मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबारको प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँले पक्षमा ६३ मत प्राप्त गरे । उनको विपक्षमा २२ सदस्यकाे मत पर्यो ।
प्रदेश सभाका ७ जना सदस्य भने मत विभाजन हुँदा तटस्थ बसेका थिए । कुल ११० सदस्यीय प्रदेश सभामा ५६ प्रदेश सभा सदस्यकाे समर्थन भए सरकार गठन हुन्छ भने विश्वासकाे मतकाे लागि समेत पर्याप्त हुन्छ । उनलाई नेपाली कांग्रेसका ३६ र नेकपा एमालेका २७ सांसदले मत दिएका छन् । कांग्रेसका रामकृष्ण चित्रकार देश बाहिर रहेकाले एक मत प्राप्त भएन ।
प्रदेशसभाको मंगलबारकाे बैठकमा कूल ९२ सदस्य उपस्थित थिए । सभामुखले भने मत विभाजनमा सहभागी भएनन् । गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिक विश्वासको मत लिएका हुन् ।
उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए । कांग्रेस र एमालेले मुख्यमन्त्रीकाे विश्वासकाे पक्षमा मत दिन ह्वीप जारी गरेका थिए ।

