मकवानपुर/आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट पेश भएपछी पटक पटक अवरुद्ध हुँदै आएको बागमती प्रदेशको प्रदेश सभा बैठक आइतबार बसेको छ । प्रदेश सभामा विनियोजित बजेटमाथिको छलफल सुरु भएको छ ।
बजेटमा चित्त नबुझेपछी विषेशतः विपक्षिदलको विरोधमा प्रदेश सभा बैठक सञ्चालन हुन सकेको थिएन । आइतबार बसेको बैठकमा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलल, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले बजेट विभेदकारी भएको भन्दै विरोध जनाएका छन् ।
प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षिदलहबाट आएको विरोधको विषयमा संसदमा जवाफ दिएका थिए । प्रदेश सभामा असार १८ गतेको बैठकको विशेष समयमा उठेको प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले ल्याएको बजेटमा कुनै शंका र चिन्ता प्रकट गर्नुपर्ने औचित्य नै नभएको बताए ।
विशेषः प्रदेश सरकारले पूर्वाधार निर्माण नै नगरी विद्युतीय बस खरिद गर्न लागेको भन्दै बागमती प्रदेशसभामा चर्को विरोध भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा जवाफ दिएका छन् । प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बस खरिद गर्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाइसक्ने र बसको रुटसमेत तय गरिसकिने जवाफ दिएका हुन् ।
“हामीले खरिद गर्न लागेको ३० मध्ये २० वटा बस काठमाडौंमा चलाउनेछौं, बाँकी १० वटा बसहरु मात्रै हामीले उपत्यका बाहिर चलाउँछौं, त्यसको लागि चार्जिङ स्टेशन निर्माण स्थल पहिचान भइसकेको छ” मुख्यमन्त्री पौडेलले भने ।
बिद्युतीय बस खरिद गर्नको लागि टेन्डर गरिसकिएको सन्दर्भलाई जोडेर मुख्यमन्त्री पौडेलले “कम्पनीको बसको लागि टेन्डर पर्छ अहिले थाहा भइसकेको छैन, कुन कम्पनीको विद्युतीय बस आउने र त्यसको चार्जर कस्तो हुने भन्ने थाहा भएपछि हामी बस आइपुग्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाउँछौं ।”
मुख्यमन्त्री पौडेलले चितवनको भतपुर बसपार्क, मकवानपुरको हेटौंडा बसपार्क, काठमाडौं बसपार्क र धुलिखेलमा बसपार्कमा चार्जिङ स्टेशन राख्ने निश्चित गरिसकिएको बताए । “चार्जिङ स्टेशन पनि दुइ प्रकारको हुने छ, एउटा ढिलो चार्ज हुने र एउटा छिटो जार्च हुनेवाला, ढिलो चार्ज हुनेवाला काठमाडौंमा राख्छौं, जो रातभर बस चार्ज गर्न पाइयोस् । छिटो चार्ज हुनेवाला चार्जिङ स्टेशन अन्य ठाउँमा राख्छौं” पौडेलले भने । विद्यतुीय बस सञ्चालनसँगै हेटौंडा– काठमाडौंको बीचमा २ ठाउँमा ठूलो स्टेशन बनाउने र रिफ्रेस सेन्टर सञ्चालन गरिने पौडेलले योजना सुनाए । रिफ्रेस सेन्टरको लागि सरकारले जग्गा मात्रै उपलब्ध गराउने र उक्त ठाउँमा निजी क्षेत्रले लगानी गर्ने उनले बताए ।
प्रदेश सभामा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार आफैंले बस खरिद गरेर व्यापार गर्नतिर लागेको आरोप लगाउँदै यो गलत अवधारण भएको बताए ।
प्रदेशसभामा बोल्दै बानियाँले काँग्रेसले यसअघि नै आफ्नो स्पष्ट धारणा राखिसकेको बताउँदै सरकार आफैंले मिडिया हाउस खोल्ने निर्णय पनि गलत भएको दोहो¥याए । विद्युतीय बस खरिद, मिडिया हाउस सञ्चालनलगायतको विषय उठाउँदै अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न विपक्षी दलहरुसँग भएको वार्ताका क्रममा मुख्यमन्त्री पौडेलले गरेको प्रतिवद्धताअनुरुप स्पष्टीकरण नदिएको भन्दै नेता बानियाँले असन्तुष्टीसमेत जनाए । “हामीसँग जे कुरामा सहमति भएको थियो, संसदमा त्यसरी जवाफ आएन, मुख्यमन्त्री ज्यूले घुमाउरो अभिव्यक्ति दिनुभयो हामी कसरी सन्तुष्टी हुने” नेता बानियाँले भने ।
प्रदेश सरकारले दीनदुखीहरुको हितको लागि बजेट नल्याएको भन्दै गरिब विपन्न नागरिकको लागि कुनै चासै नदिएको बताए । सरकारले ल्याएको बजेट भौगोलिक, विविधता, विकटतालाई सम्बोधन नगरीएको भन्दै सरकार अफ्ठ्यारोमा परेको नागरिकको पक्षमा नभएको उनले दाबि गरे ।
“बजेट विभेदकारी छ” नेता बानियाँले भने “कम्युनिष्टले गरिबको नाममा राजनीति र धनीको नाममा काम गरेको छ,काँग्रेस यो बजेटको विरोध गर्दछ ।”
इलेक्ट्रिक बस चाहिने तर त्यसअघि नेपालमा प्रसस्त विजुली उत्पादन गरेरे सरकारले निजी क्षेत्रलाई निजी सवारी साधन किन्नलाई ठूला ठूुला कम्पनीहरुबीच प्रतिष्पर्धा गराई जनतालाई सुविधा दिनुपर्ने धारण काँग्रेसले राख्दै आएको छ नेता बानियाँले भने–“त्यसैले अहिले सरकारले इलेक्ट्रिक बस किनेर व्यापार गर्न नलागोस्, सरकार आफैं मिडिया हाउस खोलेर आफूले नै भनेका राम्रा नराम्रा कुराको बारेमा आफैंले नै गाथा गाउन नखोजोस् ।”
प्रदेश सभामा नेता ममकट्टेलले प्रधानमन्त्रीको निर्देशनमा नेकपा एमालेका नेता माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन कार्यालय धाएको भन्दै त्यसको भत्सना गरेका थिए ।
द्वन्द्वपीडितको बजेट काटेको प्रति संसदमा प्रश्न
प्रदेश सभामा पेश गरिएको बजेट परिणाममुखी नभएको दाबि गर्दै प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिहरुले यसको विरोध गरेका छन् । बजेट संघीयतामुखी नभई नियन्त्रित बजेट भएको सांसदहरुले आरोप लगाए ।
बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले भने “यो बजेटले समाज, क्षेत्र भुगोल पटक्कै चिनेको छैन ।”भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाए ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि बोल्दै जम्कट्टेलले बजेटले दलित, गरिब अल्पसंख्यक समुदायको क्षेत्रमा बजेटले कुनै पनि सम्बोधन नगरिएको उनले आरोप लगाए । यसअघिका वर्षहरुमा निरन्तर रुपमा राखिको द्वन्द्वपीडितका कार्यक्रमहरु कटौती गरिएको भन्दै जम्कट्टेलले आपत्ति जनाए ।
‘द्वन्द्वपीडितका क्षेत्रका कार्यक्रमहरु किन राखिएनन् । द्वन्द्वपीडित भनेका माओवादी मात्रै हैनन, समाजका अन्य वर्गका पनि छन्, किन काट्नु भयो त्यो बजेट” जमकट्टेलले भने । “द्वन्द्वपीडितको कार्यक्रम राखेर मन्त्रालयले खोजीखोजी सरकारले सुविधा दिनुपर्छ” जम्कट्टेलले भने । बागमती प्रदेश भित्र ७ हजारको हाराहारीमा द्वन्द्वपीडित छन् । घाइते अपाङ्गहरुको लागि पनि बजेटले सम्बोधन गर्न नसकेको जमकट्टेलले बताए। यसैगरी अस्थायी र ज्यालादारीका कामदारलाई पनि सामाजिक सुरक्षाको कार्यक्रममा समेट्नुपर्ने आफूहरुको आवाजलाई सरकारले नसुनेको उनको गुनासो छ ।

