मकवानपुर । बागमती प्रदेश सरकारकाे आर्थिक वर्ष २०७८/७९ को बजेट आज असार १ गते प्रदेश सभामा प्रस्तुत हुने भएकाे छ । प्रदेश सरकारकाे तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज दिउँसाे ३ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने छन् ।
सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वीकृती प्रदान गर्न बागमती प्रदेश मन्त्रीपरिषद् बैठक आज असार १ गते विहान बस्दैछ । मन्त्रीपरिषदबाट आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वीकृती प्रदान गर्ने निर्णय भए पछी बजेट परिपक्क भइ प्रदेश सभामा प्रस्तुत गरिने छ ।
प्रदेश सरकारले आगामी आबको लागि ५५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेटको प्राथमिकतामा कोभिड-१९ नियन्त्रण तथा रोकथामलाइ प्राथमिकतामा राखिएकाे छ । यसकाे साथै शिक्षा र कृषि समेत प्राथमिकतामा परेकाे बताइएकाे छ ।
मन्त्री ढुङ्गेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिए ।
निषेधाज्ञाको निशानामा बालबालिका, बढ्यो बाल हिंसा
Tags: No Comments
मकवानपुर / कोरोना महामारीको कारण जारी निषेधाज्ञाको निशानामा बालबालिकाहरु परेका छन्। एकातिर विद्यालयहरु बन्द, अर्कोतिर घरभित्रको अभाव र हिंसाको कारणबाट बालिबालिकाहरु शिकार हुने गरेका हुन् ।
सिविन बाल हेल्प लाइन मकवानपुरका अनुसार निषेधाज्ञाको समयमा बालबालिका सम्बन्धी घटनाहरु बढेका छन् । सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावलीका अनुसार निषेधाज्ञामा बालबालिकाहरुमाथि हिंसा तथा बालविवाह बढेको छ । घरेलु हिंसाको कारण पनि बालविवाह बढेको ज्ञावलीको भनाई छ ।
निषेधाज्ञाको समयमा मात्रै ८ वटा बालविवाहको घटनाहरु भएको सिविनले जनाएको छ । ति मध्ये केही बालिकाहरुलाई सिविनले अहिले पनि आश्रय दिंदै आएको छ । विद्यालय बन्द भएको समयमा बालबालिकाहरुमाथि हिंसा बढी हुने गरेको ज्ञावलीले बताए । सामान्य अवस्थामा अर्थात १ साउन २०७७ देखि २० वैशाख २०७८ सम्म (१० महिनाको अवधिमा) ४८ वटा बाल विवाहका घटनाहरु सिविनको पहलमा रोकिएको थियो ।
निषेधाज्ञा सुरु भएको १ महिनाको अवधिमा मात्रै ८ वटा घटना सार्वजनिक भएको छ । ८ वटाै घटनाहरु सिविनको पहलमा रोकिएको बताइएको छ । पछिल्लो पटक साेमबार मकवानपुरगढी गाउँपालिकामा बालविवाहको तयारीमा रहेको घटना राेकिएकाे सिविनले जनाएको छ । ‘याे साता मात्रै ३ वटा बालविवाह सम्वन्धी घटना राेकियाे’ ज्ञवालीले भने । परिवारीक आर्थिक अवस्था बिग्रेपछि घरेलु हिंसा बढेको र यसको प्रत्यक्ष असर बालबालिकामा परेको ज्ञावलीले बताए । ‘यो विषम परिस्थितीमा बालबालिबाहरु आफूखुसी विवाह गर्ने क्रम पनि बढेको छ’ उनले भने ।
विगत १० महिनामा ११ जना बालबालिकाहरु बेपत्ता भएका थिए भने निषेधाज्ञाको समयमा मात्रै ६ जना बालबालिकाहरु बेपत्ता भएको तथ्याङ्कले देखाएको छ । यो बिचमा २ जना बालबालिकामाथि दुव्र्यवहार भएको सिविनमा दर्ता भएको छ । निषेधाज्ञाको समयमा मकवानपुरमा बालबालिबासम्बन्धी १९ वटा घटना भएका छन् ।
पछिल्लो समय घरेलु हिंसा हुनुमा मद्यपान सेवन गरेर हुने हिंसा, कुटपिट गर्ने, घरमा आर्थिक समस्या हुने, शंकाको आधारमा दम्पत्ती विच हुने झगडाले बालबालिकाहरु शिकार हुने गरेका छन्।निषेधाज्ञको समय जारी रहेको भएपनि जस्तो सुकै घरेलु हिंसा घटनामा तुरुन्तै ‘एक्सन’ लिने गरि प्रहरीले टोली खटाउने जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी निरीक्षक चुडाकुमारी खड्काले बताइन् ।
मकवानपुर । देशैभर मनसुनी वायुको प्रभाव रहेकोले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेकाे छ ।
अहिले बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
जेठ ३१ गते देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।
यसै गरी देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले सवैलाइ आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ।
मकवानपुर । कोभिड हेल्प डेस्क मकवानपुरले आइतबार मानव सेवा आश्रमलाई सहयोग गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको संलग्नतामा निर्माण गरिएको हेल्थ डेस्ककाे समुह आश्रममै गई सहयोग गरेको हो ।
मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटले संयाेजन गरिएकाे आश्रमको कार्यक्रममा हेल्प डेस्कबाट चामल, दाल र स्याऊ सहयोग गरिएको थियो । त्यसैगरी आइतबार नै हेल्प डेस्कले गौरीटार आइसोलेशनलाई पनि सहयोग गरेको छ । हेल्प डेस्कको टोली गौरीटार आइसोलेशनमा गई च्यावनप्रास, तेल, आयुर्वेदिक औषधी वितरण गरिएको थियो ।
मउवासंघका कार्यसमिति सदस्य रवि कडेल शर्माले संयोजन गरेकाे आइसोलेशनमा सहयाेग वितरण कार्यक्रममा कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, हेल्प डेस्कका सदस्य ज्ञानेन्द्र कार्की, मउवासंघका विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी, व्यवसायी राजेन्द्र लामिछानेलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कोभिड हेल्प डेस्कबाट मनहरी गाउंपालिका, चकरीबाट ३ जना कोभिडका बिरामीहरुलाई अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । यस्तै हेल्प डेस्कलाई आइतबार नगद ५ हजार रूपियाँ सहयोग प्राप्त भएको छ । मकवानपुरका प्रतिष्ठित गायक स्व. ज्ञानविर क्षेत्रीको स्मृतिमा श्रीमती कमला श्रेष्ठ क्षेत्री, छोराहरु कोसिस क्षेत्री र केतन क्षेत्रीबाट उपलब्ध गराइएको रकम हेल्प डेस्कका सदस्य शंकरलाल श्रेष्ठमार्फत हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई हस्तान्तरण गरिएको हो ।

हेल्प डेस्कबाट बिरामी आमाको लागि अक्सिजन सहयोग लिदै आएका ठाकुरप्रसाद चौलागाईले पल्पसा आइसोलेशन सेन्टरमा रहेका कोभिड संक्रमितहरुलाई आइतबार एक बोरा हरियो मकै उपलब्ध गराएका छन् । यसै गरी द आर्ट अफ लिभिङ्ग नेपालबाट पिपिई २० थान, अक्सिमिटर ५ थान, ग्लोब्स ५ पाकेट, माक्स ५ पाकेट, एन ९५ माक्स ५० थान, फेस सिल २५ थान र साबुन ७२ थान सहयोग प्राप्त भएको सचिवालय संयोजक कृष्ण कुमार गुप्ता जानकारी दिए ।
द आर्ट अफ लिभिङ्ग नेपालका मकवानपुर जिल्ला संयोजक दामोदर प्रसाद अटलले उक्त सहयोग सामग्रीहरु आइतबार हस्तान्तरण गरेका हन् । सहयोगको लागि पहल गर्नुहुने हेल्प डेस्कका सचिवालय संयोजक गुप्तासहित हस्तान्तरण कार्यक्रममा मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य बालकुमार मल्ल ठकुरी, द आर्ट अफ लिभिङ्गका नर्मदा अटल, सुजिना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यस्तै पल्पसा आइसोलेशन सेन्टर संचालनमा आएदेखि नै कृष्ण प्रणामी समाज मकवानपुरबाट भर्ना भएका सम्पूर्ण संक्रमित र व्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी तथा कामदारहरुको लागि बिहान र बेलुकाको खाना सहयोग हुंदै आएको मउवासंघ अध्यक्ष कृष्ण कटुवालले बताए ।
यसैगरी कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट आइतबार ४२ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएकोमा ४ जना अस्पतालमा र ३८ जना घरमै रहेको सुरक्षित रहेकाे पाइएकाे छ । हेल्प डेस्कबाट नियमित रुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, राय सुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको संयाेजक गुप्ताले बताए ।
- शान्ति अर्याल अधिकारी
पाेर्चुगल । गैरआवासीय नेपाली संघको अधिवेशन नजिकिँदै गर्दा एनआरएनए पोर्चुगलले सरोकारवालाहरू बीच सुझाव सकंलन गरेको छ। सुझाव सकंलन कार्यक्रममा बोल्दै बक्ताहरूले सदस्यता बृद्धि गर्न तर्फ आआफ्नो क्षेत्रबाट पहल गर्न तत्पर रहेको बताउँदै एनआरएनले सबै प्रवासीहरूको अभिभावकत्व ग्रहण गर्न सक्नु पर्ने कुरामा जोड दिएका थिए।
संस्था भित्र पारदर्शी हुनुपर्ने, अधिवेशनको समयमा हाम्रालाई भन्दा राम्रालाई स्थान दिनुपर्ने, संस्थाभित्र आबद्ध जिम्मेवार व्यक्तिहरुले अनुशासन, मर्यादा र आचरणको ख्याल गर्नु लगायतका सुझाबहरू राखेका थिए।
सदस्यता जुलाईको अन्त्यसम्म संघको अधिवेशन सम्पन्न गर्न केन्द्रले निर्देशन गरे लगत्तै पोर्चुगलमा पनि सदस्यता बितरण शुरू गरिएको हो। पोर्चुगल को अधिवेशन आउँदो जुलाई अन्तिम साता सम्पन्न गर्ने तयारी रहेको संघले जनाएको छ।
गैरआवासीय नेपाली संघ सबैको साझा संस्था भएकोले बिधान बमोजिम योग्यता पुगेका सबै प्रवासी नेपालीहरूलाई सदस्यता लिन संघले आब्हान गरेको छ। सदस्य बन्नको लागी सार्क राष्ट्रभन्दा बाहिर बसेको २ बर्ष पुग्नु पर्ने नियममा उल्लेख गरिएको छ।
संघका अध्यक्ष तिलक गैरे संयोजक रही सघको तर्फबाट ५ जना सहित सम्पूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु संलग्न सदस्यता विस्तार सहयोग समिति गठन भएको छ। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष तिलक गैरे र संचालन महासचिव हेमराज सुवेदीले गरेका थिए ।
जुन १२ तारिख शनिबार जुम मार्फत भएकाे कार्यक्रममा पोर्चुगलमा रहेका बिभिन्न बैचारिक,सामाजिक,जातिय, क्षेत्रीय, व्यवसायिक, तथा अन्य संघसंस्थामा आबद्ध अध्यक्षहरु, महासचिवहरु,सचिव तथा जिम्मेवार ब्यक्तिहरु र पत्रकारहरूको सहभागिता रहेको थियो।