मकवानपुर /प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् हेटौंडामा जारी खेलमा आज पुरूष फुटबल अन्तर्गत २ खेल भएका छन् ।
पहिलो खेलमा रामेछाप र सिन्धुपाल्चोक तथा दोस्रो खेलमा मकवानपुर र नुवाकोट बिच खेल भएको छ । पहिलो खेलमा रामेछाप र दोस्रोमा मकवानपुर बिजयी भएका छन् ।
आज भएको दोस्रो खेलमा नुवकोटलाई पराजित गर्दै मकवानपुरले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । आज हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फुटबलमा मकवानपुरले नुवाकोटलाई ३–० अन्तरले पराजित गरेको हो ।
मकवानपुरको जीतमा सुदिप सापकोटाले दुई र समिरराज थोकरले एक गोल गरेका थिए । सापकोटाले खेलको ७८ र ८३ औं मिनेटमा र थोकरले ६० औं मिनेटमा गोल गरेका थिए । खेलमा दुई गोल गरेका सापकोटा खेलको म्यान अफ दी म्याच घोषित भए ।
यसैगरि फुटबल अन्तर्गत सोमबारको पहिलो खेलमा रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा रामेछापको तर्फबाट श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरेका थिए । सिन्धुपाल्चोकको तर्फबाट सुजन माझी र विज्ञान थिङले गोल गरेका थिए ।
पहिलो खेलमा अमिर श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए भने खेलको म्यान अफ दी म्याच रामेछापका गोलरक्षक युवराज तामाङ घोषित भए ।
भोलि मंगलबार दुईवटा खेल हुनेछन् । पहिलो खेल सिन्धुली र काठमाडौंबीच हुनेछ भने दोस्रो खेल भक्तपुर र रसुवाबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन । खेल नकआउट चरणमा खेलाइएको छ ।
ब्याटमिन्टनमा चितवन र ललितपुर फाईनल प्रवेश
हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितातर्फ चितवन र ललितपुर फाइनल प्रवेश गरेको छ । आज ( सोमबार) विहान भएको क्वाटर फाइनल र सेमीफाइनल दुबै खेल जित्दै चितवन र ललितपुर फाइनल प्रवेश गरेको हो ।
चितवनले सिन्धुलीलाई ३–० र ललितपुरले धादिङलाई ३–० अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताए । फाइनल खेल मंगलबार हुनेछ ।
महिला तर्फभने धादिङ र सिन्धुपाल्चोक फाइनल प्रवेश गरेको छ । सेमी फाइनलमा धादिङले ललितपुरलाई ३–२ अंकले र सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
क्रिकेटमा काठमाडौ विजयी
महिला क्रिकेट खेलतर्फ पहिलो खेलमा काठमाडौं विजयी भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेट खेलतर्फ पहिलो खेलमा काठमाडौं विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको भक्तपुरले १७.३ आभेर खेलेर ४१ रन बनाएको थियो । काठमाडौंले विकेट नगुमाई २.३ ओभर ट्रागेट पुरा गरि विजयी भएको हो ।
त्यस्तै दोस्रो खेल काठमाडौं र चितवनबीच भएको थियो । टस जितेर चितवनले बलिङ राजेको थियो । काठमाडौंले २ विकेट गुमाएर १८३ रन बनाउदैं चितवनलाई विशाल लक्ष्य दिएको थियो । चितवनले सबै विकेटको क्षति व्यहोर्दै १७.१ ओभरमा ६१ रन बनाएको थियो । मंगलबार चितवन र भक्तपुरबीच खेल हुनेछ । महिला क्रिकेट तर्फ तीन जिल्लाले मात्र सहभागिता जनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । पुरुष तर्फको खेल भने चैत्र २ गतेबाट हुनेछ । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।
भलिबल खेल तर्फ
प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत सोमबारबाट चितवनको माडी खेलकुद मैदानमा भलिबल खेलको सुरु भएको छ । लिग चरणमा भएको महिला तथा पुरुष भलिबल खेलमा भएको हो । महिला तर्फ दुई वटै खेलमा पराजित हुदैं भक्तपुर समूहबाट बाहिरिएको छ भने अरु बाकीँ लिग खेल मंंगलबार हुने खेल संयोजक अशोक काजी थापाले बताए ।
मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ ।
त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषदले जनाएको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ ।

