मकवानपुर । प्रतिपक्षको तिव्र विरोधका बाबजुत बागमती प्रदेश सरकारको आर्थिक बजेट आइतबार पारित भएको छ । पटक पटक संसद नै अवरुद्ध गर्दै आएको प्रतिपक्षको विरोधकै बिच आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको हो ।
आइतबार साँझ प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो । बागमती प्रदेश बाहेक देशको अन्य कुनै पनि प्रदेशले आगामी वर्षको लागि प्रस्तावित बजेट हालसम्म पास गर्न सकेको छैन । विनियोजन विधेयक निर्णयार्थ पेश गर्दा सत्तारुढ नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी मात्र प्रदेशसभाको बैठकमा सहभागी थिए । विपक्षी दलका सांसदहरु प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा विनियोजित बजेट माथिको छलफलमा विपक्षी दलले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए । प्रतिपक्ष दलहरुलाई उपेक्षा गर्दै एकलौटी ढंगबाट बजेट पास गरेको भन्दै यो दिन इतिहासकै कालो दिने भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा नगर्ने आग्रह गरेका थिए ।
आइतबार विहान ११ः ४० बजेदेखि निरन्तर संचालन भएको प्रदेशसभा बैठकमा विभिन्न समयमा विद्युत अवरुद्ध भई बैठक प्रभावित भइरहेको र सदनमा खर्च कटौतीको प्रस्ताव राखेका सांसद्हरुले फिर्ता लिने वा नलिने काम बाँकी रहेकोले भोलि जेठ २८ गते बैठक पुन राख्न विपक्षी दलहरुले आह्वान गर्दा समेत त्यसको उपेक्षा गर्दै सत्तारुढ दलका सांसद् मात्रै सदनमा उपस्थित भई बैठक सञ्चालन गरिएको थियो ।
विनियोजन बजेटमाथि आवश्यक छलफल नै नगरी सत्तारुढ दलले बहुमतको दम्भ देखाउँदै एकलौटी ढंगबाट बजेट पास गरेकोले त्यो स्वीकार्य नहुने बानियाँले बताए ।
प्रतिपक्षद्वारा बहिस्कार
विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा विद्युत आपूर्ति अवरुद्ध भएपछि प्रतिपक्षी दलले सोमबार विनियोजन विधेयकमाथिको छलफल अघि बढाउन सभामुख सानुकुमार श्रेष्ठसंग आग्रह गरेका थिए ।
अव्यवस्थित ढंगले संसद नचलाउन अनुरोध गर्दा पनि सुनुवाई नभएको भन्दै प्रतिपक्षले आक्रोष पोखेका थिए । “भोली छलफल गरौं भनेर विपक्षी दलहरुले कुरा राख्यौं तर सभामुख ज्यूले पेलेर अघि बढ्नु भयो” नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले भने । अव्यवस्थित र असुरक्षित ढंगबाट संचालन भएको संसद बहिस्कार गरेको प्रतिपक्षी दलहरुको भनाई छ । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, विवेकशिल साझा पार्टी, राप्रपा र स्वतन्त्र संसद संसदमा थिएनन् भने नेमकिपाले पक्षमा मत राखेको थियो ।
बागमती प्रदेश सरकार आर्थिक वर्ष २०७८/०७९ को लागि बिनियोजित बजेट १ असारमा प्रदेश सभा समक्ष पेश गरेको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल ५७ अरब ७२ करोड ९ लाख २७ हजार बजेट बिनियोजन गरेको छ । कुल बजेट मध्ये चालु खर्चमा २६ अर्ब १ करोड ६६ लाख २३ हजार (अर्थात ४५ प्रतिशत), पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार ( अर्थात् ५१ प्रतिशत), वित्तिय व्यवस्थापनतर्फ २ अर्ब ( अर्थात् ४ प्रतिशत) बिनियोजन गरेको हो ।
आगामी आर्थिक वर्षको लागि अनुमानित गरिएको खर्च व्यहोर्न स्रोत मध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख संघीय सरकारबाट वित्तिय हस्तान्तरण प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविधि प्राप्ति १ अर्ब ५ करोड ९ लाख चालु आवको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरेको छ ।
प्रदेश सभाको अर्को बैठक असार २८ असार गते विहान ८ बजे बस्ने गरी सभामुख सानुकुमार श्रेष्ठले आजकाे बैठक स्थगित गरेका छन् ।
मकवानपुर/आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट पेश भएपछी पटक पटक अवरुद्ध हुँदै आएको बागमती प्रदेशको प्रदेश सभा बैठक आइतबार बसेको छ । प्रदेश सभामा विनियोजित बजेटमाथिको छलफल सुरु भएको छ ।
बजेटमा चित्त नबुझेपछी विषेशतः विपक्षिदलको विरोधमा प्रदेश सभा बैठक सञ्चालन हुन सकेको थिएन । आइतबार बसेको बैठकमा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलल, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले बजेट विभेदकारी भएको भन्दै विरोध जनाएका छन् ।
प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षिदलहबाट आएको विरोधको विषयमा संसदमा जवाफ दिएका थिए । प्रदेश सभामा असार १८ गतेको बैठकको विशेष समयमा उठेको प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले ल्याएको बजेटमा कुनै शंका र चिन्ता प्रकट गर्नुपर्ने औचित्य नै नभएको बताए ।
विशेषः प्रदेश सरकारले पूर्वाधार निर्माण नै नगरी विद्युतीय बस खरिद गर्न लागेको भन्दै बागमती प्रदेशसभामा चर्को विरोध भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा जवाफ दिएका छन् । प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बस खरिद गर्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाइसक्ने र बसको रुटसमेत तय गरिसकिने जवाफ दिएका हुन् ।
“हामीले खरिद गर्न लागेको ३० मध्ये २० वटा बस काठमाडौंमा चलाउनेछौं, बाँकी १० वटा बसहरु मात्रै हामीले उपत्यका बाहिर चलाउँछौं, त्यसको लागि चार्जिङ स्टेशन निर्माण स्थल पहिचान भइसकेको छ” मुख्यमन्त्री पौडेलले भने ।
बिद्युतीय बस खरिद गर्नको लागि टेन्डर गरिसकिएको सन्दर्भलाई जोडेर मुख्यमन्त्री पौडेलले “कम्पनीको बसको लागि टेन्डर पर्छ अहिले थाहा भइसकेको छैन, कुन कम्पनीको विद्युतीय बस आउने र त्यसको चार्जर कस्तो हुने भन्ने थाहा भएपछि हामी बस आइपुग्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाउँछौं ।”
मुख्यमन्त्री पौडेलले चितवनको भतपुर बसपार्क, मकवानपुरको हेटौंडा बसपार्क, काठमाडौं बसपार्क र धुलिखेलमा बसपार्कमा चार्जिङ स्टेशन राख्ने निश्चित गरिसकिएको बताए । “चार्जिङ स्टेशन पनि दुइ प्रकारको हुने छ, एउटा ढिलो चार्ज हुने र एउटा छिटो जार्च हुनेवाला, ढिलो चार्ज हुनेवाला काठमाडौंमा राख्छौं, जो रातभर बस चार्ज गर्न पाइयोस् । छिटो चार्ज हुनेवाला चार्जिङ स्टेशन अन्य ठाउँमा राख्छौं” पौडेलले भने । विद्यतुीय बस सञ्चालनसँगै हेटौंडा– काठमाडौंको बीचमा २ ठाउँमा ठूलो स्टेशन बनाउने र रिफ्रेस सेन्टर सञ्चालन गरिने पौडेलले योजना सुनाए । रिफ्रेस सेन्टरको लागि सरकारले जग्गा मात्रै उपलब्ध गराउने र उक्त ठाउँमा निजी क्षेत्रले लगानी गर्ने उनले बताए ।
प्रदेश सभामा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार आफैंले बस खरिद गरेर व्यापार गर्नतिर लागेको आरोप लगाउँदै यो गलत अवधारण भएको बताए ।
प्रदेशसभामा बोल्दै बानियाँले काँग्रेसले यसअघि नै आफ्नो स्पष्ट धारणा राखिसकेको बताउँदै सरकार आफैंले मिडिया हाउस खोल्ने निर्णय पनि गलत भएको दोहो¥याए । विद्युतीय बस खरिद, मिडिया हाउस सञ्चालनलगायतको विषय उठाउँदै अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न विपक्षी दलहरुसँग भएको वार्ताका क्रममा मुख्यमन्त्री पौडेलले गरेको प्रतिवद्धताअनुरुप स्पष्टीकरण नदिएको भन्दै नेता बानियाँले असन्तुष्टीसमेत जनाए । “हामीसँग जे कुरामा सहमति भएको थियो, संसदमा त्यसरी जवाफ आएन, मुख्यमन्त्री ज्यूले घुमाउरो अभिव्यक्ति दिनुभयो हामी कसरी सन्तुष्टी हुने” नेता बानियाँले भने ।
प्रदेश सरकारले दीनदुखीहरुको हितको लागि बजेट नल्याएको भन्दै गरिब विपन्न नागरिकको लागि कुनै चासै नदिएको बताए । सरकारले ल्याएको बजेट भौगोलिक, विविधता, विकटतालाई सम्बोधन नगरीएको भन्दै सरकार अफ्ठ्यारोमा परेको नागरिकको पक्षमा नभएको उनले दाबि गरे ।
“बजेट विभेदकारी छ” नेता बानियाँले भने “कम्युनिष्टले गरिबको नाममा राजनीति र धनीको नाममा काम गरेको छ,काँग्रेस यो बजेटको विरोध गर्दछ ।”
इलेक्ट्रिक बस चाहिने तर त्यसअघि नेपालमा प्रसस्त विजुली उत्पादन गरेरे सरकारले निजी क्षेत्रलाई निजी सवारी साधन किन्नलाई ठूला ठूुला कम्पनीहरुबीच प्रतिष्पर्धा गराई जनतालाई सुविधा दिनुपर्ने धारण काँग्रेसले राख्दै आएको छ नेता बानियाँले भने–“त्यसैले अहिले सरकारले इलेक्ट्रिक बस किनेर व्यापार गर्न नलागोस्, सरकार आफैं मिडिया हाउस खोलेर आफूले नै भनेका राम्रा नराम्रा कुराको बारेमा आफैंले नै गाथा गाउन नखोजोस् ।”
प्रदेश सभामा नेता ममकट्टेलले प्रधानमन्त्रीको निर्देशनमा नेकपा एमालेका नेता माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन कार्यालय धाएको भन्दै त्यसको भत्सना गरेका थिए ।
द्वन्द्वपीडितको बजेट काटेको प्रति संसदमा प्रश्न
प्रदेश सभामा पेश गरिएको बजेट परिणाममुखी नभएको दाबि गर्दै प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिहरुले यसको विरोध गरेका छन् । बजेट संघीयतामुखी नभई नियन्त्रित बजेट भएको सांसदहरुले आरोप लगाए ।
बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले भने “यो बजेटले समाज, क्षेत्र भुगोल पटक्कै चिनेको छैन ।”भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाए ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि बोल्दै जम्कट्टेलले बजेटले दलित, गरिब अल्पसंख्यक समुदायको क्षेत्रमा बजेटले कुनै पनि सम्बोधन नगरिएको उनले आरोप लगाए । यसअघिका वर्षहरुमा निरन्तर रुपमा राखिको द्वन्द्वपीडितका कार्यक्रमहरु कटौती गरिएको भन्दै जम्कट्टेलले आपत्ति जनाए ।
‘द्वन्द्वपीडितका क्षेत्रका कार्यक्रमहरु किन राखिएनन् । द्वन्द्वपीडित भनेका माओवादी मात्रै हैनन, समाजका अन्य वर्गका पनि छन्, किन काट्नु भयो त्यो बजेट” जमकट्टेलले भने । “द्वन्द्वपीडितको कार्यक्रम राखेर मन्त्रालयले खोजीखोजी सरकारले सुविधा दिनुपर्छ” जम्कट्टेलले भने । बागमती प्रदेश भित्र ७ हजारको हाराहारीमा द्वन्द्वपीडित छन् । घाइते अपाङ्गहरुको लागि पनि बजेटले सम्बोधन गर्न नसकेको जमकट्टेलले बताए। यसैगरी अस्थायी र ज्यालादारीका कामदारलाई पनि सामाजिक सुरक्षाको कार्यक्रममा समेट्नुपर्ने आफूहरुको आवाजलाई सरकारले नसुनेको उनको गुनासो छ ।
मकवाननपुर/ बागमती प्रदेश सभाकाे आइतबार बसेको प्रदेश सभा बैठकमा वर्तमान समयमा जारी प्राकृतिक विपत्ति तथा कोरोना महामारीको सवालमा जानकारी गराइएको छ ।
कोरोना महामारी विरुद्ध तीनै तहको सरकारले समन्वयमा नियन्त्रण रोकथाम र उपचारको लागि आवश्यक पहल कदमी लिएको मुख्यमन्त्री डाेरमणि पौडेलले बताएका हुन्। यस प्रदेशमा २६ असारसम्म २० लाख ७० हजार ५ सय ८५ पीसीआर परीक्षण गरिएकोमा ३ लाख ५१ हजार ३ सय ६ जना अर्थात् २२ प्रतिशतमा संक्रमण भेटिएको मुख्यमन्त्री पौडेलले संसदलाई जानकारी गराए । जसमध्ये ८ हजार ४२ जना हाल उपचाररत रहेका र ३ हजार ९ सय ८ जनाको मृत्यु भएको छ ।
२६ असारसम्म १ लाख ७० हजार १ सय ८२ जना लक्ष्यित समूह (६०–६४ उमेर समूह) र पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेका १ ला ६५ हजार २ सय ४३ जनाले भेरोसेलको खोप लगाएको छन् ।
यस्तै थप ४ लाख १६ हजार २ सय ८५ जनाले भेरोसेलको पहिलो डोल १ लाख ७१ हजार २ सय ७ जनाले दोस्रो डोज लगाइसकेको बताइएको छ । प्रदेशमा कुल ३ लाख ९६ हजार ४ सय ३९ जनालो कोभिडसिल्ड पहलिो , १ लाख २६ हजार १ सय ३३ जनाले कोभिडसिल्डको दोस्रो डोज लगाइरहेको जानकारी पौडेलले संसदलाई जानकारी गराएका थिए ।
यसैगरी वर्षाको कारण प्रदेशमा सिन्धुपाल्चोक रसुवा र चितवनमा बाढी पहिरोको कारण भएको क्षतिमा राहत प्रदान गर्न सम्बन्धित जिल्लाका विपद व्यवस्थापन समितिको सिफरिसमा प्रदेश सरकारले उद्वार र राहतको कार्यक्रम ल्याएको मुख्यमन्त्री पौडेलले बताए । हरेक वर्षायामा हुने प्रकृतिक विपत्ति न्यूनिकरण मानवीय र भौतिक क्षति रोक्न दीर्घकालिन सोच र योजनाको खाँचो भएकोले लागि प्रदेश सरकारले आवश्यक नीति तथा योजना तर्जुमा गरेको मुख्यमन्त्री पौडेलले बताए ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा सार्वजनिक पुस्तकालय स्थापना गरिएकाे छ ।पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया सार्वजनिक पुस्तकालय स्थापना गरिएको हाे ।
स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी शनिबार पुस्तकालय स्थापना गरिएको हो । पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा १ महिनाको अवधिमा मकवानपुरमा ३ वटा पुस्तकालय स्थापना भएका छन् । यसअघि हेटौंडा–७, नागस्वतीमा समृद्ध पुस्तकालय र हेटौंडा–६ मा शान्ति पुस्तकालय स्थापना भइसकेको छ ।
पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि ५० हजार रुपैयाँ बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको छ । पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईबीच पुस्तक हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागाई, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दंगाल, एस के निधन र राम मंग्रातीले जनही ५ हजार रुपैयाँका दरले योगदान गरेका हुन् ।
पुस्तकालय स्थापनाका लागि पहल गरेको भन्दै पुस्तकालय अभियान समूहका सदस्य किशोर पराजुली र श्याम मुडभरीले सहयोगी समूहको तर्फबाट समृद्धि टोल विकास संस्थाका अध्यक्ष परशुराम गौतम र बकैया–४ का वडा अध्यक्ष राजन दंगाललाई आभारपत्र प्रदान गरेका थिए । यस्तै पुस्तकालय अभियान समूहकै सदस्य एवम् वरिष्ठ पत्रकार प्रताप विष्टले बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई पुस्तक हस्तान्तरण गरेका छन्।
बकैया–४ स्थित समृद्धि टोल विकास संस्थाका अध्यक्ष परशुराम गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन कार्यक्रम भएको हो ।
‘पुस्तकालय स्थापना र सञ्चालन कठिन कार्य हाे’ कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य प्रताप विष्टले भने ‘समुदायमा पुस्तकालयको महत्व बुझाउनुपर्छ, ज्ञानको भण्डारले सत्यको नजिक पुर्याउँछ ।’
पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारीले पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनासँगै उचित व्यवस्थापन र उपयोगिता अभिवृद्धिका लागि आगामी दिनमा थप समन्वय तथा सहजीकरणको काम गर्ने बताए । भण्डारीले आगामी दिनमा मकवानपुरका सवै पालिकामा पुस्तकालय स्थापना गरेर वडा वडा हुँदै टोल टोलसम्म पुर्याइने जानकारी दिए ।
झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले पुस्तकालयको स्थापना, प्रयोग र विस्तारमा बकैया गाउँपालिकालाई झरना साहित्यिक परिवारले सहयोग र सहकार्य गर्ने बताए । पालिकास्तरमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने सहमति समेत भइसकेको अध्यक्ष गौतमले जानकारी दिए ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३२ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु देशभरका विभिन्न अस्पताल तथा आइसाेलेसन सेन्टरबाट निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै, गत २४ घण्टाकाे समयमा २ हजार १ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५ सय ३० जनाको पीसीआर परीक्षणबाट १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय १६ जना गरी जम्मा २ हजार १ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।
देशभरा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मकवानपुर जिल्लामा थप ६८ जना काेराेना संक्रमित निकाे
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमण निकाे भएका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या १० हजार ८ सय १६ पुगेको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाबाट १ सय ३२ जनाको मृत्यु भएको छ ।
पछिल्ल्लो २४ घण्टामा १ सय १ जनामा गरिएको पीसीआर परीक्षणबाट २० जना र ३ सय ३८ जनामा गरिएको एन्टीजेन परीक्षणबाट १६ जना गरी थप ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी पछिल्ल्लो २४ घण्टामा १ सय १ जनामा गरिएको पीसीआर परीक्षणबाट २० जना र ३ सय ३८ जनामा गरिएको एन्टीजेन परीक्षणबाट १६ जना गरी थप ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ६ सय ७८ जना रहेका छन् । जसमा ६ सय १७ जना संक्रमित घरमा र ६१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।