मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे क्याम्पडाँडा नजिक कारले मोटरसाईकललाई ठक्कर दिँदा १ जना घाईते भएका छन् ।
शनिबार राति हेटौंडाबाट चौघडा तर्फ गईरहेको बा १९ च ५९६९ नंबरको कारले विपरित दिशाबाट आईरहेको प्र.३-०३-००१प ४९३८ नंबरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाईकल चालक मकवानपुरगढी गाउँपालिकाका ३८ वर्षीय छबिलाल पुडासैनी घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
घाईते पुडासैनीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको र पुडासैनीको दुबै खुट्टामा गम्भिर चोट लागेको छ मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर /बचत तथा ऋण सहकारीलाई पैसाको व्यापार गर्ने संस्था भन्ने आरोप लाग्न थालेकोले सहकारीहरूले आफ्नो पारदर्शितामा अधिकतम ध्यान दिनुपर्ने प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा सहकारी अभियन्ता नारायणप्रसाद देवकोटाले बताएका छन् । शनिबार हेटौंडामा आयोजित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि को १५ औ बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
सहकारी अभियानमा आवद्ध सहकारीले लघु बिक्त क्षेत्रमा काम गर्नुपर्ने उपाध्यक्ष देवकोटाले बताए । ग्रामीण कृषि क्षेत्रमा धेरै भन्दा धेरै लगानी गरेमात्रै सहकारीको भबिष्य सहज भएको उनले बताए । सहकारीको नीति र बिधिलाई पछ्याउन लेखा समिति सबैभन्दा चुस्त रहनु पर्ने उनले बताए । सहकारी, निजि र सरकारी एकाकार नभएसम्म समृद्ध नेपाल संभव नभएको बताउँदै उपाध्यक्ष देवकाेटाले भने ‘सरकारले तीन खम्बे नीति लिएको छ तर सहकारीलाई बेवास्ता गर्दै आएको छ, याे सह्य विषय हैन ।’ ‘अब सहकारीले सरकार खोज्दै जाने हैन, सरकारले सहकारी खोज आउने गरी हामी बलियाे हुनुपर्छ’ उपाध्यक्ष देवकोटाले भने ।

कार्यक्रममा मकवानपुर जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठले सहकारीहरूले शेयर सदस्यहरूको विचारलाई मनन गर्दै अगाडि बढ्ने हो भने कम्तिमा १५ दिन अगावै प्रतिवेदन दिनुपर्ने र भेलाबाट सुझाव लिनुपर्ने बताइन् । राज्यले सहकारीको लागि दिने सहुलियत सहकारी भन्दा बाहिरको व्यक्ति तथा संस्थाले लिदै आएको गुनासो उनले गरिन । कर्जा सूचना केन्द्र र दृष्टि बन्धकमा लाग्दै आएको शुल्क खारेजी गर्न सहकारी बोर्डले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

साधारणसभामा कृषि विकास बैंकका प्रबन्धक तथा हातेमालो सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष नुरप्रसाद गौतमले सहकारीहरू आशा लाग्दो र भरपर्दो बन्नुपर्ने बताए । यसको लागि कर्मचारी र सन्चालकहरू सधै सचेत हुनुपर्ने गौतमले बताए । आर्थिक गतिविधि दरिलो नभएसम्म शेयर सदस्यहरूको हित गर्न नसकिने भएकोले अझै चुस्त र पारदर्शी काम गर्न उनले आग्रह गरे ।
कोरोना महामारीको कारण सहकारीको कारोबारमा धक्का लागेको हातेमालो बचत तथा ऋण सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलले बताए । यद्यपि सहकारीले कोभिडको बेलामा कोभिड प्रभावित शेयर सदस्यलाई व्यवसाय सन्चालनको लागि प्रोत्साहन गरिएको पौडेलले बताए ।
सहकारीले शेयर सदस्यहरूलाई सुत्केरी पौष्टिक आहार खर्च स्वरुप एक हजार पांचसय रुपियाँ सुबिधा प्रदान गर्दै आएको छ ।

सहकारीले यसबर्ष ज्येष्ठ सदस्य तर्फ रामप्रसाद दाहाल र शुभमाया बिश्वकर्मा, नियमित तथा उत्कृष्ट बचतकर्ता तर्फ समिता ढुङ्गाना र बिष्णुप्रसाद दाहाल, नियमित तथा असल ऋणतर्फ तारादेवी बिष्ट र राजेन्द्रकुमार घिमिरे, उत्कृष्ट कर्मचारी तर्फ पुष्प दाहाललाई पुरस्कृत तथा सम्मानित गरेको सचीव केशवप्रसाद घितालले बताए ।

सहकारीले आगामी दिनमा सामाजिक उत्तरदायीत्व बहन गर्दै कम्तिमा २ वटा सामाजिक कार्यक्रम गर्ने तयारी गरेको पौडेलले बताए । हाल २ हजार १ सय ३५ जना शेयर सदस्यहरू आवद्ध रहेको सहकारीमा ४९ करोड २२ लाख ४३ हजार कारोबार रहेको छ । सस्थाले आगामी बर्षको लागि ६० करोड ३७ लाख कारोबारको लक्ष्य राखेको कोषाध्यक्ष सिताराम दाहालले बताए । सहकारीमा तीन कार्यकालसम्म सन्चालक समिति सदस्य रहेर योगदान गरे बापत बकैयाका चन्द्र कुमार राईलाई पनि सम्मान गरिएको थियो ।

मकवानपुर / हेटौंडा उपमहानगरपालिका -५ को ढुङ्गेधारालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चासो देखाईएको छ ।
मकवानपुरको धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको यो क्षेत्रमा खासै चर्चामा नरहेपछी स्थानीय तहले यस्तो चासो प्रकट गरेको हो । अब यहाँ रहेको ढुङ्गे धाराको महत्त्व तथा दुर्गा देवीको दरबारको रुपमा विकास गरिने भएको छ ।
ढुङ्गेधारा पर्यटन विकास मन्चको अध्यक्ष इश्वर ढुङ्गानाले जिल्लाको नयाँ पर्यटकीय क्षेत्रको पहिचानसहित, हरेक उमेर समुहको लागि बस्ने, हिड्डुल गर्ने पार्क, ठुलो शिवको मुर्तीलगायत भौतिक संरचना निर्माण गरिने बताए ।
अहिले ढुङ्गेधारा पर्यटकको गन्तब्य भएको भन्दै अध्यक्ष ढुङ्गानाले देश बिदेसबाट पनि भक्तजन, पर्यटक आउने संरचना बनाइने बताए । हेटौंडा-५ नम्बर वडा कार्यलयको सहयोगमा मन्दिरको पर्खाल, सिँढी निर्माण लगायतको काम भइरहेको छ ।
सनिबार ढुङ्गेधारा पर्यटन विकास मन्चको आयोजनामा भएको बडादशैं, दीपावलि, नेपाल सम्बत तथा छ्ट पर्बको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पर्यटकीय क्षेत्रको विकासमा उपमहानगरले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रम हेटौंडा -५ का वडा अध्यक्ष राजेश बानियाँले वडा कार्यालयको तर्फबाट पनि सकेको सहयोग गर्ने बताए । कार्यक्रममा ढुङ्गेधाराको विकासको लागि स्थानीयस्तरबाटै सहयोग जुटेको अध्यक्ष ढुङ्गानाले बताए । नेपाली कांग्रेस हेटौडा ५ कमिटीका कमल राईले सात हजार सात सय रुपैयाँ, भुतपुर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुधिर थापाले १५ हजार रुपैयाँ र शिव थापाले चार हजार एक सय रुपैयाँ ढुङ्गेधारा पर्यटन विकास मन्चलाई सहयोग गरेका थिए ।
मकवानपुर । गतवर्ष भएको मकवानपुर गोल्डकप तेस्रो संस्करणकाे आय व्यय विवरण सार्वजनिक गरिएकाे छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएकाे स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिता (मकवानपुर गाेल्डकप)-२०७७ मा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।
संघले पत्रकार सम्मेलन गरी जिल्लामा रहेको १० वटै पालिका, विभिन्न व्यक्ति तथा संस्था र टिकटबाट ८१ लाख ३७ हजार ६ सय ९२ रुपैयाँ आम्दानी गरेको जनाएकाे छ । जसमध्य ६९ लाख ७७ हजार ९ सय २६ रुपैयाँ खर्च भएकाे र ११ लाख ५९ हजार ७ सय ६६ रुपैयाँ बचत गरेको संघले जनाएको छ ।
देशका चर्चित १० टिमको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब प्रथम हुँदै नगद र रनिङशिल्ड प्राप्त गर्दा आयोजक मकवानपुर-११ उपविजेता बनेको थियो। प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल खेलाडी अमिर श्रेष्ठलाई बुलेट बाइक उपहार प्रदान गरिएको थियो। प्रतियोगिता गत वर्ष फागुन २७ देखी चैत ७ सम्म प्रतियोगितामा भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष टिकाराम लामा, महासचिव युनाल मल्ल, सहिद स्मृति गोल्डकप प्रतियोगिताका संयोजक प्रताप विष्ट, संघका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
मकवानपुर । प्रहरी दिवस २०७८ काे अवसरमा हेटाैंडामा रक्तदान गरिएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा ६६ औं प्रहरी दिवस २०७८ अवसर पारी रक्तदान कार्यक्रम गरिएकाे हाे ।
असाेज १५ गते विहीबार नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।
नेपाल प्रहरी स्थापनाको अवसर पारी हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले समेत बिभिन्न कार्यक्रमहरु आयाेजना गरदै आएकाे छ । प्रहरी दिवसकै अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौंडाले खेलकुदका विभिन्न गतिविधि, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
आगामी असोज २० गते ६६ औं प्रहरी दिवस २०७८ मनाईदै छ ।
