मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुकै सहमतिमा तोकिएको निर्वाचन आचारसंहिताको लगातार उल्लङ्घन हुदा मकवानपुरको प्रशासन मौन रहेको छ ।
बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक्तान दैनिक रुपमा चुनावि प्रचारमा रहदा प्रशासन मौन रहेको हो । विगत केही दिनदेखि मन्त्री मोक्तान निर्वाचन आचारसंहिता विरुद्ध चुनावी प्रचारप्रसारमा सहभागी हुँदै सभालाई सम्बोधन गर्दै आएकी छन् ।
आइतबार मात्रै पनि मन्त्री मोक्तानले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ मा ३ दलीय गठबन्धनको वडा कमिटीको आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गरेकी छिन् ।

निर्वाचन आचारसंहिता विपरीत मुक्तान स्थानीय तहको गठबन्धनमा चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेकी छन् । मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी हुन् ।
निर्वाचन आचारसंहिता अनुसार सांसदले कुनै पनि उम्मेदवारको चुनावी प्रचार गर्न, प्रचारप्रसार कार्यालयको उद्घाटन गर्न मिल्दैन । केही दिन अघि मन्त्री मोक्तान आचारसंहिताको वेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरीका विभिन्न वडामा उम्मेदवारहरुसँगै प्रचारमा हिँडेकी थिइन् ।
मनहरी गाउँपालिका वडा नं ३ मा पुगी उम्मेदवारहरुको प्रचार कार्यक्रममा सहभागी मात्र भइनन् । मोक्तान माओवादी केन्द्र र गठबन्धन निकट उम्मेदवारहरुको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटनमा व्यस्त छिन् । मोक्तानले खुलेआम आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोग, निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण नहुनुलाई एमालेले मकवानपुरको ध्यानाकर्षण भएको बताईएको छ ।
मकवानपुर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले फेरी पनि चुनाव भाँड्ने षड्यन्त्रण गरिसकेको बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनको लागि पार्टीले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“गठबन्धनले चुनाव हुन नदिएर २ महिना पछाडी धकेलिएको हो, फागुनमा सकिन्थ्यो चुनाव, अब फेरी हार्ने डरले षड्यन्त्र सुरु भएको छ” उनले भने ।
गठबन्धनको सरकारले भोटको लागि चुनावि आचारसंहिता लागेपछि अरबौको स्वास्थ्य सामग्री किनेको उनको आरोप छ । उनले व्यङ्ग्य गर्दै भने “गठबन्धनको सरकारले पनि काम गरेको छ नि जता हेरेनी मन्त्री, झण्डा, र मन्त्रालय छन् कत्ति विकासै विकास छ” हेर्नुस् त । हेटौंडाको आमसभामा पार्टी प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै उनले भने “मन्त्रीको सिक्रीले बाँधेकोले धेरै कार्यकर्ताहरु अहिले एमालेमा आउन चाहेर पनि बाँधिएका छन्, ति केही दिनमा आउने छन्, हामी स्वागत गर्नेछौ । ”
काँग्रेसले आफ्नो घोषणा पत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम ८ ठाँउमा प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको छ भन्दै उनले भन “काँग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ ।” उनले नेपाली काँग्रेसको देश बनाउने नीति नै नभएको बताउँदै भने “एमालेलाई गालि गर्ने र धारेहात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गालि गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौं ।”
उनले आसन्न स्थानीय तहको चुनाव सामान्य नभएको उद्घोष गर्दै भने “यो चुनाव भनेको नेपाल जोगिने र नजोगिने भन्ने लडांइ हो, सामान्य चुनाव हैन, अहिले नेपालमा २ मात्रै पार्टी भएको त्यो एमाले र गठबन्धनमात्रै हो, देश जोगाउन एमालेभन्दा बाहेक अर्को पार्टी छैन ।”
नेकपा एमालेको शक्ति देखेर सात्तो गएपछि ५ दलले स्थानीय तहको चुनावमा समेत गठबन्धन गरेको उनले बताए । “एमालेसँग लड्नको लागि अरु पार्टी पनि भए गठबन्धनमा जान मैले गृह जिल्लामै भन्दिएको छु” उनले भने “हामी जनताको विश्वासमा बोकेर हिडेका छौ, दलीय गठबन्धन बाँधेर हैन ।”
“आज हु इज केपी ओली भन्नेहरुलाई बैशाख ३० पछिको जनमतले भन्ने छ, हु इज केपी ओली ?” उनले भने “हामी माथिको प्रश्नको उत्तर जनताले दिने विश्वास हामीले गरेका छौ, हामी पार्टी र नेतालाई प्रश्न गर्दै हिड्दैनौ ।”
उनले मेडीकल क्षेत्रमा धेरै काम गर्ने बाँकी रहेको र एमालेले योजना बनाएको समेत बताए । आमसभामा उनले हेटौंडाको राजमार्ग विस्तारको सवालमा पनि प्रसङ्ग उठाउन भ्याए । हेटौंडामा ४ दशक देखि विवादमा रहेको राजमार्ग विस्तारको बारेमा एमालेसँग स्पष्ट धारण भएको र हेटौंडाबासीलाई एमालेले न्याय गर्ने उनले बताए । विकास र सुशासनको लागि एमाले सँधै जनताको पक्षमा रहेको उनको दाबि थियो ।
हेटौंडाको समुचित विकासमा आफू सचेत रहेको उनले बताए । हेटौंडाको सुकुम्बासीको लागि गठबन्धनको सरकारले घात गरेको उनले बताए । “एमाले सरकारले घरबासको व्यवस्था गर्न ठिक्क परेको बेला जनताको बलमा हैन, अदालतको बलमा स्थापित भएको परमादेशको सरकारले जनतालाई धात गरेको हो” उनले भने । “अब परमादेशको जवाफ जनादेशले दिनेछ” उनले भने ।
मकवानपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको स्थापना र व्यवस्थापन गर्दै आर्थिक समृद्धिको पहल गर्ने बताएका छन् ।
औद्योगिक क्षेत्रको विकास र विस्तार कसरी गर्ने, कहाँ कहाँ संभावना छ एमालेले खोजी रहेको उनले बताएका हुन् । एमालेमकवानपुरले हेटौंडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले सरकार देशको आर्थिक समृद्धिको खोजीमा रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

गठबन्धनको सरकारले आर्थिक अवस्था नाजुक भएको भन्दै सातामा २ दिने बिदा दिन सुरु गरेको सन्दर्भमा ओलीले एमाले सरकार नेतृत्वमा आएपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनपछि एमाले सरकार नेतृत्वमा आउँदा गठबन्धनको सरकार हुँदा जस्तो आर्थिक समस्या नहुने उनले बताए । हेटौंडामा एमालेले आयोजना गरेको चुनावी सभामा ओलीले अहिले सम्बोधन गर्ने क्रम जारी छ ।
मकवानपुर । सरकारले नेपाल प्रहरीको प्रमुख (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) धिरजप्रताप सिंहलाई र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई प्रहरी महानिरीक्षक(आईजीपी) मा सशस्त्र अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षक आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा कार्यरत सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले सिंहलाई आइजिपी नियुक्त गरेको हो ।
प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ ।
हालका आइजिपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकाश पाउँदै छन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
सशस्त्र प्रहरीका अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदै छन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् । आइतबारबाटै अर्यालले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
हेटौंडा/ आसन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ ।
पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएरका पार्टीकाे सुझाव अनुसार उम्मेदवारी फिर्ता पनि नलिएकाहरुलाई कारवाही गरिएको हो । पार्टी निर्णय उलङ्घन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज महत, वडा नं. ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा १९ का रत्नबहादुर व्लोन र रमेश पौडेललाई पार्टीले कारवाही गरेकाे हाे ।
उनीहरुसँगै उनीहरुकाे उम्मेदवारीमा प्रस्तावक तथा समर्थकबन्नेलाई समेत पार्टीको विधानको धारा ८० (६) अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको आधिकारीक उम्मेदवार खडा गरेको अवस्थामा पार्टीको निर्णय नमान्दै बागी उम्मेदवारी दिएको र आवश्यक समन्वय गर्दासमेत उम्मेदवारी फिर्ता नलिएकाले कारवाही गर्नुपरेको श्रेष्ठले बताए ।
नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एकठाउँमा उभिएको सन्दर्भमा बताउँदै श्रेष्ठले भने ‘नेकपा एमालेको संस्थागत निर्णय अनुसार नै पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ एमालेलाई विजयी गराउनका निम्ती सिङ्गाे पार्टी चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको छ ।’ अध्यक्ष श्रेष्ठले पार्टी निर्णयलाई उलङघन गर्दै केही पदमा पार्टी सदस्यहरुले उमेदवारी दिएको जानकारी प्राप्त भए लगत्तै पार्टीको आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन पार्टीले गरेको निर्देशनलाई अवज्ञा तथा उल्लङ्घन गर्ने काम भएको अध्यक्ष श्रेठले बताए ।
