो । गाउँभरी एकअर्काको घरमा टिका थाप्न गइन्थ्यो, सुका, मोहोर र रुपियाँका सिक्का फ्रकको गोजिमा बजाउँदै दौडिन्थ्यौ । अनि आउँथ्यो दशैंको मज्जा ।
अनि बुझ्दथ्यौ परिवारको महत्व, अनि ज्ञात हुन्थ्यो आपसी सद्भावको उचाई । अनि पो महत्व थियो दशैं र अन्य पर्वहरुको ।
…………………………………………….
र, आज, यो बेला । दशैं भित्रिसकेको छ । अहाँ दशैं भित्रेकै छैन । अर्थात भनौ तिथीको हिसाबले दशै लागि सकेको छ । तर कतै त्यो दशैको जस्तो चहपहल छैन । दशैंसँग पर्याय जस्तो बनेको लिङ्गे पिङ देख्नै मुस्किल छ । आजका बालबालिकाहरुमा त्यो खुसी र रौनकता नै देखिन्न उनीहरु मोबाइल लिएर बन्द कोठामा छन् । अभिभावकहरुमा त्यो हर्ष छैन, व्यस्तता छैन, पर्व मनाउन छाडेर ट्रेकिङ हिडिरहेका छन् । गाउँघर सुनसान छ, सबैलाई शहरको कोलाहाल प्रिय भएको छ । यै कोलाहालयुक्त शहरको बन्द कोठामा मनाइरहेको छ दशै । न रमझम छ लिङे पिङ र जाँते पिङको, घरघरमै सदाबहार पिङ छ ।
न भ्याइनभ्याइ छ काम र खुसी खुसीले भरिएको त्यो व्यस्तताको । न हराभरा देखिन्छ शहर त्यो गाउँ जस्तो, न आपसी जमघट छ शहरमा त्यो गाउँको जस्तो ।
बस्, हराउँदै गएको मौलिकताको छिटा छिटा बोकेर बाँचेको छ दशैं । यही आधुनिकता भित्र सहजतामा रगमगिएको दशैं र देखावटी खुसी बोकेर म पनि यो दशैंको दृश्य हेरिरहेको छु । खास दशैं त्यो हो कि यो हो ? खास पर्वको मौलिकता यसरी बाँच्दछ कि त्यसरी ?
पहिचान नै गुम्ने डर भयोः समाजशास्त्री केशव तिमल्सिना

= समाजशास्त्री केशव तिमल्सिना
“चाडपर्वको मौलिकता हराउँदै जानु भनेको हाम्रो पहिचान नै गुम्दै जाने खतरा बढ्नु हो । हामी विस्तारै पश्चिमा संस्कृतीको नक्कल गर्दै आयौ । अचेल हामीले आफ्नो चाडपर्व मनाउने ताैरतरीका नै फेरिएका छन् । पछिल्लो समय जस्तो सुकै चाडपर्व पनि खानपानसँग बढी जोडिने गरेको छ । खानपानमा हाम्रो शैली पहिले जस्तो छैन । हाम्रो खानपान, लवाइले नै हामी पश्चिमाकरणतर्फ ढल्कीदै छौ भन्ने देखाउँछ । यो हाम्रो आर्थिक हैसियतको कारण पनि फेरिएको हो । केहीले प्रयाप्त धुमधामसँग पर्व मनाउने हैसियत बनाउन सक्छन् । उनीहरुले पर्वको रौनकता बेजोड नै हुन्छ ।
तर गरिखाने विपन्न वर्गको पहुँच त्यहासम्म पुग्दैन । उनीहरुले पर्व मान्ने हैसियत नै पुग्दैन र उनीहरु विस्तारै झन् झन आर्थिक दलदलमा फस्दै जान्छन, यस कारण पनि यो सामाजिक रुपमा विकराल समस्या हो ।
अहिले पश्चिमाकरणको नक्कल गर्दै गर्दा कुन पर्वको ठ्याक्कै मौलिकता के हो भन्ने नै गुमिसकेको छ । पश्चिमा संस्कृतिको देखासिकी गरेर पर्व मनाउँदै गर्दा गरिखाने वर्गमा मार थपिने त छंदैछ, यसले समाजमा असमानता समेत जन्माउँछ । यसले समाजमा विस्तारै सामाजिक सद्भावको पाटोलाई पनि कमजोर बनाउँदै लैजान्छ । पहिले जस्तो दशैमा घरघरमा नौरथा पूजा गर्ने संस्कृती अहिले छैन । कुनै चोकमा मन्दिर बनाएर, सामूहिक पूजा गरिन्छ । यो एक हिसाबले झ्वाट्ट हेर्दा समूहमा बाधिएको जस्तो देखिएपनि अन्नततः पर्वको अनुसाशन र मौलिक पहिचान हैन ।
चाडपर्वको खबर पाटाहरु छन् भने सुधार आवश्यक हुन्छ, तर हामीले पर्वको शैली र तरीका नै छाड्दै छाड्दै जाँदा भोली हाम्रा सन्ततीहरुले के सिक्लान भन्ने अर्को प्रश्न पनि छ । यसप्रति सामाजिक अभियन्ताहरुको पनि चासो र चिन्तत आवश्यका छ । सामाजिक मुल्य र मान्यता बचाउन, साँस्कृतिक तथा धार्मिक पर्वहरुको मौलिकता जोगाउनको लागि सामाजिक अभियन्ताहरुको अभियान पनि खाँचो छ ।
ज्येष्ठ नागरिकलाई चिन्ता
हेटौंडा २ का ६७ वर्षिय सुर्यनाथ घिमिरेलाई पनि दर्शै पहिले जस्तो नभएको आभाष छ । “पहिले जसरी अहिले छरछिमेक र परिवार मिलेर दशैं मनाउनै छाडियो” उनी भन्छन, “पहिले अभाव थियो, आर्थिक संकट थियो र पनि सबैले सबैलाई मान्दथे, साथ सहयोग गर्दथे र दशैं रमाइलो हुन्थ्यो, अहिले सबैसँग पैसा छ, सबैको आ–आफ्नै तरीकाले पर्व मनाउन थाले ।” केही गरिब वर्गहरुले दशैंमाथि आफ्नो पहुँच राख्नै नसक्ने अवस्था भएको उनले दुखेसो पोखे । गाउँमा जग्गा बाँझो राखेर शहर बस्न परेको छ, शहरमा सबै कुरा किन्नु पर्छ, महंगो छ, कसरी दशै रमाइलो बन्नु” घिमिरेले भने ।
गाउँमा पनि दशैंको मौलिकता खोज्नुपर्ने अवस्था आएको उनले बताए । “पहिले जस्तो रमाइलो अहिले गाउँ नै छैन,पिङ हालिए पनि बाबियोको हैन, नाइलन र सुतलिको देखिन्छ, दुख गर्ने मान्छेकै अभाव छ सबैतिर ।” सुखभोग गर्न खोज्दा पर्वको मौलिकता कम भएको उनको ठम्याइछ ।
गाउँघरमा युवाहरु नभएपछि गाउँमै पर्वको रौनकता नभएको बताउँछन्, मकवानपुरगढी ५ का जयराम तिमल्सिना । स्थानीय टोल विकास समितिको अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका गाउँ कमिटि अध्यक्ष समेत रहेका तिमल्सिना भन्छन “कसैलाई चाखै छैन पहिले जस्तो, दशैंसँग परिपुरक जस्तो मानिने पिङको रौनकता त हरायो नै ।” महङ्गी बढेको कारण युवाहरु आफ्नो गाउँठाउँमा नभएकोले पनि पर्वको रौनकता र मौलिकता गुम्दै आएको उनले बताए ।
ठ्याक्कै भुले, अन्दाज गर्दा जीवनमा मुस्किलले ५ वटा जति पञ्चिमी नुहाएको छु । आमा दिदीहरुको सिको गर्दै तीजमा व्रत पनि बसे । पञ्चमी पनि नुहाए, ऋषि पञ्चिमीको पुजा पनि लगाए । जब बुझ्दै आए आमा दिदीहरुको नजरमा अबुझ बन्दै आएको छु । अर्थात् उहाँहरुलाई पछ्याउन सकेकी छैन । आफ्नो आफ्नै बाटो बन्यो आमा दिदीहरुको र मेरो । पानी नै नपिएर कठोर व्रत बस्नुहुने उहाँहरु पछिल्लो केही लचिलो हुनुभएको छ । परिवर्तन धेरै बाँकी छ ।
उहाँहरु महिनावारी हुँदाको वर्षभरीको पाप पखाल्नु पर्छ भन्नुहुन्छ । म महिनावारीलाई पापको रुपमा स्वीकार्न कुनै पनि हालतमा सक्दिन । महिनावारी नारीको लागि उत्सव हो । यो दिनलाई उत्सवको रुपमा पो मनाइनु पर्छ भन्छु म । धेरै आमाहरु दिदीबहिनी र छोरीहरु आज खोलामा लामबद्ध भएर पञ्चमी नुहाउँदै हुनुहुन्छ । म हेटौंडामा छु विहानैबाट झरी परीरहेको छ यहाँ । सोचिरहेको छु, आमा, दिदीबहिनी र छोरीहरु कसरी नुहाउँदै हुनुहोला धमिलो खोलामा । पुजा सामग्रीलाई झरीबाट जोगाउने कत्रो तनाव हुन्छ म अनुभुति गर्न सक्छु । सानासाना नानीबाबुलाई खोला किरानै नजिक ढुङ्गामाथि बसाएर नुहाउन बसेका आमा दिदीबहिनीहरुलाई बच्च खोलामा पर्ला भन्ने डर कति हुन्छ, त्यो पनि आभाष छ ममा ।
जति हतारहतार नुहाएर पनि कम्तिमा एक घण्टा पानीमै चोपलीनु पर्ने बाध्यता । त्यसमाथि आजको धमिलो पानीमा चोपलीनु पर्दाको दिङ दिङ कसरी सहनु । नुहाइसक्दा पुजामा बस्ने हतार ? भोकाएका बच्चालाई खुवाउन नभ्याउँदा पिरीएको आमाको मन । भोकलाग्दा खाना छाडेर पञ्चमी पूजामा बसेका किशोरी नानीहरुको छटपट सबै देखेको छु ।
हरेक वर्ष तीजको लगत्तैपछि पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्नका लागि’ भनेर रजस्वला हुन आरम्भ भएका किशोरीदेखि महिलाहरूलाई यो दिन सप्तऋषि आदिको पूजा गर्न लगाउनु पर्ने धारणा छ ।
आजैको दिन दतिवन, माटोलगायतले ३६५ पटक नै नुहाएपछि वर्षैभरीको पापबाट माथि उठिने भन्ने विश्वासको कुनै आधार देख्दिन म । र त आमाहरुको नजरमा अबुझ हुँदै आएको छु । यसको साँच्चै औचित्य के छ ? अभियन्ताहरुबाट वैज्ञानिक ढङ्गले विश्लेषण जरुरी छ । यस्ता विश्लेषण केही हदसम्म सुरु भइसकेको छ । महिनावारीलाई पाप ठानेर ‘चोखिने र चोख्याउने’ मान्यताका साथ पूजाआजा गर्नु र गराउनु गलत अभ्यास हो । जीवविज्ञानको आधारमा महिनावारी हुनु शारीरिक प्रक्रिया मात्रै हो । यस बारेमा गलत धारणाकै कारण महिनावारीलाई मर्यादीत बनाउन सकिएको छैन । महिनावारीलाई पापको रुपमा मौन रहने स्वीकार गर्ने परीपाटी नै गलत छ ।
महिनावारी जहाँबाट एउटा मानवको जीवन सुरु हुन्छ, यो कसरी पाप हो ? अभियन्ता राधा पौडेल भन्छिन्: “मर्यादित महिनावारी एकदमै बृहत् अवधारणा हो । यसले महिनावारीमा विभेद हुनु भनेको मानव अधिकारको हनन हुनु हो । महिनावारी विभेदलाई महिला हिंसाभित्र राख्छुपर्छ । महिनावारीको विषय महिलासँग मात्रै जोडिएको हुँदैन । यो सामाजिक, आर्थिक, राजनीतिक र वातावरणीय पक्षसँग पनि जोडिएको हुन्छ । तर, यस विषयमा विरलै छलफल हुन्छन् । यसको अल्पकालीन र दीर्घकालीन दुबै प्रभाव छ । नेपालमा भइरहेको बलात्कार र हिंसाको मूल जरो महिनावारी विभेद हो ।”
महिनावारी हुँदैमा पूजाआजमा सहभागी हुन नपाउनु उ माथिको अमर्यादीत व्यवहार हो । भाइसाथीहरुसँग समान रुपले खेल्न पाउनु, अन्य समय सरह सबै काममा सहभागी हुन पाउनु महिलाको अधिकार हो । हो, सरसफाई आवश्यक छ । आराम र पौष्टिक आहारको आवश्यक छ । तर यि पाटोमा चासो नै दिइने गरिन्न ।
सञ्चारीका समूह नेपाल निवर्तमान अध्यक्ष पत्रकार नितु पण्डित भन्छिन् “महिनावारी पाप होईन । शरिरको नियमित प्रकृया हो । जुन महिलाहरूसँग मात्र छ, महिला हुनुमा गर्व गरौं ।” सिन्धुलीकी पत्रकार बिमला पाण्डे पनि महिनावारी र ऋषि पञ्चिमीबारे गलत धारणा हाबि रहेको बताउँछिन् । “महिनावारी पाप होइन गौरव हो, आत्मसम्मान पूर्वक महिलालाई मातृत्वको अनुभूति गर्न नदिन पापका रुपमा महिनावारीलाई लिईयो, यदि पुरुष महिनावारी हुन्थे भने पाप पखाल्ने दिनका रुपमा हैन गौरवको पर्वका रुपमा पञ्चमी पूजालाई लिइन्थ्यो” पाण्डे भन्छिन् “त्यसैले म भन्छु महिनावारी हुनु पाप हैन,सृष्टिका लागि प्रकृतिले दिएको बरदान हो ।” पञ्चमी पूजालाई गौरवको पर्वका रुपमा मनाउन उनको आग्रह छ ।
यस्तै धारणा छ विराटनगरकी लेखक सिमा आभाषको पनि । रजश्वला भइसकेका स्त्रीजातिले रजश्वलालाई पूजा गर्ने दिनको रुपमा मनाउनु पर्ने उनी बताउँछिन् । “यदि पञ्चमीको कथा गतिलो हुने हो भने यो दिन उत्सबको दिन हुने थियो उनले भनिन् “तर पञ्चमीको कथामा ब्रम्हघातिनी, कुकुर्नी, धोविनी हुनेछ भनेकै कारण यो पर्व गौरव बन्न सकेन ।” महिनावारीको महत्वबारे चर्चा गरिएको पञ्चमीलाई लक्षित एउटा गतिलो कथाको आवश्यकता रहेको बताउँछिन् उनी । “महिनावरीको महत्व भएको त्यस्तो कथा सुन्ने दिनको रुपमा यस दिनलाई मनाउन पाए कति मजा आउँथ्यो होला” आभाषले भनिन् ।
चितवनकी पत्रकार प्रतिमा सिलवाल पनि महिनावारीको सवालमा अविश्वास अचम्मले गढेर बसेको टिप्पणी गर्छिन् । महिला सन्तान जन्माउन योग्य रहेको अभुतपूर्व जनाउ दिने प्राकृतिक प्रकृया महिनावारीलाई “पाप“ ठान्ने ’अ’ विश्वास आजको पुस्तामा पनि पाउँदा उदेक लाग्छ” उनले भनिन् । “महिनावारी विभेद कानूनले अपराध मानिसकेको छ । म पनि यसलाई अविश्वास र अपराध ठान्छु, त्यसैले, ऋषिपञ्चमी मान्दिन” उनले भनिन् ।
अचम्मै लाग्ने पाटो त के छ भने समाज परिवर्तनको लागि अघि देखिएका नेतृत्वका महिलाहरु समेत महिनावारीलाई पापको रुपमा स्वीकार गर्दै आजको दिन खोलामा गलत अभ्यासको परम्परालाई स्वीकार गर्दै सहभागी भए । आफूले पटक पटक महिनावारी हुँदा जानिजानी पाप हैन भन्दै बेवास्ता गरेको तर आज समाजको अघि नुहाउँदिन भन्न नसकेर सहभागी भएको एक नेतृले बताइन् ।
“म महिनावारी खासै बार्दिन, तर समाजका सामु नुहाउने गरेको छैन, भन्दा उहाँहरुको भावनामा समेत चोट पुग्ला भनेर सहभागी भएँ” ति नेतृले भनिन् “समाजमा हामीले धेरै चेतना फैलाउनै बाँकी छ, आज तपाईले नुहाएको गलत छ, म नुहाउँदिन म सही छु भन्दा भोली उहाँहरुले मेरो कुरा नसुन्न सक्नुहुन्छ, उहाँहरुलाई विस्तारै बुझाउनु जरुरी छ, त्यसैले म पनि उहाँहरुसँगै सहभागी भएँ” ति नेतृले आफ्नो नाम नलेख्न पटक पटक अनुरोध गर्दै भन्नुभयो । जसलाई जे बुझाउनु छ, उहाँहरुकै समाजमा भिजेरमात्रै बुझाउन संभाव छ भन्नुहुने उहाँको तर्कमा पनि खासै दम देखिन मैले ।
आफूले नबार्दा, केही नभएको उदाहरण दिएर पनि हामीले समाजमा परिर्वतन ल्याउन सक्छौ । धर्म संस्कृती भनेको आत्मा सन्तुष्टिको कुरा पनि हो । व्यक्ति जो जे मा खुसी हुन्छ, सन्तुष्टि प्राप्त गर्दछ, त्यसलाई चाँडो छाड्न मनले मान्दैन पनि । बस् गलत अभ्यासलाई यो कारण गलत हो भनेर बुझाउनु जरुरी छ । यसको लागि गलत यो हो भन्नुसँगै सही यो हो भन्नु पनि जरुरी छ । त्यसैले महिनावारीको गलत धारणालाई हटाउन सही धारणाको व्यापक चर्चा र बहस जरुरी छ । वैज्ञानिक र जैविक कोणले महिनावारी कुनै पनि हालतमा पाप हैन । हरेक जैविक प्राणी प्रजननका लागि तयार हुँदा परिपक्वताको यो खुड्कीलाहरुमा आइपुग्छन, र प्रजनन समयभर यो रहन्छ । जस्तो कि महिलाको प्रजनन क्षमता रहदाभर महिला हर महिना महिनावारी हुन्छिन् यो कुन नौलो कुरा हो र ?
यसबारे विद्यालय तथा क्याक्पस तहमा पनि बुझाइलाई फराकिलो बनाइनु पर्छ । महिनावारीलाई घरदेखि विद्यालय र कार्यलय तहसम्म मर्यादीत बनाइनु पर्छ । यसबारे परिवारमा खुलेर बहस हुनु जरुरी छ । महिनावारीकै कारण महिलाले आफूलाई कमजोर, पापीनीको रुपमा स्वीकार्न बाध्य पारीदा उ माथिको कार्यदक्षतामा समेत ह्रास आउँछ । महिनावारी महिलाको मात्रै सवाल हैन, यो स्वास्थ्य र सरसफाईको मात्रै सवाल पनि हैन । यो विभेदको चरण हो । परिवारदेखि सिनेमाको पर्दाहरुमा समेत मर्यादीत महिनावारी बारे बहस जरुरी छ । महिनावारीमा हुने छुवाछुतलाई पाप ठान्नु नै महिनावारी विभेद हो । यही सोचका कारण समाजमा विभिन्न प्रकारको विभेद उत्पन्न हुन्छ ।
‘महिनावारी शुद्ध हो” भनेर स्कुल, कार्यालय, मन्दिरहरुको भित्तामा लेखिनु पर्छ । यसैलाई हामीले कार्यान्वनमा ल्याउन सक्नु पर्छ । यो भलै चुनौतीपूर्ण र आज को आजै लागु हुन सक्दिैन, तर हामी जटिल यात्रामा छौ भने, हतार गरेर काम बन्नेवाला पनि छैन । मर्यादीत महिनावारी बहुमुखी सवाल हो । यसलाई मर्यादासँग जोडेर अघि बढाउनु पर्छ । नारीवाद, विकासवाद र मानवअधिकारवादमा मर्यादीत महिनावारीको सवाल जोडिनु अनिवार्य छ, बुझाउनु जरुरी छ कि महिनावारीको रगत अशुद्ध हैन, हुँदै हैन ।
तीजकाे समय छ म चितवन स्थित विपि काेइराला मेेमाेरियल अस्पतालकाे वेड नं १५४ मा श्रीमानकाे उपचारमा व्यस्त छु । हेटौंडा घरमा ताला लागेकाे छ, छाेरा छाेरि माइती (उनीहरूको मामाघर) मा छन् । आमासंग भएकोले छोराछोरीको हालचालबारे चासो छैन, ढुक्क छु ।
हामी नेपाली हरदिन जसो कुनै न कुनै चाड / दिवस मनाईरहेका हुन्छौ, चाडपर्व र संस्कृतीका धनि छौ हामी । धेरै मध्ये तीज एउटा पर्व जुन मलाइ कहिल्यै मन नपर्ने चाड । यसपालि तीज मनाउन पाइन भनेर हैन । तीजमा भाेक भाेकै बस्नु पर्ने, अझ घरमा गाइवस्तु र केटाकेटी छन भने व्रत वस्नु जति गाह्रो के हाेला र झै लाग्छ । हुनत गाह्रो भन्ने कुरा सुतिरहेकाे समयमा पनि अनुभव गर्ने कुरा हाे, यदि कुनै कुराले ऐठन गरिरहेकाे छ भने । तर मेराे लागि गाह्रो शब्दले मानसिक र शारिरिक दुबै जनाउँछ ।
दशैकाे समयका लागि भनेर खसी बोका मालिकले खुवाइ पियाइ पुटुक्क बनायर खसी बजारमा बेच्न राखिएका खसी बोका झै लाग्छ मलाई तीजका महिलाहरु । जाे आफुलाई अरुकाे नजरमा पार्न हर सम्भव सिंगार्दछन र अरुकाे खिल्लि उडाउँछन् । भगवानले त भन्दैनन हाेला तँ बढि सिंगारिस तेराे प्रार्थना म पहिला सुन्छु । या तँ कस्ति नराम्री भर आकी तेराे प्रार्थना सुन्दिन भनेर । जीवनकाे अनुभवले भन्छ मनमा श्रद्वा भए भगवान स्वयं व्यक्तिकाे मनमा हुन्छन न कि कुनै मन्दिरमा ।
अझ याे साडी, गरगहना उफ !! कुनै गरिव परिवारकाे व्यक्तिले पहेलाे गहना जे लगाए पनि नक्कली हुने अनि धनाढ्य परिवारले नक्कली लगाए पनि सक्कली साेच्ने याे एक किसिमकाे समुदायले हाम्राे समाजमा गरिवले त तीजमा सास पनि फेर्न हुन्न कि झै गरेर देखाउँछन् ।
गरगहना लगाउन नसक्ने त थिइन म पनि तर कहिले पनि जरुरी ठानिन । आमाले लगाइदिनु भएको नाककाे फुलि कहिलेे उतारेर नया लगाउने साेच बनाइन, कानमा जे लगाए पनि चिलाइहाल्ने र पाकिहाल्ने मेराे समस्या याे तीजले बुझ्थेन । श्रृङ्गार विना बचपनदेखि हालसम्म पनि हिड्न सकिन, ओठमा बल्ल लालि लगाउन वानि पार्दै थिएँ । कपडामा जुन हल्का छ तेहि लगायर हिड्ने बानीले कुन सुहायाे कुन सुहाएन साेच्न भ्यायन ।
कहिल्यै तीजका लागि याे चाेलाे, याे साडि, याे कुर्ता सलवाल भन्न मन नलाग्दा पनि अरुकाे लागि लगाउनु पर्थ्याे मैले, त्यहि अरुकाे नजरमा नआउनका लागि बाध्य भयर केही श्रृङ्गार गर्दा गर्दा वाक्क थिएँ म ।
म पनि व्रत वस्न कुनै कसर नराख्ने मान्छे, तर कहिल्यै आफूलाई सिँगार पटार गराएर भगवानकाे अगाडि उभ्याइन । आमा भन्नुहुन्थ्यो पुजा गर्दा ब्रम्हमुहुर्त समयमा नुहायर चाेखाे कपडा लगाउनु पर्छ । त्यसैगरि संधै भगवानकाे प्रार्थना गर्थे म ।
ल भाे छाेडाै यि कुरा । हस्पिटल मात्र यस्ताे ठाउँ देखे मैले जहाँ सबै जना उस्तै हुन्छन् । हतास, निराशको भित्र आशा जोडेर जगाईरहेका । काेहि पनि अरुले के खायाे के लायाे भन्नेमा चासाे दिदैनन् । सबैको आ आफ्ना पीडा छ, आ आफ्नो संसार छ । सबकाे उहीँ पीडा, काेहि राेइरहेका, काेहि मलिन मुहारमा घाेत्लिएका, काेहि याे ओैषधि पाइएन भन्दै भागदाैडमा लागेका । काेहि चेकअपकाे लाईनमा काेहि औषधिकाे लाइनमा काेहि शाैचकाे लाइनमा, काेहि प्लेट कचाैरा बोकेर खानाकाे लाइनमा ।
एउटा बेडकाे बिरामीले र बिरामी कुरुवाले अर्काे वेडमा के भइरहेकाे छ सम्म थाहा पाउदैन । बस कुनै बेला बिरामी पिडाले चिच्याइरहेकाे सुने केही नहाेस भनेर साेच्नसम्म भ्याउँछ । नत्र बिरामी कुरुवा समेत बिरामीभन्दा बढी बिरामी भईरहेकाे हुन्छ भागदाैडमा ।
तर उस्ले म बिरामी भए भन्न सुहाउँदैन । तर यहाँ एउटा सुकुन हुने रहेछ तीज जस्ताे चाडवाडकाे भागदाैड भन्दा । कम्तिमा देखासिकि हुन्न यहाँ । टन्न पैसा हुनेकाे पीडा र गरिव विपन्न परिवारकाे पीडा पनि उहीँ छ यहाँ । यहाँ याे नर्सकाे परिवारकाे या डाक्टरको परिवारकाे हाे यस्लाइ पीडा हुन्न भन्ने लेखियकाे हुन्न, डाक्टरको परिवारका व्यक्ति समेत श्वास फेर्न नसकेर छटपटिएर मरेकाे देखें । कारमा चढेर उपचार गराउन आउनेहरु शव वाहनमा फर्केकाे देखे र ठुलाे पाेकाे बोकेर उपचारका लागि घरमा ताला लगाएर एक्लै आएका बिरामी पनि हाँसीहाँसी निकाे भएर गएकाे देखें ।
त्यसैले हस्पिटल यस्ताे ठाउँ लाग्याे जहा बिरामीको अगाडि बाध्य भएर मुस्कुराउनु अनि केही बेर हराएर कुनामा पसेर रुनुकाे नियतिसंग जाेडिएकाे छ । जहाँ कसैले कसैकाे कुभलाे साेच्नसम्म भ्याउँदैन । अनि कसैले कसैकाे आशु पुछ्न पनि हिम्मत गर्दैन ।
किनकी एउटाकाे आखामा आशु देख्ने बित्तिकै सबकाे गला अबरुद्व हुने स्थान रहेछ याे । अनि यउटा मुसुक्क हासे फिर्ता पनि तेहि मुस्कान छरिने स्थान रहेछ । कसेैले कसैलाइ चिन्दैन, तर पनि काेहि अन्जान छैन झै लाग्ने रहेछ । सायद भगवानकाे घर भन्दा यमराजकाे ढाेका झै लाग्ने हस्पिटलमा सबकाे लागि उस्तै व्यवहार हुन्छ ।
एक त भगवान प्रति आस्था गुमाउदै गएकी मेरा लागि तीजमा हस्पिटल विताउन कुनै गाराे भएन । बरु म जस्ता कयाै यहाँ भयकाहरुकाे पनि त चाड हाे याे उनीहरूको अनुहारमा मलिनता भईरहेकाे समयमा कसरी म चाहिँ रमाउन सक्छु र झै भएकाे छ ।
जीवन भाेगाइहरुकाे चाङ रहेछ । अनुभवहरुकाे संगालाे, हरेक कुराहरु लाग्ने बानीमा निर्भर रहेछ । पिडाकाे हाेस या खुसीकाे । बानी लागेपछि दुख पनि सहयात्रि, सुख पनि । सुख बाड्न सहज हुने रहेछ बरु तर दुख बाड्न अति गाराे । पिडाकाे समयमा कसैले गर्ने सानाे सहयाेग पनि ठुलाे लाग्ने अनि काेहि पर भैदिदा पनि ठुलाे लाग्ने रहेछ ।
तर वास्तवमा जब अरुकाे साथकाे आवश्यकता पर्छ तब काेहि साथमा हुनु र नहुनुले सिकाउने जति ठुलाे पाठ दुनियाँमा कुनै कितावले नसिकाउने रहेछ । काे आफ्नाे अनि काे पराई यहिबाट चिनिने रहेछ । आफूलाई पराई लागिरहेकाे मान्छे अचानक आफ्नाे लाग्ने अनि आफूले आँखा चिम्लेर विस्वास गरेकाहरु पराई पाे भैदिदा रहेछन् थाहै नपाइ ।
यी सबै परिस्थिति र मनकाे स्थितिले निर्धारण गर्ने कुरा रहेछ । कसैले बोल्ने दुई शव्दकाे सहानुभुति पूर्ण शव्दले पनि बाँडले छेडे झै छेड्ने रहेछ । हस्पिटल एउटा अर्कै संसार जस्तो लाग्छ । कहिले बिछट्टै अपनत्व पाइने,कहिले गहिरो चोटको सामना गर्नुपर्ने । कहिले सानो सामान्य कुराले पनि मनभित्र उर्जा भरिने,कहिले चाहेको सानै कुरामा पनि साथ कसैको नमिल्ने । मैले कसैको भावना, संवेदना, धार्मिक विश्वासलाई खोट लगाउन खोजेकी हैन । बस आफ्नो भोगाइ देखाई बिसाएकी हुं ।
जे जे हाेस जीवन सिकाइहरू कै संगालो रहेछ,म त्यै संगालोमा माला उन्दैछु, सपना भर्दैछु छ । सिकाइको एक एक पलहरूमा सिक्दैछु सबैभन्दा ठुलाे कुरा स्वास्थ्य र सम्पत्ति रहेछ । सम्पत्ति विना स्वास्थ्य राम्राे बनाउन कठिन अनि स्वास्थ्य विना सम्पत्ति कमाउन कठिन । दुबैकाे तालमेल मिले मात्र खुसी र सुखहाल जीवन जीउन सकिने रहेछ । याे तिजमा भगवान शिवलाइ यहि प्रार्थना सम्पूर्ण हिन्दु धर्मावलम्बीको स्वास्थ्यलाई स्वस्थ राखुन । म जस्तै गरि बिरामी आफन्त कुर्दै बिरामीको भविष्यमा सपना सजाई रहेकाहरूको सपना साकार होस् । अरूले मन्दिर धाएर के मागिरहेछन थाहा छैन,म बेड न १५४ मा घोत्लिएर यहि कामना गरिरहेको छु ।