मकवानपुर । गतवर्ष भएको मकवानपुर गोल्डकप तेस्रो संस्करणकाे आय व्यय विवरण सार्वजनिक गरिएकाे छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएकाे स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिता (मकवानपुर गाेल्डकप)-२०७७ मा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।
संघले पत्रकार सम्मेलन गरी जिल्लामा रहेको १० वटै पालिका, विभिन्न व्यक्ति तथा संस्था र टिकटबाट ८१ लाख ३७ हजार ६ सय ९२ रुपैयाँ आम्दानी गरेको जनाएकाे छ । जसमध्य ६९ लाख ७७ हजार ९ सय २६ रुपैयाँ खर्च भएकाे र ११ लाख ५९ हजार ७ सय ६६ रुपैयाँ बचत गरेको संघले जनाएको छ ।
देशका चर्चित १० टिमको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब प्रथम हुँदै नगद र रनिङशिल्ड प्राप्त गर्दा आयोजक मकवानपुर-११ उपविजेता बनेको थियो। प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल खेलाडी अमिर श्रेष्ठलाई बुलेट बाइक उपहार प्रदान गरिएको थियो। प्रतियोगिता गत वर्ष फागुन २७ देखी चैत ७ सम्म प्रतियोगितामा भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष टिकाराम लामा, महासचिव युनाल मल्ल, सहिद स्मृति गोल्डकप प्रतियोगिताका संयोजक प्रताप विष्ट, संघका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

