मकवानपुर । बागमती प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई लम्पी स्किन विरुद्ध खोप लगाइने भएकाे छ । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि प्रदेशव्यापी खोप अभियान नै सञ्चालन गरी उक्त संख्यामा खोप लगाउने भएको हाे ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १ भाद्र २०८२ बाट प्रदेशका १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएकाे हाे ।मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमकाे जानकारी गराएकाे हाे ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले लम्पी स्किनका कारण दूध उत्पादनमा प्रभाव परेकाेले हरेक बर्ष याे अभियान संचालन गरिएकाे जानकारी दिए । ‘कृषकहरुले पशुमा लाग्ने राेगबारे सचेत हुन जरुरी छ’ उनले भने ‘पशुपालन जिवन आधार भएकाेले पालनमा बैज्ञानिक ज्ञानकाे कमी रहेकाे छ ।’
ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर १ मा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन जानकारी दिइएकाे छ । अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई उक्त खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले जानकारी दिए ।
मन्त्रालयका अनुसार यस वर्ष चितवन जिल्लाकाे लागि ३० हजार डोज खोप उपलब्ध गराइएको छ । त्यसैगरी, मकवानपुरका लागि २५ हजार, काभ्रेलाई १४ हजार, नुवाकोट र सिन्धुलीलाई १२/१२ हजार, धादिङलाई ११ हजार, ललितपुरलाई १० हजार र दोलखालाई ६ हजार डोज खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । उक्त पशु सेवा कार्यालय मार्फत वितरण हुनेछ ।
संघीय सरकारले गरेकाे खोपको व्यवस्थापनमा खोप लगाउन लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने भएको छ। बागमती प्रदेशमा असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण ७४ पशुचौपायाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यस्तै १ हजार ६ सय ३३ पशुमा रोगको संक्रमण देखिएको छ । प्रदेशकाे मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रोगको संक्रमण बढी देखिएको वरिष्ठ पशु विकास अधिकृत डा. प्रधानले बताए ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशका ७१ हजार ९ सय ७७ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो । सामान्यतया लामखुट्टे, झिंगा, किर्ना, भुसुनाकाे टाेकाइबाट, प्राकृतिक र कृतिम गर्भाधानबाट गाइभैसिमा लम्पी स्किन देखा पर्ने गर्छ ।
बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । लम्पी स्किन रोग लागेमा पशुको दुध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ । राेग लाग्ने दर ५ देखि ४५ प्रतिशत हुने र मृत्युदर १० प्रतिशत भन्दा कम हुने मन्त्रालयले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत १६० जना प्रहरी कर्मचारीहरुको आँखा जाँच गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको आयोजना र हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच गरिएको हो ।
जाँच गरिएकाहरु मध्ये २० जनाको आँखाको थप उपचार आवश्यक भएकोले हेटौडा सामुदायिक आँखा अस्पतालमा रिफर गरिएको छ । कार्यक्रममा आँखा जाँच पश्चात आवश्यक औषधिहरु पनि निशुल्क वितरण गरिएको हेटौडा सामुदायिक आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले बताए ।
हेटौडा सामुदायिक आँखा अस्पतालले नियमित रुपमा सामुदायिक कार्यक्रम अन्तर्गत अस्पताल आउन नसक्ने बिरामीहरुको लागि विभिन्न स्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको छ । विद्यालयमा पुगेर विद्यार्थीहरुको आँखा जाँच र कार्यस्थलमा पुगेर कामदार कर्मचारीहरुको आँखा जाँच गर्दै आएको श्रेष्ठले बताए ।
मकवानपुर । युवापुस्ता समाज र राष्ट्रको मेरुदण्ड भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ। “युवा, शक्ति संभावना र सृजनशीलताको जीवन्त स्रोत भएको उहाँले बताउनु भयो।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र युवा प्रभागद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित “दिगो भविष्यका लागि युवा सशक्तीकरण” विषयक कार्यक्रममा उहाँके यस्तो बताउनु भएको हो । “दीगो र समृद्ध भविष्य निर्माणका लागि आवश्यक पर्ने तीन आधारस्तम्भ विवेकप्रदत्त ज्ञान, संस्कार र सेवा-भाव हुन् र यी तीनैको वाहक युवा शक्ति हो” उहाँले भन्नुभयो ।
जब युवामा आत्मचेतना, अनुशासन र सेवाउन्मुख जीवन दृष्टि हुन्छ, तब मात्र समाज र देशले उज्यालो र चिरस्थायी गन्तव्य लिन सक्ने उहाँले बताउनु भयो । “आजको युगमा हामीले विकासको गति मात्र होइन, त्यसको गुणस्तर र स्थायित्वमा पनि ध्यान दिनु आवश्यक छ” देवकोटाले भन्नुभयो । दिगो भविष्य भनेको केवल भौतिक समृद्धि नभई यो नैतिक बल, अनुशासन, सामाजिक एकता, सद्भाव र आन्तरिक शान्तिसँग गाँसिएको समृद्धि भएको उहाँले बताउनुभयो ।
देवकोटाले भन्नुभयो “सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना तब मात्र साकार हुन्छ जब युवाहरू शारीरिक, मानसिक, नैतिक , बौद्धिक, आध्यात्मिक र संवेगात्मक हिसाबले सबल र सुदृढ हुन्छन् ।” धेरै मानिस क्षमता नभएर होइन नचिनेर पछि परेकाे उहाँले बताउनु भयो । युवाले क्षमता चिन्नुपर्ने र समाजले युवालाई हौसला दिनुपर्ने उहाँको भनाइ थियोे ।
युवामा कर्मशीलता, लगाब, सकारात्मकता हुनुपर्छ । आध्यात्मिक चेतनाले युवालाई कुशल, सवल, संस्कारी, अनुशासित बनाई सफल र असल बनाउने भएकोले आम युवाहरूलाई आध्यात्मिक चेतनाको द्वार खोली सफल जीवनको मार्गमा अघि बढ्न आह्वान उहाँले आग्रह गर्नुभयो। युवा वर्ग सशक्तीकरण र दीगो भविष्यको स्वर्णिम द्वार खुल्न आतुर रहेको उहाँले उल्लेख गर्नुभयो ।
ब्रह्माकुमारी शुशिलाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त उत्प्रेरक बाबुराजा शाहाले युवालाई उत्प्रेरणात्मक परामर्श गराउनु भएको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारले ल्याउन लागेकाे वन विधेयकमा महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने प्रावधान अनिवार्य गर्न माग गरिएकाे छ ।
प्राकृतिक स्रोत महिला अधिकार संजालले हेटौंडामा मकवानपुर, सिन्धुली, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर, रामेछाप र रसुवामा संजालले गरेकाे कार्यक्रमबाट संकलन गरेकाे सुझाव अनुसार अधिकार सुनिश्चितताकाे लागि प्रस्ताव गरिएकाे हाे । प्राकृतिक स्राेत महिला अधिकार संजालका केन्द्रीय अध्यक्ष आरती पाठक, बागमती प्रदेश सभा उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ लगायतका प्रदेश सभा सदस्यहरु तथा पत्रकार महासंघ मकवानपुरकाे सुझावसहित छलफल गरिएकाे हाे ।
छलफल कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिमा अध्यक्ष वा सचिवमध्ये एक र उपाध्यक्ष वा कोषाध्यक्षमध्ये एक मिहलासहित कम्तीमा ५० प्रतिशत महिला रहने व्यवस्था गर्नुपर्ने सुझाव प्रस्ताव गरिएको छ। यसैगरी उपभोक्ता समितिमा आदिवासी जनजाति र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न समेत सुझाव दिइएकाे छ ।
कार्यक्रममा दिइएकाे सुझावमा सामुदायिक वनको आम्दानीको कम्तीमा ५० प्रतिशत रकम महिला सशक्तीकरण, गरीबी निवारण र उद्यम विकासमा तथा बाँकी रकममध्ये २५ प्रतिशत पनि महिलामै प्राथमिकता दिने व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यसैगरी, सामुदायिक वनको कार्ययोजनामा आदिवासी जनजातिका प्रथाजन्य अभ्यास समावेश गरी कार्यान्वयन गर्नुपर्ने, उपभोक्ता समूहकै नाममा वनमा आधारित उद्योग दर्ता गर्न सक्ने व्यवस्था, र वनपैदावार प्रयोग गर्दै आएका सीमान्तकृत घरपरिवारलाई निःशुल्क वनपैदावार उपलब्ध गराउने प्रावधान राख्नुपर्ने माग गरिएकाे छ ।
दलित, विपन्न र महिला घरमूली भएका घरधुरीलाई सामुदायिक वनको केही भाग जीविकोपार्जन र उद्यम विकासका लागि उपलब्ध गराउने र जोडिएका सामुदायिक वनहरूको प्रभावकारी व्यवस्थापनका लागि समूहबीच साझा व्यवसायिक योजना र वन उद्यम सञ्चालन गर्न सक्ने अधिकार दिनुपर्ने सुझावमा प्रस्ताव गरिएको छ।
प्राकृतिक स्रोत महिला अधिकार संजालले छलफलमा पेश गरेकाे सुझावहरुः
१. सामुदायिक वनको उपभोक्ता समितिमा अध्यक्ष वा सचिव मध्ये एक, उपाध्यक्ष वा कोषाध्यक्ष मध्ये एक सहित कम्तीमा ५० प्रतिशत महिला रहने व्यवस्था गर्ने ।
२. समूहमा भएका घरधुरीहरुलाई कूल जनसंख्या मानी सामुदायिक वनको उपभोक्ता समितिमा आदिवासी जनजाति र अन्य सीमान्तकृत समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने विषय समावेष गर्ने ।
३. सामुदायिक वनको आम्दानीको कम्तीमा ५० प्रतिशत रकम महिला सशक्तीकरण, गरीवी निवारण र उद्यम विकास लगाउने, बाँकी २५ प्रतिशतका कार्यक्रममा समेत महिलाका पक्षमा लगानी गर्न प्राथमिकता दिने ।
४. सामुदायिक वनमा आदिवासी जनजातिका प्रथाजनित अभ्यासहरूलाई कार्ययोजनमा समावेश गरी कार्यान्वयन गर्नु पर्ने विषय समावेश गर्ने ।
५. सामुदायिक वन उपभोक्ता समूहका नामामा वनमा आधारित उद्योग दर्ता गर्न सकिने व्यवस्था समावेश गर्ने ।
६. वनपैदावार प्रयोग हुने परम्परागत पेशा अवलम्बन गरिरहेका सीमान्तकृत घरपरिवारलाई सामुदायिक वनबाट त्यस्तो वनपैदावार निशुल्क उपलब्ध गराउने व्यवस्था गर्ने ।
७. सामुदायिक वन भित्रको केही भाग उपभोक्ता समूहका दलित, विपन्त तथा महिला घरमूली भएका घरधुरीको जीविकोपार्न र उद्यम विकासका लागि कवुलियत गरी दिन सकिने व्यवस्था गर्ने ।
८. जोडिएका सामुदायिक वनहरूको प्रभावकारी र उत्पादनमुखी व्यवस्थापन गर्न समूहहरूले सहकार्य गरी साझा व्यवसायिक योजना र वन उद्यम संचालन गर्न सक्ने व्यवस्था गर्ने ।
मकवानपुर । बागमती प्रदेश सभाको लागि नयाँ भवन निमाणार्थ शिलान्यास गरिएको ४ वर्ष ८ महिनापछि प्रयोगको लागि तयार भएको छ । बागमती प्रदेश सभाको बहुप्रतिक्षित भवन आज २७ साउन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।
प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार २७ साउनमा बस्ने प्रदेश सभाको बैठक पहिलो पटक नयाँ भवनमा आयोजना हुने भएको हो । आजै बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ । सचिव पौडेलले बताए अनुसार सभा हलको भित्री सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ ।
सोमबार साँझसम्म माइक जडान र परीक्षण कार्य सकिएको छ भने मंगलबार बिहानसम्म जेनेरेटर जडानको काम सकिने तयारी गरिएको छ । उक्त भवनको शिलान्यास १० मंसिर २०७७ मा भएको थियो । झन्डै साढे पाँच वर्षको प्रतीक्षापछि निर्माण सम्पन्न भएको यो अस्थायी भवन सञ्चालनमा आएसँगै प्रदेश सभाको बैठक र कार्यसञ्चालन थप सहज हुने सचिवालयको विश्वास छ । हेटौंडा उपमहानगरपालिका–१०, स्थित हाल अस्थायी रुपमा सञ्चालित प्रदेश सभा सचिवालयको जग्गाभित्रै प्रिफ्याबबाट अस्थायी संरचना निर्माणको हो ।
तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयलाई मोडिफाइ गरेर निर्माण गरिएको भवनमा हाल सचिवालय सञ्चालन गरिदै आएको थियो । जुन धेरै साँघुरो भएको कारण पत्रकारहरुलाई समेत प्रवेश दिने गरिएको थिएन । अब सञ्चालन हुने भवनमा भने पत्रकारहरुको लागि समेत छुट्टै दिर्घाको व्यवस्था गरिएको छ । भवन अपाड्डमैत्री छ । हाल रहेका ११० मध्ये १ सांसाद ह्वील चियर प्रयोगकर्ता भएको थाहा पाएपछि राताराता मर्मत गरेर ¥याम राखिएको भए पनि रोस्ट्रममा जान सहज नभएको भन्दै सांसद लक्ष्मी घिमिरेले अपाड्ड मैत्री संरचना नभएसम्म आफू रोस्ट्रममा नै नजाने भनेर सरकारको ध्यानाकर्षण गराउँदै आएकी थिइन् । रामेछाप जिल्लाबाट समानुपातिक संसदमा निर्वाचित भएकी राप्रपाकी सांसद लक्ष्मी घिमिरेले नीति निर्माण गर्ने तहमै अपाङ्मैत्री संरचनाप्रति चासो नहुनुमा दुख प्रकट गर्दै आएकी छिन् ।
अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने गरी १९ कात्तिक २०७७ मा ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा प्रदेश सभाको अस्थायी भवन बनाउने ठेक्का पाएको थियो । तर समयमा काम सकिएन । ठेकदार कम्पनीले झण्डै ५ वर्ष वर्ष लगाएर प्रिफ्याबको अस्थायी संरचना तयार गरेको छ ।
भवन संरचना निर्माणमै दुईपटक ठेक्का
अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले ढिलो गरी प्रिफ्याबको संरचना निर्माण गरेपछि थप कमका लागि डेढ वर्ष अघि मात्रै २३ फागुन २०८० मा सिउडी निर्माण सेवासँग ३ करोड ५३ लाख ६१ हजार ५ सय ८३ रुपैयाँमा शहरी भवन कार्यालयले ठेक्का सम्झौता गरेको थियो । उसले पनि समयमै काम नसकेपछि एकपटक म्याद थप गरिएको थियो ।
प्रदेश सभा सचिवालयले २०८० पुस २२ मा फर्निचरका लागि खुलाएको ठेक्कामा कानुनी जटिलता देखिएको भन्दै रद्द गरेको थियो । त्यसपछि नयाँ ठेक्का आह्वान गरेर सिउडी इन्टरनेशनल प्रालिसँग भवनमा फर्निचर÷फर्निसिङ कार्यका लागि २ करोड २४ लाख ७३ हजारमा ४ फागुन ०८१ मा ठेक्का सम्झौता भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयले साउण्ड सिष्टम जडानका लागि २२ फागुन २०८१ भित्र प्रस्ताव पेस गरिसक्नु पर्ने गरि आव्हान गरेको थियो। साउण्ड सिष्टमको ठेक्का रकम २ करोड बढीको रहने प्रदेश सभा सचिवालयले जनाएको छ। शहरी भवन कार्यालयले संरचना निर्माणमा एउटैले गर्न सक्ने कामलाई पनि दुुई वटा कम्पनीलाई ठेक्का दिएर काम गर्दा भवन तयार हुन ढिलाइ भएको हो ।
१८ माघ २०७४ मा स्थापित प्रदेश सभा संघीय सरकार मातहतको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ । प्रदेश सभाको हालको सभाहल ११० जना प्रदेश सभा सदस्यका लागि साँघुरो छ । नयाँ भवनको क्षमता २५० जना रहेको छ ।

मर्मतको लागि लाखौ खर्च
प्रदेश सभाको नयाँ भवन निर्माण सम्पन्न नभएपछि हाल रहेको कार्यालयमा मर्मतको नाममा लाखौं खर्च भएको छ । अघिल्लो कार्याकाल बिताएका सांसदहरुलाई बिदाइ गरेपछि नयाँ सांसदको स्वागतताका सचिवालय हल पुरै नयाँ जस्तै रुप दिइएको थियो । त्यतिबेला अनावश्यक मर्मत कार्यमा १० लाख बढी खर्च गरिएको थियो ।
फेरि हालमा सभामुख भुवनकुमार पाठकले आफ्नो कर्यकक्ष मर्मत सुधारको नाममा झण्डै १० लाख रुपैया लाख खर्च गरेका छन् । प्रदेश सभाको दोस्रो सभामुखका रूपमा गत पुसमा निर्वाचित भएका पाठकले आफ्नो कार्यकक्षलाई अत्याधुनिक रुपमा मर्मत गर्न लगाए । फर्निचर, कार्पेट, वाल फिनिसिङदेखि गलैँचासम्म सुधारको नाममा उक्त खर्च भएको सचिवालयले जनाएको छ । सचिवालय भवनमा संरचना निर्माण तथा मर्मतसुधार शीर्षकको बजेटबाट ९ लाख ८८ हजार ११ सय रुपैयाँमा आर.बी.एस. कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो। जसमा पुराना संरचना पुरै हटाएर नयाँ डेकोरेसन बनाएइको छ ।
यसैगरी आवासमा ४४ लाख खर्च भएको छ । पाठकले हेटौैडा–१०, राप्तीरोडमा रहेको सरकारी आवास मर्मतका लागि पनि झण्डै ४५ लाख रुपैयाँमा ठेक्का दिइसकेका छन् । कम्पाउन्ड वाल निर्माण, रंगरोगन तथा भित्री सजावट गर्न ४४ लाख ६२ हजार ३० रुपैयाँमा ठेक्का लगाएर काम सुरु भइसकेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । आवास मर्मत पनि सचिवालय सभा भवनमा संरचना निर्माण तथा मर्मत सुधार शीर्षकको बजेटबाट भइरहेको हो ।
काँग्रेसमा विवाद अझै बाँकी
बागमतीका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मंगलबार संसदबाट विश्वासको मत लिदैछन्, तर उनी मुख्यमन्त्री हुँदा भएको सहमति कार्यान्वयनमा नहुँदा अझै केही विवाद र उल्झनहरु भ्ने उस्तै छन् ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउने प्रयास भइरहेको छ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षमा देखिएको तिक्तता अन्त्य गरी सहमति जुटाउने प्रयास भइरहेको नेताहरुले जानकारी गराएका छन् ।
पूर्वमुख्यमन्त्री लामाले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पक्षको विचार राखिका छन् । लामासँगै सभापति देउवालाई भेटेका नेताहरुका अनुुसार मिलेर अघि बढ्न देउवाले निर्देशन दिएका थिए ।
लामाले नियुक्त गरेका छन् सपथ ग्रहण नभएका तीन मन्त्रीहरुलाई बानियाँले पहिलो चरणमा नै मन्त्री परिषदमा समेट्ने सहमति भएको थियो, तर बानियाँले व्यवहारमा त्यो देखाएनन् । उनले आफू मुख्यमन्त्री भए लगत्तै आफ्नो पार्टीबाट २ जनालाई मन्त्री नियुक्त गरे, तर अघिल्ला ३ जनालाई पाखा लगाए । उद्यापि उनले अझै ६ जना मन्त्रीहरु आफ्नो दलबाट नियुक्त गर्न बाँकी छ । मन्त्री परिषद विस्तार नै नगरी विश्वासको मत तर्फ लागेकाले बानियाँप्रति लामा पक्षको विश्वास घटेको हो ।
आज (२७ साउनमा) मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु अघि नै दुईपक्षमा सहमति जुटाउन लामा पक्षको माग छ । लामा विरुद्ध संसदीय दलको नेतामाथि अविश्वासको प्रस्ताव दर्ता भपछि उनले धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए । तर उनीहरुले सपथ लिएर कार्यभार जिम्म लिन पाएनन् ।
असन्तुष्ट पक्षले आÇना मागहरु सम्बोधन नभए मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने र सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् । कुरा मिलेन भने विश्वासको मत दिनलाई सोच्नुपर्छ कि भन्ने कुरा छ” काँग्रेस सांसद तथा सामाजिक विकास पूर्वमन्त्री हरिप्रभा खड्कीले बताइन् । प्रदेश सभामा कांग्रेसका ३७ सांसदमा लामा पक्षका १४ जना छन् ।
सांसदलाई व्हिप जारी
सत्ता साझेदार कांग्रेस र एमाले दुबै दलले मुख्यमन्त्री बानियाँलाई मंगलबार विश्वासको मत दिन व्हिप जारी गरेका छन् । कांग्रेसको संसदीय दलको निर्वाचनमा लामाको पक्षमा मत दिएका एक सांसदले व्हिप जारी भएको हुँदा विश्वासको मत प्रदान गर्ने जानकारी गराए ।
“हामीले मुख्यमन्त्री बानियाँको विश्वासको पक्षमा मत दिन आफ्ना सबै सांसदलाई व्हिप जारी गरेका छौ” नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतक एकालाल श्रेष्ठले भने “हाम्रा सबै माननीय ज्यूहरु सहभागी भएर पक्षमा नै मत दिनु हुनेछ ।” बागमती प्रदेश सभामा ११० सांसद छन् । मुख्यमन्त्रीले प्रदेश सभामा विश्वास मत लिन ५६ जना सांसदको साथ चाहिन्छ । एमाले र काँग्रेसको गरी ६४ जना सांसद हुन्छन् ।