मकवानपुर / अगष्ट ३० अर्थात जबर्जस्ती बेपत्ता बनाइएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनीहरुको लागि न्याय माग गरिएको छ ।
जबर्जस्ती बेपत्ता पारिएका पीडितको परिवारका मुख्य मागहरू सम्बोधन गर्नका लागि तत्काल कदम चाल्न पीडित समूह र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले नेपाल सरकारसमक्ष माग गरेका हुन् । नेपाल सरकार र नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका बावजूद त्यसपछिका वर्षहरू एक दशक लामो सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको परिवार तथा पीडितका लागि कहिल्यै सहज नभएको विज्ञप्तिमा जनाइएको छ ।
राज्यले संक्रमणकालीन न्याय संयन्त्रहरू सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद थप्ने निर्णय २०७८ असार ३१ मा गरेको छ । तर, यो निर्णयले पनि प्रताडित भएका पीडित तथा उनीहरुको परिवारलाई थप पीडा पुगेको सारेकारवालाहरुको भनाइ छ । आयोगहरूको कार्याविधिमा गरिएको पछिल्लो विस्तारले पीडित तथा पीडितको परिवारलाई न्याय र प्रभावकारी उपचारका सम्बन्धमा राज्यले गरेको प्रतिबद्धताका विषयमा आशंका उत्पन्न गराएको विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो कदम पीडितलाई न्यायमा पहुँच नदिने, न्यायप्राप्तिको प्रक्रियालाई ढिलाइ गर्ने, पीडितहरूलाई निराश बनाउने र दण्डहीनतालाई थप मजबूत बनाउने राज्यको षड्यन्त्रकारी कदम भएको आरोप विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संविधानतः अवैध रहेको भन्दै सर्वोच्च अदालतले निर्णय दिएको तथा जबर्जस्ती बेपत्ता पार्ने काममा संलग्न व्यक्तिहरूका लागि क्षमादानको अनुमति दिन नहुने अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड अनुकूल उक्त ऐनलाई संशोधन गर्न सरकारलाई आदेश दिएको विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।
२०७८ वैशाख १४ मा सर्वोच्च अदालतको पूर्ण इजलासले २०७१ को आदेशलाई पुनरावलोकन गर्न भन्दै नेपाल सरकारले दायर गरेको निवेदनलाई खारेज गरिदिएको थियो । यद्यपि अदालतको निर्णय कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा पारदर्शी र व्यापक परामर्श सहितको प्रक्रिया अपनाउन राज्य उदासीन रहेको सामुहिक विज्ञप्तिमा भनिएको छ ।
मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत विगतका मानव अधिकार उल्लंघनको अनुसन्धान गर्नका लागि विज्ञप्तिमा आह्वान गरिएको छ । मुलुकी फौजदारी संहिता लागू गरिएको तीन वर्षभन्दा बढी समय बितिसकेको छ तर त्यसले जबर्जस्ती बेपत्ता पार्ने कार्यलाई फौजदारी अपराधको रुपमा लिएर त्यस अपराधका लागि अधिकतम पाँच वर्षको कैद सजाय तोकेको छ ।
जवाफदेहिता निगरानी समिति (एडब्ल्यूसी), अलायन्स फर सोसल डायलग (एएसडी), नीलहीरा समाज नेपाल, सिभिल राइट््स एसोसिएसन नेपाल, द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल, द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल, सञ्चारिका समूहलगायत ५१ वटा राष्ट्रिय तथा ५ वटा अन्तराष्ट्रिय संघसंस्थाहरुले दिवसको अवसरमा समूहिक रुपमा विज्ञाप्ति मार्फत यस्तो माग गरेका हुन् ।
मकवानपुर । आज भाद्रकृष्ण अष्टमी । हिन्दुहरूका भगवान श्रीकृष्णकाे जन्मदिन । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।
श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्ण जन्माष्टमी’ काे दिन महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
पौराणिक ग्रन्थमा उल्लेखित कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पाइन्छ । महाभारत ग्रन्थ अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त विचारहरूकाे संग्रह ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको एक पवित्र ग्रन्थ मानिन्छ ।
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा सार्वजनिक विदा समेत दिएकाे छ ।

मकवानपुर । बालबालिका तथा किशोर किशोरकिशोरीहरुको लागि मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोचिकित्सा युनिट, सिविन नेपाल र बकैया गाउँपालिकाको संयुक्त आयोजनमा अभिमुखकिरण कार्यक्रम भएको हो ।
बालबालिका, किशोरकिशोरहरुमा कोभिड १९ को कारणले देखिएको समस्या तथा आत्महत्या गर्नेको संख्या बढिरहेकोले सन्दर्भमा अभिमुखकिरण कार्यक्रम गरएिको बालहेल्पलाइन जिल्ला संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए । अभिमुखिकरणमा कसरी बालबालिका तथा किशोरकिशोरीहरुलाई मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम विषयमा जानकारी तथा सचेतना जगाउन कार्यक्रम गरिएको बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन ।
बकैया गाउँपालिकाका १२ वडा वडाहरु मध्ये ८ वटा वडाका बाल क्लवका प्रतिनिधि, पालिकास्तरीय बालक्लव संजालका प्रतिनिधि, किशोरकिशोरी समुहका सदस्यहरु, महिला स्वयमसेविका, शिक्षक, बालमैत्री सहजकर्ता, जनप्रतिनिधि तथा सामाजिक विकास शाखा प्रमुख सहित ४३ जनाको सहभागिता रहेको संयोजक ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो ? मानिसमा मानसिक समस्या किन हुने गरेको छ र आत्महत्या किन भइरहेको छ भन्ने विषयमा कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. गुञ्जन धन्जु र चिकित्सा विद रामपुकार शाहले सहजीकरण गरेका थिए । कार्यक्रममा लागु पदार्थको सेवन, शारिरीक दण्ड सजाय, आर्थिक विपन्नता, यौनजन्य शोषण, असमझदारी, परिक्षाको नतिजा अपेक्षाकृत नहुनु, प्राकृतिक प्रकोप, बालविवाह, बालबालिका माथि विभेद तथा हिंसा आदि कारणले आत्महत्या बढिरहेको सहभागीहरुले बताएका थिए ।
‘मानिसहरुले विशेष गरि खानपान, निद्रा र दिनचर्या राम्रोसँग भएन भने मानसिक समस्या भएको हुन सक्छ’ डा. गञ्जन धन्जुले भने–‘त्यसको लागि मनोचिकित्सकसँग सम्पर्क गर्नु पर्छ ।’ पछिल्लो समयमा बालबालिकाहरु बोल्न शुरु गर्नु पर्ने उमेरमा राम्रोसँग नबोल्न, एकोहोरो हुने, छिटो रिसाउने, झर्किने आदि समस्या लिएर कान्ति बालअस्पतालमा आउने गरेको उनले बताए । उनका अनुसार ६ वर्ष उमेर मुनिका बालबालिकाहरुलाइ मोवाइल दिनै हुदैन र ६ देखि १२ बर्ष उमेरका बालबालिकाहरुलाइ दिनको १ घण्टा भन्दा बढि दिन नहुने बताए । खाना खुवाउँदा मोवाइल देखाएर खुवाउने बानीले बालबालिकाहरुले खानाको स्वाद नपाउने, मोवाइलको लत बस्ने, दोहोरो संवादमा समस्या हुने आदि समस्या देखिने बताए ।
कार्यक्रममा सहभागीहरुले किशोरकिशोरीहरुका समस्या, आत्महत्याका कारण, कोभिड १९ ले बालबालिका तथा किशोरकिशोरी माथि पारेको प्रत्यक्ष असर र समाधानको लागि आफ्नो भावना साटासाट गर्ने, खानापानमा ध्यान दिने, नियमित शारिरीक ब्यायम गर्ने, आफुलाइ सधै ब्यस्त राख्ने आदि विषयमा छलफल गरेका थिए ।
मकवानपुर । मकवानपुर प्रहरपीले ४ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बैङकिङ कसुर, बन मुद्दा, चेक अनादर र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उच्च अदालत पाटन हेटौडा इजलासको फैसलाले बैङकिङ कसुर मुद्धामा १० दिन कैद र ४ लाख १८ हजार २ सय ५० पचास रूपैया जरिवाना ताेकिएका फरार प्रतिवादी जिल्ला मकवानपुर राक्सिराङ ५ का कौशिमाया स्याङतानलाई पक्राउ गरिएकाे हाे । ईलाका प्रहरी कार्यालय
मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै १३ गते राक्सिराङ ५ बाट स्याङतानलार्इ पक्राउ गरी कैद र जरिवाना भुक्तानको लागि अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालत हेटौडा र उच्च अदालत पाटन हेटौडा इजलासको फैसलाले वन मुद्दामा ३ लाख ५७ हजार ६ सय ४० जरिवाना तोकिएका फरार प्रतिवादी बकैया ६ बस्ने गंगा लामालाई पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै १२ गते हेटाैडा ५ बाट लामालाई पक्राउ गरी उक्त जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको प्रवक्ता रिमालले बताए ।
यस्तै मकवानपुर जिल्ला अदालत हेटौडाको फैसलाले चेक अनादर मुद्धामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी बकैया ३ बस्ने शिव बाहादुर खुलाललाई पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खुलाललाई भदाै १३ गते बकैया ३ बाट पक्राउ गरी उक्त जरिवाना भुक्तानको लागि सम्मानित मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको रिमालले जानकारी दिए ।
यसैगरी चितवन जिल्ला अदालतको फैसलाले सवारी ज्यान मुद्धामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी हेटाैडा ७ बस्ने दशरथ अर्याललाई जिल्ला प्रहरी पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले अर्याललाई भदाै १३ गते हेटाैडा ७ बाट पक्राउ गरी उक्त जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोकाेले मनसुनी गतिविधि नराेकिएकाले आइतबार र साेमबार भारी बर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अहिले मकवानपुर सहित बागमती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा वर्षा भईरहेको छ। निरन्तर वर्षाकाे कारण तराइका क्षेत्र डुवानमा परेकाे छन् भने पहाडी क्षेत्रका ठाँउ ठाँउमा पहिराे गइ सडक अवरूद्ध भएकाे छ ।
देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै सबै प्रदेशका थोरै- थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले छ । तराइका क्षेत्रमा डुबान हुने तथा पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान
भाद्र १३ गते आइतबार देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशकामा मेघ गर्जन/चट्याङ्ग सहित भारी सम्भावना रहेको छ।
भाद्र १४ गते सोमबार देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी सम्भावना रहेको छ।
भाद्र १५ गते मंगलबार देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।