मकवानपुर । गत २३ र २४ भदौकाे जेनजी आन्दोलनका क्रममा मकवानपुरमा २१ सरकारी कार्यालयहरूमा क्षति पुगेको छ । यसैगरी जिल्लामा १ सय ३४ वटा सवारी साधन जलेर नष्ट भएकाे तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा १३ वटा जिल्लास्थित संघीय कार्यालय, ८ वटा प्रदेश अन्तर्गतका जिल्ला कार्यालय र २ वटा सार्वजनिक संस्थानमा तोडफोड तथा आगजनी भएको छ । जिल्लाका कुल १३ वटा सङ्घीय कार्यालयका भवनमा क्षति पुग्दा ४ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने प्रदेशका ६ कार्यालयमा क्षति पुग्दा २ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । आन्दोलनले २ वटा सार्वजनिक संस्थानका भवनमा पनि क्षति पुर्याउँदा ४ करोड ७३ लाख ९ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
जिल्लामा रहेका १८ वटा संघीय कार्यालय, ६ वटा प्रदेश कार्यालय र एउटा सार्वजनिक संस्थानका गरी २५ कार्यालयको १ सय ३४ वटा सवारी साधनहरू जलाएर नष्ट गरिएकाे कार्यालयको विवरणमा उल्लेख छ । उक्त १३४ वटा सवारी साधनमा क्षति पुग्दा ४ करोड ८३ लाख ८४ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक विवरण रहेको छ ।
जिल्लाका ५ वटा सरकारी कार्यालयका भवनमा सामान्य, १४ वटा आंशिक र २ वटामा पूर्ण क्षति पुगेकाे छ । सरकारी भवनमा क्षति पुग्दा समग्रमा १२ करोड ४२ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुर । मकवानपुरको मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठकाे मृत्यु भएकाे हाे ।
बुलेटकाे ठक्करबाट केदारकी श्रीमति २८ वर्षीया सरस्वती श्रेष्ठ घाइते भएकाेमा उनकाे अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सरस्वतीको भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनु्सार स्कुटरमै सवार केदार र सरस्वतीका छोरा २ वर्षीय प्रविन श्रेष्ठ पनि घाइते भएका छन् । उनकाे पनि एलाईभ अस्पतालमा उपचार भइरहेकाे तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ग्यास बुलेट र ग्यास बुलेट चालक भारतको बिहार राज्यका ५५ वर्षीय मोहमद मतिन नियन्त्रणमा लिइएकाे प्रहरीले जानकारी दिएको छ ।
अन्नपूर्ण हिमालकाे आधार शिविर (दक्षिण ४१३० मिटर) एउटा अवस्मरणीय पदयात्रा गर्न सकिने स्थान हाे । सिजनकाे समयमा दैनिक ४०० देखि ५०० जना आधार शिविर पुग्ने गरेका छन् । कास्कीकाे अन्नपूर्ण गाउँपालिकाकाे वडा नम्बर ११ घान्द्रुककाे अधिकांस भाग यो क्षेत्रमा परेकाे छ । झिंनुडाडा (१७५० मिटर) बाट सुरु हुने पदयात्रामा छोमरोङ, तल्लो सिनुवा, माथिल्लो सिनुवा, बम्बाे (bamboo), दोभान, माथिल्लो दोभान, हिमालय, देउराली (३२०० मिटर), माछापुच्छ्रे बेश क्याम्प (३७०० मिटर) हुँदै अन्नपूर्ण बेश क्याम्प (४१३० मिटर ) पुग्न सकिन्छ । पदयात्राकाे सुरुदेखि नै माछापुच्छ्रे हिमाल (६९०० मिटर) र अन्नपूर्ण हिमाल (८०९१ मिटर) लाई अबलोकन गर्दै जान सकिन्छ भने यात्रामा हिमालबाट बगेकाे खोला, झरना,जङ्गलको प्राकृतिक आनन्द भरपुर लिदै गर्न सकिने छ ।
पचहत्तर वर्षअघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोग सँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे सँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।
फोटो फिचरः

मकवानपुर । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ। मन्त्रालयले आइतबार मकवानपुर सहितका ३६ प्रमुख जिल्ला अधिधकारीहरुकाे सरुवा गरेकाे हाे ।
मन्त्रालयले केही जिल्लामा नयाँ सीडिओको जिम्मेवारी तोकिएको छ भने केहीलाई एक जिल्लाबाट अर्काे जिल्लामा पठाइएको छ। मकवानपुरका सिडिओ स्किम श्रेष्ठकाे सिन्धुली जिल्लामा सरुवा भएकाे छ । यसैगरी मकवानपुरकाे सिडिओमा सिराहाबाट वसन्त अधिकारी आउने भएका छन् । श्रेष्ठले १५ फागुन २०८१ बाट मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी थिइन् ।



मकवानपुर । मकवानपुरकाे हेटौंडामा २ जना कविलाई सम्मान गरिएकाे छ । शनिबार बागलुङका कवि भूपिन र काठमाडौंका कवि तथा समालोचक डा.विन्दु शर्मालाई एकै मञ्चमा सम्मान गरिएको हो ।
साहित्य सङ्गम मकवानपुरको शनिबार भएकाे ३६० औँ साहित्य सन्ध्यामा “डम्बर पूर्णमाया स्मृति कविता सम्मान” २०८० बाट बागलुङका कवि भूपिन र २०८१ बाट काठमाडौका कवि शर्मालाई सम्मानित भएका हुन् । कवि जेनन नेपाल संस्थापक रहेकाे उक्त सम्मानकाे राशी जनही २२ हजार २२२ रुपियाँ रहेकाे छ । कार्यक्रममा पुरस्कार संस्थापक नेपालकाे विशेष कविता वाचन समेच गरेका थिए ।
उक्त अवसरमा ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रहकाे गृह विमोचन तथा परिचर्चा समेत गरिएको छ । हेटौंडा–११ निवासी नियात्राकार राजाराम बर्तौलाको उक्त नियात्रा संग्रहकाे गृह विमोचन गरिएको छ । संगम अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा साहित्यकार डा. निमेश निखिलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।