मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा निर्माण कार्यको शिलशिलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले निर्माण कम्पनीमा तोडफोड गरेका छन् ।
आक्रोशित स्थानीयहरुले निर्माण कम्पनी कालिका कन्ट्रक्सनमा आगजानी तथा तोडफोड गरेका हुन् । मंगलबार राती स्थानीयले सोही कन्ट्रक्सनको बोलेरोमा आगजनी गरेका थिए । मकवानपुरको बागमती गाउँपालिका वडा ८ स्थित कालिका कन्ट्रक्सन नजिकको खाल्डोमा जमेको पानीमा डुबेर फापरबारी शान्तिपुरका १० वर्षीय सागर सारुको मंगलबार दिउँसो मृत्यु भएको थियो । त्यसपछि स्थानीयले नजिक रहेको कन्ट्रक्सनमा आगजानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
स्थानीयले कन्ट्रक्सनले बनाएको पोखरीको कारण बालकको मृत्यु भएको भन्दै गएराति ९ बजे कन्ट्रक्सनको एक बोलेरो सवारीमा आगजानी, जेसिबि र कार्यलय परिसरमा तोडफोड गरेको प्रवक्ता रिमालले बताए । उनका अनुसार आगजानी र ताडफोडमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका ८ स्थित खजिलदमारमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
खेत जोत्ने क्रममा प्रदेश नं ३–००१ त २५२ नंबरको ट्याक्टर दुर्घटना भइ ट्याक्टरले थिच्दा चालक बकैया–३ का २२ वर्षीय बुद्ध भोलोनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुर जनाएको छ ।
यस्तै बकैया गाउँपालिकाकै एउटा सामुदायिक वनमा मानव कंकाल भेटिएको प्रहरीले जनाएको छ । बकैया गाउँपालिका ४ को गुराँस सामुदायीक वनमा मानव कंकाल (हड्डी) फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।
वनमा घाँसदाउरा गर्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । भेटिएको मानव कंकालमा मानवको कम्मर तलको भाग रहेको र कंकाल नजिकै पुरुषको कपडा पनि फेला परेको हुँदा कंकाल पुरुषको हुन सक्ने प्रवक्ता रिमालले बताए ।
प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

