मकवानपुर । कोभिड हेल्प डेस्क मकवानपुरले आइतबार मानव सेवा आश्रमलाई सहयोग गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको संलग्नतामा निर्माण गरिएको हेल्थ डेस्ककाे समुह आश्रममै गई सहयोग गरेको हो ।
मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटले संयाेजन गरिएकाे आश्रमको कार्यक्रममा हेल्प डेस्कबाट चामल, दाल र स्याऊ सहयोग गरिएको थियो । त्यसैगरी आइतबार नै हेल्प डेस्कले गौरीटार आइसोलेशनलाई पनि सहयोग गरेको छ । हेल्प डेस्कको टोली गौरीटार आइसोलेशनमा गई च्यावनप्रास, तेल, आयुर्वेदिक औषधी वितरण गरिएको थियो ।
मउवासंघका कार्यसमिति सदस्य रवि कडेल शर्माले संयोजन गरेकाे आइसोलेशनमा सहयाेग वितरण कार्यक्रममा कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, हेल्प डेस्कका सदस्य ज्ञानेन्द्र कार्की, मउवासंघका विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी, व्यवसायी राजेन्द्र लामिछानेलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कोभिड हेल्प डेस्कबाट मनहरी गाउंपालिका, चकरीबाट ३ जना कोभिडका बिरामीहरुलाई अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । यस्तै हेल्प डेस्कलाई आइतबार नगद ५ हजार रूपियाँ सहयोग प्राप्त भएको छ । मकवानपुरका प्रतिष्ठित गायक स्व. ज्ञानविर क्षेत्रीको स्मृतिमा श्रीमती कमला श्रेष्ठ क्षेत्री, छोराहरु कोसिस क्षेत्री र केतन क्षेत्रीबाट उपलब्ध गराइएको रकम हेल्प डेस्कका सदस्य शंकरलाल श्रेष्ठमार्फत हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई हस्तान्तरण गरिएको हो ।

हेल्प डेस्कबाट बिरामी आमाको लागि अक्सिजन सहयोग लिदै आएका ठाकुरप्रसाद चौलागाईले पल्पसा आइसोलेशन सेन्टरमा रहेका कोभिड संक्रमितहरुलाई आइतबार एक बोरा हरियो मकै उपलब्ध गराएका छन् । यसै गरी द आर्ट अफ लिभिङ्ग नेपालबाट पिपिई २० थान, अक्सिमिटर ५ थान, ग्लोब्स ५ पाकेट, माक्स ५ पाकेट, एन ९५ माक्स ५० थान, फेस सिल २५ थान र साबुन ७२ थान सहयोग प्राप्त भएको सचिवालय संयोजक कृष्ण कुमार गुप्ता जानकारी दिए ।
द आर्ट अफ लिभिङ्ग नेपालका मकवानपुर जिल्ला संयोजक दामोदर प्रसाद अटलले उक्त सहयोग सामग्रीहरु आइतबार हस्तान्तरण गरेका हन् । सहयोगको लागि पहल गर्नुहुने हेल्प डेस्कका सचिवालय संयोजक गुप्तासहित हस्तान्तरण कार्यक्रममा मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य बालकुमार मल्ल ठकुरी, द आर्ट अफ लिभिङ्गका नर्मदा अटल, सुजिना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यस्तै पल्पसा आइसोलेशन सेन्टर संचालनमा आएदेखि नै कृष्ण प्रणामी समाज मकवानपुरबाट भर्ना भएका सम्पूर्ण संक्रमित र व्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी तथा कामदारहरुको लागि बिहान र बेलुकाको खाना सहयोग हुंदै आएको मउवासंघ अध्यक्ष कृष्ण कटुवालले बताए ।
यसैगरी कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट आइतबार ४२ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएकोमा ४ जना अस्पतालमा र ३८ जना घरमै रहेको सुरक्षित रहेकाे पाइएकाे छ । हेल्प डेस्कबाट नियमित रुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, राय सुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको संयाेजक गुप्ताले बताए ।

