मकवानपुर । प्रथम प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत भएकाे पुरुष फुटबल स्पर्धामा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । आइतबार हेटौंडाको क्याम्पा रंगशालामा भएकाे खेलमा ललितपुरले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोल रहित सकिएपनि खेलको दोस्रो हाफको ६८ मिनेटमा ललितपुरका बसन्त तामाङले गरेको गालेनै ललितपुरका लागि निर्णायक गोल बन्न पुग्यो । सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन् ।
त्यस्तै आइतबार नै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला सोझो सेटले विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज ब्याटमिन्टन खेलका एकल खेलाडी र डबल खेलाडीबीच ३० खेल खेलाइएको थियो ।
महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक,नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल खेलाइने बताइएकाे छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीकाे आयोजनामा शनिबार हेटाैडामा उद्घाटन भएकाे प्रथम प्रदेश खेलकुद प्रतियाेगिता अन्तरगत मकवानपुरमा आइतबारबाट फुटबल र व्याडम्निटन खेल सुरु भएको हाे । मकवानपुरमै चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने कार्य तालिका रहेकाे छ ।
त्यस्तै, सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषद्ले जनाएकाे छ । प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान आयाेजकले गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

