मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दी मध्य ३ सय ५५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । एन्टिजिन बिधिबाट गरिएको परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।
अहिले भीमफेदी कारागारमा ९ सय ७० जना कैदी बन्दी रहेका छन् । केही कैदीबन्दीमा रुघाखोकी देखेर पनि निको भएको बताइएको छ । १४ जनामा संक्रमणको समस्या देखेपछि थप उपचारको लागि साउन ११ गते काठमाडौं पठाइएकोमा उनीहरुमा कोरोना पुष्टि भएपछि कारागारमा
परीक्षण गरिएको भिमफेदी गाउपालिकाका स्वास्थ्य संयोजक राममान थिङले बताए ।
अहिले स्वास्थ मापदण्ड पूरागरेर आईसोलेसनमा राखेका छौं । संक्रमण देखिएकालाई प्रोटिन युक्त खानाको व्यवस्थापन गरेर संक्रमण नियन्त्रणको काम भैरहेको जेलर नारायण पाण्डेले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले ६५ किलो लागूऔषध गाँजा र स्कारपियो सहित २ जनालाई पक्राउ गरेको छ ।
विहीबार हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा मनहरी तर्फबाट हेटौंडातर्फ आउदै गरेको बा ११ च ९५०९ नंबरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ६५ किलो लागूऔषध गाँजा फेला परेकोले स्कारपियाे सहित २ जना पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
गाँजा र स्कारपियाे सहित पक्राउ पर्नेमा भरतपुर महानगपालिका २० चनौली चितवनका ३८ वर्षीय रोशन परियार र राक्सिराङ गाउँपालिका ६ मकवानपुरका ४३ वर्षीय ललित तामाङ रहेका प्रहरीले जानकारी दिएकाे छ ।
उनीहरु सहित लागूऔषध गाँजा स्कारपियो नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश र प्रदेश २ जोड्ने दक्षिण यसियाकै पहिलो सुरुङ्ग मार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विस्तार गरिने बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् ।
सम्पदाको संरक्षण गर्न प्रदेश सरकारले चासो राखेको बताउंदै मुख्यमन्त्री पौडेलले विहीवार यस्तो बताएका हुन । भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेश अन्तरगतको आयोजना भएको चुरियामाई सुरुङ्ग मार्ग पुनर्निर्माण कार्य शिलान्यास समारोहमा मुख्य मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा मुख्य मन्त्री पौडेलले वि.स २०१९ सालमा आफैले यात्रा गरेको स्मरण गरे । मकवानपुरको भिमफेदीबाट बारा जिल्लाको अमलेखगञ्जसम्म यात्रा गरेको मुख्यमन्त्री पौडेलले स्मरण गरे । सरकार आफैं निर्माण व्यवसायीसंग पीडित भएको भन्दै पौडेलले कुनै पनि हालतमा तोकिएको अवधिमा काम सप्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सुरुङ्ग मार्गलाई पर्यटकीय स्थलको रूप दिन प्रदेश सरकारले मर्मत संभारको योजना बनाएको उनले बताए ।
समय सापेक्ष विकासको गतिविधि स्वीकार गर्दै सुरुङ्ग मार्गको संरक्षण गर्न लागिएको मुख्यमन्त्री पौडेलले बताए । “सडक चौडा गर्दा सुरुङ्गलाई असर नपर्ने गरि केही परबाट सुरुङ्ग मार्गको संरचना आकर्षक र अध्ययन स्थलको रुपमा विकास गरिनेछ” पौडेलले भने।

कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालले आवश्यक तहमा समन्वयको काम सकिएको बताए । “१०४ बर्ष अघिको तुलनामा अहिले धेरै अनुकूलता छ, हामी आंटेको काम सफलता पुर्वक गर्न सक्छौ” मन्त्री फुयालले भने । नेपालमा इन्जिनियरिङ्गको पढाइको क्रमामा बिद्यार्थीलाई सिकाईको लागि भिजिट गर्नै पर्ने स्थानको रुपमा यो क्षेत्रको विकास गरिने मन्त्री फुयालले बताए । पाठ्यक्रममा समेत यसको बिषयवस्तु समाबेश गरिने उनले बताए ।
प्रदेश सरकारले १ सय ९८ मिटर लम्बाई, २ दशमलव ५ मिटर चौडाई र ३ मिटर उचाईमा मर्मत गर्ने छ । यो सुरुङ्ग मार्ग ३ करोड ३६ लाख लागतमा २०७९ को बैशाख १९ गतेभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता गरिएको यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
मकवानपुर । आज जुलाई २९ का दिन विश्व बाघ दिवस मनाइँदै छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप यो दिवस मनाउन लागिएको हो ।
विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको छ । नेपाललगायत इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मार, रसिया र लाओसमा पाटेबाघ पाइन्छ ।
पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा अनुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए । यस गणनाका क्रममा क्यामेरामा देखिएका बाघका बच्चाको सङ्ख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको उनले दाबी गरे ।
मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ तर बाघको चोरी शिकारी, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमणसँगै बासस्थान र आहारामा देखिएका कमीले बाघ संरक्षणमा चुनौती पनि कायमै छ ।
विश्वभर बाघको सङ्ख्या ३ हजार ८ सय ९० रहेको छ । सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा २ हजार २ सय २६, सबैभन्दा कम लाओसमा बाघको सङ्ख्या २ छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा निर्माण कार्यको शिलशिलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले निर्माण कम्पनीमा तोडफोड गरेका छन् ।
आक्रोशित स्थानीयहरुले निर्माण कम्पनी कालिका कन्ट्रक्सनमा आगजानी तथा तोडफोड गरेका हुन् । मंगलबार राती स्थानीयले सोही कन्ट्रक्सनको बोलेरोमा आगजनी गरेका थिए । मकवानपुरको बागमती गाउँपालिका वडा ८ स्थित कालिका कन्ट्रक्सन नजिकको खाल्डोमा जमेको पानीमा डुबेर फापरबारी शान्तिपुरका १० वर्षीय सागर सारुको मंगलबार दिउँसो मृत्यु भएको थियो । त्यसपछि स्थानीयले नजिक रहेको कन्ट्रक्सनमा आगजानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
स्थानीयले कन्ट्रक्सनले बनाएको पोखरीको कारण बालकको मृत्यु भएको भन्दै गएराति ९ बजे कन्ट्रक्सनको एक बोलेरो सवारीमा आगजानी, जेसिबि र कार्यलय परिसरमा तोडफोड गरेको प्रवक्ता रिमालले बताए । उनका अनुसार आगजानी र ताडफोडमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका ८ स्थित खजिलदमारमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
खेत जोत्ने क्रममा प्रदेश नं ३–००१ त २५२ नंबरको ट्याक्टर दुर्घटना भइ ट्याक्टरले थिच्दा चालक बकैया–३ का २२ वर्षीय बुद्ध भोलोनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुर जनाएको छ ।
यस्तै बकैया गाउँपालिकाकै एउटा सामुदायिक वनमा मानव कंकाल भेटिएको प्रहरीले जनाएको छ । बकैया गाउँपालिका ४ को गुराँस सामुदायीक वनमा मानव कंकाल (हड्डी) फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।
वनमा घाँसदाउरा गर्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । भेटिएको मानव कंकालमा मानवको कम्मर तलको भाग रहेको र कंकाल नजिकै पुरुषको कपडा पनि फेला परेको हुँदा कंकाल पुरुषको हुन सक्ने प्रवक्ता रिमालले बताए ।
प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।