मकवानपुर/भारतीय बजारमा थोत्रा भएका ट्रकहरु नेपाली बजारमा चलाउने गरेको भन्दै त्यस्ता थोत्रा ट्रकको डम्पिङ हटाउन माग गर्दै ट्रक व्यवसायीहरुले बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई ७ दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । आज मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले ५ बुदे माग राखेको छ ।
इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएकोले ७ दिनभित्र मूल्य समायोजन गर्न महासंघले माग गरेको छ । तोकिएको समयमा माग पुरा नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी महासंघले दिइएको छ । वैज्ञानिक प्रणालीका आधारमा भाडावृद्धि गर्न सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरे अनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको हो ।
महासंघका अनुसार भाडा वृद्धि गनुपर्ने, भारतीय र चिनियाँ सवारी साधन रोक्नु पर्ने, भारतमा इन्धन तस्करी रोक्नुपर्ने, ट्रकको पार्किङस्थल बनाउनु पर्ने लगायतको माग गरिएको छ । इन्धनको मूल्य १ सय ४ रुपैयाँ हुँदा बढेको भाडा इन्धनको मूल्य १ सय ३३ रुपैयाँ पुग्दा पनि नबढ्दा यातायात सञ्चालनमै समस्या परेको,मुलुकलाई चाहिने भन्दा बढी ट्रक हुँदाहुँदै पनि भारतीय गाडीहरु निर्वाध आइरहेको र कानुनले तोकेभन्दा बढी भारवहन गरिरहेको, नेपाली ट्रक भारतमा ५ किलोमिटर परसम्म जाँदा पनि प्रवेशका लागि दुतावासको सिफारिस लगायतको झण्झट रहेको, तातोपानी नाका हुँदै ठूला कन्टेनर नेपाल प्रवेश गर्दा त्यसक्षेत्रका नेपाली कन्टेनर व्यवसायी मारमा परेको जस्ता समस्याहरु दर्शाइएको छ ।
यसैगरी भारतीय सीमा क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको आरोप लगाउँदै यसको नियमन गर्न माग गरिएको छ । यसैगरी मुख्य राजमार्गमा पार्किङ स्थल नबनेकाले दुर्घटना बढेको औल्याउँदै ५० किलोमिटरको दूरीमा पार्किङ वे व्यवस्था गर्न माग गरिएको छ ।
मकवानपुर /प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् हेटौंडामा जारी खेलमा आज पुरूष फुटबल अन्तर्गत २ खेल भएका छन् ।
पहिलो खेलमा रामेछाप र सिन्धुपाल्चोक तथा दोस्रो खेलमा मकवानपुर र नुवाकोट बिच खेल भएको छ । पहिलो खेलमा रामेछाप र दोस्रोमा मकवानपुर बिजयी भएका छन् ।
आज भएको दोस्रो खेलमा नुवकोटलाई पराजित गर्दै मकवानपुरले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । आज हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फुटबलमा मकवानपुरले नुवाकोटलाई ३–० अन्तरले पराजित गरेको हो ।
मकवानपुरको जीतमा सुदिप सापकोटाले दुई र समिरराज थोकरले एक गोल गरेका थिए । सापकोटाले खेलको ७८ र ८३ औं मिनेटमा र थोकरले ६० औं मिनेटमा गोल गरेका थिए । खेलमा दुई गोल गरेका सापकोटा खेलको म्यान अफ दी म्याच घोषित भए ।
यसैगरि फुटबल अन्तर्गत सोमबारको पहिलो खेलमा रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा रामेछापको तर्फबाट श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरेका थिए । सिन्धुपाल्चोकको तर्फबाट सुजन माझी र विज्ञान थिङले गोल गरेका थिए ।
पहिलो खेलमा अमिर श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए भने खेलको म्यान अफ दी म्याच रामेछापका गोलरक्षक युवराज तामाङ घोषित भए ।
भोलि मंगलबार दुईवटा खेल हुनेछन् । पहिलो खेल सिन्धुली र काठमाडौंबीच हुनेछ भने दोस्रो खेल भक्तपुर र रसुवाबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन । खेल नकआउट चरणमा खेलाइएको छ ।
ब्याटमिन्टनमा चितवन र ललितपुर फाईनल प्रवेश
हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितातर्फ चितवन र ललितपुर फाइनल प्रवेश गरेको छ । आज ( सोमबार) विहान भएको क्वाटर फाइनल र सेमीफाइनल दुबै खेल जित्दै चितवन र ललितपुर फाइनल प्रवेश गरेको हो ।
चितवनले सिन्धुलीलाई ३–० र ललितपुरले धादिङलाई ३–० अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताए । फाइनल खेल मंगलबार हुनेछ ।
महिला तर्फभने धादिङ र सिन्धुपाल्चोक फाइनल प्रवेश गरेको छ । सेमी फाइनलमा धादिङले ललितपुरलाई ३–२ अंकले र सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
क्रिकेटमा काठमाडौ विजयी
महिला क्रिकेट खेलतर्फ पहिलो खेलमा काठमाडौं विजयी भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेट खेलतर्फ पहिलो खेलमा काठमाडौं विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको भक्तपुरले १७.३ आभेर खेलेर ४१ रन बनाएको थियो । काठमाडौंले विकेट नगुमाई २.३ ओभर ट्रागेट पुरा गरि विजयी भएको हो ।
त्यस्तै दोस्रो खेल काठमाडौं र चितवनबीच भएको थियो । टस जितेर चितवनले बलिङ राजेको थियो । काठमाडौंले २ विकेट गुमाएर १८३ रन बनाउदैं चितवनलाई विशाल लक्ष्य दिएको थियो । चितवनले सबै विकेटको क्षति व्यहोर्दै १७.१ ओभरमा ६१ रन बनाएको थियो । मंगलबार चितवन र भक्तपुरबीच खेल हुनेछ । महिला क्रिकेट तर्फ तीन जिल्लाले मात्र सहभागिता जनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । पुरुष तर्फको खेल भने चैत्र २ गतेबाट हुनेछ । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।
भलिबल खेल तर्फ
प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत सोमबारबाट चितवनको माडी खेलकुद मैदानमा भलिबल खेलको सुरु भएको छ । लिग चरणमा भएको महिला तथा पुरुष भलिबल खेलमा भएको हो । महिला तर्फ दुई वटै खेलमा पराजित हुदैं भक्तपुर समूहबाट बाहिरिएको छ भने अरु बाकीँ लिग खेल मंंगलबार हुने खेल संयोजक अशोक काजी थापाले बताए ।
मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ ।
त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषदले जनाएको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ ।
मकवानपुर/जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम नष्ट अभियान सुरु गरेको छ । ३० फागुनदेखि २ चैतसम्मको लागि लक्ष्यित गरी सुरु गरेको अभियानको पहिलो दिन २८ विगाह जमिनमा लगाइएको लागुऔषध अफिम नष्ट गरेको छ ।
गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्याबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले लागुऔषध अफिम नष्ट गरेको हो ।
पहिलो दिन मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही पालिकाको वडा ५ अन्तर्गत बमकिङ, लाफरलगायतको वडा क्षेत्रमा २८ बिगाहमा लगाएको अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको निमिक्त प्रहरी प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।
यसैगरी ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलिले मकवानपुर जिल्लाको बकैया गाउँपालिका ६ ज्यामिरे, मोरङगेढापलगायतको क्षेत्रमा लगाएको ११ बिगाह अबैध लागुऔषध अफिम खेती फडानि गरी नष्ट गरीएको सापकोटाले बताए ।
मकवानपुर । प्रथम प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत भएकाे पुरुष फुटबल स्पर्धामा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । आइतबार हेटौंडाको क्याम्पा रंगशालामा भएकाे खेलमा ललितपुरले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोल रहित सकिएपनि खेलको दोस्रो हाफको ६८ मिनेटमा ललितपुरका बसन्त तामाङले गरेको गालेनै ललितपुरका लागि निर्णायक गोल बन्न पुग्यो । सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन् ।
त्यस्तै आइतबार नै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला सोझो सेटले विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज ब्याटमिन्टन खेलका एकल खेलाडी र डबल खेलाडीबीच ३० खेल खेलाइएको थियो ।
महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक,नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल खेलाइने बताइएकाे छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीकाे आयोजनामा शनिबार हेटाैडामा उद्घाटन भएकाे प्रथम प्रदेश खेलकुद प्रतियाेगिता अन्तरगत मकवानपुरमा आइतबारबाट फुटबल र व्याडम्निटन खेल सुरु भएको हाे । मकवानपुरमै चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने कार्य तालिका रहेकाे छ ।
त्यस्तै, सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषद्ले जनाएकाे छ । प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान आयाेजकले गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
मकवानपुर । बागमती प्रदेश सरकारले मनहरी मलेखु सडकको स्तरोन्नती गर्न १ अर्ब लगानी गर्ने भएकाे छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त सडक स्तरोन्नतीको लागि करिब १ अर्ब लगानी गर्ने योजना बनाएको भाैतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर प्रजाले बताए । ‘करिब १ अर्ब रुपैयाँको समपुरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको छ’ राज्यमन्त्री प्रजाले भने – ‘आगामी वर्ष प्रदेश सरकार र सघीय सरकारले गरेर यो सडकमा करिब १ अर्ब रुपैयाँ लगानी गर्दैछ ।’
राज्यमन्त्री प्रजाले शनिबार मनहरी–मलेखु सडक खण्डको स्थलगत अवलोकन पछी यस वर्ष लोजा–जिनाई खण्डकाे काम गर्नको लागि आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं बताए । मकवानपुरको मनहरी / राक्सिराङ गाउँपालिका हुँदै धादिङको बेनिघाट रोराङ मलेखु जाेड्ने उक्त सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् । शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहितको टोलीले मनहरी मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नती गर्नुपर्ने भागहरुको पहिचान गरेका हुन् । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केहीदिनअघि मात्रै पूरा भएको हो ।
करिब ३ वर्षअघिबाट राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडकको निर्माण सुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समयअघिमात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो । २ गाउँपालिकाको पहलमा सडकको ट्रयाक पूरा भएपछि त्यसलाई दीगो बनाउनको लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको हाे । २ गाउँपालिकाको अगुवाई तथा प्रदेश र प्रतिनिधिसभाका सांसदहरुको प्राथमिकतामा उक्त सडकको ट्रयाक पूरा भएपछि हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
मनहरीदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । बाह्रै महिना सडक सञ्चालनको लागि राक्सिराङ गाउँपालिकाले सो सडक अन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ भने अन्य विभिन्न भागमा स्तरोन्नतीको कामसमेत गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
मनहरीबाट मलेखुसम्मको सडकमा सवारी चल्न थालेपछि मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका र धादिङको बनिघाट रोराङ गाउँपालिकाको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।
