मकवानपुर । हेटाैडा भेट्रान्स कप फुटबलमा एबीसी भेट्रान्स पोखरा र जोरपाटी भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेका छन् । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा जारी सातौं हेटौंडा भेट्रान्सकप फुटबल प्रतियोगिता अन्तर्गत विहीबार भएको क्वाटरफाइनल तर्फको खेलहरुमा जीत हात पार्दै दुबै टिमले सेमिफाइनलको यात्रा सुनिश्चित गरेका हुन् ।
हेटौंडा भेट्रान्स क्लबको आयोजना भएकाे ‘८ ए’ साइड राष्ट्रिय रनिङशिल्ड हेटौंडा भेट्रान्सकप फुटबल प्रतियोगितामा विहीबार भएको पहिलो खेलमा चितवन राष्ट्रिय भेट्रान्स क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एबीसी भेट्रान्सले सानदार जीत हात पारेको छ । उक्त खेलको म्यान अफ दि म्याच २ गोल गर्न सफल एबीसी भेट्रान्सका विजय गुरुङ भए । यस्तै दोस्रो खेलमा बिहानी फरेष्ट्री भेट्रान्स हेटौंडालाई ३–१ गोलअन्तरले पराजित गर्दै जोरपाटी भेट्रान्स पनि सेमिफाइनलमा छिरेको छ । खेलका म्यान अफ दि म्याच जोरपाटीका गोलरक्षक सुनिल लामा घोषित भए ।
यसैगरी विहीबार भएको तेस्रो खेलमा नागस्वती भेट्रान्स हेटौंडा–७ ले बालिङ भेट्रान्स स्याङ्जाबिरुद्ध १–० को कठिन जीत हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलका म्यान अफ दि म्याच नागस्वतीका मिलन राई भए । प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलतर्फ बाँकी रहेको १ खेल र सेमिफाइनलका २ खेल हुनेछन् । क्वाटरफाइनलतर्फ नागस्वतीले बगरभाई खलक ए पोखराको सामना गर्नेछ भने उक्त खेलको विजेताले सेमिफाइनलको दोस्रो खेलमा जोरपाटी भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै पहिलो सेमिफाइनलमा एबीसी भेट्रान्स र बानेश्वर भेट्रान्सबिच खेल हुने आयोजकले जनाएको छ ।
नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको प्रतियोगिता पौष ३ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।
मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले प्रशोधित पिउने पानीको गुणस्तर तथा स्वच्छता अभिबृदिको लागि व्यवसायीहरूसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
चितवन र मकवानपुरका पानी व्यवसायीहरूको उपस्थितीमा कार्यालयका प्रमुख वरिष्ठ अनुसन्धान अधिकृत छितिज श्रेष्ठले उद्योगहरूले अनिवार्य लागू गर्नुपर्ने कानुनी सर्त तथा निर्देशकाले जारी गरेको अनिवार्य सर्तका बिषयहरूको बारेमा जानकारी गराएका थिए ।
उद्योग सन्चालनार्थ उद्योगीले पालना गर्नुपर्ने निर्देशिका व्यवहारत: नभएको प्रमुख श्रेष्ठले बताए । निर्देशिका अनुसार उद्योगमा भौतिक संरचना नहुनु, उद्योगमा निजि ल्याबको व्यवस्थापन हुन नसक्नु जस्ता चुनौती रहेको उनले बताए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च बागमती अध्यक्ष बासु खतिवडा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काठमाडौको खाद्य अनुसन्धान अधिकृत रोजिना श्रेष्ठ, खाद्य अनुसन्धान अधिकृत श्रद्धा खनाललगायतको उपस्थिति थियो ।
पानीको बोटल र जारको बिर्कोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनिवार्य लगाउने भनेको सिल अझै व्यवहारमा लागू नभएको श्रेष्ठले बताए । कार्यक्रममा मकवानपुरका ६ वटा पानी उद्योग र चितवनका ५ वटा उद्योगको सन्चालकहरू तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
मकवानपुर । हेटौंडामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा बुधबारकाे खेलबाट ४ टिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा-५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा बुधबारकाे खेलबाट वालिङ, एबीसी भेट्रान्स, बगर भाईखलक पोखरा र बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।
बुधबारको पहिलो खेलमा वालिङले बुटबल भेट्रान्सलाई २-० ले हराएकाे थियाे । वालिङको तर्फबाट कैलाश राईले १३ औं र शंकर केसीले २७ औं मिनेटमा गोल गरेका थिए । यस्तै दोस्रो खेलमा एबीसी पोखराले बगर भाईखलक पोखरा ‘बी’ लाई २-१ गोलले हराएको छ । एबीसीको तर्फबाट हरि खड्काले चौथो मिनेटमा र सञ्जय गुरुङले ३२ औं मिनेटमा गोल गरेका थिए । बगर भाईखलकको तर्फबाट राजकुमार घिसिङले ३० औं मिनेटमा गोल गरेका थिए ।
यसै गरी बुधबार भएको तेस्रो खेलमा आयोजक हेटौंडा भेट्रान्स रातो टिमलाई टाइब्रेकरमा निराश बनाउँदै बगर भाईखलक पोखरा ‘ए’ विजयी बन्यो । निर्धारित समयमा दुवै टिमको तर्फबाट दुई-दुई गोल भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा हेटौंडाको तर्फबाट बलबहादुर गुरुङले ३५ र ४० औं मिनेटमा गोल गरेका थिए भने बगर भाईखलकको तर्फबाट ३० र ४३ मिनेटमा बीरबहादुर गुरुङले गोल गरेका थिए ।
यस्तै बुधबार भएको अन्तिम खेलमा हेटौंडा भेट्रान्सलाई ३-१ गोलले हराउँदै बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बानेश्वरको तर्फबाट सुमन शर्मा घिमिरेले ११ र २४ औं मिनेटमा गोल गरेका थिए भने उदय श्रेष्ठले २२ औं मिनेटमा गोल गरेका थिए । हेटौंडाको तर्फबाट सुरेश बानियाँले ४३ औं मिनेटमा एक गोल फर्काएका थिए ।
पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १९ को दारिमटारमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाईते भएका छन् ।
बुधबार बिहान हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ०३-००१ ख १८४९ नंबरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ४९ प ८२५२ नंबरको मोटरसाइकललाई हेटौंडा १९ को दारिमटारमा ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुर बहादुर थापा घाइते भएका छन् । उनलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल पठाइएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । प्रहरीका अनुसार ठक्कर दिने टिपर चालक फरार रहेका छन् ।
यसै गरी मकवानपुरको भैसेमा सुमो आफै अनिन्त्रित हुँदा दुर्घटना भएको छ । बुधबार बिहान हेटौंडा–काठमाडाै जोड्ने छाटो दुरीको मार्ग अन्तर्गत भीमफेदी-२ भैसेमा काठमाडौबाट हेटौंडा आउँदै गरेको ना १ ज २८९१ नंबरको सुमो आफै अनिन्त्रित भई दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता दासले जानकारी दिए । सुमोमा चालक सहित ४ जना सवार रहेकोमा सामान्य चोटपटक लागेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशमा मंगलबार थपिएका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले साँझ पद र गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाललाई सपथ गराएका हुन् ।
त्यसैगरी कृषि तथा पशुन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङलाई मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख शर्माकाे उपस्थितिमा सपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेशमा ११ मन्त्री र १ राज्यमन्त्री भएका छन् । मंगलबार थपिएका मन्त्रीहरु क्रमश खड्का, दाहाल र ढकाल नेकपा माओवादी केन्द्रका हुन् भने नेकपा एकीकृत समाजवादीबाट हुँमागाई र मानन्धर मन्त्री र गुरुङ् राज्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डे नियुक्त हुँदा पहिलाे चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री नियुक्त भएका थिए ।
यस्तै, दोस्रो पटक मन्त्रिपरिषद् विस्तारमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । बागमतीमा गत मंसिर १५ गतेको मन्त्रीपरिषद् निर्णयबाट मन्त्रालयकाे संख्या ८ बाट बढाएर १४ पुर्याइएको थियाे ।
