मकवानपुर । सुर्य पूजा गरि मनाइने छट पर्व आजबाट औपचारिक रुपमा सुरु भएको छ । आज सांझ अस्ताउंदो सूर्यलाई जल चढाएर पूजा सुरु हुनेछ ।
मकवानपुरको हेटौंडा १ स्थित राप्ती तटमा छट पूजाको लागि तयारी गरिएको छ । घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको आयोजकले जनाएको छ । संयुक्त मधेशी सेवा सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार नदी किनारमा व्रतालु बस्न मिल्ने गरी धमाधम टेन्ट निर्माण भइरहेको छ भने पूजा गर्ने ठाउँमा सरसफाइ सम्याउने काम गरिएको हो ।
हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती, नदी छिर्न मूल गेट, सहायक गेट समेत निर्माण गरिएको छ । मकवानपुरमा प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या बढ्दै गएको छ । विशेषतः मधेशी समुदायले मनाउने छठ पर्व मकवानपुरमा पहाडी समुदायले पनि मनाउन थालेका छन् । छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबिचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ ।
यस वर्ष हेटौँडाको राप्तीतटमा ६२ हजार भक्तजन आउने आयोजकको अनुमान छ । सामूहिक रूपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पण्डाल तयार भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए । छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको जोहो पनि गर्न सुरु गरिसकेका छन् ।
कात्तिक ८ गतेबाट छठको पहिलो दिन व्रतालु नहाय खाय गरी छठ आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर व्रत समाप्त हुने पूजा समापन हुने छठ पूजा समारोह २०८२ का संयोजक रविरंजन कुमार कलवारले जानकारी दिए । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ ।
मकवानपुर । आज तिहारको मुख्य दिन अर्थात भाई टीका । आज टीकाको उत्तम साइत ११ः३९ बजे रहेको छ । यस शुभ साइतमा दाजूभाइहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजूभाइहरूलाई टीका लगाई शुभाशिष दिई शुभ सगून ख्वाउनु उत्तम हुन्छ ।
काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरियो आजको पालो दाजुभाईको पूजा गर्ने । स्वागत छ दाजूबहिनी, दिदिभाइहरूको आत्मिय चाड ’भातृद्वितिया’ अर्थात् ’भाईटिका’मा ।
यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज “भाइटिका“ । विहान सबेरैदेखि घरघरमा चहलपहल शुरुभइसक्यो होला, दिदीबहिनीहरु दाजूभाइलाई टीका लगाउन माईती जाने गर्छन्,भने कतिपय दाजुभाई आउने प्रतिक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो मिलाउँदै हुनुन्छ ।
सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ । एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ ।
ति चेलीले यमदूतलाई टीकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टीकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुसीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टीका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टीका लगाउन र पुज्न पाँउ भन्ने मागेपछी भाइटीका अर्थातको चलन चलिआएको किंवदन्ति छ ।
काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक्य सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो’, उनले भने ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।
अनलाईन खबरबाट
मकवानपुर । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक (तिहारको पाँचौ दिन) अन्तरगत आज गाईको पूजा गरिदै छ । गाईको पूजा गरेर मीठो खानेकुरा खान दिएर यो पर्व मनाइन्छ ।
पञ्चाङ्ग अनुसार आजै गोरु पूजा तथा साँझ लक्ष्मी पूजाकाे समेत तिथि रहेकाे छ । कतिपयले भने हिजो मंगलबार नै लक्ष्मी पूजा गरिसकेका छन् ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ .
गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।
आज म्हः पूजा
कात्तिक शुक्ल प्रतिपदाका दिन आजै नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।
अनलाइनखबरबाट
चितवन । चितवनको अग्रणी साहित्य सस्था कविडाँडा साहित्य समाजले कविडाँडा आख्यान पुरस्कार २०८१, तीर्थ गुरुङको ‘हिउँको गीत’ नामक कृतिलाई प्रदान गरेकाे छ । गुरुङद्वारा लिखित यो उपन्यासले सात सय वर्षअघिदेखि गुरुङ समाजको सामाजिक यथार्थलाई चित्रण गरेको छ ।
यसले राजनीतिक विषयलाई मात्र नभई सांस्कृतिक पक्षलाई समेत सशक्त रुपमा समेटेको छ। उक्त कृतिलाई पद्मश्री पुरस्कारको सूचिमा समेत सूचीबद्ध गरिएको थियो । जसले यसको साहित्यिक मर्मलाई थप पुष्टि गरेको छ । शनिबार एक कार्यक्रमका विच उक्त पुरस्कार प्रदान गरिएकाे हाे ।
यसैगरी आगामी वर्षदेखि प्रदान गर्ने गरि “कविडाँडा प्रतिभा पुरस्कार” समेत घोषणा गरिएकाे छ । लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको सस्थाले नेपाली साहित्यको प्रवर्द्धन र प्रोत्साहनका लागि उक्त पुरस्कारको घोषणा गरेको हो । कविडाँडा आख्यान पुरस्कार अर्पण समारोहमा समाजका अध्यक्ष एलबी क्षेत्रीले आगामी वर्षदेखि कविडाँडा प्रतिभा पुरस्कार वितरण गरिने घोषणा गरेका हुन् ।
उनका अनुसार उक्त पुरस्कारको राशी १ लाख ५० हजार रुपैयाँ रहने छ । यसअघि समाजले एक लाख २५ हजार रुपैयाँको कविडाँडा आख्यान पुरस्कार प्रदान गर्दै आएको थियो । यस वर्षैदेखि अझ वृद्धि गरी एक लाख पचास हजार रुपैयाँ पुर्याइएको छ। आगामी वर्षदेखि दुबै पुरस्कार एकसाथ घोषणा हुने र अर्पण गरिने संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिए।
२०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले २०७५ सालदेखिदेखि निरन्तर रुपमा वर्षभरि प्रकाशित उत्कृष्ट आख्यानलाई सम्मान गर्दै आएको छ। पुरस्कारको राशी मीना लामिछाने ट्रस्टले उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिए । सामाजिक, सांस्कृतिक र साहित्यिक उत्तरदायित्वहरुमा सक्रिय यो संस्था समय-समयमा विभिन्न साहित्यिक कार्यक्रम र पुरस्कारमार्फत नेपाली साहित्य समाजमा आफ्नो विशेष पहिचान बनाउँदै आएकाे छ।
आगामी वर्षदेखि अर्पण गरिने कविडाँडा प्रतिभा पुरस्कारले साहित्यिक प्रतिभालाई प्रोत्साहन दिने मात्र नभई नेपाली साहित्यको समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष क्षेत्री बताउँछन् । राष्ट्रियस्तरमा स्थापित यो पुरस्कारले आगामी पुस्ताको सृजनात्मक प्रवृत्ति बढाउन योगदान पुर्याउने छ । यसले नेपाली साहित्य क्षेत्रमा नयाँ ऊर्जा थप्दै साहित्यको विकास र संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने अनुमान छ ।
साहित्य जगतमा आफ्नो विशिष्ट योगदानका दिदै आएको कविडाँडा साहित्य समाजले यस अघि पनि नेपाली आख्यान र कविता लेखनलाई प्रोत्साहन गर्दै आइरहेको छ । आगामी दिनमा यस पुरस्कारले पनि साहित्यमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त अध्यक्ष क्षेत्री गर्छन् । कविडाँडा प्रतिभा पुरस्कार नेपाली साहित्य प्रेमीहरुका लागि उत्साहजनक, प्रेरणादायी र समग्र साहित्यिक परिदृश्यलाई अझ उज्जवल बनाउने आशा गरिएको छ ।