मकवानपुर / स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय तहले गरेको काम देखाउन जनप्रतिनिधिहरू हतारिएका छन् ।
लामो समयदेखि रोकिएको मकवानपुरको पूर्वीक्षेत्रमा अवस्थित बागमती गाउँपालिकामा भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु गरिएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समन्वय मकवानपुर र वागमती गाउँपालिकाले आज शुक्रबारबाट भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा वितरण सुरु गरेको हो । गाउँपालिकाले पहिलो दिनमा दुईजनालाई वितरण गरेको छ । वागमती–४ का कृष्णबहादुर दर्लामी र तीर्थबहादुर विकलाई जग्गाधनी पूर्जा दिएर वितरण कार्य सुरू गरिएको थियो । उनीहरुलाई प्रदेश सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले पूर्जा प्रदान गरेकी थिइन् ।
गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखेपनि सरकारको अनुमति नपाउँदा वितरण गर्न असमर्थहुँदै आएको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । घलानका अनुसार गाउँपालिका ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा रहेका छन् । स्थानीयलाई काम गरेर खान स्थानीय स्तरमै रहेर समृद्धि हासिल गर्न यो कार्यक्रम लाभदायक भएको घलानले बताए ।

