मकवानपुर । सुर्य पूजा गरि मनाइने छट पर्व आजबाट औपचारिक रुपमा सुरु भएको छ । आज सांझ अस्ताउंदो सूर्यलाई जल चढाएर पूजा सुरु हुनेछ ।
मकवानपुरको हेटौंडा १ स्थित राप्ती तटमा छट पूजाको लागि तयारी गरिएको छ । घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको आयोजकले जनाएको छ । संयुक्त मधेशी सेवा सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार नदी किनारमा व्रतालु बस्न मिल्ने गरी धमाधम टेन्ट निर्माण भइरहेको छ भने पूजा गर्ने ठाउँमा सरसफाइ सम्याउने काम गरिएको हो ।
हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती, नदी छिर्न मूल गेट, सहायक गेट समेत निर्माण गरिएको छ । मकवानपुरमा प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या बढ्दै गएको छ । विशेषतः मधेशी समुदायले मनाउने छठ पर्व मकवानपुरमा पहाडी समुदायले पनि मनाउन थालेका छन् । छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबिचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ ।
यस वर्ष हेटौँडाको राप्तीतटमा ६२ हजार भक्तजन आउने आयोजकको अनुमान छ । सामूहिक रूपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पण्डाल तयार भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए । छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको जोहो पनि गर्न सुरु गरिसकेका छन् ।
कात्तिक ८ गतेबाट छठको पहिलो दिन व्रतालु नहाय खाय गरी छठ आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर व्रत समाप्त हुने पूजा समापन हुने छठ पूजा समारोह २०८२ का संयोजक रविरंजन कुमार कलवारले जानकारी दिए । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ ।

