मकवानपुर / स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय तहले गरेको काम देखाउन जनप्रतिनिधिहरू हतारिएका छन् ।
लामो समयदेखि रोकिएको मकवानपुरको पूर्वीक्षेत्रमा अवस्थित बागमती गाउँपालिकामा भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु गरिएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समन्वय मकवानपुर र वागमती गाउँपालिकाले आज शुक्रबारबाट भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा वितरण सुरु गरेको हो । गाउँपालिकाले पहिलो दिनमा दुईजनालाई वितरण गरेको छ । वागमती–४ का कृष्णबहादुर दर्लामी र तीर्थबहादुर विकलाई जग्गाधनी पूर्जा दिएर वितरण कार्य सुरू गरिएको थियो । उनीहरुलाई प्रदेश सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले पूर्जा प्रदान गरेकी थिइन् ।
गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखेपनि सरकारको अनुमति नपाउँदा वितरण गर्न असमर्थहुँदै आएको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । घलानका अनुसार गाउँपालिका ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा रहेका छन् । स्थानीयलाई काम गरेर खान स्थानीय स्तरमै रहेर समृद्धि हासिल गर्न यो कार्यक्रम लाभदायक भएको घलानले बताए ।
काठमाडौँ — निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । राजनीतिक दल र अन्य सरोकारवालालाई पालना गर्ने लिखित प्रतिबद्धता गराएपछि आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो । स्रोतका अनुसार आयोगले शुक्रबार निजी क्षेत्रलाई प्रतिबद्धता गराएपछि पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू गर्ने तयारी गरेको छ । ‘सरोकारवाला सबैले प्रतिबद्धता जनाएपछि शुक्रबार मध्यरातिबाट आचारसंहिता लागू गर्न लागेका छौं,’ स्रोतले भन्यो ।
स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गर्न लागेको हो । आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाउँछ ।
आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत पाइँदैन । त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन । आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन । उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३/३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।
आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान पनि छ । जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।
उम्मेदवारले ‘ए ४’ आकारको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न मिल्छ । निर्वाचन प्रचारप्रसारको काम पनि बिहान ८ देखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । भित्तेलेखन गर्न, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सवारीसाधन प्रयोग गर्नसमेत आचारसंहिताले रोक लगाएको छ । प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोगमा भने रोक लगाइएको छैन । तर प्रचारप्रसारका लागि दलका दुई जना मुख्य प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने संहितामा उल्लेख छ ।
यसैबीच, निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई खटाएको छ । निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
एमालेको असहमति
प्रमुख प्रतिपक्ष एमालेले निर्वाचन आचारसंहिताका केही प्रावधान संविधान र कानुनसँग बाझिएको दाबी गर्दै लिखित असहमति राखेको छ । एमाले महासचिव शंकर पोखरेलले संविधान र कानुनसँग बाझिएबाहेकका विषय मात्रै मान्ने भन्दै निर्वाचन आयोगमा बिहीबार पत्र बुझाएका छन्
मतपत्रमा चुनाव चिह्नको रङ हरियो राखिएकामा र मनोनयन दर्ताका लागि दुई दिन समय दिइएकामा एमालेको आपत्ति छ । विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र प्रचार गर्न निषेध गरेको भन्दै पनि एमालेले आपत्ति जनाएको छ । एमालेले बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधानको पनि विरोध गर्दै आएको छ । (इकान्तिपुरबाट)
मकवानपुर/मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नं ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका छात्राहरुलाई सोही विद्यालयमा अध्यापनरत ३ जना शिक्षकहरुले यौनदुर्व्यवहार गरेको आरोपमा विहीबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएर किटानी जाहेरी दिईएको छ ।
घटना स्थानीय तहमै मिलाउन गरिएको तिब्र दबाब र गृहकार्यका बिच पीडितहरुले प्रहरीमा जाहेरी दिएका हुन् । स्थानीयस्तर मै ज्यानै लिनेसम्मको धम्कीका बाबजुत पीडित र उनीहरुको अभिभावकहरुलाई प्रहरीको भ्यानमा राखेर हेटौंडा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ४ जना पीडित बालिकाहरु, ३ जना बालिकाको अभिभावकहरू, ४ जना अभियन्ता बालबालिकाहरू र अन्य २ जना जिल्ला प्रहरी कार्यालय मकवानपुर उपस्थित भएर किटानि जाहेरी दिएका हुन् ।
२ दिन अघि जिल्लाका अधिकारकर्मीहरुसँग जुनसुकै बेला निवेदन/जाहेरी लिन तयार रहेको बताएको इलाका प्रहरी कार्यालय फापरबारीले जाहेरी लिन नमानेपछि पीडितहरु जिल्ला प्रहरी कार्यालय आएका थिए । ‘जिल्ला प्रहरीमा समेत पीडित स्वयम् नभएसम्म जाहेरी लिन मानेन, मुद्दा शाखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको जाहेरी नलिएपछि बालिकाका अभिभावकहरु बालिकाहरु लिएरै जोखिम उठाएर जिल्लामा आए’ एक जना अभियान्ताले भने ‘यति गर्दा पनि प्रमुख जिल्ला अधिकारीको फोन बिना प्रहरीले कलम उठाएन ।’
‘अन्यायका विरुद्ध जाहेरी दिईयो, तर ज्यानको सुरक्षा एकदम कम छ’ एकजना अभिभावकले भने । बालिका र अभिभावकहरु प्रहरीमा जाहेरी दिएर राति १२ बजे प्रहरीकै भ्यानमा घर फर्केका थिए । अन्य अभियान्ता बालबालिकाहरुलाई भने राति सिविन बाल हेल्प लाइनमा राखिएको थियो ।
३ जना शिक्षकहरु लोकबहादुर बिक, रुद्रबहादुर बिक र हेम बहादुर बिकको नाममा पीडितले किटानी जाहेरी दिएका हुन् । विद्यालयमा घटना भएपछि उनीहरु हाल विद्यालयमा बिदा लिएर बसेका छन् । प्रहरीले जाहेरी नपरी पक्राउ गर्न नमिल्ने भन्दै बेवास्ता गर्दै आएको छ । विद्यालयमा तोडफोडको घटना भएको ४ दिन बितेको छ भने, आरोपित शिक्षकहरु २ हप्तादेखि बिदामा छन् ।
शिक्षकहरुको व्यवहारमाथि कारवाहीको माग गर्दै मंगलबार विद्यार्थीहरु तोडफोडमा उत्रेपछि बुधबार जिल्लाका अधिकारकर्मीहरु स्थलगत अध्ययनमा गएका थिए । विद्यालयका शिक्षकहरुले कक्षा ४ देखि माथिल्लो तहको विद्यार्थीलाई केही वर्षदेखि लगातार यौन दुव्र्यवहार गर्दै आएको अध्ययनका क्रममा पत्ता लागेको अधिकारकर्मीहरुले बताएका छन् । ति शिक्षकहरुले कक्षा ४ मा पढ्दादेखि नै आफूहरुलाई नराम्रो छुवाइ गर्दै आएको र आफूले डरको कारण कसैलाई नबताएको हाल कक्षा ७ मा अध्ययनरत एक बालिकाले बताइन् । विद्यालयका बाल क्लबका अनुसार ति शिक्षकहरुबाट करिब ७५ जना बालिकाहरु पीडित छन् ।
शिक्षक विरुद्ध नबोल्न अभिभावकहरुले आ–आफ्ना बालिकाहरुलाई विद्यालय नपाठाइ घरैमा राख्ने, कसैसँग भेटन समेत नदिने गर्दै आएको पाइएको अधिकारकर्मीहरुले बताए । ‘हाम्रो समुबाट नानीहरुलाई नबोल भन्दै स्कुल चौरबाट पिट्दै घर लगियो’ एक जना अभियान्ताले भनिन् ‘अवस्था भयावह छ, विद्यालयका शिक्षिकहरु पनि उच्च जोखिममा छन ।’
बुधबार अधिकारकर्मीहरुसँग कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीहरुले आफूहरुमाथि नियमित यौन दुव्र्यवहार हुदै आएको बताएका थिए । कक्षामा पढाउने क्रममा झ्याल ढोका बन्द गर्न लगाउने, विभिन्न बाहानामा छात्राहरुको संवेदनशिल अंगहरुमा हात लैजाने गरेको र प्रतिकार गर्दा पिट्ने गरेको उनीहरुले बताएका थिए ।
शिक्षकहरुको अनैति कृयाकलाप विरुद्ध विद्यार्थीले विद्यालय प्रशासनमा निवदेशन दिएपछि विद्यालय व्यवस्थापन समितिले शिक्षकहरु पनि स्थानीयवासी नै भएको र उनीहरुको इज्जतमाथि ख्याल राख्ने भन्दै घटना मिलाउन खोजेपछि विद्यार्थीहरु तोडफोडमा उत्रेका थिए ।
विद्यालय तोडफोड भएपछि बर्षौदेखिको अनैतिक गतिविधिबारे जानकारी बाहिर आएको थियो । ३ दिन अघि अधिकारकर्मीहरुले सत्य तथ्य बुझनको लागि स्थलगत भ्रमण क्रममा पीडित बालिकाहरु, बालक्लबका सदस्यहरु, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयलगायतका सरोकारवालासँग घटना बारे जानकारी लिएका थिए ।
पीडितहरुले प्रशासनमा तीन शिक्षकहरुको नाम किटानीसहित कारबाहीको माग गर्दै मिति २०७८ चैत्र ७ गते उजुरी समेत दिइएको र त्यसको न्यायोचित निर्णय नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी सिविन नेपाल, बाल हेल्पलाइन नेपाल १०९८ मकवानपुरका व्यवस्थापक झबिन्द्र ज्ञवालीले बताए ।
घटना भएको लामो समय भएको र किटानी उजुरी नै दिएको २ हप्ता नाघ्दा समेत कानून बमोजिम हुनुपर्ने कारबाही प्रक्रिया अगाडि बढ्न नसकेकोले सरोकारवालाहरु सम्वेदनशील नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।
स्थानीय केही सरोकारवालाको धारणा बुझदा यस समस्यालाई समाधानको निम्ति स्थानीय स्तरमै मेलामिलापको प्रयास गर्न खोजिएको, अभिभावकले पनि आफ्नै बालिकाहरुलाई नबोल्नका लागि दबाब दिएको प्रत्यक्ष देखिएको राडो नेपाल कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए । ‘बालिकाहरुले ज्यान जोखिमको बारेमा बुझ्ने उमेरै भएको छैन, तर जो जो अभिभावक जाहेरीको लागि आउनुभयो उहाँहरुको मनमा धेरै त्रास छ, उहाँहरु जोखिममा हुनुहुन्छ ।’ झण्डै एक सयको संख्यामा बालिकाहरु पीडित हुँदा केही अभिभावकहरु मात्रै न्यायको लडाइमा उत्रनु भनेको अभिभावकहरुमा चेतनाको एकदमै कमी रहेको अधिकारकर्मी पाठकले बताए ।
नेपालको संविधान २०७२ ले मौलिक हककै रुपमा धारा ३९ को बालबालिका सम्बन्धी हक अन्तर्गत बालबालिकालाई सम्बोधन गरी बालबालिका माथि हुने कुनै पनि शोषणलाई निषेध गरेको छ ।
प्रचलित मुलुकी अपराध संहिता २०७४ दफा २२४ ले कसैले कसैलाई यौनदुर्व्यवहार गर्न वा गराउन हुँदैन भनेको र दफा २२५ ले कसैले बाल यौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनेको छ । त्यसै गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिका विरुद्धको कसूर अन्तर्गत बालयौन दुर्व्यवहारलाई अपराध मानी दण्ड सजायको समेत व्यवस्था गरिएको छ । उल्लेखित अपराध गर्नेलाई ३ वर्षसम्म कैद र तिस हजार देखि पचहत्तर हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको अध्ययनान सहभागी सेलर्डका अधिवक्ता जगन्नाथ सुबेदीले बताए ।
हेटाैडाकाे १६ वडामा एमालेकाे वडा अध्यक्ष सिफारीस
Tags: No Comments
मकवानपुर /स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको १९ मध्ये १६ वटा वडाका अध्यक्षहरू सिफारिस गर्ने काम टुङ्याएको छ ।
उपमहानगरपालिकाको मेयर उपमेयरबारे आज २५ चैतमा उमेदवार टुङ्याउने भनिएता पनि आगामी २७ चैतसम्मको लागि म्याद लम्ब्याईएको छ । पार्टी भित्र आकाक्षि बढि भएपछि मिति लम्ब्याईएको हो ।
बागमती प्रदेश राजधानी तथा प्रदेशको एक मात्रै उपमहानगर हेटौंडा उपमहानगरपालिकाको वडा ३, १० र १७ बाहेक अन्य वडामा वडाअध्यक्ष भने टुङ्याएको छ । पार्टी अध्यक्ष एकालाल श्रेष्ठका अनुसार यी मध्ये केहि वडाहरुमा सर्वसम्मत उमेद्वार छनौट भएका छन्, भने केहि वडाले वडा अध्यक्षमा ३ जनासम्मको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको थियो ।
वडा अध्यक्षको लागि हेटौंडाको वडा नम्बर १ मा सर्वसम्मत उमेद्वार छनौट भएको छ । १ नम्बर वडामा उत्तमप्रसाद पौडेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा कमिटीको अध्यक्ष समेत रहेका पौडेलको नेतृत्वमा वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा सदस्यमा ईश्वरी रसाईली र खुला सदस्यमा सोनामसिंह स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यहरु हुन् ।
वडा नम्बर २ बाट बर्तमान वडाध्यक्ष हरि राउत पुनः उम्मेद्वार बनेका छन् । वडा कमिटिको बैठकले राउतलाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार बनाएको हो । वडा नम्बर २ को दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत गर्दा बाँकी रहेको खुल्ला वडा सदस्य र महिला सदस्यहरुमा भने ८ जनालाई सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सिता तिमल्सिना र अञ्जु अधिकारी रहेका छन् ।
वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेले नवीन सिग्देललाई सिफारिस गर्ने निर्णय गरेको छ । एमाले ४ नम्बर वडा कमिटीको बैठकले सर्वसम्मत वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउलालाई सिफारिस गरेको छ । वडा अध्यक्षमा सिग्देल र सदस्यमा जनरल श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेदवार हुने भएको छ भने पाण्डे, त्रिपाठी र देउला नयाँ अनुहार हुन् ।
एमालेले हेटौंडा–५ को वडा अध्यक्षमा सुशील घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । वडा कमिटीले वडा अध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । ५ नम्बर वडा कमिटीले वडा सदस्यमा ज्ञानु थापा, राम बहादुर राई, भगवती बिक र रञ्जीता सिलवालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ज्ञानु थापा र भगवती बिक अहिले पनि वडा सदस्य हुन्, भने राई र सिलवाल नयाँ हुन् ।
हेटौंडा–६ को वडा अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस भएका छन् । वडा कमिटीले राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । अन्य सदस्यहरू नाम सिफारिस बाकी रहेको छ ।
यस्तै एमाले ७ नम्बर वडा कमिटीले वर्तमान अध्यक्ष राजन थापालाई नै आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई सवसम्मत उमेदवार बनाउने निर्णय गरेको हो । यस्तै सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना बिक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । रिमाल हाल जिसस सदस्य हुन् ।
त्यसैगरी हेटौंडा ८ को अध्यक्षमा एमालेको तर्फबाट तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा युवा नेता बोलबहादुर कार्की, यसोधा उप्रेती र रमेशकुमार पौडेल छन् । वडा सदस्य खुल्लामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हुँदा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशिला मल्ल र सुमित्रा पाण्डे सिफारिस हुनु भएको छ । दलित महिला सदस्यमा कल्पना विक र ममता देउला सिफासिर हुनु भएको छ ।
त्यस्तै एमालले वडा नम्बर ९ मा युवा नेता नरेन्द्र भण्डारी सहित ३ जनाको नाम वडा अध्यक्षमा सिफारिस गरेको छ । पार्टी वडा कमिटीको बैठकले नरेन्द्र भण्डारीसँगै हालका वडा अध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै २ जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई र सिताराम पौडेलको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ । लक्ष्मी नेपाली हालपनि पनि वडा सदस्य हुन भने अर्याल नयाँ हुन् ।
हेटौंडा–११ को वडा अध्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षमा जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस गरेको छ । यस्तै वडाबाट सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का (तीर्थ) र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ । दाहाल र न्यौपाने हाल वडा सदस्य हुन् ।
यसैगरी हेटौंडा–१२ को अध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले नगरकोटीलाई सर्वसम्मत अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।
हेटौंडा– १३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा पेम्बा लामा सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा आशिष थापा, बुद्द गोले, बिष्णुमाया परियार र बिष्णुमाया थिङ सर्बसम्मतरुपमा सिफारिस भएको पार्टी अध्यक्ष श्रेष्ठले बताए।
त्यस्तै वडा नम्बर १४ मा पनि सर्वसम्मत रुपमा वडाध्यक्ष सिफारिस भएको छ । वडा कमिटिको बैठकले बर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दिपक खड्कालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
त्यस्तै हेटौंडा–१५ को वडा अध्यक्षमा सुनिल मोक्तानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरु पनि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले वडा सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलि महिलातर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंह बहादुर लोलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै एमालले हेटौँडा–१६ बाट बसन्तप्रसाद लामिछानेलाई वडाध्यक्ष बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले लामिछानेलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वडा सदस्यमा खुलातर्फ राजेन्द्र गरन्जा र कृष्ण बहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा बिश्वकर्मा र महिलातर्फ अस्मिता भुषाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै एमालेले हेटौँडा–१८ मा हालका अध्यक्ष अनिलकुमार बानीयाँलाई नै वडाध्यक्षमा उम्मेद्वार बनाएको छ । वडा कमिटिको बैठकले बर्तमान वडाध्यक्ष समेत रहेका बानीयाँलाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । सदस्यहरुमा तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिला सदस्यमा कल्पना कुईकेल र दलित महिला सदस्यमा पुजा मग्रातीलाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
त्यस्तै हेटौंडा–१९ मा अध्यक्षका लागि तीनजना आकांक्षीको नाम सिफारिस गरिएको छ । वडा कमिटीको बैठकबाट अध्यक्षका आकांक्षी बाहालवाल वडा अध्यक्ष नरनाथ सुवेदी सहित रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस गर्ने निर्णय भएको छ । सदस्यमा दलित महिलामा शान्ति बिक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस भएका छ्न । २ जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ । इन्दिरा तामाङ र शान्ति बिक हाल पनि वडा सदस्य हुन् ।
बाकी ३ वटा वडामा सक्दो चांडो उम्मेदवारी टुङ्याइने पार्टीले जनाएको छ ।
मकवानपुर । नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान आजबाट सुरु हुदैछ । १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको हो । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा आज शुक्रबारदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएकाे छ ।
निर्देशनालयले टाइफाइडविरुद्धको खोप अभियान आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । उक्त अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप लगाइने लक्ष्य छ ।
खोप अभियान सञ्चालनको लागि प्रदेशभर ६ हजार पाँच सय २० वटा केन्द्र निर्धारण गरिएको छ । ८० प्रतिशतभन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले बताए । प्रदेशमा खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना स्वास्थ्यकर्मी, १७ हजार ९ सय ६३ जना स्वयंसेवक परिचालन हुने छन् । खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटिएका छन् ।
यसैगरी मकवानपुरमा खोप अभियानको संघीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आज मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविबाट सुरु गर्ने छनन् । खाेप अभियानलाई सफल बनाउन अभिमुखीकरण, खोप केन्द्र, प्रचारप्रसार, खोपको उपलब्धतालगायत तयारी पूरा भएको स्वास्थ्य कार्यालयका खाेप कार्यक्रम फाेकल पर्सन बासुदेव रिमालले बताए । सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको उनले बताए ।
मकवानपुरमा संचालन हुने खोप अभियानमा १ लाख ८ हजार ४ सय ८६ जना बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईंले बताए । गुरागाईका अनुसार जिल्लामा कुल ६ सय ८ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुनेछ । साथै जिल्लामा अभियानमा ८ सय ७० जना खोपकर्ता र १ हजार ३ सय ९० जना स्यमसेवक परिचालित हुने छन् ।
जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार १ सए ६३, थाहा नगरपालिकाका ८ हजार ६ सय १६, बागमती गाउँपालिकाका ६ हजार ६ सय २८, बकैयाका ८ हजार ९ सय ४८, मनहरीका १० हजार ३ सय ७२, राक्सिराङका ५ हजार ६ सय ९२, कैलाशका ४ हजार ८ सय ३८, भीमफेदीका ४ हजार ७ सय ५८, मकवानपुरगढीका ५ हजार ३ सय ३५ र ईन्द्रसरोवरका ३ हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको गुरागाईले जानकारी दिए । लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने समेत उनले बताए ।
यसै गरी हेटौंडा उपमहानगरपालिकामा खोप अभियान चैत २५ देखि बैशाख ५ गतेसम्म चल्ने हेटौडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईले बताए । अभियानको अन्तिम दिन भने खोप सेवा सञ्चालन गर्ने सबै स्वास्थ्य संस्थामा टाइफाइडविरुद्धको खोप दिइनेछ । देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न खोप अभियानले सहयाेग पुग्ने बताइएकाे छ ।
मुलुकमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर उच्च छ । ३ वर्षयताको तथ्यांकअनुसार टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्छ । विगत ५ वर्षको तथाङ्क हेर्दा हरेका वर्ष ४ लाख ५० हजार जनामा टाइफाइडको संक्रमण देखिने गरेको छ ।
‘हेटौंडा उपमहानगरपालिकामा ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई घरमै निमन्त्रणा कार्ड पठाइएकाे छ’ चौलागाईले भने, ‘उपमहानगरपालिकामा १ सय १५ विद्यालय केन्द्र र २० वटा स्वास्थ्य संस्था केन्द्र निर्धारण गरेका छौ ।’ कोभिड-१९ विरुद्धको खोप लगाएको १४ दिन कटेपछि मात्र टाइफाइडविरुद्धको खोप लगाउन मिल्ने बताइएकाे छ । यस खोप लगाए पस्चात सामान्य ज्वरो आउने,सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने जस्ता सामान्य असर देखिने सक्ने बताइएकाे छ ।
सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् ।
