मकवानपुर । मकवानपुरकाे हेटौंडामा शिव महापुराण लगाइने भएकाे छ । राधिका फाउन्डेसनले हेटौंडा उपमहानगरपालिका-५ स्थित पिप्ले क्याम्पा रंगशालामा शिव महापुराण गर्न लागिएकाे हाे ।
२ वैशाख २०८२ देखि १३ बैशाखसम्म हुने शिव महापुराण झापाको कन्काई–६, मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाकाे सहयोगकाे लागि सञ्चालन गरिने भएकाे हाे । राधिका फाउन्डेसनले सोमबार पत्रकार भेटघाट गरी शिव महापुराणकाे जानकारी गराइएको हो ।
राधिका फाउण्डेसनकाे संस्थापक राधिका दासीले महापुराण वाचन गर्नेछिन् । महापुराणमा सरकार, गैरसरकारी निकायको सहयोगको अपेक्षा गरेको फाउण्डेशनको संस्थापक दासीले बताइन् ।
शिव महापुराण अन्तरगत २ बैशाखमा हेटौंडा १० स्थित गोरक्षश्वर मन्दिर परिसर राप्तितटबाट कलश शाेभा यात्रा गरी सुरु हुने बताइएकाे छ। यसैगरी ३ बैशाखदेखि १३ बैशाखसम्म कथा वाचन महात्मेय कथा तथा सामाजिक झाँकीलिला हुनेछ । यसैगरी १४ बैशाखमा पाठ पारायण तथा मण्डप पुजन गरी हेटौंडा क्षेत्रमा ९५ वर्ष कटेका जेष्ठ नागरिकलाई सम्मान गरिने आयोजकले जनाएकाे छ । यस्तै कलश यात्रामा सहभागी हुने आमा समूह र टोल विकास संस्थाहरुलाई सम्मान गरिने उनले जानकारी दिइन् ।
‘रकम संकलनकाे उदेश्यले मात्रै महापुराण गर्न लागिएकाे हाेइन्’ उनले भनिन् । राधिका फाउण्डेसनले दाताहरुको सहयोगमा झापाको कन्काइ नगरपालिका–६, मनसापुरस्थित १८ कोठे आश्रम तथा सत्संग भवन निर्माण भइरहेकाे बताइएकाे छ । उक्त भवन निर्माण सहयोगकाे लागि महापुराण गर्न लागिएकाे बताइएकाे छ ।
फाउन्डेसनले हाल झापाको कन्काइमै घर भाडामा लिएर १५ बालबालिकालाई अंग्रेजी माध्यममा अध्यापन गराइरहेको छ । यस्तै ३५ बालबालिका काठमाडौंका विभिन्न विद्यालयमा आवासीयरुपमा अध्यापन गराइ रहेकाे उनले बताइन् । महापुराणबाट संकलन भएकाे रकमको केही प्रतिशत पिप्ले क्याम्पा रंगशालालाई प्रदान गरिने उनले जानकारी दिइन् ।
शिव महापुराणकाे संरक्षक हेटौंडा ५ का वडाध्यक्ष सुशील घिमिरे तथा पुराण आयोजक समितिकाे संयोजक ह्यग्रीव आचार्य रहेका छन् ।

