मकवानपुर । बागमती प्रदेश र प्रदेश २ जोड्ने दक्षिण यसियाकै पहिलो सुरुङ्ग मार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विस्तार गरिने बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् ।
सम्पदाको संरक्षण गर्न प्रदेश सरकारले चासो राखेको बताउंदै मुख्यमन्त्री पौडेलले विहीवार यस्तो बताएका हुन । भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेश अन्तरगतको आयोजना भएको चुरियामाई सुरुङ्ग मार्ग पुनर्निर्माण कार्य शिलान्यास समारोहमा मुख्य मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा मुख्य मन्त्री पौडेलले वि.स २०१९ सालमा आफैले यात्रा गरेको स्मरण गरे । मकवानपुरको भिमफेदीबाट बारा जिल्लाको अमलेखगञ्जसम्म यात्रा गरेको मुख्यमन्त्री पौडेलले स्मरण गरे । सरकार आफैं निर्माण व्यवसायीसंग पीडित भएको भन्दै पौडेलले कुनै पनि हालतमा तोकिएको अवधिमा काम सप्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सुरुङ्ग मार्गलाई पर्यटकीय स्थलको रूप दिन प्रदेश सरकारले मर्मत संभारको योजना बनाएको उनले बताए ।
समय सापेक्ष विकासको गतिविधि स्वीकार गर्दै सुरुङ्ग मार्गको संरक्षण गर्न लागिएको मुख्यमन्त्री पौडेलले बताए । “सडक चौडा गर्दा सुरुङ्गलाई असर नपर्ने गरि केही परबाट सुरुङ्ग मार्गको संरचना आकर्षक र अध्ययन स्थलको रुपमा विकास गरिनेछ” पौडेलले भने।

कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालले आवश्यक तहमा समन्वयको काम सकिएको बताए । “१०४ बर्ष अघिको तुलनामा अहिले धेरै अनुकूलता छ, हामी आंटेको काम सफलता पुर्वक गर्न सक्छौ” मन्त्री फुयालले भने । नेपालमा इन्जिनियरिङ्गको पढाइको क्रमामा बिद्यार्थीलाई सिकाईको लागि भिजिट गर्नै पर्ने स्थानको रुपमा यो क्षेत्रको विकास गरिने मन्त्री फुयालले बताए । पाठ्यक्रममा समेत यसको बिषयवस्तु समाबेश गरिने उनले बताए ।
प्रदेश सरकारले १ सय ९८ मिटर लम्बाई, २ दशमलव ५ मिटर चौडाई र ३ मिटर उचाईमा मर्मत गर्ने छ । यो सुरुङ्ग मार्ग ३ करोड ३६ लाख लागतमा २०७९ को बैशाख १९ गतेभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता गरिएको यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

