मकवानपुर । बागमती प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई लम्पी स्किन विरुद्ध खोप लगाइने भएकाे छ । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि प्रदेशव्यापी खोप अभियान नै सञ्चालन गरी उक्त संख्यामा खोप लगाउने भएको हाे ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १ भाद्र २०८२ बाट प्रदेशका १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएकाे हाे ।मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमकाे जानकारी गराएकाे हाे ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले लम्पी स्किनका कारण दूध उत्पादनमा प्रभाव परेकाेले हरेक बर्ष याे अभियान संचालन गरिएकाे जानकारी दिए । ‘कृषकहरुले पशुमा लाग्ने राेगबारे सचेत हुन जरुरी छ’ उनले भने ‘पशुपालन जिवन आधार भएकाेले पालनमा बैज्ञानिक ज्ञानकाे कमी रहेकाे छ ।’
ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर १ मा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन जानकारी दिइएकाे छ । अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई उक्त खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले जानकारी दिए ।
मन्त्रालयका अनुसार यस वर्ष चितवन जिल्लाकाे लागि ३० हजार डोज खोप उपलब्ध गराइएको छ । त्यसैगरी, मकवानपुरका लागि २५ हजार, काभ्रेलाई १४ हजार, नुवाकोट र सिन्धुलीलाई १२/१२ हजार, धादिङलाई ११ हजार, ललितपुरलाई १० हजार र दोलखालाई ६ हजार डोज खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । उक्त पशु सेवा कार्यालय मार्फत वितरण हुनेछ ।
संघीय सरकारले गरेकाे खोपको व्यवस्थापनमा खोप लगाउन लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने भएको छ। बागमती प्रदेशमा असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण ७४ पशुचौपायाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यस्तै १ हजार ६ सय ३३ पशुमा रोगको संक्रमण देखिएको छ । प्रदेशकाे मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रोगको संक्रमण बढी देखिएको वरिष्ठ पशु विकास अधिकृत डा. प्रधानले बताए ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशका ७१ हजार ९ सय ७७ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो । सामान्यतया लामखुट्टे, झिंगा, किर्ना, भुसुनाकाे टाेकाइबाट, प्राकृतिक र कृतिम गर्भाधानबाट गाइभैसिमा लम्पी स्किन देखा पर्ने गर्छ ।
बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । लम्पी स्किन रोग लागेमा पशुको दुध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ । राेग लाग्ने दर ५ देखि ४५ प्रतिशत हुने र मृत्युदर १० प्रतिशत भन्दा कम हुने मन्त्रालयले जनाएकाे छ ।

