मकवानपुर । युवापुस्ता समाज र राष्ट्रको मेरुदण्ड भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ। “युवा, शक्ति संभावना र सृजनशीलताको जीवन्त स्रोत भएको उहाँले बताउनु भयो।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र युवा प्रभागद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित “दिगो भविष्यका लागि युवा सशक्तीकरण” विषयक कार्यक्रममा उहाँके यस्तो बताउनु भएको हो । “दीगो र समृद्ध भविष्य निर्माणका लागि आवश्यक पर्ने तीन आधारस्तम्भ विवेकप्रदत्त ज्ञान, संस्कार र सेवा-भाव हुन् र यी तीनैको वाहक युवा शक्ति हो” उहाँले भन्नुभयो ।
जब युवामा आत्मचेतना, अनुशासन र सेवाउन्मुख जीवन दृष्टि हुन्छ, तब मात्र समाज र देशले उज्यालो र चिरस्थायी गन्तव्य लिन सक्ने उहाँले बताउनु भयो । “आजको युगमा हामीले विकासको गति मात्र होइन, त्यसको गुणस्तर र स्थायित्वमा पनि ध्यान दिनु आवश्यक छ” देवकोटाले भन्नुभयो । दिगो भविष्य भनेको केवल भौतिक समृद्धि नभई यो नैतिक बल, अनुशासन, सामाजिक एकता, सद्भाव र आन्तरिक शान्तिसँग गाँसिएको समृद्धि भएको उहाँले बताउनुभयो ।
देवकोटाले भन्नुभयो “सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना तब मात्र साकार हुन्छ जब युवाहरू शारीरिक, मानसिक, नैतिक , बौद्धिक, आध्यात्मिक र संवेगात्मक हिसाबले सबल र सुदृढ हुन्छन् ।” धेरै मानिस क्षमता नभएर होइन नचिनेर पछि परेकाे उहाँले बताउनु भयो । युवाले क्षमता चिन्नुपर्ने र समाजले युवालाई हौसला दिनुपर्ने उहाँको भनाइ थियोे ।
युवामा कर्मशीलता, लगाब, सकारात्मकता हुनुपर्छ । आध्यात्मिक चेतनाले युवालाई कुशल, सवल, संस्कारी, अनुशासित बनाई सफल र असल बनाउने भएकोले आम युवाहरूलाई आध्यात्मिक चेतनाको द्वार खोली सफल जीवनको मार्गमा अघि बढ्न आह्वान उहाँले आग्रह गर्नुभयो। युवा वर्ग सशक्तीकरण र दीगो भविष्यको स्वर्णिम द्वार खुल्न आतुर रहेको उहाँले उल्लेख गर्नुभयो ।
ब्रह्माकुमारी शुशिलाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त उत्प्रेरक बाबुराजा शाहाले युवालाई उत्प्रेरणात्मक परामर्श गराउनु भएको थियो ।

