मकवानपुर । बागमती प्रदेश सरकारले मनहरी मलेखु सडकको स्तरोन्नती गर्न १ अर्ब लगानी गर्ने भएकाे छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त सडक स्तरोन्नतीको लागि करिब १ अर्ब लगानी गर्ने योजना बनाएको भाैतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर प्रजाले बताए । ‘करिब १ अर्ब रुपैयाँको समपुरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको छ’ राज्यमन्त्री प्रजाले भने – ‘आगामी वर्ष प्रदेश सरकार र सघीय सरकारले गरेर यो सडकमा करिब १ अर्ब रुपैयाँ लगानी गर्दैछ ।’
राज्यमन्त्री प्रजाले शनिबार मनहरी–मलेखु सडक खण्डको स्थलगत अवलोकन पछी यस वर्ष लोजा–जिनाई खण्डकाे काम गर्नको लागि आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं बताए । मकवानपुरको मनहरी / राक्सिराङ गाउँपालिका हुँदै धादिङको बेनिघाट रोराङ मलेखु जाेड्ने उक्त सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् । शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहितको टोलीले मनहरी मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नती गर्नुपर्ने भागहरुको पहिचान गरेका हुन् । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केहीदिनअघि मात्रै पूरा भएको हो ।
करिब ३ वर्षअघिबाट राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडकको निर्माण सुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समयअघिमात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो । २ गाउँपालिकाको पहलमा सडकको ट्रयाक पूरा भएपछि त्यसलाई दीगो बनाउनको लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको हाे । २ गाउँपालिकाको अगुवाई तथा प्रदेश र प्रतिनिधिसभाका सांसदहरुको प्राथमिकतामा उक्त सडकको ट्रयाक पूरा भएपछि हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
मनहरीदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । बाह्रै महिना सडक सञ्चालनको लागि राक्सिराङ गाउँपालिकाले सो सडक अन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ भने अन्य विभिन्न भागमा स्तरोन्नतीको कामसमेत गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
मनहरीबाट मलेखुसम्मको सडकमा सवारी चल्न थालेपछि मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका र धादिङको बनिघाट रोराङ गाउँपालिकाको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।
