मकवानपुर । बागमती प्रदेशकाे मन्त्रिपरिषद् विस्तार गरिएकाे छ । प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार ५ जनालाई मन्त्री पदमा नियुक्ति गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे ।
मुख्यमन्त्री बानियाँले नियुक्त गरेका पाँचै जना मन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नव नियुक्त ५ मन्त्रीहरुलाई शुक्रबार सपथ गराएका हुन् ।
मुख्यमन्त्री बानियाँले युवा तथा खेलकुद मन्त्रीमा उर्मिला नेपाल, सामाजिक विकास मन्त्रीमा कन्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझी र आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तमाङलाइ नियुक्त गरेका हुन् ।
यस अघि २० साउनमा मुख्यमन्त्री नियुक्त भएसँगै बानियाँले विना विभागीय मन्त्रीमा नियुक्त गरेका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री बानियाँले यसअघि आफू सहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट ३ र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।
पुरा भएन सहमति
मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वको सरकार निर्माण गर्दा निवर्तमान मुख्यमन्त्री बहादुर सिं लामासँग गरेको सहमती भने कार्यान्वयन गरेनन् । लामाले नियुक्त गरेका तर सपथ लिन नभ्याएका ३ मन्त्रीहरुलाई बानियाँले आफ्नो नेतृत्वको सरकारमा सामेल गराउने सहमती गरेका थिए । तर अन्ततः बानियाँले आफू पक्षधरलाई मात्रै मन्त्रीमा सामेल गराए, लामा पक्ष हेरेको हेर्यै भएको छ ।
मन्त्री नियुक्त भएर पनि सपथ लिन नभएका सांसदहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गिता गुरुङले मन्त्रीको हल्लामात्रै पाए जिम्मेवारी पाएनन् ।
बानियाँ नेतृत्वकाे मन्त्रिपरिषद् यस्तो रहेकाे छः
(१) इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(२) मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
(३) शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
(४) किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय
(५) उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
(६) कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय
(७) डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
(८) प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
(९) भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय
(१०) सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय
(११) जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
(१२) कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
(१३) विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
(१४) विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय


