मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजतन्त्रको समयमा जनतालाई रैती बनाएको भन्दै जनतालाई रैती बनाउने सामन्ती इतिहास अब मुलुकमा फेरि फर्कन सम्भव नभएको बताएका छन् ।
लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि एमाले मकवानपुरले हेटौंडामा जागरणसभामा उनले यस्तो बताएका हुन् । जनताकाे बलिदानकाे रगतसँग साटेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको रानाले बताए । नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको जगेर्नाको निम्ति एकजुट भएर अगाडि बढ्नका निम्ति उनले सबैलाई आग्रह समेत गरे।
‘लोकतन्त्रले हाम्रो सार्वभौमिक हक अधिकारलाई सुरक्षित गरेको छ। हामीले सामन्ती पुस्ताको अन्त्य गरेर जनताको सार्वभौम अधिकार जनताको पक्षमा ल्याएका छौं’ उनले भने, ‘आज जनता सार्वभौम भईरहेको अवस्थामा फेरि पनि नागरिकमाथि षड्यन्त्र गरिरहेको छ। त्यसैले म सबैलाई खबरदारीका निम्ति एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु।’
यसैगरी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ४६ सालको आन्दोलनदेखि ६२/६३ को आन्दोलनमा पुग्दा विपक्षीहरुलाई परास्त गरेको बताए। उनले मसानमा पुर्याईसकेको लास उठेर टाउको ठड्याउँदै गरेको भन्दै खबरदारी गरे। हजारौँ जनताको योगदान र शहीदहरुको बलिदानबाट प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र समाप्त गरेर फेरि निरकुंश राजतन्त्र ल्याउने सपना नदेख्न उनले चेतावनी दिए। पौडेलले संविधानले राजा नचिन्ने भन्दै राजा यो मुलुकमा नभएको बताउँदै तत्कालीन राजा ज्ञानेन्द्र अब राजा नरहेको बताए।
‘लोकतान्त्रिक गणतन्त्रमा नेपालमा सामाजिक र आर्थिक परिवर्तन भएको छ, गणतन्त्रकाे विकल्प राजतन्त्र कुनै हालतमा हुदैन्’ उनले भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा परेर दुई हात खुट्टा टेक्दै चार पाउ टेकेर सूर्य चिह्नबाट निर्वाचनमा उठ्दा समेत पराजित भएको भोलिपल्टै कमल थापाले राजतन्त्रको वकालत गर्न थालेको आरोप उनले लगाए।
नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलले गणतन्त्रको संरक्षण र सम्वर्द्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको बताए। जागरणसभा प्रतिगामी षड्यन्त्रकाविरुद्ध, पुनरुत्थानवादी र अराजक तत्वहरुलाई सन्देशको रुपमा रहने उनले बताए। पोखरेलले देशबाट घुँडा टेकाएको राजतन्त्र अब आवश्यक नभएको भन्दै अराजक गतिविधि गरे एमाले जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए।
एमालेले सोमवार जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ता हेटौंडामा उतार्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि हेटौंडामा जागरण सभा गरेको हो। हेटौंडाका मुख्य सडकहरु सानो पोखरा चोक, फरेष्ट्री चोक, राप्ती रोड र चौकीटोलको चारवटा नाकाहरुबाट जम्मा भएको नेता तथा कार्यकर्ताकोहरुको र्याली सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो।
सभामा नेकपा एमालेका केन्द्रीय सदस्य भारती पाठक, प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य एकलाल श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

