मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायले मनाउने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
आज सोमबार शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गर्नुभएको छ।
“नेपालको भौगोलिक विविधता अनुसार कला संस्कृति र परम्पराहरुमा पनि बहुआयामिकता छ” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ “नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम छ, नेपालीहरुको आफ्नै चाडपर्वहरु मध्येको ईद पनि एक हो ।”
“ईद-उल-फित्रको सुखद् अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मका अनुयायी दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै ईद मुवारक भन्न चाहन्छु” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
धार्मिक आस्था र परम्पराहरूले एकता, भातृत्व र मेलमिलापको भावनालाई सुदृढ बनाइ सभ्य र समृद्ध समाज निर्माणमा टेवा पुर्याउँने उहाँले बताउनु भएको छ । “हामीले हाम्रो धार्मिक सहिष्णुता र धार्मिक सम्पन्नतालाई कायम राख्नुपर्दछ । समृद्ध समाज निर्माणमा यस पर्वले थप उर्जा दिने विश्वासका साथ पुनः एकपटक सबैमा इदको शुभकामना व्यक्त गर्दछु” सन्देशमा भनिएको छ ।
मकवानपुर । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीहरुकाे पर्व इदकाे उपलक्ष्यमा सोमबार सार्वजनिक विदा दिएकाे छ । गृह मन्त्रालयले आइतबार बेलुका ७ बजेपछि विज्ञप्ति प्रकाशित गर्दै इद (इद उल फित्र) काे अवसरमा सार्वजनिक विदा दिएकाे जानकारी दिएकाे हाे ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
ईद उल फित्र इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाडमध्ये एक हो, जुन रमजान महिनाको समाप्तिपछि मनाइन्छ। साँझ चन्द्रमा देखिएपछि त्यसको भाेली पल्ट इद मनाउने गरिन्छ । आइतबार साँझ चन्द्रमा देखिएपछि मुस्लिम आयोगले सरकारलाई सार्वजनिक विदाकाे लागि लेखि पठाइएकाे र साेही अनुसार विदाकाे सूचना निकालिएकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, लामसुरेमा रहेकाे मानसेवा आश्रमकाे मुख्य कार्यालयमा आइतबारदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएकाे छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालय आश्रमले अक्षयकोष निर्माण गर्ने उद्देश्यले आयोजना गरेकाे महायज्ञ बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार उद्घाटन गरे । मुख्यमन्त्री लामाले व्यक्तिगत २५ हजार रुपैयाँ महायज्ञमा हस्तान्तरण गरे । यस्तै प्रदेश सरकारले छलफल गरेर सकेसम्म अक्षयकोषका लागि अनुदान रकम सहयोग गरिने प्रतिबद्धता मुख्यमन्त्री लामाले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले १ करोड ५० लाख रुपैयाँ अनुदान स्वरुप अक्षयकोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरन बहादुर जोशीले ५ लाख रुपैयाँ हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । यसैगरी डा.कृष्ण धितालले ५ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरे ।
महायज्ञकाे पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित शोभा कलशयात्रा गरिएको छ । दोस्रो दिन सोमबारबाट २४ चैतसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रवर्द्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम हुनेछ ।
बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमल नयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौंडामा सुरु गरिएकाे हाे ।
मकवानपुर । नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा सरकारहरुलाई झकझक्याउदै गर्नु पर्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । नेपाल भाषाकाे संरक्षणमा नेवार समुदायहरु सक्रिय हुनुपर्ने नेपाल भाषा प्रवर्द्धन कार्यक्रम जोड दिइएकाे हाे ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन कार्यालय काठमाडौं र नेपाल भाषा एकेडेमीको संयुक्त आयोजनामा हेटौंडामा शनिबार भएकाे नेपाल भाषा प्रवर्द्धन कार्यक्रममा बागमती प्रदेश सरकारले तामाङसँगै नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिरहेकोले नेवार समुदाय जागरुक हुनु पर्ने बताइएकाे छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले भाषा मासिएपछि जातमात्रको खासै अस्थित्व नहुँने भन्दै भाषा संरक्षण र प्रवर्द्धनमा नेवार समुदाय सचेत हुनुपर्ने बताए । ‘भाषा, संस्कृति भनेको जात, समुदायसँगै देशको साझा सम्पती हो’ उनले भने ‘राज्य र सरकारलाई खबरदारी गर्दै नेपाल भाषाको विकास र विस्तारमा नेवार समुदाय सक्रिय हुनुपर्दछ ।’
भाषा अभियान्ता पौभा सायमीले नेपाल भाषाको महत्त्व नेवार जातिको लागि मात्र नभएर देशकै सम्पत्ति भएकोले सबै सचेत र जिम्मेवार हुनुपर्ने बताए । ‘भाषा विलिन हुनु भनेको सम्पदा, संस्कृति, विचार बिलिन हुनु हो’ उनले भने ‘नेपाल भाषा सिक्न र जगेर्ना गर्न सबैले भूमिका खेल्न ढिला गर्नु हुन्न ।’ अंग्रेजी, जर्मन, कोरियन, जापानिज भाषा पढेर विदेशिनेको संख्या अत्याधिक बढेको प्रति उनले आफ्नो भाषाप्रति गर्व गर्ने र प्रयोग, संरक्षण नगर्नाले आफ्नै अस्थित्व लोप हुने भन्दै चेतावनी दिए ।
नेपाल भाषा एकेडेमीका प्राज्ञ विद्या चित्रकार, पाटन क्याम्पसका प्राध्यापक किशोर नेपाली, नेपाली काँग्रसका नेता अशोक शाक्य, सामाजिक विकास मन्त्रालयकी लैङ्गीक सम्पर्क व्यक्ति चन्द्र कुमारी व्यञ्जनकार, नेवा: देय् दबु: बागमती प्रदेशका प्रमुख सचिव गणेशकुमार श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुरसहित नुवाकोट, दोलखामा पनि शनिबार नै नेपाल भाषा प्रवर्द्धन कार्यक्रम गरिएकाे नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यले बताए । कार्यक्रम आयोजना गरिने ९ जिल्ला मध्ये चितवन, धादिङ र काभ्रेपलाञ्चोक यसअघी नै सम्पन्न भईसकेको उनले जानकारी दिए । बाँकी ३ जिल्लामा चाँडै कार्यक्रम गरिने बताईएको छ ।
नेपाल भाषा एकेडेमीले नेपाल भाषालाई बागमती प्रदेश सरकारले कामकाजको भाषा घोषणा गरेको सन्दर्भमा भाषिक जागरण अभिमुखीकरणका लागि आधारपत्र प्रस्तुत गरेको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य तथा भाषा अभियान्ता पौभा सायमीको अध्यक्षतामा भएको हाे ।