मकवानपुर । गत २३ र २४ भदौकाे जेनजी आन्दोलनका क्रममा मकवानपुरमा २१ सरकारी कार्यालयहरूमा क्षति पुगेको छ । यसैगरी जिल्लामा १ सय ३४ वटा सवारी साधन जलेर नष्ट भएकाे तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा १३ वटा जिल्लास्थित संघीय कार्यालय, ८ वटा प्रदेश अन्तर्गतका जिल्ला कार्यालय र २ वटा सार्वजनिक संस्थानमा तोडफोड तथा आगजनी भएको छ । जिल्लाका कुल १३ वटा सङ्घीय कार्यालयका भवनमा क्षति पुग्दा ४ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने प्रदेशका ६ कार्यालयमा क्षति पुग्दा २ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । आन्दोलनले २ वटा सार्वजनिक संस्थानका भवनमा पनि क्षति पुर्याउँदा ४ करोड ७३ लाख ९ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
जिल्लामा रहेका १८ वटा संघीय कार्यालय, ६ वटा प्रदेश कार्यालय र एउटा सार्वजनिक संस्थानका गरी २५ कार्यालयको १ सय ३४ वटा सवारी साधनहरू जलाएर नष्ट गरिएकाे कार्यालयको विवरणमा उल्लेख छ । उक्त १३४ वटा सवारी साधनमा क्षति पुग्दा ४ करोड ८३ लाख ८४ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक विवरण रहेको छ ।
जिल्लाका ५ वटा सरकारी कार्यालयका भवनमा सामान्य, १४ वटा आंशिक र २ वटामा पूर्ण क्षति पुगेकाे छ । सरकारी भवनमा क्षति पुग्दा समग्रमा १२ करोड ४२ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ ।


